नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
काठमाडौँ, मे २५ (अलजजीरा) । लगातार जातिसंहार र जातीय सफाया मच्चाउँदै इजरायली सेनाले ७७ प्रतिशत गाजा नियन्त्रणमा लिइसकेको छ । गाजास्थित सरकारी कार्यालयले राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायलाई ‘सम्पूर्ण अन्तर्राष्ट्रिय नियम–कानुनको ठाडो उल्लङ्घन’ रोक्नको लागि तत्काल पाइला चाल्नको लागि अनुरोध गरेको छ । मे २५ गते दिनभरिमा इजरायली आक्रमणमा कम्तीमा २२ प्यालेस्टिनीहरू मारिएका छन् । चर्चित पत्रकार हसन माज्दी अब वार्दा परिवारका अन्य सदस्यसहित मारिएका छन् ।
पत्रकार हानी महमुदका अनुसार इजरायली सेना दक्षिणी र उत्तरी गाजाबाट हजारौँ परिवारलाई खेद्दै नृशंस कारबाहीमा उत्रेको छ । घर छोडेर भाग्न नमान्नेहरू पनि धेरै छन् । सुरक्षित स्थल भनिएका स्थान सुरक्षित नहुने र जतिबेला पनि आक्रमणमा पर्न सक्ने हुनाले उनीहरू भाग्न नमानेका हुन् । तथाकथित सुरक्षित स्थल अल–मवासीमा पटकपटक इजरायली सेनाले बमबारी गरिसकेको छ । भारी तोप, बमवर्षक र थल सेनाको पनि प्रयोग भइरहेको छ । घर छोड्न नमान्ने गाजावासीहरूलाई निर्मम दण्ड दिइँदै छ । गाजापट्टीको मध्य भागमा राहत सामग्री लिन मानिसको घुइँचो लागेको स्थानमा पनि निरन्तर आक्रमण भइरहेको छ ।
मानव अधिकारवादी संस्था युरोमेड मोनिटरका अध्यक्ष रामी अब्दुका अनुसार इजरायली सेनाले हजारौँ प्यालेस्टिनी परिवारको अविराम हत्या गरिरहेको छ । पछिल्लो आँकडाअनुसार १ हजार १० परिवार बीउ नै नरहने गरी मारिएका छन् । २,६२० परिवारका एकजना सदस्य मात्र जीवित छन् । ४,१२६ परिवारका दुईजना सदस्य मात्र जीवित छन् ।
पछिल्लो विवरणअनुसार सन् २०२३ अक्टोबर ७ यता गाजामा मृतक सङ्ख्या ५३,९३९ पुगेको छ भने घाइतेको सङ्ख्या १,२२,७९७ पुगेको छ । गत मार्च १८ मा इजरायलले एकतर्फी रूपमा युद्धविराम भङ् ग¥यो । त्यसयता इजरायली आक्रमणमा परेर ३,७८५ जना मारिएको र १०,७५६ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसबिच पश्चिम किनारामा पनि इजरायली बसोबासीहरूको आक्रमण चुलिएको छ । आज (मे २५) अल–अक्सा मस्जिद उनीहरूको आक्रमणमा परेको छ । इस्लाम धर्मको तेस्रो पवित्रस्थल मानिने सो मस्जिदमा आक्रमणकारीहरू पसेर यहुदी धर्मग्रन्थ तलमुदका मन्त्र पाठ गरेका छन् । यसअघि सो मस्जिदमा मुस्लिम धर्मावलम्बीहरूलाई मात्र प्रवेश अनुमति थियो ।
यसका साथै कतिपय इजरायली जनता केही सय प्रदर्शनकारीका साना समूह बनाएर गाजा युद्ध बन्द गर्ने मागसहित सडकमा उत्रेका छन् । प्रदर्शनकारीहरूले गाजा आसपासका इलाकालाई केन्द्रबिन्दु बनाइरहेका छन् । उनीहरू गाजाका बालबालिका तथा महिलाको निर्मम हत्या गरेकोमा इजरायल सरकारको विरोध गर्दै छन् । पछिल्लोपल्ट इजरायली संसद् कनेस्सेटमा विपक्षी नेता आयद ओदेहले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित समग्र ‘युद्ध सरकार’ ले ‘१९ हजार महिला र बालबालिकाको हत्या गरेको’ भन्दै विरोध जनाएका छन् ।
Leave a Reply