भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
काठमाडौँ । सोलुखुम्बुको फोर्चे गाउँका टासी ग्याल्जेन शेर्पा १४ दिन १० घण्टा ११ मिनेट अवधिभित्र चार पटक सगरमाथा शिखर पुगेर गाउँ फर्किँदै हुनुहुन्थ्यो । गाउँभन्दा थोरै माथि डाँडामै स्वागत गर्न आइपुगेका थिए गाउँले । तर, स्वागत गर्नेको भीडमा टासीका आँखाले खोजेको एउटा मान्छे अनुपस्थित थिए । त्यो अनुपस्थित व्यक्ति अरु कोही नभएर आङछिरिङ अर्थात् टासीकै बुबा हुनुहुन्थ्यो ।
जब टासी पुग्नुभयो घरको आँगन । डाँडामाथिको घामझैँ हुनुभएका बुबा हातमा खादा लिएर ढोका अगाडि उभिरहनुभएको थियो छोराको प्रतिक्षामा । त्यतिखेर पुनः टासीको आँखाले अर्को मान्छे खोज्यो । जसलाई त्यहाँ देख्न सम्भव थिएन । १५ वर्षअघि सधैँका लागि बिदा लिनुभएकी आमालाई टासीको मनले खोजिरह्यो, “यतिखेर मेरो आमा पनि बुबासँगै भई दिनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ।” बुबाले खादा लगाइसकेपछि अँगालो मारे एकअर्कालाई । अनि दुवैका आँखाबाट बग्यो खुसीका आँसु । जसरी हिमताल फुटेर उर्लिँदै झर्छ पग्लिएका बरफ । टासीले लुक्लाबाट काठमाडौँ ओर्लिएको केही घण्टापछि बुधबार कपनको सिद्धार्थ होटलमा लेखकलाई भन्नुभयो, “बाहिर म जति खुसी देखिए पनि भित्रभित्रै मलाई तिम्रो धेरै चिन्ता थियो छोरा भन्नुभयो बुबाले । ७८ वर्षका बुवाको आँखाबाट आँसु झरेको मैले जीवनमै पहिलोपटक देखेँ । तर, त्यो आँसु दुःखको थिएन ।”
किनकि बुबालाई थाहा थियो एउटा आरोहीको मर्म र जोखिम । उहाँले पनि सगरमाथा शिखर टेक्नुभएको थियो तीन पटक । हिमालका उकाली र ओरालीमा बोक्दाबोक्दै दुःख, एक दशक अघि आङछिरिङ खुम्बु आइसफलको खर्पासमा पर्नुभयो । बुढेसकाल लागेको गोडाले साथ दिएनन् । दाहिने खुट्टाले लौरोको सहारा माग्यो । खुट्टाले लौरोको सहारा मागेसँगै बन्द भयो आम्दानीको स्रोत र कान्छो छोरा टासीको पढाइ । छोरालाई पढाएर ठुलो मान्छे बनाउने आङछिरिङको सपना तुहिएको दिन थियो त्यो । त्यही छोरा जसलाई हिँडाउनु मन थिएन आफैले दुःखको भारी बोकेको गोरेटो । तर, त्यही गोरेटो भएर आज फर्किँदै हुनुहुन्थ्यो टासी । फरक यत्ति थियो, कि टासीले १५ दिनमा चार पटक सगरमाथा शिखरमा पाइला राखी विश्व कीर्तिमान बनाएर फर्किनुभएको थियो । जुन सामान्य आरोहीका लागि असम्भव सरह हो ।
पासाङल्हामु गाउँपालिका–४, फोर्चे गाउँ हेर्दा जत्ति सुन्दर छ, त्यति नै हिमालका दुःख र साहासका कथाले भरिएका छन् प्रत्येक घर । त्यही गाउँका २८ वर्षीय युवा हुन् टासी ग्याल्जेन । जो नागरिकताअनुसार २९ वर्षको हुनुभयो । आरोहणको यात्रा सुरु गरेको सात वर्षमै टासीले विश्व कीर्तिमानी कायम गर्नुभएको छ । उहाँले यही मे ९, १४, १९ र २३ तारिखका दिन एकै सिजनमा १५ दिनभित्र चारपटक सगरमाथा आरोहण गर्नुभयो । सन् २०१८ देखि मात्र हिमालमा भारी बोक्न थाल्नुभएका उहाँले यसअघि पाँचपटक सगरमाथा र एक पटक चोयूको आरोहण गर्नुभएको थियो । टासीले म कुनै दिन सगरमाथा शिखरमा पुग्छु भन्ने सोच्नुभएकै थिएन । उहाँलाई त बुबाको सपना पूरा गर्नुथियो । विसं २०७२ मा सर एडमन्ड हिलारी माध्यामिक विद्यालय खम्जुङबाट एसएलसी उत्तीर्ण गरेपछि बुवाले प्लस टु पढ्न काठमाडौँ पठाउनुभयो । होटल म्यानेजमेन्ट लिएर सरासर प्लस टु गरेपछि स्नातक पनि सोही विषयमा पढ्ने चाहना थियो ।
पहिलोपटक नै सन् २०१८ मा उहाँ चीनतर्फबाट अल्पाइन ग्लो नामक आरोहण कम्पनीसँग सगरमाथा आरोहणका लागि जानुभयो । तर, उहाँसँग आरोहणसम्बन्धी कुनै तालिम र ज्ञान थिएन । उहाँले आरोहण गर्न सक्नुभएन । गाउँ फर्किएपछि गाउँकै आरोहण तालिम केन्द्रमा आधारभूत र ‘एड्भान्स’ तालिम लिनुभयो ।
सन् २०१९ मा चीनतर्फबाटै फोर्टिन पिक एस्पिडिशन नामक कम्पनीमार्फत सगरमाथा र त्यही वर्ष चोयू हिमालको आरोहण गर्न सफल हुनुभयो । त्यसपछि उहाँले सन् २०२२, २०२३ र २०२४ मा सगरमाथा आरोहण गर्नुभयो । २०२४ मा भने दुईपटक सगरमाथा आरोहण गर्नुभयो । फोर्चे गाउँका कुनै घर छैनन्, जुन घरका एक वा एकभन्दा बढी सदस्यले सगरमाथा आरोहण नगरेको । टासीकै साथीहरूले पनि कसैले १७ पटक, कसैले १४ पटक आरोहण गरिसके ।
योजना बनाए पनि त्यो पूरा गर्न सजिलो थिएन । उल्टै आरोहणका लागि खर्च गर्ने पैसा आफूसँग थिएन । सौभाग्यवशः यसवर्ष टासीको त्यही योजना पूरा गर्न दाजु छिरिङ टासीमार्फत चिनेको स्कटल्यान्डका जेम्स ल्याम्ब र लिटिल फाउन्डेसन, इन्सपायर ट्रेक तथा एटके एक्सपिडिसन कम्पनीबाट साथ पाउनुभयो । यसवर्ष पहिलो आरोहणको रूपमा डोरी टाँग्ने (रोप फिक्सिङ) टिममा सामेल भएर शिखर पुग्नुभयो । ३० किलो तौल हुने ३०० मिटर लामो डोरीलगायतका सामान बोकेर काम गर्दै मे ९ का दिन साँझ ५ बजे शिखर पुग्नुभएको थियो ।
यस वर्षको सबैभन्दा सजिलो आरोहण दोस्रो पटकको थियो । मे १४ तारिख बिहान ८ बजे शिखरमा पुग्नुभएको थियो ।
तेस्रोपटकको आरोहणमा उहाँले बङ्लादेशका आरोही इक्रामुल हसन साकिललाई लिएर जानुभयो । जसलाई दुई वर्षअघि नै सगरमाथा शिखर लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । समुद्रदेखि पैदलै हिँडेर ८४ दिनमा सगरमाथा शिखर आरोहण गर्नुभएका शाकिल अर्का साहसी आरोही हुनुहुन्थ्यो । ग्रेट हिमालयन ट्रेलको यात्रा पूरा गरिसक्नुभएका साकिललाई नेपालकै मकालु इ ट्रेडर्सले निर्भाना र अन्य अन्तर्राष्ट्रिय ब्रान्डका आरोहणका लागि आवश्यक गियर्स (जुत्तादेखि कपडा) सहयोग गरेको थियो ।
यसरी टासीले सगरमाथा आरोहणको इतिहासमा साहसिक विश्व कीर्तिमानी राख्ने आरोहीहरूको सूचीमा आफ्नो नाम समावेश गर्न सफल हुनुभयो ।
टासीका दुईवटा सपना छन्, एक शिक्षामा पिछडिएको आफ्नो गाउँलाई समृद्ध बनाउने, जुन सपना पूरा गर्न युवा पुस्ताका भाइबहिनी पनि शैक्षिक प्रगति हासिल गरिरहेका छन् । अर्को छ, पर्यटनकै माध्यमबाट देशलाई संसारमा थप परिचित गर्ने । पर्यटनबाट देशलाई समृद्ध बनाउने अभियानमा एउटा इँटा थप्ने । तर पनि दुःखको कुरा एउटै छ, हिमालमा काम गर्ने शेर्पालाई राज्यले आफ्नै देशका नागरिक हुन् भनेर गम्भीरतापूर्वक कहिल्यै लिएन ।
परिस्थितिले काँध थाम्नुपरेको जिम्मेवारीले टासीलाई परिपक्व बनाउँदै छ । कम्तीमा आफ्नो काखमा हुकिँदै गरेका चार वर्षीय छोराको अवस्था आफ्नै जस्तो नहोस् भन्नेमा सचेत हुनुहुन्छ उहाँ । हुन त सफलताको कुनै मापन छैन, विश्वको सर्वोच्च शिखर पुगे पनि आखिर झर्नैपर्छ फेदीमा । त्यो वास्तविकताका साक्षी टासी आफैँ हुनुुहन्छ । तर, पनि यस पटकको सफलता टासीको दृढ सङ्कल्प र मेहनतले मात्र सम्भव भएको हो ।
Leave a Reply