भर्खरै :

के इरानमा हमलाको तयारी हो ?

  • जेष्ठ १५, २०८२
  • रोबर्ट इनलाकेश
  • विचार
के इरानमा हमलाको तयारी हो ?

इरानमाथि इजरायली आक्रमणको खतरा बढ्दै छ । यसमा संरा अमेरिकाले समेत आफ्नै हिसाबले तयारी गर्दै छ । केही महिना यता वासिङ्टनले चुपचाप डियगो गार्सिया टापुमा रणनीतिक बमवर्षक र लडाकु विमानहरू पठाइरहेको छ । डियगो गार्सिया हिन्द महासागरमा रहेको अमेरिकी सैनिक अखडा हो । यहाँबाट तेहरानमा सिधा आक्रमण गर्न मिल्छ ।
सरकारले सुरक्षाको तर्क दिएको छ । तर, तैनाथीको आकार र प्रकृतिले आशङ्का उब्जाएको छ । वासिङ्टनले इजरायलको नेतृत्वमा हुने कारबाहीमा सम्भाव्य सैन्य संलग्नताको आधार तयार गर्दै छ । अथवा, कम्तीमा तेहरानलाई आफू बिचमा (रोक्न) नआउने सङ्केत दिँदै छ । विश्लेषकहरूको आकलन हो यो ।
झन्डै एक महिनाअघि अमेरिकी वायुसेनाले डियगो गार्सियामा ६ वटा बी–२ स्प्रिट बमवर्षक तैनाथ गरेको थियो । उसका चल्तीका एकतिहाइ आणविक हतियारजडित बमवर्षक त्यहाँ पुगेका छन् । यी बमवर्षक अमेरिकाबाट विश्वका कुनै पनि स्थानमा सिधै पुग्न सक्छन् । त्यसैले, यिनलाई अगाडि नै राख्नुपर्छ भन्ने छैन । तर, राखियो । यसकारण पनि हिन्द महासागरको विकट टापुमा यी बमवर्षकको तैनाथीलाई लिएर सबैको कान ठाडो भएको हो ।
यसअघि यमनमा आक्रमण गर्नका लागि बी–२ बमवर्षकको प्रयोग गरिएको खबर आएको थियो । त्यसबेला यी बमवर्षकले सामरिक प्रभाव छोड्न सकेका थिएनन् । कम्तीमा केही बी–२ बमवर्षकको ठाउँमा चार बी–५२ बमवर्षकको प्रयोग गरिएको थियो । यी बमवर्षकले लामो दूरीमा मार हान्न सक्छन् । यिनलाई पनि अरुलाई तर्साउन प्रयोग गरिन्छ ।
त्यसपछि थप गोलाबारुद ल्याइयो डियगो गार्सियामा । एफ–१५ई स्ट्राइक इगल नामक लडाकु विमानको जत्था पनि ल्यायो । यी विमान अखडाको सुरक्षाको लागि ल्याइएको बताइन्छ । यसको अर्थ पेन्टागतले डियगो गार्सियालाई मार हान्ने थलो मात्र मान्दैन । अरुले हमला गर्न सक्ने स्थान पनि मान्छ ।
यसबिच गुप्तचरी रिपोर्टहरूले इजरायली पक्षमा पनि वास्तविक हलचल देखिएको इसारा गरेका छन् । गत मङ्गलबार ‘सीएनएन’ ले स्थलगत सञ्चार र हलचलबारे समाचार प्रकाशित ग¥यो । यसले इजरायल इरानको आणविक पूर्वाधारमाथि हमला गर्ने तयारीमा रहेको देखाउँछ । अमेरिकी अधिकारीहरूले इजरायली योजनालाई सक्रिय र गम्भीर मानिरहेको खबर छ ।
गत अप्रिलमा डोनाल्ड ट्रम्पले इजरायलले यस्तै कारबाहीको ‘नेतृत्व’ गर्न सक्ने टिप्पणी गरेका थिए । यसलाई धेरै विश्लेषकले अमेरिकाले हरियो झन्डा देखाएको भन्दा पनि समर्थनको रूपमा बुझेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पटकपटक आफ्नो सरकारले इरानलाई आणविक अस्त्रसम्पन्न राज्य बन्न नदिने चेतावनी दिँदै आएका छन् ।
कूटनीतिको ढोका खुला नै भए पनि अमेरिकाले कोरेको नयाँ ‘लक्ष्मणरेखा’ ले वार्तामा प्रगति नहुने देखिन्छ । मध्यपूर्वी क्षेत्रका लागि अमेरिकी दूत स्टीभ विटकोफले हालै युरेनियम भण्डार बढाउने सम्पूर्ण प्रयास इरानले बन्द गर्नुपर्ने घोषणा गरेका छन् । यो माग सन् २०१५ को आणविक सम्झौताको मूलखाकामा समावेश थिएन । त्यस सम्झौतालाई ‘संयुक्त विस्तृत कार्ययोजना’ (जेसीपीओए) भनिन्छ ।
इरानी अधिकारीहरूले त्यो सर्तलाई ठाडै अस्वीकार गरेका छन् । इरानी विदेशमन्त्री अब्बास अराग्चीले भण्डार बढाउनु एउटा सार्वभौम अधिकार हो र यसमा कोहीकसैसँग सम्झौता हुनसक्दैन भनी दोहो¥याएका छन् । अमेरिकाको नयाँ सर्तलाई आयतोल्लाह खामेनीले ‘बकवास’ भनी खारेज गरेका छन् । मे २२ को दिन अराग्चीले अझ कडा चेतावनी दिए । उनले भने, “इरानले आफ्नो आणविक पूर्वाधारको प्रतिरक्षा गर्न विशेष नीति लिनेछ ।” भनाइ अस्पष्ट छ । जानेरै अस्पष्ट बोलिएको बुझिन्छ । तर, यसबाट इरानले मुठभेडको सामना गर्न तयारी गरिरहेको स्पष्ट हुन्छ ।
वासिङटनमा प्रभावशाली विज्ञ समूहहरू कडा नीतिको पक्षमा जोडदार दबाब पैदा गर्दै छन् । निकटपूर्व नीतिका लागि वासिङटन संस्थान (विनेप) ले इरानको भण्डार पूर्वाधार पूर्णतः ध्वस्त पार्न आह्वान गरेको छ । प्रजातन्त्र रक्षा प्रतिष्ठान (एफडीडी) ले इरानमाथि थप आर्थिक प्रतिबन्ध लगाउन माग गरेको छ । ‘एटलान्टिक परिषद्’ ले अमेरिकाले ‘ओबामाको इरान सम्झौतालाई ब्युँताउन’ हुँदैन भनेको छ ।
त्यसैगरी हाल ‘विनेप’ मा कार्यरत बाइडेनकी पूर्वअधिकारी डाना स्ट्रोलले इरानको वर्तमान कमजोरीलाई सैन्य कारबाहीको लागि मौकाको रूपमा लिनुपर्छ भनिन् । उनको विचारबाट वासिङटनको विज्ञ समूहहरूबिच नयाँ समझदारी बनेको स्पष्ट हुन्छ – तेहरान कमजोर छ, हमला गर्ने मौका यही हो ।
आज युद्धको पक्षमा उभिएका यिनै व्यक्ति र समूह विगतमा मध्यपूर्वमा भएका अमेरिकी हस्तक्षेप र युद्धका दोषी हुन् । अहिले तीन दृश्य एकै साथ देखिँदै छ । यी व्यक्ति र समूहको जुर्मुराहट, नयाँ सामरिक महत्वको सैन्य तैनाथी र युद्धको पक्षमा भाष्यबाजी । युद्धको मुखमा पहिले पनि यस्तै दृश्य देखिन्थ्यो ।
चर्का सार्वजनिक बहसहरूमा वास्तविक मुद्दा भने गायब छ । त्यो हो युद्धले ल्याउने परिणाम । इरानमा के होला ? यो विषय त छँदै छ । साथमा अमेरिकी स्वार्थ, क्षेत्रीय स्थिरता र अमेरिकी जनतामा कस्तो असर पर्ला ? यसमा समेत सार्वजनिक बहस हुनुपर्छ । इरानसँग मुठभेड भए त्यसको परिणाम गम्भीर हुनेछ । त्यो द्वन्द्वले अमेरिकाको राष्ट्रिय हित गर्ला वा नगर्ला भनी कमैले मात्र चासो लिएका छन् । रिपब्लिकन सांसद थोमस मेस्सी यस्तै अपवाद हुन् । उनले यो हाम्रो (अमेरिकाको) लडाइँ हो कि होइन भनी प्रश्न उठाउँदैमा शक्तिशाली युद्धपिपासु लबीहरूले उनलाई सताउनु सताए ।
डियगो गार्सियामा बाक्लिएको तैनाथीको बादल सावधानीको सङ्केत हो । तर, एउटा सङ्केत कति छिटो नीतिमा बदलिन्छ भन्ने पनि यसबाट बुझ्न सकिन्छ । सङ्केत नीतिमा बदलिन्छ, नीति युद्धमा बदलिन्छ । कसले बदल्छ ? प्रतिनिधि, दबाब समूह र विभिन्न स्वार्थ भएको मित्रमण्डलीले ।
युद्धहरू सधैँ मतदानबाट सुरु हुँदैनन् । वास्तवमा, युद्ध सुरु हुन्छ टाढा कतै कसैले नदेख्ने ठाउँमा हुने तैनाथीहरूबाट । जहाँका जनताले युद्धको मार झेल्ने हुन् तिनलाई पत्तै नदिई हुन्छ युद्धको सुरुआत ।
(लेखक राजनीतिक विश्लेषक, पत्रकार तथा वृत्तचित्र निर्माता हुन् । हाल उनी बेलायतको लन्डन सहरमा बस्छन् । उनले लामो समय प्यालेस्टिनको अतिक्रमित भूभागमा बसेर पत्रकारिता गरेका थिए । उनी ‘प्यालेस्टिनी फाइल्स’ नामक कार्यक्रमका प्रस्तोता समेत हुन् । उनले निर्देशन गरेको वृत्तचित्र ‘शताब्दीकै ठुलो चोरी : ट्रम्पको प्यालेस्टिन–इजरायल महाविनाश’ इन्टरनेटमा हेर्न पाइन्छ । स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *