भर्खरै :

कम्युनिस्ट आन्दोलनमा संशोधनवादको भूमिका

कम्युनिस्ट आन्दोलनमा संशोधनवादको भूमिका

माक्र्सवाद–लेनिनवादलाई छोडेपछि वा संशोधनवाद र अवसरवादलाई अँगालेपछि कुनै पनि कम्युनिस्ट पार्टी कम्युनिस्ट रहँदैन; नक्कली कम्युनिस्ट पार्टी हुन्छ या पुँजीवादी पार्टी बन्छ । त्यस्ता कुनै पनि पार्टीले अन्याय, अत्याचार, बलात्कार, भ्रष्टाचार या शोषणमा आधारित पुँजीवादी व्यवस्थालाई जबरजस्ती टिकाउन मद्दतमात्र गरिरहने छन्; जसले बहुमत कामदारवर्गका जनताको दुःखलाई झनै बढाउनेछ । त्यसकारण, नेपाली समाजको आमूल परिवर्तनको निम्ति संशोधनवादी या नक्कली कम्युनिस्ट पार्टीहरूलाई जति छिटो चिन्न सक्यो त्यति नजिक हाम्रा सुखका दिन आउनेछन् ।
अहिले नेपालमा कम्युनिस्ट नामधारी पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । अर्काे कम्युनिस्ट नामधारी पार्टी सरकारमा जान खुट्टा उचालिरहेको अवस्थामा छ । कुन पार्टीलाई सरकारको नेतृत्वमा पठाउने भन्ने निर्णयकर्ता भारतीय शासकवर्ग काठमाडौँमा दौडधूप गरिरहेको समाचार पनि आइरहेकै छ ।

तर, वास्तवमा कम्युनिस्ट भनेर चुनाव जित्ने र सरकारमा जाने पार्टीहरू साँचो कम्युनिस्ट पार्टी होइनन् भनेर निकै थोरै नेपाली जनता जो राजनीतिक रूपले सचेत छन्, उनीहरूले मात्र बुझेको अवस्था छ । यस्तो अवस्थामा कम्युनिस्ट पार्टी के हो, कस्तो हुनुपर्छ भन्ने विषयमा केही सामान्य चर्चा गर्नु सामयिक होला !
हरेक राजनीतिक दल कुनै न कुनै विचार, दर्शन वा सिद्धान्तमा आधारित हुन्छन् भने कम्युनिस्ट पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवादलाई मानेको हुन्छ । माक्र्सवाद भनेको कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा प्रतिपादित आर्थिक एवम् राजनीतिक दर्शन हो; समाजमा विभिन्न वर्गका बिच वर्गसङ्घर्षको परिणाम स्वरूप स्थापित हुने साम्यवादी समाजको परिकल्पना हो; मजदुरवर्गले पुँजीपतिवर्गसँग सङ्घर्ष गरी पुँजीवादी व्यवस्था ध्वस्त गरी कामदारवर्गको शासन व्यवस्था समाजवाद स्थापनाको वैज्ञानिक मार्ग र उपाय हो । माक्र्सवादमा विश्वास गर्ने वा त्यसका अनुयायी नै माक्र्सवादी हुन् ।

माक्र्स

त्यसैगरी, लेनिन र स्तालिनको शिक्षा वा रुसमा माक्र्सवादको व्यावहारिक प्रयोग र सफलतालाई लेनिनवाद भनिन्छ ।
माक्र्सवाद भनेको क्रान्तिकारी सिद्धान्त हो; क्रान्ति भनेको आमूल परिवर्तन वा उल्टाउनु हो । माक्र्सवादले शोषणमा आधारित पुँजीवादी राज्यसत्तालाई पल्टाउने वैज्ञानिक शिक्षा वा उपाय प्रदान गर्छ । यही उपाय अनुरूप नै रुस, चीन, क्युवा, प्रजग कोरिया, भियतनामलगायत देशहरूमा क्रान्ति सम्पन्न भए । माक्र्सले सबै मान्छेलाई बराबर वा समान बनाउन क्रान्ति र समाजवाद आवश्यक छ र त्यसको निम्ति कानुनी – गैरकानुनी र सशस्त्र सङ्घर्ष नै गर्नुपर्छ भन्नुभयो; क्रान्ति कसरी गर्ने वा हुन्छ भन्ने आफ्ना ज्ञानलाई सूत्रबद्ध गर्नुभयो र ‘कम्युनिस्ट घोषणापत्र’ को रूपमा संसारलाई दिनुभयो ।

पुँजीवाद धराशायी हुने पहिलो ऐतिहासिक घटनाक्रम सन् १८७१ को पेरिस कम्युन थियो । माक्र्सले आफ्नो जीवनकालमै वर्गसङ्घर्षको स्वरूप पेरिस कम्युनमै अनुभूत गर्नुभयो । व्यापक र बलियो सङ्गठन एवम् नेतृत्वको अभावका कारण पेरिस कम्युन ७२ दिनमात्र टिक्न सक्यो । सन् १९१७ को अक्टोबर क्रान्ति अघिसम्म संरा अमेरिकालगायत पुँजीवादी र साम्राज्यवादी देशहरू माक्र्सवादी सिद्धान्त व्यवहारमा लागु हुन नसक्ने चित्रण गर्थे । तर, सन् १९१७ को रुसी समाजवादी क्रान्तिपछि विश्व कम्युनिस्ट आन्दोलन एक खाका कोर्दै अघि बढ्यो र समाजवाद विश्व राजनीतिको एक अभिन्न अङ्ग बन्यो । बेलायतले ३ सय वर्ष, अमेरिकाले २ सय वर्ष र फ्रान्सले १५० वर्ष लगाएर गरेको विकास समाजवादी रुसले वा सोभियत सङ्घले ३०–४० वर्षमै सम्पन्न गरेर संसारलाई नै अचम्भित पारेको थियो ।

संशोधनवाद भनेको कुनै सिद्धान्तको मौलिकतालाई नै अवमूल्यन हुने गरी हेरफेर वा संशोधन गर्ने कार्य वा त्यस्तो नीति तथा सिद्धान्त हो । संशोधनवादको अर्थ – नामले कम्युनिस्ट कामले पुँजीवादी विचार हो । संशोधनवादमा विश्वास गर्ने या अनुयायीहरू संशोधनवादी हुन् । यस अर्थमा माक्र्सवादलाई संशोधन गर्नुपर्छ भन्ने कम्युनिस्ट पार्टी वा नेतालाई संशोधनवादी भनिन्छ ।

लेनिन

कम्युनिस्ट आन्दोलनमा पहिलोपटक संशोधनवाद अँगाल्ने विश्वासघाती थिए जर्मनका वर्नस्टिन । उनी एङ्गेल्सका नातेदारमात्रै थिएनन् माक्र्सका शिष्य नै थिए । अर्थात्, उनी सुरुमा माक्र्सवादी नै थिए । तर, माक्र्स र एङ्गेल्सको निधनपछि उनले माक्र्सवादको औचित्य नरहेको भन्दै त्यसमा काँटछाँट वा फेरबदल नै गर्नुपर्ने औँल्याए । उनी भन्थे, “लामो समयसम्मको सुधारलाई जम्मा गरियो भने त्यो नै क्रान्ति हुन्छ ।” उनी क्रान्तिको निम्ति हतियार उठाउनुपर्दैन; रगत बगाउनुपर्दैन; चुनावमार्फत शान्तिपूर्ण रूपमै समाजवाद ल्याउन सकिने बताउँथे । उनी भन्थे, “प्रजातन्त्रको मतपत्रले निरङ्कुश शासकहरूको टाउकोलाई पनि जनताको अगाडि झुकाउने क्षमता राख्छ । संसद्, विधानसभा या प्रतिनिधिसभामा बहुमत आउनासाथै पुँजीवादीहरूले आफ्नो शासन मजदुरवर्गलाई सुम्पिदिनुपर्ने छ; बिनाहिंसा र रगतले समाजवाद कायम हुन्छ ।” वर्नस्टिन चुनावको नतिजालाई नै परिवर्तनको आधार मान्थे ।

एङ्गेल्स

तर, चुनावमा प्रतिक्रियावादीहरूले जनताका प्रतिनिधि वा कामदारवर्गलाई सजिलै जित्न दिन्नन् भन्ने उदाहरण जर्मनमै भेटिन्छ । सन् १९०८ मा जर्मनमा चुनाव हुँदा मजदुर प्रतिनिधिले ६ लाख मत पाउँदा ६ जनामात्र प्रतिनिधि चुनिएका थिए भने कामदारवर्गका विरोधीहरूले ४ लाख मत पाउँदा २१२ स्थान प्राप्त गरे । (नेपालकै सन्दर्भमा शासक पार्टीहरूले पैसा खर्च गरी; आफ्नो अनुकूल निर्वाचन क्षेत्र नै हेरफेर गरी जनतालाई झुक्याएर कसरी चुनाव जित्दै सरकारमा गएका छन् भन्ने भुक्तभोगी हामी नै हौँ त !)
वर्नस्टिनको संशोधनवादी विचारको खण्डन गर्दै माक्र्सवादी नेतृ रोजा लक्जेम्बर्ग (पोल्यान्डमा जन्मिएकी, स्वीट्जरल्यान्ड र जर्मनलाई राजनीतिक सङ्घर्षको कार्य थलो बनाएकी क्रान्तिकारी महिला) ले भनेकी छन्, “मानव समाजको राजनीतिक विकासमा प्रजातन्त्र एक सानो वस्तु हो । पुँजीवाद र प्रजातन्त्र एक अर्काेमा आधारित हुन्न । पुँजीवादले सधैँ प्रजातन्त्रको लुगा लगाउँछ भन्ने कुराको अनिवार्यता छैन; आफूलाई फाइदा हुने देखेमा पुँजीवादले निरङ्कुश राजतन्त्रदेखि पूर्ण प्रजातान्त्रिक व्यवस्थासम्म अपनाउन सक्छ ।”
वर्नस्टिनको संशोधनवादी र अवसरवादी नीतिको विरोध गर्दै रोजाले जर्मन समाजवादी पार्टीमा कारबाही गर्नुपर्ने विचार राख्दा पार्टी केन्द्रले अस्वीकार गरेपछि जर्मन समाजवादी पार्टी नै तहसनहस भयो† सन् १९१८ को जर्मन क्रान्ति पनि असफल भयो ।
सानो र अस्थायी स्वार्थको निम्ति ठूलो र दीर्घकालीन स्वार्थलाई तिलाञ्जली दिनु अवसरवाद हो । अवसरवादीहरू मौका हेरी विचार एवम् व्यवहार बदल्ने, आफ्नो आस्था वा सिद्धान्त छोडी सानो स्वार्थका पछि लाग्ने वा दीर्घकालीन सामूहिक हित छाडी तत्कालीन सानो स्वार्थमा लाग्ने गर्छन् । संशोधनवाद र अवसरवादले पुँजीवाद र साम्राज्यवादलाई झनै बलियो बनाउँछ भने कम्युनिस्ट आन्दोलनलाई झनै कमजोर बनाउँछ । सन् १९२४ मा सोभियत सङ्घमा लेनिनको निधनपश्चात् बुखारिन र त्रोत्स्कीजस्ता संशोधनवादीहरू जुर्मुराउन लागेका थिए । तर, ती पार्टीभित्र हत्या र हिंसा चलाउने षड्यन्त्रकारीहरूलाई स्तालिनकै पालामा सजाय गरिएको थियो । त्यस षड्यन्त्रमा लागेका त्रोत्स्की ज्यान सजायबाट बाँच्न विदेश भागे । तर, सन् १९५३ मा ढीलो लाग्ने विष (मन्द विष) प्रयोग गरी स्तालिनको हत्या गरेपछि कम्युनिस्ट पार्टीका अर्का नेता ख्रुश्चेभको संशोधनवादी नेतृत्व गुट सत्तामा देखाप¥यो । उनले सन् १९५६ मा एउटा भाषणमा भनेका थिए, “सोभियत सङ्घमा लालझन्डा फहराइसकेपछि विश्वका शोषकहरू दुलाभित्र लुकिसके; अब वर्गसङ्घर्ष आवश्यक छैन ।” ख्रुश्चेभको यो भनाइसँगै चिनियाँ क्रान्ति नायक माओ त्सेतुङले सोभियत सङ्घ संशोधनवादमा पतन भएको बताउनुभई माक्र्सवाद–लेनिनवादको रक्षामा लाग्नुभएको थियो । ख्रुश्चेभले पनि वर्नस्टिनले झैँ वर्गसङ्घर्ष आवश्यक नभएको र निर्वाचनमा बहुमत प्राप्त गरी शान्तिपूर्ण ढङ्ले समाजवाद प्राप्त गर्न सकिने बताए । अर्थात्, उनले पनि माक्र्सवाद–लेनिनवाद अस्वीकार गरे ।
यसरी क्रान्ति र समाजवाद स्थापनापछि सोभियत कम्युनिस्ट पार्टीमा देशी र विदेशी पुँजीवादीहरूको षड्यन्त्रमूलक सहयोगमा ३५–४० वर्षभित्र ख्रुश्चेभ गुट नेतृत्वमा पुग्यो र ७२ वर्षपछि अर्थात् सन् १९९१ मा संशोधनवादी विचारकै कारण सोभियत समाजवादले अस्थायी हार व्यहोर्नुप¥यो । कम्युनिस्ट पार्टीभित्र संशोधनवादी विचार कति घातक हुन्छ भन्ने उदाहरण सोभियत सङ्घलाई लिन सकिन्छ जसले देशमा पुँजीवादमात्र पुनःस्थापना गरेन देश नै १५ टुक्रामा विभाजित भयो ।

रोजा लक्जेम्वर्ग

एक सच्चा कम्युनिस्ट पार्टीको उद्देश्य भनेको समाजवाद र साम्यवादी समाजमा पुग्नु हो र त्यहाँसम्म पुग्ने बाटो भनेकै माक्र्सवाद–लेनिनवाद हो । आज नेपालको कम्युनिस्ट आन्दोलनमा पनि संशोधनवाद र अवसरवादको प्रभाव बढ्दै गइरहेको छ । नेपालको मुख्य वा पहिलो संशोधनवादी र अवसरवादी पार्टी एमाले हो भने वर्गसङ्घर्षलाई अस्वीकार गरी ‘जनताको बहुदलीय जनवाद (जबज)’ को नारा लगाई पार्टीलाई संशोधनवाद र अवसरवादको मार्गमा धकेल्ने मदन भण्डारी नेपालका वर्नस्टिन हुन् भन्ने चर्चा पुरानै हो । व्यक्तिहत्याको राजनीतिबाट अघि बढेको एमालेमा रुसको नरोदवाद (सन् १९०५ तिर रुसको अराजकतावादी चिन्तन) र सन् १९६५–७० तिरको भारतीय नक्सलवादको विचारको प्रभाव थियो । समाजका केही खराब व्यक्तिको हत्या वा ‘वर्गशत्रुको सफाया’ पछि समाजमा आमूल परिवर्तन हुन्छ र परिवर्तनको लागि सिद्धान्त, विचार, सङ्गठन एवम् पार्टी होइन केही व्यक्तिको साहस र बहादुरी अनि वीरताको आवश्यकता हुन्छ भन्ने तिनीहरू ठान्दथे । तिनीहरूको विचारमा समाजमा केही वर्गशत्रुहरूकै कारण सारा जनताले दुःख पाएका हुन् र केही साहसी एवम् वीरहरूले समाजमा आमूल परिवर्तन हुन्छ । ती दुवै कुरा खोटपूर्ण छन् । रुस र भारतमा झैँ नेपालमा एमालेको त्यो विचारले असफलता भोग्यो र एमाले क्रमशः संशोधनवाद र अवसरवादमा पतन भयो ।
एमाले–माओवादीलगायत (माओवादी त भारतले जन्माएर पालितपोषित गर्दै आएको ‘ट्रोजन हर्स’ (ट्रोजनको लडाइँमा प्रयोग गरिने नक्कली घोडा) हो भन्ने विषय राजनीतिक वृत्तमा छलफल भइआएकै हो । फेरि कम्युनिस्ट पार्टीहरू माओ त्सेतुङ विचारधारा मान्छन् । आफ्नो देशको परिस्थितिअनुसार मजदुर र किसानलाई सङ्गठित गरी चिनियाँ भूमिमा क्रान्ति सम्पन्न गर्नुपर्ने ठम्याइ राख्ने चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्तिको अनुभव र सफलता नै माओ त्सेतुङ विचारधारा हो, माओवाद होइन ।) कम्युनिस्ट नामधारी वा नक्कली कम्युनिस्ट पार्टीहरू माक्र्सवाद–लेनिनवादप्रति घात गर्दै वर्नस्टिनकै सिकोमा लागेर निर्वाचनबाटै समाजवाद आउने वा आमूल परिवर्तन हुने भ्रम मतदातामा छर्छन् । पछिल्ला चुनावहरूमा एमालेका नेताहरूले ‘निर्वाचन नयाँ युगमा प्रवेश गर्ने अन्तिम लडाइँ’ भनी बोल्दै आएकै हुन् ¤ नेपाली जनताका निम्ति भने उनीहरूले भनेको त्यो नयाँ युग झुक्याउने युग, भ्रष्टाचारको युग, ठेकेदार युग, ठगीको युग, मानव तस्करीको युग, माफिया (अपराधीहरूको) युग, बलात्कारको युग अनि यस्तै यस्तै अनेक युग साबित भइरहेको छ । किनभने, नयाँ युग वर्नस्टिनको संशोधनवादी नीति वा चुनावले होइन माक्र्सवादी सिद्धान्तले मात्रै ल्याउन सक्छ; शोषक र शोषितबिचको निर्णायक युद्धले मात्रै ल्याउन सक्छ ।
एक कम्युनिस्ट पार्टीले चुनावमा भाग लिनुको अर्थ जनतामा समाजवादको प्रचार गर्नु र जनताको राजनैतिक स्तरलाई नाप्नु हो । संसद्मा जानुको अर्थ जनताको मागलाई अगाडि बढाउनु र सकेसम्म जनताको पक्षमा ऐन–कानुन पास गराउन सङ्घर्ष गर्नु हो । योभन्दा बढी केही होइन । मुखले समाजवाद र समृद्धिको आश्वासन दिने तर व्यवहारमा पुँजीवादीहरूसँग सरकार बनाएर पुँजीपति वर्गहरूको सेवा गर्नु जनताप्रति विश्वासघात नै हो । उनीहरूको उद्देश्य जसरी पनि चुनाव जितेर संसद् वा सरकारमा जाने रहेको छ । अझ बढ्ता खतरा यिनीहरू भारतीय विस्तारवाद या एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको सेवाको निम्ति उनीहरूकै खर्चमा चुनाव जिती देश नै बाँकी नराख्ने प्रतिस्पर्धामा लाग्दै छन् । भारतसँगको बिप्पा सम्झौता, नागरिकता विधेयक, अमेरिकासँगको एमसीसी सम्झौतालगायत सन्धि–सम्झौता यसका उदाहरण हुन् ।

स्तालिन

माक्र्सवाद–लेनिनवादलाई छोडेपछि वा संशोधनवाद र अवसरवादलाई अँगालेपछि कुनै पनि कम्युनिस्ट पार्टी कम्युनिस्ट रहँदैन; नक्कली कम्युनिस्ट पार्टी हुन्छ या पुँजीवादी पार्टी बन्छ । त्यस्ता कुनै पनि पार्टीले अन्याय, अत्याचार, बलात्कार, भ्रष्टाचार या शोषणमा आधारित पुँजीवादी व्यवस्थालाई जबरजस्ती टिकाउन मद्दतमात्र गरिरहने छन्; जसले बहुमत कामदारवर्गका जनताको दुःखलाई झनै बढाउनेछ । त्यसकारण, नेपाली समाजको आमूल परिवर्तनको निम्ति संशोधनवादी या नक्कली कम्युनिस्ट पार्टीहरूलाई जति छिटो चिन्न सक्यो त्यति नजिक हाम्रा सुखका दिन आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *