के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
किसानले दुधको भुक्तानी पाएका छैनन् । किसानको उत्पादन बेचर सरकारी र निजी डेरी उद्योग मोटाउने तर किसान रकम नपाएर विस्थापित हुनुपर्ने स्थिति हुँदा पनि नियामक निकाय मूकदर्शक भएर बस्ने यो कस्तो हो ? किसानको दूध डेरी उद्योगसम्म पु¥याउने दुग्ध सहकारी संस्था बिचौलियामात्र बन्दा किसानले समयमै भुक्तानी पाएनन् ।
दुग्ध किसानले उत्पादन गरेको १२ लाख लिटर दूध दुग्ध सहकारीमार्फत डेरी उद्योगसम्म पुग्छ । प्रतिलिटर ४ देखि ५ रुपियाँ कमिशनवापतको रकम छुट्याउँदा पनि दैनिक ५४ लाख रुपियाँ उठ्ने गरेको एक तथ्याङ्कले देखायो । वार्षिक करिब २ अर्ब रुपियाँ सङ्कलन गरे पनि सो रकम व्यक्तिगत फाइदाको लागि लगानी भइरहेको किसानको आरोप छ । देशभर १ हजार ६ सय सहकारी कार्यरत छन् ।
एक तथ्याङ्कले करिब ६ लाख किसान दुग्ध क्षेत्रमा संलग्न छन् । ४ लाख किसानले उत्पादन गरेको दुध नेपाल डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनमार्फत सङ्कलन भइरहेको छ । कृषि मन्त्रालयका अनुसार दैनिक ७२ लाख लिटर दुध उत्पादन हुन्छ । ३६ लाख लिटर दुग्ध किसान आफैले बिक्री गर्छ । १२ लाख लिटर औपचारिक रूपमा बजारमा आउँछ भने २४ लाख लिटर अनौपचारिक रूपमा आउनेछ ।
करिब दुई वर्षअघि सुख्खा सिजनमा दूधको अभाव देखाएर दूधको भाउ वृद्धि गरिएको थियो । किसानलाई कच्चा दूध प्रतिलिटर ५६.४० रुपियाँबाट बढाएर प्रतिलिटर ६५.५० रुपियाँ पु¥याएको थियो । ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य निर्धारण गरिएको हो ।
डेरी उद्योगीले ढुवानी खर्च प्रतिलिटर ६ रुपियाँ, प्याकेजिङ खर्च ८ रुपियाँ, ओभरहेड खर्च १० रुपियाँ र नोक्सानी खर्च प्रतिलिटर २ रुपियाँ जोडेर उपभोक्तालाई प्रतिलिटर ९६ रुपियाँमा दूध बिक्री गर्ने गर्दछ ।
सरकार बिचौलिया भएर काम गरेको हुँदा दुग्ध सहकारीले किसानलाई दूधको रकम भुक्तानी नदिएको कृषक समूह महासङ्घ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठको भनाइमा धेरै सत्यता छ । उनले भने–केही सहकारीले किसानलाई भुक्तानी दिन छाडेर अन्य क्षेत्रमा लगानी गरेका छन् । कतिपयले बैङ्कको ब्याज तिर्न प्रयोग गरे ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका महासचिव रामप्रसाद आचार्यले–सहकारीले होइन डेरी उद्योगले किसानको पैसा नदिएर अन्य क्षेत्रमा लगानी गरेको हो । डेरी उद्योगीले बैङ्कमा जम्मा गरेको रकम एक दिन पनि नरोकेर किसानलाई दिने गरिएको आचार्यले बताए पनि उनको भनाइमा सत्यता नभएको किसानहरूको मत हो ।
धेरै दूध उत्पादन हुने जिल्ला चितवनका किसानहरूले दूधको रकम भुक्तानी माग्दा दुग्ध सहकारीले दूध नकिन्ने धम्की दिएको समाचार छ । चितवनबाट मात्र अहिले दैनिक ३ लाख लिटरभन्दा धेरै दूध उत्पादन हुँदै आएको छ । दैनिक १ लाख ५१ हजार लिटर दुध काठमाडौँ उपत्यकामा जान्छ । जसमध्ये ३५ हजार लिटर डिडिसिले लिने गरेको छ । आफूले श्रम गरेर उत्पादन गरेको दुधको भुक्तानी लिन पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनुले के देशमा सरकार नभएका अनुभूति हो र ?
Leave a Reply