“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, १० जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारको अनुगमन प्रभावकारी नहुँदा सहकारी संस्थामा राखिएको ४ खर्बभन्दा बढी रकम ठगी गरिएको उल्लेख गर्नुभयो ।
भिन्तुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गतको महिला तथा बालबालिका उपसमितिको आयोजनामा सम्पन्न महिला समूहको भेलामा सांसद सुवालले सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थामा कर्जा लिएर सानातिना काम गर्नेहरूलाई सरकारबाट अनुकूल वातावरण उपलब्ध नभएको बताउनुभयो ।
सांसद सुवालले समाजलाई सुसंस्कृत बनाउन नयाँ पुस्तालाई मदिरा र सुर्तीजन्य पदार्थबाट टाढा राख्नुपर्ने आवश्यकता औँल्याउँदै नयाँ पुस्तालाई घरैबाट बानी–व्यहोरा, बोलीचाली, लवाइखुवाइ सुसंस्कृत हुने गरी सिकाउनुपर्नेमा जोड दिनुभयो ।
टोल टोल र घरघरमा रामायण, महाभारत, स्वस्थानी कथा वाचनको व्यवस्था हुँदा पहिले पहिलेका पुस्तालाई त्यसबारे धेरथोर जानकारी मिलेको उल्लेख गर्दै सांसद सुवालले अबको नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी दिन घरघरमा दिनको एक समय छलफलको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी दिलाउन नेमकिपाका प्रकाशनहरू, ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक सहयोगी हुने उल्लेख गर्दै सांसद सुवालले पुँजीवादमा मुठीभरका मानिसहरूसँग स्रोत र साधन कब्जामा रहने र असङ्ख्य जनता पीडित शोषित हुने बताउनुभयो ।
सांसद सुवालले वर्तमान पुँजीवादी प्रजातन्त्र (गणतन्त्र) ले ल्याएको सङ्कट राजतन्त्र पुनःस्थापनाबाट समाधान नहुने उल्लेख गर्दै सङ्कट समाधान गर्न उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यको हुने समाजवादी गणतन्त्र जरूरी भएको बताउनुभयो ।
वाग्मती प्रदेशसभाका सदस्य सिर्जना सैँजूले पुरूषलाई भन्दा महिलालाई ४२ भन्दा बढी किसिमका थप रोग लाग्ने उल्लेख गर्दै स्वस्थ शरीरको लागि खानपानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
पाकेटका तयारी पत्रु खानेकुरा स्वास्थ्यको लागि हानिकारक हुने उल्लेख गर्दै सांसद सैँजूले विद्यालयमा पत्रु खानेकुरा निषेध गर्नु जरूरी रहेको औँल्याउनुभयो ।
भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाका विकास निर्माण तथा योजनाबारे जानकारी गराउनुभएको सो कार्यक्रममा स्थानीय रत्नकाजी नायोभारी, संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालले पनि बोल्नुभएको थियो ।
संस्थाका महिला तथा बालबालिका उपसमितिका सदस्य बद्रीलक्ष्मी कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य केशरी प्रधानले पनि बोल्नुभएको थियो ।
Leave a Reply