भर्खरै :

अपार्टमेन्ट बनाई विदेशीलाई बेच्नु अर्को देशद्रोही काम

अपार्टमेन्ट बनाई विदेशीलाई बेच्नु अर्को देशद्रोही काम

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूको बाँकी दुई वर्षको अवधिमा निर्वाचनको बेला पार्टीले तयार गरेको घोषणापत्रअनुसार जनतालाई दिएको वाचा पूरा गर्नु उपयुक्त हुनेछ ।
भक्तपुरलाई सफा–स्वच्छ–सांस्कृतिक नगर बनाउने, आर्थिक अनुशासनमा रहेर मितव्ययी र पारदर्शी रूपमा नगरवासीहरूको सेवा गर्ने काम चालु राख्नु जरुरी छ । सफा–स्वच्छ नगर बनाउने भन्नुको अर्थ फेहोरमैला र फोहर ढललाई वैज्ञानिक बन्दोबस्त गर्नु हो । सांस्कृतिक नगरको अर्थ जनताको लागि विद्यालय र विश्वविद्यालयको व्यवस्था गर्नु पनि हो । विश्वविद्यालयको शिक्षा राम्रो बनाउन विद्यालय शिक्षा राम्रो हुनुपर्छ । कलेजका प्राध्यापकहरू स्थानीय विद्यालयहरूमा पुगेर शैक्षिक जग के कस्तो छ, अनुगमन गर्नु जरुरी छ ।
विद्यालय र कलेज नजिक सूर्तिजन्य पदार्थ र मदिरा बिक्रीमा रोक लगाउनु आवश्यक छ । स्वास्थ्यलाई हानी पु¥याउने तयारीे पत्रु खानेकुरा बिक्रीमा पनि रोक लगाउनु आवश्यक छ । चाउचाउको सट्टा घरमा पकाएको रोटी, आलु चिप्सको सट्टा घरमा आलुका परिकार पकाएर खानु स्वस्थ्यकर हुने विषयमा विद्यार्थी, शिक्षक र अभिभावक सचेत हुनु जरुरी छ ।
जनघनत्व धेरै भएका कतिपय देशमा विद्यालय र कलेजलाई पर्याप्त खेल मैदानको व्यवस्था गरिएको हुन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यालयहरूमा सबै विषयमा ६० अङ्कसहित विद्यार्थीहरूलाई उत्तीर्ण गराउनु आवश्यक रहेको सुझाउनुभएको छ । यो काम भक्तपुरबाटै सुरु गर्न शिक्षक र अभिभावकहरूबिच छलफल जरुरी हुन्छ ।
संसद्मा छलफल भइरहेको भूमि विधेयकमा हदबन्दीभन्दा बढी भएको जग्गामा घडेरी विकास गराई विदेशीलाई समेत बिक्री गराउने, राष्ट्रिय निकुञ्जहरूको जग्गासमेत पुनः नापी गराई निजी क्षेत्रलाई घडेरी, अपार्टमेन्ट बनाउन लगाई विदेशीलाई बेच्ने देशद्रोही जनविरोधी प्रावधान राखिएका छन् । यसलाई खारेज गराउन नेमकिपाले आवाज उठाइरहेको छ ।
संसद्बाट निजीको नाममा विदेशी पुँजीलाई जलविद्युत् उत्पादन गराउने प्रावधान रहेको जलस्रोत विधेयक भर्खरै पारित गरियो । यो विधेयकमा नेपाल मजदुर किसान पार्टीले विपक्षमा मत दियो । नेपालका नदीनाला भारतको साझा हुनेलगायत जलस्रोतसम्बन्धी भारतसँग भएका असमान सन्धि–सम्झौता खारेज गरी नेपालीको लगानीमा जलविद्युत् उत्पादन गर्नु आवश्यक छ । जलस्रोत निजीलाई दिनु देशको हितमा हुने छैन । निजीको पछाडि विदेशी पुँजी हुनेछ । विदेशी पुँजीले देश उपनिवेश बनाउँछ ।
निजामती विधेयकमा कर्मचारीलाई अवकाशपछि कतै सेवा गर्न नपाउने र दुई वर्ष पर्खनुपर्ने अवधि राखिएकोलाई विशिष्ट कर्मचारीहरूबाट विरोध भइरहेको छ । मनिसको नियत राम्रो नभएसम्म जस्तोसुकै कानुन बनाइए पनि अनियमितता रोकिने छैन । देशद्रोहीहरूलाई कडा कारबाहीको कानुनी व्यवस्था जरुरी छ ।
नेका र एमालेबिच नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति तानातान हुँदा आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमसमेत हटाइयो । दुई महिनापछि आज नेकाको प्रस्तावअनुसार गभर्नर नियुक्ति गरिँदै छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायत संवैधानिक निकायमा नेका र एमालेबिच भागबन्डा मिलेको छैन ।
प्रधानमन्त्री स्वयम्ले “सरकारमा पैसा छैन, जाँगर छैन” भने । अर्थमन्त्रीले “कर्मचारीलाई तलब खुवाउन धौ धौ भएको” बताए । यसले देशको आर्थिक स्थिति निराशामा पुगेको देखाउँछ । यसको जवाफदेही सरकारमा गएका दल र नेताहरू नै हुन् ।
कम्पनी परिवर्तन हुनासाथ खाना पकाउने ग्यास सिलिण्डरमा उपभोक्तालाई थप पैसा तिराएर किन्न लगाइँदा उपभोक्ता थप मारमा परेका छन् । यसलाई रोक्नु आवश्यक छ ।
(नेपाल मजदुर किसान पार्टीको सचिव एवम् सांसद प्रेम सुवालले २०८२ जेठ ६ गते भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको तीन वर्ष कार्यकाल पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार – सं)

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्राध्यापकहरूको लेख रचना जरुरी
नेपाल मजदुर किसान पार्टीको राजनीतिक प्रतिबद्धताको फल ख्वप शैक्षिक संस्थाहरू हुन् । यी शैक्षिक संस्थाहरूमा ७७ जिल्लाका ४४ हजारभन्दा बढी विद्यार्थीहरूले फल चाख्न पाएका छन् ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप विश्वविद्यालयको विधेयक नेपालको संविधानअनुसार २०७२ सालमा संसद्मा दर्ता भई सांसदहरूलाई वितरणसमेत भइसकेको थियो । सरकार परिवर्तनसँगै यो विधेयक पारितमा विलम्ब भइरहेको छ । सरकारमा गएकाहरू अहिले संविधानमा स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गराउने प्रावधान नभएको बखेडा गर्दै छन् । ग्रीस र रोममा नगर राज्यहरूले विश्वविद्यालय सुरु गरेका हुन् । प्रम र मन्त्रीहरू यो यथार्थ बुझ पचाउँदै ख्वप विश्वविद्यालय रोक्दै छन् ।
अहिले राजतन्त्र पुनःस्थापना गर्नुपर्ने मागसहित पुराना पञ्चहरूको पार्टी राप्रपा सडक आन्दोलन गर्दै छ । वर्तमान राष्ट्रिय राजनीतिको साथै अन्तर्राष्ट्रिय राजनीतिबारे विश्वविद्यालयका प्राध्यापकहरूबिच बहस हुनुपर्ने हो । समाज अगाडि बढ्छ । वर्तमान पुँजीवादी गणतन्त्रले मानवजातिको सङ्कट पार नलाग्ने हुँदा यो सङ्कटबाट पार पाउन उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यको हुने समाजवादी गणतन्त्र जरुरी छ । यो यथार्थबारे प्राध्यापकहरूले लेख रचना प्रकाशन गर्नु आवश्यक छ ।
काठमाडौँ उपत्यकाको वातावरण विश्वमै प्रदूषित भएको बरोबर सार्वजनिक भइरहेको छ । पुँजीवादले वातावरण, समाज, शासन सबैलाई बिगार्छ । चुरे दोहन, नदीजन्य पदार्थको उत्खनन्, ‘हरियो वन तस्करको धन’ केही उदाहरणमात्र हुन् । नाफा पाउने भए पुँजीपतिहरू झुन्डिन पनि तयार हुने पुरानो भनाइ हो ।
नेपालको झापादेखि कञ्चनपुर र काठमाडौँ उपत्यका तथा सुर्खेत उपत्यकासम्मको भूमिमा डुब्ने प्वाल भएको र जमिन भासिने खतरा भएको भूगर्भशास्त्रीहरूको मत सार्वजनिक भयो । यी ठाउँमा बनाइएको भारी संरचना– घर, भवन, सडक, पुल कुनै पनि बेला भासिने खतरा रहेको भूगर्भशास्त्रीहरूको मत हो । यसकारण, देशको सन्तुलित विकास जरुरी छ । एउटा बस्ती वरिपरि कृषि र पर्यावरणीय सन्तुलनको लागि पर्याप्त जङ्गल र खुला क्षेत्रको व्यवस्था हुनु आवश्यक छ । काठमाडौँ उपत्यकामा बढ्दै गरेको बसाइँसराइ पनि नियन्त्रण गर्नु जरुरी छ ।
ख्वप विश्वविद्यालय सञ्चालन भए यस प्रकारको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन हप्ता हप्तामा भइरहनेछ । विद्यार्थी र प्राध्यापकहरू ख्वप विश्वविद्यालय स्थापना र सञ्चालनको लागि तयार भएर बस्नु जरुरी छ । विद्यालय र कलेजले देशभरिका विद्यार्थीलाई समान अवसर दिएर शिक्षित र सचेत बनाउनु उपयुक्त हुनेछ । केही विद्यार्थीलाई छनौट गरी उत्कृष्ट बनाउनु उपयुक्त हुने छैन ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ जेठ ९ गते ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौँथो राष्ट्रिय सम्मेलनमा व्यक्त गर्नुभएको मन्तव्यको सार – सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *