भर्खरै :

खेलाडीहरू हार र जितमा मात्र ध्यानकेन्द्रित हुन नहुने

खेलाडीहरू हार र जितमा मात्र ध्यानकेन्द्रित हुन नहुने

भक्तपुर, १० जेठ । भक्तपुर युवा टीमको आयोजनामा भएको कुमार ग्वाछा खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिताको विजेता भारतका १५ वर्षीय विनायक सिं यादव भएका छन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले नेपालजस्तो गरिब मुलुकमा खेललाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
उहाँले बुद्धिचाल अन्तर्राष्ट्रिय खेल भएको हुँदा अन्तर्राष्ट्रिय जगत्मा सम्बन्ध कायम गर्न, घुलमिल गर्न र अन्तरक्रिया गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
खेलाडीहरू हार र जितमा मात्र ध्यान केन्द्रित नभई नेपाली समाजको समस्या सम्बन्धित ठाउँसम्म पु¥याएर जिम्मेवार नागरिक बन्नुपर्ने र बनाउनुपर्ने उहाँले बताउनुभयो ।
खेलाडीहरू देशप्रेमी, संवेदनशील बन्नुपर्ने र उनीहरूमा राजनीतिक चेतना पनि हुनुपर्ने स्पष्ट पार्दै उहाँले बुद्धिचाल एउटा कूटनीतिक खेल भएको हुँदा खेलको माध्यमबाट कूटनीतिक क्षेत्रमा योगदान पु¥याउनुपर्ने बताउनुभयो ।
टीमका सल्लाहकार एवम् भक्तपुर नगरपालिका ७ नं. वडाका वडाध्यक्ष उकेश कवांले खेलाडीले आप्mनो खेलको माध्यमबाट देश र जनताको पनि सेवा गर्नुपर्ने बताउनुभयो ।
उहाँले खेलमा हार र जित हुन्छ तर खेलकुदबाट जोडेको मित्रता पछिसम्म कायम रहने भएकोले खेलाडीहरूले खेललाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
टीमका अर्का सल्लाहकार श्रीकृष्ण किसीले विजयी खेलाडीहरूलाई बधाई दिँदै विजय हासिल गर्न नसकेका खेलाडीहरूले निरन्तर प्रयास गरिरहनुपर्ने बताउनुभयो ।
जेठ ९ गतेबाट भएको प्रतियोगितामा धरानका मुहन नर्सिङ श्रेष्ठ द्वितीय हुन सफल भए भने काठमाडौँका प्रेमकृष्ण महर्जन तृतीय हुन सफल भए । प्रतियोगिताबाट उत्कृष्ट भक्तपुर जिल्ला खेलाडीको रूपमा निकेन कुसाथा, उत्कृष्ट भक्तपुर नगर खेलाडी प्रथम र द्वितीय क्रमशः पुरूषोत्तम दुवाल र गणेशमान दुवाल घोषणा भए ।
प्रतियोगिताबाट उत्कृष्ट महिला खेलाडी कुसुम घिसिङ, उत्कृष्ट भेट्रान खेलाडी अशोकमोहन श्रेष्ठ, १४००–१६९९ का उत्कृष्ट खेलाडी राजकुमार राई र १७००–१८९९ का उत्कृष्ट खेलाडी भगवतीप्रसाद शर्मा घोषित भए ।
त्यस्तै, उत्कृष्ट अन्रेटेड खेलाडी प्रथम कैलाशशरण बराल र दोस्रो अशोक पण्डित भए भने उत्कृष्ट १६ वर्षमुनि, १४ वर्षमुनि, १२ वर्षमुनि र १० वर्षमुनिका खेलाडीहरू क्रमशः सजल न्यौपाने, प्रत्युशा श्रेष्ठ, स्वातिकमान तुलाधर र हृदय बस्नेत हुन सफल भए ।
प्रतियोगितामा भारतका ४, इङ्गल्यान्डका १ गरी पाँच विदेशी र भक्तपुर जिल्लासहित २५ जिल्लाका १३७ जना खेलाडीहरूको सहभागिता थियो भने ५ जना महिलाको सहभागिता थियो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा टीमका सचिव रामेश्वर मचामसीले विजेता खेलाडीहरूलाई बधाई दिनुभएको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले पुरस्कार वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *