भर्खरै :

काँक्राबारीका जनता न ‘विभीषण’ हुन् न ‘बन्चरोको बिँड’ !

  • जेष्ठ १२, २०८२
  • वसन्त खत्री
  • विचार
काँक्राबारीका जनता न ‘विभीषण’ हुन् न ‘बन्चरोको बिँड’ !

भक्तपुर, ११ जेठ । सूर्यविनायक नगरपालिका वडा नं ९, काँक्राबारीमा केही भूमाफियाहरूले कम्पनीको नाममा सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी डोजर चलाउँदै छन् । भूमाफियाहरूले वन क्षेत्र मिच्न काँक्राबारी भित्री वन उपभोक्ता समितिकै केही पदाधिकारीलाई ‘विभीषण’ बनाउँदै छन् । वन उपभोक्ता समितिका मुख्य मान्छेलाई मौन राख्न रु. २ लाख ६० हजार रूपैयाँको चेक दिइएको सार्वजनिक भयो । सो वन उपभोक्ता समितिको २०७६/७७ देखि हालसम्म साधारणसभा समेत नभएको चर्चा छ ।
२०८२ वैशाख २१ गते प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू तथा सम्बन्धित विषयगत निकायका जिल्लास्थित कार्यालय प्रमुखको टोलीले स्थलगत अनुगमन गर्दा सार्वजनिक पर्ती जग्गा मिचिएको सार्वजनिक भयो । नापी कार्यालय र डिभिजन वन कार्यालयले पनि कुलो, पर्ती, बाटोसमेतका ६–७–०–० रोपनी सरकारी एवम् सार्वजनिक प्रकृतिको जग्गा र २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन क्षेत्र मिचेको प्रतिवेदन तयार गरे । जग्गा मिचेको प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने होइन र ?
डिभिजन वन कार्यालयले पनि वन क्षेत्र मिचिएको जानकारी पहिल्यै पाइसकेको होइन र ? वन कार्यालयले आफ्नो मिचिएको क्षेत्र फिर्ता गराउने कि किला ठोकिसकेको भनेर मौन
बस्ने ?
सर्वसाधारण व्यक्तिले वनको एउटा रूख मात्रै काटे पनि वन मुद्दा लाग्छ । तर, भूमाफियाले वन क्षेत्र मिचेर वनका हजारौँ रूख सखाप पार्दासमेत जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सूर्यविनायक नगरपालिका मौन बस्नुले सर्वसाधारणमा शङ्का उब्जिएको छ । यो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आकर्षणको विषय होइन र ?
रूख काट्न रूखकै हाँगाबाट ‘बञ्चरोको बिँड’ बनाइएजस्तै भूमाफियाहरूले काँक्राबारीको सार्वजनिक पर्ती जग्गा र वन मिच्न काँक्राबारीकै स्थानीयलाई प्रयोग गर्दै छन् । काँक्राबारीका स्थानीय जनता भूमाफियाविरूद्ध एक हुनु जरूरी छ । मजदुर भएर काम गर्ने स्थानीय जनता भूमाफियाको २–४ सय रुपैयाँ ज्यालामा किन लाग्ने ? स्थानीय जनता भूमाफियाको ‘बञ्चरोको बिँड’ होइनन् । सबै सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *