यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
‘समय र विचार’ पुस्तक कुनै काल्पनिक उपन्यास वा कथासङ्ग्रह होइन । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा विभिन्न समयमा, विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताका रूपमा व्यक्त गरिएका समय सान्दर्भिक विचारको अत्यन्त महत्वपूर्ण सङ्ग्रह हो । २१६ पृष्ठको यो पुस्तक ‘पत्रकार समाज’ नेपालद्वारा प्रकाशित गरिएको हो । यसको मूल्य रु. ४०० छ । यस पुस्तकमा वि.सं २०७६ सालदेखि वि.सं २०८१ सालसम्मका अन्तर्वार्ताहरू समेटिएका छन् । अन्तर्वार्तामा अध्यक्ष बिजुक्छेँले नेपालको तत्कालीन राजनीतिक परिस्थिति, सामाजिक अवस्था, राष्ट्रको अर्थतन्त्र र श्रमिक किसानहरूको जीवनसँग सम्बन्धित विषयमा आफ्ना विचार खुलस्त राख्नुभएको छ ।
पुस्तकमा नेमकिपाको ४८ औँ पार्टी स्थापना दिवसको सन्दर्भमा ‘अहिले नेपाली जनताको अग्निपरीक्षाको समय हो’ शीर्षकको एउटा अन्तर्वार्ता छ । जसमा पार्टी स्थापनाका आधार, चुनौती र समस्याको बारेमा उल्लेख छ ।
पार्टी अध्यक्षले नेपाल मजदुर किसान पार्टीको स्थापना कसरी र कस्तो कठिन परिस्थितिमा भयो भन्नेबारे बताउनुहुँदा हाम्रो आँखा अगाडि झन्डै आधा शताब्दी पहिलेको नेपालको जीवन्त तस्बिर देख्छु । जुन समयमा देश एक जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको थियो त्यो समयमा नेपालमा राजाको प्रत्यक्ष नेतृत्वमा निर्दलीय पञ्चायती व्यवस्था थियो ।
गाउँ–गाउँमा केही धनीमानी, सामन्त र जमिनदारहरूले गरिब किसानहरूलाई खुब सताउँथे । उनीहरू मेहनतको फल खोस्ने गर्थे । उनीहरू आफ्नो फाइदाको लागि अनेक तरिकाले थिचोमिचो गर्थे । यस्तो अन्याय र शोषणबाट किसानहरूलाई बचाउन र उनीहरूको हक दिलाउन एउटा बलियो पार्टी आवश्यक थियो । त्यसबेला अरू कम्युनिस्ट पार्टीहरू नभएको होइन तर तिनीहरू आफैभित्र फुटेका थिए । कतिपयले सही बाटो बिराएका थिए । कोही चुपचाप बसेका थिए त कोही गलत कुरामा अल्झिएका थिए । यस्तो बेलामा साँचो अर्थमा गरिब जनताको पक्षमा लड्ने, माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा विश्वास गर्ने एउटा बलियो र सही कम्युनिस्ट पार्टीको खाँचो थियो ।
अर्कोतिर नेपालमा पनि बाहिरी शक्तिहरू भारत र अमेरिकाले आँखा गाडेका थिए । देशलाई यस्तो खतराबाट जोगाउन एउटा देशभक्त पार्टी चाहिएको थियो ।
अन्याय, विकृति, वैचारिक भड्काव र राष्ट्रले भोगिरहेको चुनौतीको सामना गर्न, एउटा सच्चा देशभक्त, क्रान्तिकारी र किसान–मजदुरको आवाज बोल्ने पार्टीको रूपमा नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो ।
नेमकिपाको स्थापनाको करिब ५० वर्षको यात्रा सम्झिने हो भने यो कुनै सजिलो बाटो थिएन । यो यात्रामा पार्टीले सधैँ देश र जनताको लागि लडिरह्यो । पार्टी कहिल्यै लोभ–लालचमा परेन, आफ्नो सिद्धान्त छोडेन । पार्टीमा आबद्ध सबैको दुःख, पसिना र इमानदारीले नै पार्टी आजसम्म उभिएको छ ।
लामो र कठिन यात्रामा सबैजना सधैँ सँगै हिँड्न सकेनन् होला । यसमा पारिवारिक स्वार्थ, लोभलालच, महत्वाकाङ्क्षाजस्ता अनेक कारण हुनसक्छन् । यसरी कोही छुट्दैमा वा थाक्दैमा नेमकिपाको यात्रा रोकिएको छैन र रोकिने पनि छैन भन्ने विश्वास पार्टीभित्र देखिन्छ । यस्ता घटनाक्रमले पार्टीलाई अझ सचेत र बलियो बन्न प्रेरणा दिन्छ ।
हामीले सुनेका छौँ, चुनाव जित्नकै लागि कतिले अनेकथरी आश्वासन दिन्छन्, पैसा बाँड्छन्, ढाँट्छन् वा थर्काउँछन् । तर, नेमकिपा यस्तो झूट वा जालझेलबाट टाढा बस्ने पार्टी हो ।
वि.सं. २०७२ मा संविधान जारी भयो । यो संविधान नेपालको इतिहासमा एक महत्वपूर्ण थियो । संविधान समाजवादी सोचले भन्दा पुँजीवादी सोचले बन्यो । यसकारण, नेपाल मजदुर किसान पार्टीले संविधानको प्रस्तावनालगायत केही धाराहरूमा असहमति जनायो । यसरी नेमकिपा तुलनात्मकरूपमा सानो भए पनि विचारमा महत्वपूर्ण र सधैँ जनताको पक्षमा उभिएको देखिन्छ ।
पार्टीभित्र आउने साना–ठुला चुनौती होस् वा आफ्नो विचार र सङ्गठनलाई जनतामाझ लैजाने तरिका होस् वा चुनावजस्ता राजनीतिक प्रक्रियामा भाग लिने कुरा होस्, नेमकिपाले सधैँ आफ्नो सिद्धान्त, अनुशासन, देश र जनताप्रति भएर इमानदारीलाई नै केन्द्रमा राखेर पाइला चालेको देखिन्छ ।
‘समय र विचार’ पुस्तक नेपाली राजनीति, विचार र इतिहास बुझ्न चाहने पाठकहरूको लागि अमूल्य स्रोत हो । यसले राष्ट्रियता, जनताको अधिकार, समाजवादप्रतिको प्रतिबद्धता झल्काउँछ । युवाहरूलाई सैद्धान्तिकरूपमा शिक्षित गर्न र राजनीतिक चेतना अभिवृद्धि गर्न पुस्तक उपयोगी छ । पुस्तक सङ्ग्रहणीय पनि छ ।
Leave a Reply