भर्खरै :

मार्गनिर्देशन कार्यक्रमबाट विद्यार्थीमा ऊर्जा मिल्ने

मार्गनिर्देशन कार्यक्रमबाट विद्यार्थीमा ऊर्जा मिल्ने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यालय विद्यालयले बधाई तथा मार्गनिर्देशन कार्यक्रम गरिरहेका छन् । उच्च मावि र कलेजमा भर्नाअघि विद्यार्थीको निम्ति मार्गनिर्देशन कार्यक्रम आवश्यक पनि छ । कुन उच्च मावि, कलेजमा के विषय लिएर पढ्ने भनी अन्योल छाइरहेको बेला हुने मार्गनिर्देशन कार्यक्रमले विद्यार्थीमा ऊर्जा थप्नेछ र आ–आफ्नो रूचि, क्षमता, योग्यता र घरको आर्थिक स्थितिअनुसार विषय चयन गर्न सजिलो हुनेछ । विद्यालयको उद्देश्य सस्तोमा गुणस्तरीय शिक्षा दिनुमात्र होइन विद्यार्थीको चरित्र निर्माण गर्नु पनि हो । उनीहरूको जीवन सुनिश्चित गर्न बाटो कोर्ने, देशको लागि आवश्यक दक्ष, सक्षम, योग्य, देशभक्त र अनुशासित नागरिक बनाउनु शिक्षक, अभिभावक, बुद्धिजीवी तथा समाजसेवीहरूको दायित्व पनि हो ।
विद्यार्थीलाई जसरी भए पनि उत्तीर्ण गराएर, प्रमाणपत्र भिडाएर मात्र उनीहरूको जीवन सुनिश्चित हुँदैन । अनुत्तीर्ण भएका विद्यार्थीलाई अङ्क थपेर उत्तीर्ण गर्दा उनीहरू झन्झन् पढाइमा कमजोर हुनेछन् । त्यस्ता विद्यार्थीहरूसँग प्रमाणपत्र भए पनि न व्यवहारिक ज्ञान हुन्छ, न संस्कृति र संस्कार नै हुन्छ । शिक्षक र अभिभावकले आफ्ना सन्तानलाई चरित्र निर्माण गर्र्ने, संस्कार संस्कृति सिकाउने र व्यवहारिक ज्ञानबारे सुसूचित पारेनन् भने उनीहरू समाज र संस्कारबाट टाढिने छन्† उनीहरू एकोहोरो हुनेछन् । एकपछि अर्को तिरस्कृत हुँदै गएपछि उनीहरू कुसंस्कार, कुलतमा लागेर बिग्रिन बेर लाग्दैन । कुलतमा लागे, जाँड रक्सी खाएर हो हल्ला गर्न थाले, लागूऔषधको सुई लिएर जीवन बिताउन थालेपछि उनीहरूलाई सही बाटोमा ल्याउन गा¥हो हुन्छ । अनि उनीहरू आफ्नै साथीभाइसँग झगडा गर्ने, झगडा गर्न ग्याङ फाइट गर्ने, बटुवाहरूसँग चोरीचकारी गर्ने, लुट्नेमात्र होइन हत्या हिंसाका घटनामा प्रत्यक्ष या अप्रत्यक्षरूपमा सामेल हुन बेर लाग्दैन ।
हरेक सन्तानलाई कुलतबाट जोगाउन घरमा अभिभावक र विद्यालयमा शिक्षकले राम्रो संस्कार दिने, समाज या समुदायसँग मिलेर बस्ने वातावरण तयार गर्नुपर्छ । शिक्षक र अभिभावकको चाहना कुनै पनि विद्यार्थीको जीवनमा दाग नलागोस् भन्ने हुन्छ । शुद्ध रगत बग्ने नसामा सुर्ती, लागूऔषधको झोल बग्यो भने उसको जीवन बर्बाद हुन्छ । यसले आफ्नो सन्तानलाई मात्र होइन परिवार र समाजलाई नै हानि गर्छ । सङ्गतले नै मानिसलाई सही या गलत ठाउँमा पु¥याउँछ । गलत व्यक्तिको सङ्गगले गलत परिणाम नै निम्त्याउँछ । त्यस्ता विद्यार्थीहरू पढाइमा कमजोर हुन्छन् या पढ्न रूचाउँदैनन् । उनीहरू उत्तीर्ण नै भए पनि देशको निम्ति आवश्यक दक्ष जनशक्ति तयार हुँदैन । आजका कमजोर विद्यार्थीहरू भोलि मुख्य मुख्य पदमा पुगेमा के उनीहरूले पदअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न सक्लान् ?
मनोरञ्जनको नाउँमा घुमफिर गर्ने, चुरोट, गाजा, भाङ, चरेस खाने, एकान्त स्थानमा गई लागूऔषधको सुई लिई आफ्नो मानसिक सन्तुलन गुमाउने काम कसरी सही हुन्छ ? पदमा पुग्न र नोकरी गर्नको निम्ति नक्कली प्रमाणपत्र तयार गर्नेहरुले देश र जनताको सेवा कसरी गर्छन् ? जनतामा सांस्कृतिक स्तर नभएर र राजनीतिक रूपले सुसूचित नभएकै कारण निर्वाचनमा गलत व्यक्तिहरू निर्वाचित भएको हामीले देखेको भोगेकै हो । नयाँ पुस्तामा राजनीतिक चेतना दिन नसकेकै कारण यहाँ बेलाबखत कहिले हुलदङ्गा, कहिले लुटपाट र तोडफोड भएको यथार्थ हो । कहिले धर्मको नाउँमा त कहिले जातीय द्वन्द्व चर्केर आन्दोलन र सङ्घर्ष भएको पनि यथार्थ हो । सङ्कीर्ण विचार, जातीय द्वन्द्वले देशमा असर पार्छ । पदमा पुगेपछि घुस खाने, भ्रष्टाचार गर्ने, अनियमितता गर्ने र पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने अवधारणा विकास हुनुको कारण सरकारले देशमा विधिको शासन चलाउन नसक्नु हो† राजनीति देश र जनताप्रति केन्द्रितभन्दा दलगत र व्यक्तिकेन्द्रित हुनु हो । यसले जनतामा असन्तोष बढेको हो । सरकारको नेतृत्व गर्ने दलका नेताहरू दूरदर्शी नहुँदा देश विकास मात्र नहुने होइन यहाँ कहिले धार्मिक द्वन्द्व त कहिले सांस्कृतिक द्वन्द्व भएको पनि अर्को यथार्थ हो ।
यसकारण, विद्यार्थी जीवनदेखि नै उनीहरूलाई असल नागरिक बनाउनेतर्फ उत्प्रेरित गर्नुपर्छ । विद्यालयको पाठ्यपुस्तकको ज्ञानबाहेक समाजमा भिज्ने, समाजको दुःख सुखबाट परिचित गराउने काममा शिक्षक र अभिभावक निरन्तर खटिरहनुपर्छ । विद्यालयले हाल गरिरहेका बधाई तथा मार्गनिर्देशन कार्यक्रम समय सान्दर्भिक छ । मार्गनिर्देशन कार्यक्रमलाई निरन्तरता दिनु जरूरी छ । मार्गनिर्देशन कार्यक्रमले मेहनत गरी पढ्ने, देशको लागि दक्ष र योग्य व्यक्ति बन्ने प्रेरणा मिल्नेछ । शिक्षा, अनुभव र विश्वास कहिल्यै सस्तो हुनेछैन । मन, विचार र चरित्र जहिल्यै सफा हुनुपर्छ । समय, छुटेको मौका र बोलेको शब्द कहिल्यै फर्केर आउनेछैन । आमा, बुबा, गुरू या मार्गनिर्देश गर्ने राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्तालाई सधैँ सम्मान गर्नुपर्छ साथै सम्मान गर्न उत्प्रेरित गर्नुपर्छ । हरेक नागरिकले जीवनको सार पाउनुपर्छ र जीवनलाई सार्थक बनाउनुपर्छ । जीवनको सार पाउन देश र समाजको दायित्व बोध गरेर आफ्नो श्रम, समय र सीप आफ्नै स्वदेशमा खन्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *