यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सर्वप्रथम, नवनिर्मित भव्य लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन समारोहको यस ऐतिहासिक अवसरमा, मन्दिर पुनःनिर्माण प्राविधिक समितिको संयोजकको हैसियतमा यहाँहरूमाझ केही विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, सांस्कृतिक नगरी भक्तपुरको मुटुमा अवस्थित यति महत्वपूर्ण मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको अवसरमा हामी भक्तपुरवासीलगायत सम्पदा प्रेमी तथा सरोकारवाला सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
आज हामी सबै यो मन्दिर पुनःनिर्माण प्रक्रियाको हिस्सा बन्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौँ । यसका लागि, मन्दिर पुनःनिर्माण प्राविधिक समितिको तर्फबाट म संयोजक सुजन माक, सचिव आर्किटेक्ट रामगोविन्द श्रेष्ठ, ई. सुनिल दुवाल, संरक्षण वास्तुविद् सरिता धुख्वा, प्रमिला सिल्पकार, रबिता सिल्पकार, ई. अमित प्रजापति, ई. ससिन प्रजापति र स. ई. रुकेश त्वायनाबासुको तर्फबाट यस मन्दिर पुनःनिर्माणमा प्राविधिक योगदान गर्ने अवसर प्रदान गर्नुभएकोमा भक्तपुर नगरपालिकाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मन्दिर पुनःनिर्माणसम्बन्धी प्राविधिक कार्यको प्रारम्भदेखि हालसम्म निरन्तर मार्गदर्शन गर्दै हामी प्राविधिक टोलीलाई उत्साह र प्रेरणा प्रदान गर्नुभएकोमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, उप–प्रमुख आर्किटेक्ट रजनी जोशी तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
त्यस्तै, प्रारम्भिक अभिलेखीकरणदेखि निर्माणको सम्पूर्ण चरणसम्म सहयोग पु¥याउनुभएका भक्तपुर नगरपालिकाको सम्पदा शाखा, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका शिक्षक, विद्यार्थी तथा प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।
हाम्रो प्राविधिक समितिको पहिलो कदम ऐतिहासिक तथ्य, अभिलेख, प्रमाणहरू सङ्कलन गर्नु रहेको थियो । त्यसका लागि हामीले ऐतिहासिक दस्तावेज, तस्बिरहरू र मौखिक इतिहासको अध्ययन गरेका थियौँ । यस कार्यमा सहयोग पु¥याउनु हुने सम्पूर्णमा हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । विशेषगरी, दिवङ्गत सुरेन्द्र जोशी र उहाँको परिवारप्रति हामी हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । उहाँले भक्तपुर विकास आयोजनाका क्रममा तयार पार्नुभएको यस मन्दिरको प्रस्तावित नक्सा र अनुसन्धानले यस मन्दिर पुनःनिर्माणको निम्ति प्रारम्भिक दिशानिर्देश गरेको थियो ।
हामीसँग यस लक्ष्मीनरसिंह मन्दिरको पुरानो संरचनाबारे सीमित जानकारीमात्र रहेकाले, हामीले विष्णुका अवतारहरू समेटिएका सम्भावित मन्दिरहरू, जस्तै – चाँगुनारायण, पनौती, चार नारायण आदिको तुलनात्मक अध्ययन ग¥यौँ । यी अध्ययनहरूमा प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले निकै ठुलो सहयोग गर्नुभयो । आजको यस अवसरमा, उहाँप्रति हामी हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ ।
त्यस्तै, यस कार्यमा साथ दिनुभएका अन्य सम्पूर्ण इतिहासविद्, संरक्षणविद्, संस्कृतिविद् एवम् अन्य विज्ञहरूप्रति पनि हामी आभार व्यक्त गर्दछौँ ।
मन्दिर पुनःनिर्माणको यो यात्रामा हामीले हाम्रा स्थानीय कालीगडहरूबाट गहिरो ज्ञान प्राप्त गर्ने अवसर पायौँ । विश्वविद्यालयका आधुनिक कक्षाकोठामा सिक्न नपाइने कतिपय कुरा उहाँहरूको जीवन्त अनुभव र परम्परागत ज्ञानबाट सिक्न पायौँ । पुस्तकमा पढ्न नपाइने ज्ञानका कुरा हाम्रा अवाल (डकर्मी), सिकर्मी, ल्होकर्मी, अदी कलाकारहरूको सीपमा पायौँ । उहाँहरूको हातको काम र अनुभवबाट हामीले धेरै कुरा सिक्न पायौँ ।
उहाँहरू केवल श्रमिक मात्र होइन, उहाँहरू नै हाम्रा पुर्खाहरूको वास्तुकला र इन्जिनियरिङको साँचो वाहक हुनुहुन्छ – जसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र सीपको संरक्षण गर्दै आउनुभएको छ । आजको यस महत्वपूर्ण अवसरमा, हाम्रो सांस्कृतिक पहिचानका यस्ता मौन संरक्षकहरूप्रति हामी गहिरो कृतज्ञता प्रकट गर्दछौँ । जसको कलाको सहयोगले यो मन्दिरको पुनः निर्माण सम्भव भयो – पहिलेजस्तै गौरवशाली, सायद अझ सुन्दर रूपमा पनि ।
यो मन्दिर पुनःनिर्माण योजना इमानदार राजनैतिक नेतृत्व, प्राज्ञिक अनुसन्धान, प्राविधिक अभ्यास, ऐतिहासिक ज्ञान, कालीगडहरूको सीप र स्थानीय सहभागिताले एउटा थप नमुना पुनःनिर्माण योजना बन्न सफल भएको छ । सम्पदा पुनःनिर्माणमा भक्तपुरले देखाएको नमुना – ख्वप मोडल ।
अन्त्यमा, यहाँ एक महत्वपूर्ण पक्ष स्मरण गर्न चाहन्छु – भक्तपुर नगरपालिकाको तात्कालीन नेतृत्वले ख्वप इन्जिनियरिङ कलेजमार्फत वि.सं. २०६२ सालबाट ME in Earthquake Engineering र वि.सं. २०६३ सालबाट MSc in Urban Design and Conservation कार्यक्रमको थालनी गर्नुभएको थियो । यिनै कार्यक्रमहरूबाट तयार भएका प्राविधिक जनशक्ति आज यस पुनःनिर्माणमा संलग्न भएका छन् । नेपालमै पहिलोपटक सुरु गरिएका यी कार्यक्रमहरू भक्तपुरको दूरदृष्टिको उदाहरण हुन् । यो उपलब्धि कुनै संयोग होइन – यो योजनाबद्ध प्रयासको परिणाम हो । भक्तपुरको नेतृत्व र नेतृत्वको यस्तै दूरदृष्टिलाई हृदयदेखि धन्यवाद दिन्छु ।
(लक्ष्मीनरसिंह मन्दिर उद्घाटन कार्यक्रममा मन्दिर पुनर्निर्माण प्राविधिक समितिको तर्फबाट संयोजक ई. सुजन माकद्वारा व्यक्त मन्तव्य)
Leave a Reply