भर्खरै :

सुशासन हेर्न भक्तपुर जानू

सुशासन हेर्न भक्तपुर जानू

सुशासनका लागि पारदर्शिता, जिम्मेवारी र उत्तरदायित्व महत्वपूर्ण आधार हुन् । यिनको अभावमा कुनै मुलुकको शासन व्यवस्थादेखि एउटा टोल समितिसमेतको सञ्चालन प्रभावकारी हुनसक्दैन । विडम्बना ¤ हामीकहाँ यसैको खडेरी छ । जसका कारण आम नेपालीमा दिन÷प्रतिदिन निराशा बढ्दो छ भने त्यसले विशेषगरी युवाहरूलाई खाडीतर्फ धकेलिरहेको छ । बाँकीलाई नकारात्मकताको दलदलमा फस्न बाध्य बनाइरहेको छ ।
यही अवस्थाबिच भक्तपुर नगरपालिका नेतृत्वले भने आशाको किरण छर्ने काम गरेको छ । यो नगरपालिकाले सुरु गरेका थुप्रै काम यस्ता छन् जुन देशमा मात्र हैन, विदेशीका लागि समेत अनुसन्धानलायक बनेका छन् । जस्तो– यो नगरपालिकाले आफ्नो नगर सफा राख्न गरेको प्रयास विश्व चर्चित छ । पर्यटकलाई आफ्नो नगरमा भित्याएबापत हुने आम्दानी खर्चिएका विकास निर्माणका काम गर्वलायक छन् । आफैँले सञ्चालन गरेको ख्वप कलेज शिक्षा कस्तो हुनुपर्छ भन्ने नमुना बन्न सकेको छ । त्यति मात्र हैन, कृषकलाई मल, बीउ, कृषि उपकरण आदिमा गरिने सहयोग र त्यसले बढाएको किसान मनोबलसमेत प्रशंसायोग्य छ ।
पछिल्लोपटक विकास निर्माणको काम लागत अनुमानभन्दा निकै कममा गराउने नगरपालिकाको रूपमा ख्याति कमाउन सकेको छ यसले । भर्खरै सम्पन्न लक्ष्मीनरसिंह मन्दिरको लागत अनुमान सात करोड ७७ लाख थियो तर यो काम चार करोड ८३ लाख रूपैयाँमै सम्पन्न गरी कीर्तिमान कायम गरेको छ यो नगरले । यसरी अनुमानभन्दा कममै सकिएका कामको सूची धेरै छन् यो पालिकासँग । टौमढीस्थित भैरव मन्दिर, पाँचतले मन्दिर आदि पनि लागतभन्दा कममै सकेको जस्ता भक्तपुर नगरपालिकामा सिक्नलायक यस्ता धेरै काम छन् । तर, अन्यत्र यस्तो देखिँदैन । लागत अनुमानभन्दा बढी खर्च गराउन समयमै सम्पन्न नगरी ‘भेरियसन’ गराउने गरिएको छ ।
हाम्रो मुलुकमा कुनै पनि काम समयमा पूरा नगर्ने र विभिन्न बहानामा खर्च बढाएर त्यसलाई अति महँगो बनाउने । मेलम्ची खानेपानी आयोजना होस् या दाउन्ने सडक खण्ड, सयौँ योजना छन्, जसलाई बेलैमा पूरा गराइन्न र उल्टै बजेट थप्न बाध्य पारिन्छ । यस्तो कार्यमा ठेकेदारसँग मिल्छन् कर्मचारी पनि । अनि थपिएको बजेट मिलिजुली खान्छन् । नेता, कर्मचारी र ठेकेदारको त्रिकोणात्मक गठजोडले हाम्रो मुलुकमा दोहन गर्दै आएको छ । यस्तो परिस्थितिबिच भक्तपुर नगरपालिकाले अनुमानभन्दा पनि कममै काम सम्पन्न गर्ने जुन असल अभ्यास गरिरहेको छ, त्यसको प्रशंसा मात्र गरेर पुग्दैन, अन्य स्थानीय तहले अनुशरण गर्नैपर्छ । स्थानीय तहले मात्र हैन, प्रदेश र सङ्घीय सरकारले पनि पछ्याउनै पर्छ । भ्रष्टाचार नगरी राजनीतिलाई सेवाका रूपमा अगाडि बढाउने यो प्रयास आफैंमा अनुकरणीय छ ।
यो नगरपालिका काममा पनि कति सक्रिय छ भन्ने थाहा पाउन एउटै तथ्याङ्क काफी छ– २०७२ सालको भूकम्पले यो पालिकाभित्रका एक सय २० वटा सम्पदामा क्षति पु¥याएको थियो । जसमध्ये एक सय १८ वटा पुनर्निर्माण वा जीर्णोद्धार भइसक्नु र बाँकीको काम पनि तीव्र स्तरमा जारी रहनु । अन्य पालिकाहरू बजेट अभाव, सामग्री नपाइएको, डकर्मी÷सिकर्मीले नसघाएको जस्ता बहानामा ढिलाइ गरिरहेका बेला भक्तपुरले मौन रूपमा गरिरहेको प्रगति वास्तवमै ठुल्ठुलो स्वरमा सुनाउनुपर्ने खालको छ । विकासको यो मोडल सबैका निम्ति चाहिएको छ । विकास हेर्न अन्यत्र मुलुक जानै पर्दैन । हाम्रै भक्तपुरले देखाइरहेको छ ।
सङ्घीयताको यतिबेला धेरैतिरबाट विरोध भइरहेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू क्रमशः बदनाम हुँदै गइरहेकाले सङ्घीयताकै औचित्यमाथि प्रश्न उठिरहेका छन् । यस्तो बेलामा भक्तपुर नगरपालिकाले जे काम गरिरहेको छ, त्यसबाट प्रस्ट हुन्छ जान्यो भने र ढङ् पु¥याएर अघि बढ्यो भने सङ्घीयता विकासका लागि अवसर पनि हो । भक्तपुरले सिकाएको यही पाठ मनन गरेर अघि बढ्ने हो भने अहिले सङ्घीयताविरुद्ध उठेका रोष आफैँ मत्थर हुनेमा शङ्का नगरे हुन्छ ।
हामीसँग राजस्वका स्रोत अत्यन्त सीमित छन् । मुलुकमा उद्योग, कलकारखाना खासै छैनन् । यस्तो अवस्थामा प्राप्त सीमित स्रोतबाट ठुलो आकाङ्क्षा पूरा गर्नुपर्ने बाध्यता छ । त्यसैले योजनाहरूमा पैसा थपेर केही ठेकेदार र कर्मचारीलाई मालामाल बनाउनेभन्दा त्यही कामलाई थोरै बजेटबाट कसरी थप स्तरीय बनाउन सकिन्छ भन्नेबारे सोच्न ढिला भइसकेको छ । यसरी अनुमान गरेभन्दा वा विनियोजित बजेटबाट उब्रेको रकमले अन्य योजना वा विकास निर्माण वा पूर्वाधारको काम सम्पन्न गर्न सकिन्छ । यसो भएमा बल्ल स्थानीय तहको नेतृत्वप्रति स्थानीयको विश्वास बढ्दै जान्छ र सङ्घीयताको मर्म पनि वास्तवमै सार्थक हुनसक्छ । बरु यसबारे जुक्ति आवश्यक प¥यो भने भक्तपुर नगरपालिका भ्रमण गर्न हिच्किचाउनु पर्दैन । हामी भन्छौँ– विकास हेर्न भक्तपुर जानू ।
‘नागरिक’ दैनिक ९ जेठ २०८२ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *