भर्खरै :

सिरिया टुक्राउने अमेरिकी योजना

जेफ म्याकलर
जनवरी १७ गते स्ट्यानफोर्ड विश्वविद्यालयमा मन्तव्यका क्रममा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिकी सेनाले अनिश्चित कालसम्म उत्तरपूर्वी सिरियामा नयाँ ३० हजार जनाको कुर्द, अमेरिकी र संयुक्त अरब राष्ट्रको संयुक्त सीमाबललाई हतियार, तालिम, वा वित्तीय सहयोग दिइरहनेछ वा त्यसलाई सघाउनेछ भनी घोषणा गरे । सिरिया विभाजनको प्रष्ट उद्देश्यले निर्माणाधीन यस सीमाबललाई सिरियास्थित तीनवटा नयाँ र स्थायी अमेरिकी सैन्य आधारशिविरमा तैनाथ ५ हजार अमेरिकी सेनाले आड दिनेछन् । थप हजारौँ सेना सिरियाली भूमध्यसागरको किनारमा रहेका अमेरिकी जहाजी बेडा र अन्य युद्ध विमानमा तैनाथ छन् । त्यसैगरी थप हजारौँ सेना कतारको अमेरिकी वायुसेनाको आधार शिविरमा क्रियाशील छन् ।
ट्रम्प वा ओबामा प्रशासनका मुख्य अधिकारीमध्ये विभाजनकारी मन्तव्य दिने टिलरसन पहिलो व्यक्ति हुन् । यी एक्जोन मोबिलका पूर्वप्रमुखले पक्कै पनि सन् २०११ देखिको अमेरिकी नीति खुलस्त पारेका छन् । सन् २०११ मा प्रजातान्त्रिक अधिकार र खडेरीपिडीत किसानलाई सहयोगका निम्ति व्यापक रुपमा जुर्मुराएका शान्तिपूर्ण आन्दोलनकारीहरूमाथि सिरियाली सरकारको आक्रमणले अन्जानमै अमेरिकालाई सात वर्ष लामो सत्ता–परिवर्तनको साम्राज्यवादी युद्ध मञ्चन गर्ने बहाना मिल्यो । यहीँ युद्धले गर्दा ५ लाखभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो भने करिब आधा जनताको उठिबास भयो ।
सन् २०११ मा नाटोको सहयोगी एवं टर्कीका राष्ट्रपति रेजेप तेयिप एर्दाेअनको सरकारले अमेरिकालाई आफ्ना सैन्य आधार शिविरहरू खुला गरेर ७० हजार आइ.एस.आइ.एस ( ISIS ) का लडाकु र विभिन्न ७० देशका त्यसका सहयोगी कट्टर आतंकवादीहरूलाई सिरिया पस्न सघायो । अस्साद सरकारलाई उल्टाएर इस्लामी धार्मिक–राज्य (caliphate) गठन गर्नु ती आतंकवादीहरूको उद्देश्य थियो । द न्युयोर्क टाइम्सले २०१८ जनवरीको आधाआधीमा उल्लेख ग¥यो, “सन् २०११ मा एर्दाेअन महोदयले सिरियाली विद्रोही समूहहरूलाई वित्तीय सहयोग गर्नुभयो र पछि इस्लामिक स्टेट र अन्य जिहादी सैन्यसमूहका विदेशी सिपाहीलाई टर्कीको बाटो हुँदै सिरिया दाखिल हुन छुट दिनुभयो ।”
लिबियाली राष्ट्रपति कर्नेल मुअमर गद्दाफीजस्तै अमेरिकी प्रभुत्व र दोहनका लागि मध्यपूर्व क्षेत्रको सम्पन्न तेल भण्डार इतिहासमै सबैभन्दा खुला छाडेर केही महिनाअघि नै अस्साद ज्यान जोगाउन भाग्नेछन् भन्ने धेरैको अनुमान थियो ।
आइ.एस.आइ.एस. आज सिरियाली सरकारी सेनासँग नराम्ररी हारेको छ । यसका लागि सिरियाले ५० हजार सेना गुमाएको छ । यो संख्या रुसी, इरानी र हेज्बुल्लाजस्ता निम्त्याइएका मित्र सेना मिलाएर बनेको उसको लडाकु शक्तिको एक चौथाइ हो । अमेरिकी बहानाले लगभग हावा खाएको छ । अहंकारी साम्राज्यवादी टिलरसनको चुरीफुरीको उल्टो आइ.एस.आइ.एस. सेनाको नजिकिँदो हारको खास कारण नबोलाइएका अमेरिकी आक्रमणकारी र उनीहरूले ‘छानीछानी’ गरेको आक्रमण नभई सिरियाली सरकार र निम्त्याइएका मित्र सेनाको प्रतिरोध हो । वास्तवमा, आइ.एस.आइ.एस.का लडाकुहरू राजधानी दमास्कस कब्जा गर्ने दाउले दक्षिणतर्फ बढिरहँदा अमेरिका र उसका सहयोगी शक्तिले तिनीहरूलाई देखिनेगरी नै निर्बाध अघि बढ्न दिएका थिए ।
त्यस्तै, न्युयोर्क टाइम्सले २०१५ नोभेम्बर १६ गते लेख्यो सन् २०१५ नोभेम्बरसम्म, “सं.रा.अमेरिकाले सर्वसाधरण घाइते हुनसक्ने चासोले गर्दा आइ.एस.आइ.एस.को तेल ढुवानी गर्ने १००० ट्याङकर ट्रकहरू सामेल रहेको मानिएको मालवाहकहरूको लस्करमाथि आक्रमण गर्न इन्कार ग¥यो । फलस्वरुप, इस्लामिक स्टेटको तेल निर्यात गर्ने वितरण प्रणाली एकदम अक्षुण्ण रह्यो ।” अक्षुण्ण किनपनि भने केही वर्षपहिलेसम्म आइ.एस.आइ.एस. आफैले तेलखानीहरूबाट तेल निकालिरहेको थियो जसलाई अमेरिकाले आज आफूनियन्त्रित सिरियाअन्तर्गत टुक्राउन खोजिरहेको छ । टिलरसनले निर्धक्क भने, इरान वा राष्ट्रपति बसर अल अस्सादलाई अमेरिकी बमबारीबाट ‘हालै मुक्त गरिएका’ भूभाग लिन दिइनेछैन ।
टिलरसनको स्टेनफोर्डमा दिइएको मन्तव्यबारे द न्युयोर्क टाइम्सले जनवरी १७ गते लेख्यो, “माननीय टिलरसनले भन्नुभयो, सिरियामा कायम रहेर, उहाँको विचारमा अतिवादीहरूको खतरा मत्थर हुनुभन्दा अगाडि नै इराकबाट सेना फिर्ता गर्ने र कर्नेल मुअमर गद्दाफीलाई हटाउन नेतृत्व गरेको नाटो हवाई हमलापछि लिबियामा स्थायित्व ल्याउन विफल भएका पूर्व राष्ट्रपति बाराक ओबामाले गरेका गल्तीहरू ट्रम्प प्रशासनले नदोहो¥याउने सुनिश्चित गर्न टेवा पुग्नेछ ।”
तथ्य त के हो भने अमेरिकाले नै ‘अतिवादी’ खतरा जन्माएको हो अर्थात् इराकी सरकार उल्टाउने उद्देश्य लिएको आइ.एस.आइ.एस. । त्यसैगरी लिबिया नै डुबाउनेगरी गरिएको बमबारीले देशका पूर्वाधार ध्वस्त पारी अमेरिकासमर्थित कतारी भाडाका सिपाहीहरूले लगत्तै देशको राजधानी त्रिपोलीमाथि कब्जा जमाए । तत्कालीन विदेशमन्त्री जोन केरीले नयाँ लिबियाली सरकार गठन गर्ने प्रक्रिया अघि बढाए । तर लगत्तै त्यो सरकार अराजकता र भ्रष्टाचारमा फँस्यो । र आज लिबिया काला जातिको दासत्वलाई खुला रुपमा संस्थागत गर्ने देश बन्नपुगेको छ ।
टिलरसनको घोषणाले टर्कीको चित्त दुख्यो । लगत्तै टर्कीसँग जोडिएको ५०० माइल लामो सिरियालीे पूर्वपश्चिम सीमाक्षेत्रमा ठाउँ बनाउनबाट रोक्ने उद्देश्यले टर्कीको हवाई सेनाको अमेरिकासमर्थित कुर्द सेनासँग उत्तरपश्चिम सिरियामा टकराव भयो । टिलरसनको विभाजनकारी घोषणापछिका केही दिनसम्म यी दुई नाटो देशहरू प्रत्यक्ष सैन्य मुठभेडको अडानमा देखिए । खासगरी उत्तरपूर्वी शहर मानबीजमा जहाँ अमेरिकी टुकडीले कुर्द लडाकुहरूलाई तालिम र हतियार दिइरहेको थियो ।
यहीँ मेसोमा टर्कीले गरिरहेको आक्रमणको मुख्य तारो सिरियाली उत्तरपश्चिम सीमाको शहर एफ्रिनलाई बनाएको छ । यो शहर सिरियाली प्रजातान्त्रिक सेना (SDF ) को नियन्त्रणमा छ । SDF बारे न्युयोर्क टाइम्सका ब्युरोप्रमुख एनी बर्नार्डले जनवरी २४ मा लेखिन्, “सिरियामा अमेरिकी सेनाको आधिकारिक मित्र एउटा मिलिशिया हो जसलाई सिरियाली प्रजातान्त्रिक सेना भनिन्छ । यसमा अरबी र एसिरियाली लडाकुहरू सम्मिलित छन् । तर यसमा जनसुरक्षा एकाइहरू ( YPG।) को वर्चस्व छ । अमेरिकीहरू यो विवरणलाई बेवास्ता गर्छन् ।”
YPG को कुर्द श्रमिक पार्टी ( PKK) का बन्दी नेता अबदुल्ला ओसालानसँग नजिकको सम्बन्ध छ । स्वतन्त्र कुर्द राज्यको लागि लामो समयसम्म संघर्ष गरेका ओसालानलाई टर्कीले राक्षसको अवतारको रुपमा हेर्छ । अमेरिका र टर्कीले लामो समयदेखि एप्प् लाई आतंकवादी संगठन बताउँदै आएका छन् ।
टाइम्सले थप्यो, “अमेरिकाले संयम अपनाउन अनुरोध गर्दै त्यहाँको YPG सँग नमिल्न जोड दिँदै हालैको एफ्रिनविरुद्ध टर्कीको आक्रमणलाई असरदार हरियो झण्डा देखायो ।”
यस समीकरणलाई झन् जटिल बनाउने तथ्य के हो भने विगतमा र अझै पनि अमेरिकासमर्थित स्वतन्त्र सिरियाली सेना (Free Syrian Army ) को बँचेखुचेको हिस्सा अहिले टर्कीको सेनासंग मिलेर अमेरिकाले नै संगठन गरेको र कुर्दहरूले नेतृत्व गरेको शक्तिविरुद्ध लडिरहेको छ । अस्सादविरोधी कथित नरम विद्रोहीहरूको खुकुलो गठबन्धन मानिएको यो सेनाको अधिकांश हिस्सा धेरैअघि आइ.एस.आइ.एस. वा अलकायदामा मिसिएको थियो ।
सिरियाली स्थानीय कुर्द सरकारका पूर्वअधिकारी नवाफ खलिलले टिलरसनको मन्तव्यबारे भने, “सिरियाली स्थितिबारे अमेरिकाको स्पष्ट धारणा… अन्ततः सिरियाली मामिलामा ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) र पेन्टागन (रक्षा मन्त्रालय) ले एउटै धारणा बनाएको देखिन्छ ।” भन्नु नपर्ला, भावी कुर्द राज्यको विचार साम्राज्यवादी सेनाको संरक्षणमा कहिल्यै साकार हुनेछैन । लामो समयदेखि दबाइएका र भौगोलिक रुपमा छरिएका कुर्द जनताको आत्मनिर्णयको अधिकारबारे अमेरिकी साम्राज्यवादी सेनाको पूर्ण बहिर्गमनपछि मात्र विचार हुन सक्छ ।
अमेरिकी साम्राज्यवादकोे उद्देश्यबारे अझैपनि कुर्दहरूमा रहेको भ्रमबारे २०१८ जनवरी २२ गतेको टर्की र इराकका लागि अमेरिकी पूर्वराजदूत जेम्स एफ. जेफ्रीको वक्तव्यले अमेरिकी अडानलाई प्रष्ट पा¥यो । “हामीले टर्कीका अधिकारीलाई भन्यौँ कुर्दहरू आइ.एस.आइ.एस.लाई पराजित गर्ने अस्थायी, सामरिक र लेनदेनका साधन मात्र थिए । अब हामी उनीहरूसँग इरानी सामेल होउन भन्ने चाहन्छौँ । यी सबैको उद्देश्य हामी सिरियामा राजनीतिक समाधानमा जोड दिने पक्षमा जुटिरहनेछौँ भनेर रुसीहरूलाई सिरियालीहरूबाट अलग्गाउनु हो ।”
सिरियाली सरकारका सहयोगीहरू रुस, इरान र लेबनानी हेजबुल्लाको मद्दतले अमेरिकासमर्थित आइ.एस.आइ.एस.लगायतका शक्तिहरू आफूले पहिले कब्जामा लिएको अनुमान गरिएको सिरियाको दुई तिहाई भूभागमाथिको आधिपत्य प्रायः गुमाएको छन् आज । लगभग अनिवार्य ठानिएको र अमेरिकाले अनुमान गरेको अस्साद सरकारको पतन नजिकिएको छैन । साँचो अर्थमा घटनाहरूको यस्तो मोडले अमेरिकी साम्राज्यवाद, त्यसका नाटो सहयोगी र सम्बद्ध ‘गठबन्धन’को पराजय देखाउँछ ।
आज ट्रम्प÷टिलरसनले सिरियामा दीर्घकालसम्म सैन्य उपस्थिति कायम गर्ने धम्की सिरियाको भविष्यसम्बन्धी विद्यमान सिरियाली शक्तिसम्बन्धले मन्जुरी दिने हदसम्म सकेसम्म बढी सुविधा हात पार्नतिर लक्षित छ । खुल्लमखुल्ला सिरिया कब्जा गर्ने मनसुबा आज अमेरिकी साम्राज्यवादको प्राथमिकतामा छैन । यसको सट्टा एकातिर राष्ट्रसंघको आडमा जेनेभामा भैरहेका ‘सम्झौताहरू’ र रुसी मध्यस्थतामा सोचीको आरामगृह नगरीमा सम्झौताहरू हुनेछन् ।
यहाँनिर आंशिक रुपमै भएपनि सिरियाका रणभूमिमा पाउन नसकेको उपलब्धि हात पार्ने आश अमेरिकाको छ । यसमा संभवतः भावी सिरियाली निर्वाचन प्रक्रियासम्बन्धी सम्झौता पनि सामेल छ । जसमा राष्ट्रपति अस्साद अन्ततः झुक्न राजी हुनेछन् र साथमा उत्तरी सिरियाली भेगमा अधिक कुर्दिश स्वशासन कायम गरी अन्ततः सिरियाली सरकारको पकड नाम मात्रको बनाउने सम्झौता पनि जोडिनेहोला । निःसन्देह सिरियाली तेलखानीहरू र भावी पाइपलाइनको मार्गमाथिको नियन्त्रण र साथमा भविष्यमा वैधता पाउने सिरियाली सरकारमा अमेरिकासमर्थक शक्तिहरूको समावेशिता साम्राज्यवादी एजेण्डाको प्राथमिकतामा पर्नेछ ।
‘वामपन्थीहरू’को उल्लेख्य संख्याले भूलवश गुमेको ठानेको सिरियाको आत्मनिर्णयको ऐतिहासिक अधिकार आंशिक रुपमै भएपनि आज पुनःस्थापित गरिएको छ । अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको भिन्नभिन्न तरिकाले अभिव्यक्त भएको खुल्लमखुल्ला सिरिया कब्जा गर्ने मनसुबा विफल पारिएको छ । तर एउटा अमेरिकी आडमा चलाइने आक्रमण निःसन्देह भविष्यको जनमत हत्याउन प्रयोग हुनेछ ।
सडकलाई उपयोग गरी ‘अमेरिका सिरियाबाट निस्की जा !’ को माग चर्काउनु नै आज अमेरिका र विश्वभर चलिरहेको युद्धविरोधी आन्दोलनको मुख्य जिम्मेवारी हो । अमेरिकी साम्राज्यवादी वा उपनिवेशवादीहरूको अनुपस्थितिमा नै सिरियाली जनता आफ्ना पूँजीवादी शासकहरूको सामना गर्ने अवस्थामा उभिनेछन् ।
( जेफ म्याकलर सोसलिष्ट एक्सनसम्बद्ध लेखक हुन् । स्रोत – काउन्टर पन्च )
अनुवादःसुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *