भर्खरै :

सेटिङमार्फत भिजिट भिसा, खाडीदेखि युरोपसम्म पठाइन्छन् नेपाली

सेटिङमार्फत भिजिट भिसा, खाडीदेखि युरोपसम्म पठाइन्छन् नेपाली

काठमाडौँ ९ जेठ (रातोपाटी) । काभ्रेकी आशा तामाङ (नाम परिवर्तन) वैदेशिक रोजगारीको खोजीमा थिइन् । आर्थिक अवस्था कमजोर, श्रीमान्ले अर्को बिहे गरिसकेका, छोराछोरीको लालनपालन र पठनपाठनमा समस्या भएपछि उनले चिनजानका एक एजेन्टसँग वैदेशिक रोजगारी जाने सल्लाह लिइन् ।
एजेन्टले कुवेतमा घरेलु कामका लागि राम्रो रोजगारी मिलाइदिने आश्वासन दिए । मासिक ३० देखि ५० हजार रुपैयाँ तलब हुने बताएपछि उनी मक्ख परिन् र एजेन्टको भनेअनुसार गर्दै गइन् ।
एजेन्टले पासपोर्ट बनाउनेदेखि सबै प्रक्रिया आफैँ मिलाउने र कुवेत पठाउने भन्दै सुरुमा दुई लाख ३० हजार रुपैयाँ मागे । पछि त्यो घटाएर एक लाख ८० हजार रुपैयाँमा कुरा मिलाएर सेटिङमा कुवेत पु¥याइदिने बताए । कुवेतमा घरेलु कामदारका रूपमा नेपाली महिलालाई पठाउन प्रतिबन्ध भए पनि आफूले सेटिङ गरेर पठाउने आश्वासन उनले दिएका थिए ।
पासपोर्ट बनेपछि उनलाई भिजिट भिसामा दुबई लैजाने व्यवस्था गरियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य १० जना महिलासहित सामान्य सोधपुछपछि उनीहरू दुबई पठाइए । दुबईमा एक महिना बसेपछि आशालाई कुवेत लगियो र त्यहाँका एक प्रहरी अधिकृतको घरमा काममा लगाइयो । काम गर्दै जाँदा ती अधिकृतले उनलाई यौन दुव्र्यवहार गरे । चार महिनापछि उनी एकदमै बिरामी भइन् ।
पछि उनलाई उद्धारमार्फत नेपाल ल्याइयो र उनले ती एजेन्टविरुद्ध उजुरी दिइन्, तर वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नलिई गएको आधारमा उजुरी लिन अस्वीकार ग¥यो । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
दाङका प्रकाश (नाम परिवर्तन) पनि भिजिट भिसाबाट ठगिने अर्का उदाहरण हुन् । वैदेशिक रोजगारीका लागि दुबई गएका उनी पोर्चुगल जान चाहन्थे । एजेन्टले दुबई हुँदै पोर्चुगल पठाइदिने भन्दै १० लाख ५० हजार रुपैयाँ लिएका थिए । तर दुबईमै ६ महिना राखेपछि उनी अलपत्र परे ।
एक मेनपावर व्यवसायीका अनुसार खाडी मुलुक र मलेसिया पठाउन ३० देखि ५० हजार, युरोप पठाउन डेढ लाखदेखि ३ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने हुन्छ । यसैबिच त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई पठाउने गरिएको खुलासा भयो ।
भिजिट भिसाका नाममा यसरी नेपाली ठगिने क्रम बढ्दो छ । श्रम स्वीकृति लिनु अनिवार्य भए पनि नजान्ने, दलालको पछि लाग्दा भिजिट भिसामार्फत विदेश जानेहरू बढेका हुन् । एजेन्टहरूले अध्यागमन कार्यालयदेखि सरकारी निकायसम्म सेटिङ गरेर श्रमिक पठाइरहेका छन् ।
एक मेनपावर व्यवसायीका अनुसार खाडी मुलुक र मलेसिया पठाउन ३० देखि ५० हजार, युरोप पठाउन डेढ लाखदेखि ३ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने हुन्छ । यसैबिच त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई पठाउने गरिएको खुलासा भयो ।
यस्ता सेटिङको जालो वैदेशिक रोजगार विभागसम्म फैलिएको छ । हाकिमदेखि तल्लो तहसम्मका कर्मचारी सेटिङमा लागेपछि हालै महानिर्देशकदेखि अधिकृतसम्म व्यापक फेरबदल गरिएको छ । सेटिङबिना विदेश जान नपाउने अवस्था र फर्जी कागजातमार्फत श्रमिक पठाइने उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो भने उनी हाजिरी जमानीमा छुटेका छन् ।
हाल युरोपमा मेनपावरमार्फत श्रमिक पठाउन पाइँदैन । प्रमाणीकरण रोकिएकाले केही मेनपावरले मात्र व्यक्तिगत श्रम स्वीकृतिमार्फत सीमित सङ्ख्यामा श्रमिक पठाइरहेका छन् । ती पनि अध्यागमनका कर्मचारीलाई पैसा बुझाएर मात्र जान पाउने अवस्था छ ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार हरेक वर्ष करिब एक लाख नेपाली भिजिट भिसामार्फत विदेश जाने गरेका छन् । सन् २०२४ मा दुई लाख ७४ हजार ४२८ जना भिजिट भिसाबाट विदेश गएका छन् ।
तीमध्ये एक लाख ५९ हजार ४३ जना पुरुष र एक लाख १५ हजार ३५६ जना महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *