भर्खरै :

‘जनताको एकताले लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण छिटो सम्पन्न भएको हो’

  • जेष्ठ १२, २०८२
  • नारायणमान बिजुक्छेँ (रोहित), अध्यक्ष, नेमकिपा
  • विचार
‘जनताको एकताले लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण छिटो सम्पन्न भएको हो’

(२०८२ जेठ ६ गते भक्तपुर नगरपालिकाको आयोजनामा भएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा व्यक्त मन्तव्यको सार)
लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु । जनताको एकताले कुनै पनि काम सजिलै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण यस लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणले साबित गरेको छ । यो मन्दिर पुनःनिर्माण सरकारको तर्फबाट गर्नुपर्ने भए, कति समय लाग्ने र भ्रष्टाचार कति हुन्छ भनी अनुमान गर्न गाह्रो छ । जनता नै मिलेर सार्वजनिक सम्पत्ति संरक्षणमा लागेपछि काम पनि छिटो सकिने र जनताले पनि काम सिक्ने अवसर पाउनेछन् ।
नरसिंह भनेकै शक्तिको प्रतीक हो । यो मन्दिरमा नरसिंहले लक्ष्मीलाई बोकेको देख्न सक्छौँ । त्यो भनेको शक्तिको प्रतीक मात्र होइन, सन्तुलनको प्रतीक पनि हो भन्ने बुझिन्छ । त्यसैले, सबै जनताले शक्तिको आडमा केही चिज हासिल गर्छु भन्ने सोच्नु गलत हुनेछ । जसरी साम्राज्यवादी देशहरू बेलायत, अमेरिकाले आफ्नो शक्तिको भरमा ससाना देशलाई आफ्नो कब्जामा राख्न खोजेका छन्, त्यो प्रभाव अहिले विस्तारै कम हुँदै गएको छ । शक्ति भएर मात्र पुग्दैन, राम्रो व्यवहार पनि गर्नुपर्छ भन्ने यसले सन्देश दिन्छ ।
हाम्रो देशको कला संस्कृति, मठ–मन्दिर, पाटी पौवा सबै हाम्रो पहिचान हो । यसलाई संरक्षण र पुनःनिर्माण गर्नु हाम्रो कर्तव्य हो । कर्मचारी शैलीमा काम गर्यो भने राम्रो काम हुँदैन । जनताको काममा त्यस्तो हुँदैन† अपनत्व बढी हुन्छ । समयमै काम पनि सम्पन्न हुन्छ । जनताले बिनास्वार्थ देश र समाजको सेवा गर्छन् । ती श्रमजीवीहरूप्रति सम्मान छ ।
प्रकृतिले हामीलाई जङ्गल, हावा, पानी, रुख, माटो दिएको छ । हाम्रो पहिचान भनेको कला संस्कृति नै हो । यसलाई जीवित राख्न सके मात्र हाम्रो पहिचान जोगिन्छ । सबैको योगदानले यो मन्दिर समयमै पुनःनिर्माण गर्न सफल भएको हो । मन्दिर पुनःनिर्माणमा सबैको सहयोग प्राप्त भएको देखिन्छ । कसैले चन्दा दिएर, कसैले आवश्यक निर्माण सामग्री दिएर मद्दत गरेको छ ।
यो मन्दिरको लगत इस्टिमेट ७ करोड ७७ लाख भए पनि नगरपालिकाले ४ करोड ८३ लाखमै सम्पन्न गरेको छ । सरकारको तर्फबाट यो काम भएको भए ७ करोडमा पनि सकिँदैनथ्यो । आर्थिक अनियमितता धेरै हुन्थ्यो । माथिदेखि तलसम्म मिलेमतोमा भ्रष्टाचारको सम्भावना हुन्थ्यो । हामी जिल्ला जिल्लामा जाँदा सबैले सोध्थे, भक्तपुरमा मात्र कसरी राम्रोसँग काम भयो ? अरु ठाउँमा किन काम हुँदैन ? भक्तपुरमा सहयोगी भावनाले काम हुने हुँदा यहाँ काम हुन्छ भनी जवाफ फर्काउँथ्यौँ । मन्दिर पुनःनिर्माणमा काम गर्ने कालिगड, प्राविधिक सम्पूर्णलाई बधाई तथा धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *