भर्खरै :

दक्षिण अफ्रिकाको छटपटी

  • जेष्ठ १२, २०८२
  • आजाद इसा
  • विचार
दक्षिण अफ्रिकाको छटपटी

त्यो दिन अनेक क्रूर अन्तर्विरोध देखियो ।
केही दिनदेखि गाजामा जातिसंहारले उग्र रूप लिइरहेको हुनाले राष्ट्रसङ्घले १४ हजार शिशुहरू मृत्युको मुखमा पुगेको बतायो । उता त्यही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा ‘गोराहरूको जातिसंहार’ चलाएको आरोप लगाए ।
ट्रम्पले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोजालाई सिधा प्रश्न गरे । दक्षिण अफ्रिकामा गोरा किसानहरूको हत्या भइरहेको विषय प्रस्ट पार्न ट्रम्पले आफ्नो स्वभावविपरीत गएर आग्रह गरे ।
धकाउँदो मुस्कानसाथ पछि हट्नुबाहेक रामाफोसासँग अर्को विकल्प थिएन । किनभने, बातचित प्रत्यक्ष प्रसारणमा गइरहेको थियो । रामाफोसाको लागि त्यो धराप थियो ।
तर, ट्रम्पले जोड दिन छोडेनन् । उनी झडप गर्ने वा घुँडा टेकाउने पक्षमा थिए । ट्रम्पले दक्षिण अफ्रिकाका गोराहरू ‘हिंसा र जातिवादी ऐनकानुनका कारण भागिरहेको’ बताए । यो भन्दै गर्दा उनले ‘जातिसंहार’ भइरहेका केही तस्बिरहरू पनि देखाइरहेका थिए ।
ट्रम्पले सहयोगीहरूलाई बत्ती तल पार्न भने र दक्षिण अफ्रिकाका विपक्षी नेता जुलियस मलेमाको भिडियो देखाउन थाले । भिडियोमा मलेमाले संसद्को एक सत्रमा जमिन अधिग्रहण गर्न माग गर्दै थिए ।
अर्को भिडियोमा मलेमाले (गोराहरूलाई इङ्गित गर्दै) ‘बोयरलाई मार’ भन्ने नारा लगाउँदै थिए । दक्षिण अफ्रिकामा रङ्गभेदी शासनको बेला जनतालाई सङ्गठित गर्न यो नाराले ठुलो काम गरेको थियो । अर्को भिडियोतिर देखाउँदै ट्रम्पले दक्षिण अफ्रिकामा ‘१ हजारभन्दा बढी’ गोरा किसानहरूको ‘चिहान’ भने ।
जनता तर्साउने राजनीति
तथ्य के हो भने दक्षिण अफ्रिकामा कुनै ‘गोरो जातिसंहार’ भएको छैन । बरु, दक्षिण अफ्रिकाका गोराहरूसँग धेरै ठुलो भूमि छ । उनीहरू राम्रो स्कूलमा जान्छन्, राम्रो औषधि उपचार गर्छन् र रोजगारीको अवसर पनि धेरै छ उनीहरूसँग । साथै, उनीहरू दक्षिण अफ्रिकाका काला जनताको भन्दा धेरै माथिल्लो स्तरको जीवन बाँच्छन् ।
दक्षिण अफ्रिकाका गोराहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको ७ प्रतिशत छ । तर, देशको ७२ प्रतिशत कृषियोग्य भूमि उनीहरूसँगै छ । काला अफ्रिकीहरूसँग जम्मा ४ प्रतिशत कृषियोग्य भूमि छ । जब कि देशको ८१ जनसङ्ख्या काला अफ्रिकीले ओगट्छन् ।
ट्रम्पले देखाएका ‘चिहान’ वास्तवमा सन् २०२० को हो । त्यो वर्ष केही गोरा किसान मारेको भन्दै गोरा किसानहरूले आन्दोलन गरेका थिए । त्यसमा बनाइएका सेता क्रस नै ट्रम्पले देखाएका थिए ।
सार्वजनिकरूपमै केरकार गरेपछि रामाफोसा केही अकमकाए जस्ता देखिए । तर, उनले आफ्नो मनस्थिति बिग्रन दिएनन् । उनले घुँडा टेक्न मानेनन् । यसअघि फेब्रुअरीमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनका राष्ट्रपति भोदोमिर जेलेन्स्कीलाई पनि यसरी नै केरकार गरेका थिए । जेलेन्स्कीजस्तै रामाफोसा पनि डटिरहे ।
रामाफोसाले तयारी गरेरै आएजस्तो लाग्यो । किनभने, धेरै महिनादेखि ट्रम्प र उनका विश्वासपात्र इलन मस्कले दक्षिण अफ्रिकामा नजर गाड्दै र घेर्दै आएका थिए ।
मस्कको स्टारलिङ्क कम्पनी दक्षिण अफ्रिकामै स्थापना गरिएको थियो । त्यसैले, दक्षिण अफ्रिकी कानुनअनुसार कम्तीमा त्यसको ३० प्रतिशत स्वामित्व वा आर्थिक क्रियाकलापमा काला दक्षिण अफ्रिकीहरूलाई दिनुपर्ने प्रावधान छ । दक्षिण अफ्रिकी सरकारले मस्कलाई सोही प्रावधानमा तान्दै आएको छ ।
दक्षिण अफ्रिकालाई गिराउने खेलमा यो महिना अमेरिका पुगेका ५४ गोरा ‘शरणार्थी’ को कुरा उप्काइयो । ट्रम्प राष्ट्रपति बन्नुभन्दा अगाडि बाइडेन सरकारले पनि दक्षिण अफ्रिकाप्रति असन्तुष्टि पोखेको थियो । जातिसंहारको अभियोगमा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हालेकोमा बाइडेन बेखुसी थिए ।
जवाफमा इजरायलले पनि अमेरिकास्थित आफ्नो लबीलाई प्रयोग ग¥यो । त्यसैले, वासिङटनले नै दक्षिण अफ्रिकामा जातिसंहार चलिरहेको छ भनी खत थाप्नुजस्तो गजबको काइदा अर्को देखिएन ।
जीत–जीतको अवस्था
यो वर्षको सुरुमै दक्षिण अफ्रिकी सरकारले भूमि अधिग्रहण कानुन ल्याएको थियो । देशवासीहरूबिच जमिनको असमान वितरण घटाउन यो कानुन ल्याइएको थियो ।
नयाँ कानुनका कारण लालपुर्जा भएको जग्गा सरकारले बिनामुआब्जा खोस्ने भयो भन्ने आवाज चर्कियो । रामाफोसाले वक्तव्य जारी गर्दै यो ‘हडप्ने’ कार्यक्रम होइन भनी प्रस्ट पारे । थप व्याख्या गर्दै उनले भने, “यो संविधानप्रदत्त कानुनी प्रक्रिया हो । यसले जनसाधारणलाई समतामूलक ढङ्गले जमिनमा पहुँच दिन्छ । हाम्रो संविधानले यसरी नै मार्गदर्शन गरेको छ ।”
जनवरीमा अधिग्रहण कानुन आयो । लगत्तै स्टेलनबोश विश्वविद्यालयमा कानुन पठाउने एक प्रोफेसर जाजाले लेखमार्फत प्रतिक्रिया जनाइन् । प्रोफेसर जाजा टेमेर्स बोगेनपोलले लेखिन्, “मेरो बुझाइमा पछिल्लो कदममार्फत ठुलो आकारको भूमिसुधार हुन्छ भन्ने लाग्दैन । दक्षिण अफ्रिकालाई अहिले जस्तो परिवर्तनकारी भूमिसुधारको आवश्यकता छ । कम्तीमा यो ऐनले त्यसो गर्ने छैन ।” नयाँ कानुनले सम्पत्तिको अधिकारमाथि ‘गम्भीर असर’ पारे पनि जमिनदारले मुआब्जा नपाउने ‘घटना अति सीमित’ हुने उनले लेखिन् ।
गोरो जातिवाद र ‘गोराको जातिसंहार’
दक्षिण अफ्रिकी सरकारले कुनै पनि जग्गाबिना मुआब्जा लिएको छैन । तैपनि, फेब्रुअरीमा ट्रम्प सरकारले दक्षिण अफ्रिकालाई जाने सहयोग रोक्का ग¥यो । ‘अन्यायी जातिवादी विभेद’ को आक्षेप लगाउँदै ट्रम्पले त्यो काम गरेका थिए ।
सन् २०१८ को अगस्टमा ट्रम्पले यो विषयमा हात हालेका थिए । त्यसबेला उनले तत्कालीन विदेशमन्त्री माइक पोम्पेओलाई दक्षिण अफ्रिका हेर्न भनेका थिए । ट्रम्पले खासगरी त्यहाँ भइरहेको ‘जग्गाजमिन कब्जा’ र ‘गोरा किसानहरूको आमहत्या’ मा ध्यान दिन भनेका थिए ।
यी टिप्पणीको पछाडि अमेरिकाका दक्षिणपन्थी समाचारहरूको प्रभाव थियो । ती चरमपन्थी समाचार संस्थाले दक्षिण अफ्रिकामा गोरा किसान मार्ने महामारी चलेको दाबी गर्दै अनेक कार्यक्रम चलाएका थिए । अमेरिकामा प्रकाशित हुने ‘वासिङटनपोस्ट’ पत्रिकाले दक्षिण अफ्रिकामा भइरहेको तथाकथित ‘अपराधको लेखाजोखा’ छापेको थियो । त्यसमा ‘आम जनताको तुलनामा किसानहरू हिंसात्मक अपराधको सिकार हुने सम्भावना अति न्यून भएको’ स्पष्ट पारिएको थियो ।
ट्रम्पको लागि यो खेल दुवै हातमा लड्डु जस्तो भयो ।
‘गोराको जातिसंहार’ भएको दाबी गरे ट्रम्पको ‘मागा नीति’ लाई फाइदा हुने स्पष्ट थियो । गोराहरू खतरामा छन् भनी ट्रम्पले गोरो हैकमवाद वा जातिवादलाई झन् बलियो बनाए ।
सन् २०१८ को ट्रम्पको नीतिमा ‘दक्षिणी गरिबी कानुन केन्द्र’ ले आपत्ति जनायो । उक्त नीतिले ‘गोराको जातिसंहार’ को नाराले गोरो श्रेष्ठताको जातिवादी भाष्यलाई प्रसार गर्ने उक्त संस्थाको निचोड थियो । ट्रम्पको भाष्यमा दक्षिण अफ्रिकाका किसानको हत्या एउटा महत्वपूर्ण निहुँ बन्यो ।
ट्रम्पको पहिलो कार्यकालमा गोरो जातिवाद भटाभट फस्टायो । विभिन्न विचार समूहका मान्छेले यो भिन्नता औँल्याएका छन् ।
मानहानिविरोधी लीग (एडीएल) ले दक्षिण अफ्रिकामा भएको भनिएको ‘गोराको जातिसंहार’ लाई झूटो भन्यो । उसले जारी गरेको विज्ञप्ति भन्छ ः
“दक्षिण अफ्रिकामा प्रतिवर्ष केही गोरा किसानका साथै धेरै काला किसान र अन्य अफ्रिकी पनि मारिन्छन् । किनभने, दक्षिण अफ्रिकामा हिंसाजन्य अपराधको दर उच्च छ । दशकौँसम्म विश्वभरिका गोरा जातिवादीहरूले दक्षिण अफ्रिकाको जातिवादी रङ्गभेदी शासनलाई पुल्पुलाएका थिए । जातिवादी नीतिको अन्त्य हुँदा उनीहरूले रोइलो गरेका थिए । जातीय समानता तथा समन्वयको खोजीमा दक्षिण अफ्रिकाले गरेको प्रगति देखेर उनीहरूले नमिठो मानेका थिए ।”
हेक्का राखौँ, ‘एडीएल’ इजरायल पक्षधर संस्था हो । उसले ‘गोराको जातिसंहार’ भइरहेको पछिल्लो दाबीको भत्र्सना गरेको छैन । गाजामा भइरहेको वास्तविक जातिसंहारलाई ओझेल पार्न ट्रम्पले हुनिहुनामी गर्दै छन् । ‘एडिएल’ मौन छ ।
पीडादायी विरोधाभाष
यसमा रामाफोसाको दोष छैन ।
उनी सन् २०१२ मा मारिकाना नगरमा रहेको सानो खानीमा ३४ जना काला खन्दकको हत्या भएको थियो । रामाफोसा त्यो हत्याकाण्डमा मुछिएका छन् ।
त्यो बेला रामाफोसा नै राष्ट्रपति थिए । छानबिन समितिले उनलाई दोषमुक्त गरेको थियो । तर, धेरैलाई त्यो कुरा चित्त बुझेन । उनी लोनमिन प्लाटिनम खानीका निर्देशक तथा सेयरधनी हुन् । त्यसैले त्यो हत्यामा उनको पनि स्वार्थ जोडिएको देखिन्छ । घटनामा पुलिसले गोराहरूको इलाकाबिच काला मजदुरहरूको हत्या गरेको थियो ।
बुधबार ह्वाइट हाउसमा भएको ट्रम्प–रामाफोसा वार्तामा पत्रकारले ट्रम्पलाई प्रश्न गरे – ‘गोराको जातिसंहार’ सम्बन्धी धारणा परिवर्तन गर्न के गर्नुपर्ला ?
जवाफमा रामाफोसाले भने, “मेरो विचारमा राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकीहरूको आवाज सुन्नुपर्छ । तीमध्ये केही उहाँका असल मित्र पनि छन् ।”
यो वार्तालापबाट रामाफोसाले आफ्नो प्रतिष्ठा जोगाएर निस्के । कतिपयले रामाफोसाको कद बढेको पनि भन्दै छन् । ‘गोराको जातिसंहार’ हुन दिएको कठोर आरोप सुनेपछि उनले पाइला पछि सारे । उनी यस्तो देशका शासक हुन् जहाँ काला जनताको जीवन निकै कष्टकर छ । खासगरी उपनिवेशवाद र गोरो जातिवादले छोडेको विरासतले काला जनता अझै पनि प्रताडित छन् । यो सामान्य विरोधाभाष मात्र होइन । रामाफोसालाई चेतावनी पनि हो ।
गत वर्ष दक्षिण अफ्रिकाका काला जनताबिच बेरोजगारी दर ३८ प्रतिशत थियो । त्यहाँका गोरा जनताबिच त्यो दर केवल ८ प्रतिशत थियो ।
यस्तो उच्च असमानता, उच्च अपराध दर र बहुसङ्ख्यक जनतालाई अवसरको व्यवस्थाजन्य अभावको स्थिति छ । तैपनि, कुनै बेला रङ्गभेदलाई उचित ठह¥याउने गोराहरूको डर एक काला दक्षिण अफ्रिकी राष्ट्रपतिले हटाउनुपर्ने ¤ कस्तो टिठलाग्दो विडम्बना ¤?
राष्ट्रपति रामाफोसालाई राम्रोसँग थाहा थियो । हुँदै नभएको ‘गोराको जातिसंहार’ मा राष्ट्रपति ट्रम्पले ‘चासो’ देखाउने छन् र त्यसबाट जोगिन दुई गोरा दक्षिण अफ्रिकी गल्फ खेलाडी तथा अर्बपति व्यापारी सबैभन्दा भरपर्दा छेकबार हुनसक्छन् भन्ने रामाफोसालाई थाहा थियो । त्यो पनि केका लागि ? आफ्नै देशका दुर्लभ खनिज बेच्ने सहज वातावरण मिलाउनका लागि । दक्षिण अफ्रिकाबाट रङ्गभेदी शासन हटेको तीन दशक नाघिसक्यो । तैपनि, यस्तो गति छ भने योभन्दा पीडादायी विरोधाभाष अरु के होला ?
(आजाद इसा न्युयोर्कमा बस्ने ‘मिडल इस्ट आइ’ का वरिष्ठ संवाददाता हुन् । उनी अमेरिकी विदेशनीति र त्यसले मुस्लिम र अरब समुदायका साथै भारत र हिन्दू राष्ट्रवादमा पार्ने प्रभावबारे अक्सर लेख्छन् । यसअघि उनी अलजजिरामा कार्यरत थिए । त्यसबेला उनी दक्षिणी र मध्य अफ्रिकाबारे लेख्थे । ‘आक्रामक मातृभूमि ः भारत र इजरायलबिच नयाँ गठबन्धन’ उनको चर्चित पुस्तक हो ।)
स्रोत : मिडल इस्ट आइ
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *