भर्खरै :

चाँगु वडा नं. ४ मा प्रशिक्षण कार्यक्रम

चाँगु वडा नं. ४ मा प्रशिक्षण कार्यक्रम

भक्तपुर, १२ जेठ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं. ४ को आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरू कार्लमाक्र्सको २०७ औँ जन्म दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले समाजवादी व्यवस्था कामदारवर्गको स्वर्ग भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि गणतन्त्र प्रचार अभियानमा सक्रियरूपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको बाटो भएकोले पुँजीवादको विकृति, विसङ्ति, भ्रष्टाचार, बेथिति, अनियमितता र अवगुणको विरूद्धमा गाउँ–गाउँमा अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सचेत र सङ्ठित बनाउने कार्यमा लागिरहेको बताउँदै उहाँले हरेक कार्यकर्ताहरूले विश्वको इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र र दर्शनशास्त्रलगायतका पार्टी प्रकाशनहरू गहिरिएर अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिकाको पक्षपात, भ्रष्टाचार, बेथिति, विसङ्ति, विकृतिबारे प्रकाश पार्दै नगरपालिकाले नगरवासीहरूको हितमा कुनै किसिमको उल्लेखनीय कार्यक्रम ल्याउन नसकेको धारणा राख्नुभयो ।
जीआर सुवालले हरेक कार्यकर्ताहरू निःस्वार्थी, समाजसेवी, अध्ययनशील, क्रियाशील र अनुशासित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
श्रीभक्त भडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका आरबी श्रेष्ठले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे प्रस्ट्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *