भर्खरै :

शान्ति सुरक्षा र ‘सहायता’ को नाउँमा हस्तक्षेप र आक्रमण निन्दनीय

विश्वलाई आफ्नो आधिपत्यमा ल्याउने तयारीअनुरूप अमेरिकी साम्राज्यवादले लडाइँको तयारी बढाइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा स्वाधीनताका शक्तिहरू र प्रभुत्ववादका शक्ति तथा क्रान्तिका शक्ति र प्रतिक्रान्तिका शक्तिहरूबिच वैचारिक सङ्घर्ष भइरहेको छ । अमेरिकी साम्राज्यवादले ‘शक्तिको साइन बोर्ड भिराएर विश्वका जनतामाझ झूटको खेती’ गरिरहेको छ । साम्राज्यवादीहरूले ‘निःशस्त्रीकरण’ को साइनबोर्डमुनि शस्त्रीकरणलाई बढावा दिइरहेका छन् । आणविक अस्त्र नियन्त्रणको नाउँमा आणविक विकास गरिरहेका छन् । अमेरिकी साम्राज्यवाद र अरू पिछलग्गू देशहरूले गरिरहेको आक्रमण, हस्तक्षेप र शस्त्रअस्त्रको बिक्रीको कारण अरू देशले सुरक्षाको निम्ति भनी हतियार र सैन्य बललाई सुरक्षित पार्नु स्वाभाविक हो ।
तनाव कम गर्न र शान्ति सुरक्षाको नाउँमा अमेरिकाले उल्टो संसारका जनतालाई आतङ्कित पारिरहेको छ† असुरक्षित बनाइरहेको छ । साम्राज्यवादीहरूले असंलग्न राज्य एवम् तेस्रो मुलुकविरुद्ध आक्रमण गर्नुको मुख्य कारण ती देशहरूलाई कमजोर पार्ने, एक अर्काे देशमा शत्रुता बढाउने, सकेसम्म देश टुक्राउने रहेको छ । स्वाधीन राज्यहरूलाई आफ्नो आधिपत्यमा राख्ने, अन्तरध्वंसका गतिविधि चलाउने, विकासोन्मुख मुलुकहरूको अर्थतन्त्र नियन्त्रणमा लिने, खनिज तथा प्राकृतिक स्रोतसाधन कब्जा गर्ने काम साम्राज्यवादी र विस्तारवादी देशहरूले गरिरहेका छन् । ‘सहायता’ र संरक्षणको नाउँमा अन्य स्वाधीन देशमा सेना राख्ने, देशदेशबिचको आन्तरिक विवाद एवम् मामिलामा हात हाल्ने, हस्तक्षेप गर्ने काममा साम्राज्यवादी देशहरू अहिले पनि सक्रिय छन् ।
वर्तमान यो परिस्थितिमा समाजवादी मुलुक, असंलग्न राज्यहरू तथा तेस्रो विश्वका सबै उत्पीडित देशहरू एकगठ हुनु जरुरी छ । अरू मुलुकको स्वाधीनतामा कुल्चनु, राष्ट्र र जनतामाथि दमन एवम् नियन्त्रण गर्नु प्रभुत्ववादको स्वभाव हो । प्रभुत्ववादले एकातिर अरू मुलुकलाई उपनिवेश बनाउने काम गर्छ भने अर्काेतिर आधिपत्य जमाउने काम गर्छ । सारमा अरू देशलाई नियन्त्रण गर्न खोज्ने सबै देशहरू प्रभुत्ववादी शक्ति हुन् । स्वाधीन मुलुकहरूले साम्राज्यवादी देशहरूले जे जस्तो गरे पनि मौन रहेमा उनीहरू झन् अघि बढेर संसारका मुलुक र जनतालाई आतङ्कित पार्नेछन् । अतः असंलग्न राज्य र तेस्रो विश्वका देशहरू विदेशी हस्तक्षेप एवम् आक्रमणविरुद्ध एक हुनुपर्छ† एक भएर साम्राज्यवादको विरोध गर्नुपर्छ ।
अझै पनि संसारमा उपनिवेशहरू बाँकी छन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिका उपनिवेशवाद र सबै प्रकारका प्रभुत्ववादबाट मुक्त हुनुपर्छ† त्यसको लागि सङ्घर्षमा लाग्नुपर्छ । समाजवादी मुलुक, असंलग्न मुलुक र विकासशील मुलुकहरू साम्राज्यवाद एवम् प्रभुत्ववादविरुद्ध लड्न एक हुनु जरुरी छ । कोरियाली जनताले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूको जनताको स्वतन्त्रता एवम् स्वाधीनताको सङ्घर्षलाई समर्थन गरेका छन् । कोरियाली जनता समाजवादी गणतन्त्रलाई अझ सुदृढ बनाउन क्रियाशील छन् । कोरियाली जनता समाजवादी गणतन्त्रको झन्डामुनि गोलबद्ध छन्† एकत्रित छन् ।
कोरियाली सरकार, कोरियाली मजदुर पार्टी, कोरियाली जनता र कोरियाली सेना विचारधारात्मक, प्राविधिक एवम् सांस्कृतिक क्रान्ति सफल पार्न निरन्तर जुटिरहेका छन् । नयाँ समाजको निर्माण गर्ने काम सुरु गरेको दिनमै गणतन्त्रको सरकारले विचारधारात्मक, प्राविधिक र सांस्कृतिक क्रान्ति चलाउने नीति प्रस्तुत गरेको थियो । तर, नेपालमा कम्युनिस्ट नामधारी पार्टीहरूले न वैचारिक क्रान्तिको अवधारणा ल्याएका छन् न त प्राविधिक एवम् सांस्कृतिक क्रान्ति नै गर्ने विचार ल्याएका छन् । प्रजग कोरियाको सरकारले यी तीन क्रान्तिलाई नै समाजवादी समाजको क्रान्तिको मुख्य सार तत्व मानेको छ, क्रान्तिको अभिभारा मानेको छ । यही अभिभारा पूरा गर्न कोरियाली जनता निरन्तर लागिरहेका छन् । यही कारण साम्राज्यवादी देश अमेरिकाले प्रजग कोरियालाई तर्साउन नसकेको हो† प्रजग कोरियाको सरकार साम्राज्यवादी देशसँग नझुकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *