भर्खरै :

प्रजग कोरिया शिक्षाको देश

  • जेष्ठ १२, २०८२
  • गौरव प्रधान
  • विचार
प्रजग कोरिया शिक्षाको देश

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले साँच्चै देशमा सांस्कृतिक, वैचारिक क्रान्तिमात्र होइन प्राविधिक क्रान्ति पनि ग¥यो । प्राविधिक क्रान्तिकै कारण प्रजग कोरिया शिक्षाको देश बन्यो; सरसफाइको देश बन्यो । देशमा दशकौँअघि नै ११ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षाको बन्दोबस्त भएको थियो । कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित छैनन् । आवश्यकताअनुसार सबै ठाउँमा शिशुशाला र शिशुस्याहार केन्द्रको बन्दोबस्त थियो । किसान, मजदुर र माझीहरूको निम्ति पनि उच्च शिक्षालयको बन्दोबस्त थियो । प्रजग कोरिया सिङ्गो देशलाई बुद्धिजीवीकरण गर्ने अभियानमा छ । शिक्षा क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिले नै प्रजग कोरियालाई शिक्षाको देश भनिएको हो ।
मानिसको विचारलाई नबदलिकन समाज बदल्न सकिँदैन भन्ने प्रजग कोरियाको मान्यता छ । शिक्षित गर्नुको कारण मानिसको विचार बदल्नु हो† मानिसलाई क्रान्तिकारी बनाउनु हो । शिक्षा क्रान्ति र निर्माणको निम्ति सधैँ पहिलो पङ्क्तिमा रहनुपर्छ भन्ने मान्यता प्रजग कोरियाको हो । श्रमिकवर्गको पार्टीले क्रान्तिमा आफ्ना पूर्वजहरूको ठाउँ लिन आउने नयाँ पुस्ताका केटाकेटीहरूलाई ठीक या सही शिक्षा दिनुपर्छ भन्ने त्यस देशको अर्काे मान्यता हो । क्रान्ति र निर्माणलाई अगाडि बढाउन र निरन्तरता कायम राख्न नयाँ पुस्तालाई क्रान्तिको जिम्मा लिने शक्तिको रूपमा प्रजग कोरियाले तयारी गरिरहेको छ । यो देशको आवश्यकता पनि हो ।
समाजवादको पूर्ण विजयको लागि शैक्षिक कार्य या विकासलाई अझ विकसित गर्ने अभियानमा प्रजग कोरिया निरन्तर लागिरहेको छ । समाजवादको पूर्ण विजय प्राप्त गर्न प्रजग कोरियाले पुरानो समाजले छोडेको अवशेषको रूपमा रहेको मजदुर र किसान वर्गबिचको भेद र सहर गाउँबिचको भिन्नता अन्त्य गर्ने अभियान पनि छेड्यो । यो काम सफल पार्न नै प्रजग कोरियाले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्तिलाई अगाडि बढाएको हो । यी तीन क्रान्तिलाई सफल पारेर देशमा वर्गविहीन समाज स्थापना गर्ने बाटोमा प्रजग कोरिया अग्रसर छ । समाजवादको पूर्ण विजयको निम्ति सम्पूर्ण समाजलाई जुछे विचारधाराको ढाँचामा ढाल्ने काम गरियो । शिक्षाको विकास नगरिकन प्राविधिक क्रान्ति र निर्माणमा सफलता पाउनु कठिन नै हुनेछ । शिक्षाको स्तर भन्नु नै मुलुकले विज्ञान र प्रविधि क्षेत्रमा गरेको उन्नति हो ।
एघार वर्षे अनिवार्य र निःशुल्क शिक्षाको चरण प्रजग कोरियाको निम्ति महत्वपूर्ण चरण रह्यो । मानिसहरूले विश्व दृष्टिकोण तयार गर्ने, उनीहरूको बौद्धिक विकास हुने र उनीहरूको चरित्र बन्ने समय यही चरणमा हो । एघार वर्षे अनिवार्य शिक्षाको गुणस्तरलाई उन्नत पारेर सबै बालबालिकालाई उच्च कोटीको शिक्षा दिन सक्यो भने विश्वविद्यालयमा योग्यता प्राप्त या दक्ष प्राविधिक र विशेषज्ञहरू तयार गर्न सकिन्छ । प्रजग कोरियाले माध्यमिक शिक्षा आर्जनकै क्रममा विद्यार्थीलाई ज्ञानमुक्त, नीतिवान्, देशभक्तमात्र होइन कम्युनिस्ट बनाउने स्थिति तयार गर्दै आएको छ । सरकारले राजनीतिक विचारबाट सुसूचित पार्ने व्यवस्था गर्न सोहीअनुसारको शिक्षाको बन्दोबस्त गरेको छ । विद्यार्थी र युवालाई क्रान्तिकारी विचार या आम जनतामा केन्द्रित विचारबाट प्रशिक्षित गर्ने, क्रान्तिकारी र कम्युनिस्ट शिक्षा दिने काम प्रजग कोरियाको अनुकरणीय कदम हो । उन्नत विज्ञान र प्रविधिको ज्ञानलाई व्यापक बनाउन विज्ञान र संस्कृतिको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन माध्यमिक शिक्षा तहमै विदेशी भाषाको सामान्य ज्ञान दिनुपर्ने विचार किम इल सङले सन् १९८४ मै व्यक्त गर्नुभएको थियो ।
माध्यमिक शिक्षाको समयावधिमा नै विद्यार्थीहरूलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्न सिकाइन्थ्यो । आज संसारका कति देशका शासक, नेता,
प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री र सांसदहरू इमानदार र निःस्वार्थी नभएकै कारण भ्रष्टाचार, अनियमितता र कमिसनको चक्करमा फसे† फस्दै छन् । देश र पार्टीको नेतृत्व गर्ने शासक या राष्ट्रनायकहरू नै भ्रष्ट, कलुषित, बेइमान भएपछि देशको स्थिति के होला ? यसबाट अरुले के शिक्षा लेला ? विद्यार्थीहरूलाई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न र गराउन प्रजग कोरियामा व्यवहारिक कार्य र अभ्यास हुन्थ्यो; विद्यार्थीले सिकेका सिद्धान्त र विचारलाई व्यवहारमा ल्याउने काम हुन्थ्यो । शिक्षाको विषयवस्तु सही भए पनि समाजवादी शिक्षाबाट दीक्षित भएन भने उद्देश्य अधुरो हुन्छ र नयाँ पुस्ता विस्तारै बिग्रिन थाल्छ या विचारबाट विचलित हुन थाल्छ भन्नेबारे प्रजग कोरिया सचेत हुन्थ्यो । त्यसकारण, हरेक सच्चा कम्युनिस्ट पार्टीले सिद्धान्त र विचारलाई जोड दिएको हुन्छ । नेपाल मजदुर किसान पार्टीले पनि स्थापनाकालदेखि नै सिद्धान्त र विचारलाई जोड दिँदै आएको हो; त्यसबारे आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्दै आएको हो । नेमकिपाले झैँ अरु कम्युनिस्ट पार्टीले पनि कार्यकर्ता र जनतालाई सुसूचित पार्दै आएको भए देशका बहुमत जनता सुसूचित र सङ्गठित हुन्थे । यसले परिवर्तनको निम्ति बाटो खोल्थ्यो । तर, नेपालका कम्युनिस्ट भनिने ठुला दलका नेताहरू सत्तामुखी र भागबन्डाको राजनीतिमा फसे; त्यही कारण बहुमत जनता अहिले पनि सिद्धान्तनिष्ठ भएनन्, कम्युनिस्ट विचारबाट सुसूचित भएनन् ।
विज्ञान र प्रविधिको यो युगमा उच्च शिक्षाको वैज्ञानिक र सैद्धान्तिक स्तरलाई अझ माथि पु¥याउनुपर्छ । इन्जिनियरिङ विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई वैज्ञानिक र प्राविधिक पक्षबारे ज्ञान दिने काम ग¥यो । कृषि विश्वविद्यालयले जुछे कृषि तरिका र जुछेमुखी कृषि विज्ञान र प्रविधि ज्ञानको शिक्षा दियो । उच्च शिक्षाले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिनुपर्छ; विश्वविद्यालयमा वैज्ञानिक अनुसन्धान उन्नत पार्नुपर्छ भन्ने भावना राखी शिक्षालयले काम गरिरहेको छ । प्रजग कोरियाको विश्वविद्यालय भनेको राष्ट्रिय कार्यकर्ताहरूलाई तालिम दिने केन्द्र र वैज्ञानिक अध्ययनको स्थान हो । विश्वविद्यालयले वैज्ञानिक अनुसन्धानलाई जोड दिँदै आयो । देशको विज्ञान र प्रविधिको क्षेत्रमा योगदान लिने सुयोग्य वैज्ञानिक र प्राविधिज्ञ तयार गर्न नै यस्ता अभ्यासहरू भएको हो ।
प्रजग कोरियामा सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गर्नु शिक्षाविद्हरूको महत्वपूर्ण अभिभारा हो भन्ने मान्यताका साथ काम भइरहेको छ । प्रजग कोरियामा समाजवादी समाजको निर्माणको चरणमै बुद्धिजीवीकरण गर्न शिक्षा क्षेत्रले कारखानामा काम गर्ने मजदुर, खेतमा काम गर्ने किसान र माछा मार्ने माझीहरूको निम्ति कलेज सञ्चालन गरिएको हो । प्रजग कोरियामा रहेको जन अध्ययन गृह समाजका सबै सदस्यहरूलाई बुद्धिजीवीमा परिणत गर्ने महत्वपूर्ण केन्द्रमध्ये एक हो । देशका सबै जनताको ज्ञानको स्तर बढाउन, प्राविधिक तथा सांस्कृतिक स्तर उठाउन प्रजग कोरियाले जनता, सेना तथा सर्वसाधारण सबैले अध्ययन गर्नुपर्छ भनी जोड दिँदै आएको हो ।
नयाँ पुस्तालाई क्रान्तिका उत्तराधिकारी बन्ने गरी, सच्चा कम्युनिस्ट बन्ने गरी हुर्काउने, आफ्नो कर्तव्य पूरा गर्ने पेशेवर क्रान्तिकारीको रूपमा शिक्षकलाई लिइएको पाइन्छ । प्रजग कोरियाको पार्टीले शिक्षकहरूलाई भविष्यको प्रतिनिधित्व गर्ने उदीयमान पुस्ता तयार गर्ने जिम्मेवारी दिएको छ । भनिन्छ, शिक्षकहरू मुलुकको भविष्यरूपी नयाँ पुस्तालाई हुर्काउन नदेखिने अज्ञात उद्यमीहरू हुन्; अज्ञात क्रान्तिकारी हुन् । त्यसकारण, शिक्षकहरूको तालिमलाई उन्नत पार्नु समाजवादी शिक्षाको विकासको लागि जरुरी छ । शिक्षाशास्त्र, विश्वविद्यालय र शिक्षक तालिमका कलेजहरू शिक्षक तालिम गर्ने प्रजग कोरियाको पार्टीका भरपर्दा केन्द्र हुन्, नयाँ पुस्ताको शिक्षाको लागि हुर्काउने केन्द्र हुन् । शिक्षक र विद्यार्थीलाई पार्टी तथा नेताप्रति सम्पूर्णरूपले सच्चा कम्युनिस्ट बनाउने र पार्टीको शैक्षिक नीति सफलतासाथ कार्यान्वित गर्ने बाटो पनि हो । प्रजग कोरियाको पार्टी सङ्ठनको काम नै विद्यार्थीलाई प्रभावकारी शिक्षा दिनु हो† सही शिक्षा दिनु हो । पार्टी सङ्ठनले विद्यालयलाई कडा शैक्षिक अनुशासन कायम गराउँछ । त्यही भएर प्रजग कोरिया शिक्षाको देश बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *