यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
इजरायलको पक्ष लिनेहरू गाजामा इजरायल जातिसंहार गर्न चाहन्न भन्छन् । जातिसंहार गर्न चाहेको भए केही दिनमा सजिलै सबै प्यालेस्टिनीहरूलाई मार्न सक्थ्यो भनी तर्क दिन्छन् ।
खुलेर बोल्ने मौका पाउँथे भने इजरायल सरकारका नेताहरूले त्यो बचाउको खण्डन गर्ने थिए । साथमा केही रोचक खुलासा पनि गर्ने थिए ।
महिनौँसम्म जानाजान गाजावासीहरूलाई भोकमरीमा तड्पाएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार गाजामा नाममात्रको सहायता पठाउन दिए । उनले पश्चिमा अधिकारीहरूको जोडबलका कारण ‘न्यूनतम मानवीय सहायता’ पठाउने बताए । पश्चिमाहरूलाई खुसी पारे गाजा कब्जा गर्ने हत्यारा कारबाहीमा तिनले इजरायललाई समर्थन गर्ने कारोबारी सोच हो नेतन्याहुको ।
‘ड्रपसाइट न्युज’ मा जेरेमी शाहिलले लेखे, “हामी पूरा गाजापट्टी नियन्त्रणमा लिँदै छौँ,” नेतन्याहुले प्रधानमन्त्री कार्यालयबाट मङ्गलबार एक भिडियो जारी गरे । साथै, इजरायलले ‘न्यूनतम मानवीय सहायता : खाना र औषधिमात्र’ पठाउन थाल्ने घोषणा गरे । इजरायलपक्षीय (अमेरिकाका) रिपब्लिकन सिनेटर र ह्वाइट हाउसलगायतको अन्तर्राष्ट्रिय दबाबले गर्दा मानवीय हस्तक्षेप गर्नुपरेको नेतन्याहुले दाबी गरे । उनले भने, “विश्वमा हाम्रा घनिष्ट मित्रहरूले आम भोकमरीको छवि पैदा भयो भने हामीलाई सहयोग गर्न नसक्ने भनेर सचेत गराउनुभएको छ । मलाई थाहा छ, ती सिनेटरहरू इजरायलका दृढ समर्थक हुनुहुन्छ ।” नेतन्याहुले भने, “उहाँहरू मकहाँ आउनुभयो र भन्नुभयो – युद्ध जित्नका लागि चाहिने जति सहयोग हामीले गर्नेछौँ तर भोकमरीका तस्बिरहरू चाहिँ हेर्न सक्दैनौँ ।” गाजावासीहरूलाई नामेट पार्ने युद्ध जारी राख्नका लागि उनले जोड दिएर भने, “उहाँहरूले हामीलाई नरोक्ने गरी हामीले यो काम तरिका मिलाएर गर्नुपर्छ ।”
सदाझैँ इजरायली वित्तमन्त्री बेजालेल स्मोत्रिचले अलि चर्को बोले र पूरा पोल खोले । उनले गाजापट्टीमा जातीय सफाया चलाउँदा चलाउँदै पनि पश्चिमा सहयोग हासिल गरिरहने र युद्ध अपराधको अभियोग टार्ने गरी मात्र राहत सामग्री भित्रिन दिएको बताए । सजिलै ‘बाटो पन्छाउन’ इजरायल सरकारले गरेको चलाखीमा उनले छाती फुलाए ।
‘ड्रपसाइट न्युज’ ले नै स्मोत्रिचको भनाइ यसरी छापेको छ :
१. स्मोत्रिचले भने – राहत भित्रिन दिए “विश्वका हाम्रा मित्रहरूले हामीलाई सुरक्षा परिषद् र हेग (अन्तर्राष्ट्रिय) इजलासबाट जोगाउन सुरक्षित अन्तर्राष्ट्रिय छाता प्रदान गरिरहनेछन् । भगवान्ले चाहे भने अन्तिम विजयसम्म हामीलाई लडाइँ चलाइरहन दिनेछन् ।”
२. “अबका केही दिन गाजा पस्ने राहत (सहयोग) अलिकति मात्र हो । थोरै सुक्खा रोटी बाँडिनेछ मान्छेहरूलाई । गाजाका मान्छेले केही रोटी र खानाका डब्बा पाउनेछन्† त्यत्ति हो । हामीले भिडियोमा देखेजस्तै हुन्छ – मान्छेहरू लाइनमा उभिरहेका छन् र कसैले ती रोटी बाँड्नेछन्, साथमा अलिकति झोल दिइनेछ ।”
३. “सत्य भन्नैपर्छ । अन्तिम बन्धक घर नफर्केसम्म हामीले गाजापट्टीमा पानीको एक थोपा पस्न दिनुहुन्न । यथार्थ के पनि हो भने हामीले त्यसो ग¥यौँ भने विश्वले हामीलाई तत्काल युद्ध अन्त्य गर्न बाध्य पार्नेछ । यसरी हामी हार्नेछौँ । लडाइँ जितियो तर युद्ध हारियो भन्ने हुन जान्छ । म युद्ध जित्नुपर्ने कुरामा दृढ छु ।”
४. “हामीले गाजालाई छियाछिया पारिसकेका छौँ । भग्नावशेषको खात लागेको छ । यस्तो विध्वंशको संसारमा कहीँकतै नजिर छैन । संसारले हामीलाई रोकेको छैन । दबाबहरू छन् । हामीमाथि आक्रमण गर्नेहरू छन्† तिनीहरूले हामीलाई रोक्न खोज्दै छन्; तिनीहरू सफल भएका छैनन् । तिनीहरू किन सफल भएनन् ? थाहा छ ? किनभने, हामीले जिम्मेवार र बुद्धिमत्तापूर्वक (अभियानको) ‘बाटो पन्छ्याउँदै’ छौँ । यसरी नै हामी अघि बढिरहनेछौँ ।”
५. इजरायली सेनाले प्यालेस्टिनीहरूलाई दक्षिण गाजातर्फ धपाउने अभियान सुरु गरिरहेको बताउँदै स्मोत्रिचले भने, “त्यहाँ (दक्षिण गाजा) बाट भगवानले चाहे तिनीहरूलाई तेस्रो देशमा पठाइनेछ । राष्ट्रपति ट्रम्पको योजना यही हो । यो सानोतिनो कुरा होइन, इतिहासकै दिशा परिवर्तन हो ।”
स्मोत्रिचले सर्वसाधारण जनता तथा भौतिक पूर्वाधारलाई ताकीताकी खसालेकोमा इजरायली सेनाको तारिफ गरे । उनले भने, “इजरायली सेनाले हमासको शासनविरुद्ध कारबाही चलाउँदै छ । त्यसका मन्त्री, अधिकारी, पैसा साट्नेहरू र त्यसका आर्थिक र सरकारी निकायका व्यक्तिहरूलाई नष्ट गर्दै छ ।”
लौ, तपाईँहरूले सिधा शब्दमा सुनिहाल्नुभयो । अचम्म पर्नुपर्ने कुनै कारण छैन । इजरायलले नरसंहारकारी अत्याचारलाई किन डेढ वर्षसम्म लम्ब्यायो ? किन चट्याङले झैँ सम्पूर्ण प्यालेस्टिनीहरूलाई एकैबाजि सोत्तर पारेन ? इजरायलकै भाषामा बुझ्नुभयो । तिनीहरूले जानाजान सुस्तसुस्त घाँटी थिच्ने नीति बनाएका रहेछन् । आवश्यक पश्चिमा सहयोग हासिल गर्न र युद्धअपराधको मुद्दामा अन्तर्राष्ट्रिय अदालतको कठघराबाट उम्किन त्यो नीति बनाइएको रहेछ ।
फ्रान्स, क्यानडा र बेलायतले सार्वजनिकरूपमै इजरायललाई चेतावनी दिइरहेकै बेला गाजामा राहत पठाइँदै छ । ती देशले गाजामा थप सहायता नपठाए र पश्चिम किनारामा दुव्र्यवहार र हिंसा नघटाए तेल अभिभविरुद्ध आर्थिक प्रतिबन्ध थोपर्ने भनेका थिए । त्यसैले इजरायलले आफू तरबारको धारमा हिँडिरहेको महसुस गरिहाल्यो । गाजालाई प्यालेस्टिनी जनता बस्नै नमिल्ने नर्ककुन्ड बनाउने (पहिलो विकल्प) कि पश्चिमा सहयोग लिइरहने (दोस्रो विकल्प) ? यसबाहेक अर्को विकल्प नभएको इजरायलले बुझिहाल्यो । यसरी उसले दुवै विकल्पको ढोका खुला राख्न ससानो छुट दिने निधो ग¥यो ।
इजरायलले अपराधमाथि अपराध गर्दै छ । अहिलेसम्म पश्चिमा दबाब एकदम लरतरो, टिठलाग्दो र अपुग साबित भएको छ । फ्रान्स, बेलायत र क्यानडाको विरोध बेकार गयो । इजरायलले भोकमरीलाई युद्धको दाउपेच बनाएकोमा अस्ट्रेलियाले निन्दा ग¥यो । ओठे निन्दाले केही हुन्न । पश्चिमा सरकारका यी छुद्र चाल हेर्दा तिनीहरूले आआफ्ना नागरिकको दबाब थेग्न नसकेको बुझ्न सकिन्छ ।
हालै मात्र अमेरिकी संस्थापन निकट विज्ञसमूह क्विन्सी संस्थानकी ट्रिटा पार्सीले एउटा ट्वीट पढेँ । उनले लेखिन्, “केही त हुँदै छ । विश्वभरिका धेरै सरकारी अधिकारीहरू आफ्ना निजी कुराकानीमा गाजामा जारी इजरायली हिंसालाई पदीय मर्यादा र चेतावनी बाहिर गएर जातिसंहार भन्दै छन् रे । यस्ता कर्मचारीको सङ्ख्या बढ्दै छ रे । बाँध भत्किँदै छ ।”
सङ्घर्ष नछोडौँ । इजरायली फासीवादको विरोध र प्यालेस्टिनी जनताप्रतिको ऐक्यबद्धता जारी राखौँ ।
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply