भर्खरै :

सारसको सङ्ख्या बर्सेनि घट्दो

कञ्चनपुर, ८ जेठ । सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ । सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ ।
सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको छ । त्यसले यस चरालाई आहाराको अभाव भएको छ । नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरूलाल डगौराका अनुसार खेतीका लागि किसानले रासायनिक मलसँगै कीटनाशकको अत्यधिक प्रयोग गर्न थालेपछि यस चराको अस्तित्व नै सङ्कटमा परेको छ । सारसको सिकार गर्ने, अण्डा चोरी गर्ने कार्यसँगै जलवायु परिवर्तन, वातावरण प्रदूषणलगायतले थप जोखिम सृजना गरेको छ ।
चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका छन् । त्यो सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ । कञ्चनपुरमा यस चराको सङ्ख्या करिब १० देखि १५ रहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।
हिंस्रक जनावर बाघ, चितुवा, स्याल, ब्वाँसोलगायत नजिक आउन थाले यस चराले ठूलो आवाजले कराएर जानकारी दिने गर्दछ । त्यसैले सारसलाई मानवमैत्री चराका रूपमा समेत लिने गरिन्छ । आहारा र गुँड बनाउनका लागि यो चरा धानखेत र सिमसारमा निर्भर हुने गरेको चराविज्ञ डगौरा बताउनुहुन्छ ।
सारसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छीका रूपमा राखिएको छभने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई संवेदनशील चराको सूचीमा राखेको छ । तथ्याङ्कअनुसार रूपन्देही, कपिलवस्तु र नवलपरासीमा मात्रै सारसको सङख््या छ सय बढी रहेको छ । दक्षिण एसियामा भने यस चराको सङ्ख्या १० हजार जति रहेको अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *