भर्खरै :

सरसफाइको पर्व सिथि नःख

सरसफाइको पर्व सिथि नःख

सिथि नखः मा पानीको स्रोतलगायत वातावरण सरसफाइ गर्ने मौलिक र सांस्कृतिक पर्व हो । विश्वमा वातावरण सफा गर्नुपर्ने अवधारणा आउनु भन्दा धेरै वर्ष पहिलेदेखि नै नेवार समुदायले कृषि कर्मलाई जीवन्त राख्न आफूले प्रयोग गर्न पानीको स्रोत र वरपरको वातावरण सरसफाइ गर्दै आएको छ ।
पानीको स्रोत सरसफाइ गरी विभिन्न परिकार बनाई नेवार समुदायले सिथि नखः पर्व मनाउँछन् । गर्मी मौसम सकेर वर्षायाम सुरु भएको बेला ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथिका दिन यो पर्व मनाइन्छ । सिथि नखः पर्वका दिन आफ्नो टोल वरपर रहेका पानीको परम्परागत स्रोत इनार, कुवा, पोखरी र ढुङ्गेधाराको सरसफाइ गर्ने प्रचलन रहिआएको छ ।

कुमारको जन्म दिनसमेत भएकोले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतबाट बनेका विशेष प्रकारका पकवान ‘बारा’ खाने प्रचलन छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामारी (मुठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ ।
नेवार समुदायमा ऋतुअनुसार मनाइने विभिन्न चाडपर्वमा विशेष पक्वान खाने प्रचलन छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ, “सिथि नखःको दिन नेवार समुदाय पानीका विभिन्न स्रोतहरू सरसफाइ गर्ने गरिन्छ । वर्षाको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । हिउँदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई वर्षात्को पानीले फुटाउने भएकोले पनि सिथि नखःको दिन पानीको मूल सफाइ गर्ने परम्परा रहेको छ ।
सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्त्व रहेको छ । यस चाडसँगै वर्षा सुरु हुने र वर्षामा महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकोले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा लिइन्छ ।
नेवारीमा प्रचलित एउटा भनाइ छ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिधुके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवस्थामा किसानलाई जात्रा पर्व सबै थाती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रूपले तयार पार्ने चाडका रूपमा सिथि नखःको विशेष महत्व छ ।
धान खेती धेरै मिहिनत र परिश्रमयुक्त खेती हो । वर्षाको झरीमा रुझेर, हिलो माटोसँग पौँठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने परम्परा रहेको छ ।

पानीको मुहान, इनार र कुवाका साथै आफू बस्ने घरटोल वरपर सरसफाइ गरी मनाइने भएकोले नेवार समुदायमा सयौँ वर्षदेखि धार्मिक हिसाबले आफू वरपर सरसफाइ गर्दै आएको छ । विश्व सरसफाइ दिवस मनाउने चलन अहिले मात्र आएको हो, यो परम्परा नेवारी समुदायमा सयौँ वर्षअघिदेखि नै प्रचलनमा छ ।
सिथि नखःका दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः (कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन रहेको छ । त्यसको भोलिपल्ट सिथिद्यःलाई रथमा राखेर काठमाडौँमा सहर परिक्रमा गरी जात्रा मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *