भर्खरै :

भनपाको २० औँ नगरको नीति तथा कार्यक्रम प्रस्तुत

भनपाको २० औँ नगरको नीति तथा कार्यक्रम प्रस्तुत

भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा आफ्नो नीति तथा कार्यक्रममा सांस्कृतिक र ऐतिहासिक सम्पदालाई संरक्षण र संवद्र्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने, गुणस्तरीय इन्जिनियरिङ, वातावरण र पर्यावरण, अनुसन्धानमूलक शिक्षा, राजनीतिदेखि दर्शनशास्त्र एवं अर्बान डिजाइन एन्ड कन्जरभेसन विषयको उच्च शिक्षा अध्ययन गर्ने स्नातक, स्नातकोत्तरदेखि विद्यावारिधीसम्म छात्रवृत्ति प्रदान गर्ने नीतिलाई निरन्तरता दिने, शिशु स्याहारदेखि आदर निकेतनलाई चालू राख्ने, ख्वप अस्पताललाई स्तरोन्नति गर्ने नीतिदेखि मेडिकल कलेजसमेत स्थापना गर्ने उल्लेख छ ।
नगर प्रमुख सुनिल प्रजापतिले आ.व. २०८३/८४ को बजेटमा खेलकुद, डकर्मी, सिकर्मी आदि सीपको तालिम सञ्चालन गरी स्वरोजगारको निम्ति थप कार्यक्रम अगाडि बढाउँदै भक्तपुर नगरलाई देशका स–साना नगर र पालिकाहरूको निम्ति एक ‘टेस्टट्युव’ अर्थात् एक उदाहरण प्रस्तुत गर्ने ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्ने बताइएको छ ।
भक्तपुरका बुद्धिजीवी र साधारण कामदार जनता अहिले काठमाडौँ उपत्यकालाई इटालीको रोम सहरजस्तै ‘महानगर’ र भक्तपुरलाई ‘भेटिकन सिटी’ सँग तुलना गर्दै छन् । रोमको ‘भेटिकन सिटी’ पनि संसारको सबभन्दा सानो नगर (देश) को रूपमा हेरिन्छ । त्यसको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर वा ०.१७ वर्ग माइल मात्र छ ।
भेटिकन सिटी क्याथोलिक धर्मावलम्बीहरूको केन्द्र हो भने भक्तपुर लायकु, (दरबार स्क्वायर) पाँचतले मन्दिर र भैरव मन्दिर अर्थात् टौमढी, दत्तात्रय मन्दिर र क्षेत्र विश्व सम्पदा हो । भक्तपुरको टोल टोल र चोक चोकमा हिन्दू धर्मका विद्यापिठ र बौद्ध धर्मका बहाहरू पनि यथेष्ट छन् ।
यसरी प्राचीन कला र सांस्कृतिक भक्तपुर नगरलाई नपाले आधुनिक विज्ञान र प्रविधियुक्त देशको एक उदाहरणीय नगरको रूपमा प्रस्तुत गर्ने उद्देश्य राख्दै छ ।
रास्वपाको प्रथम महाधिवेशन
‘रास्वपा प्रथम महाधिवेशन उद्घाटन’, ‘केन्द्रमा पुग्न बग्रेल्ती आकाङ्क्षी तर कसरत सर्वसम्मतिको’ (राजधानी, ८ असार २०८३)
आश्चर्य के छ भने वर्तमानमा ‘महानगर’, ‘उपमहानगर’ र ‘नगरपालिका’ एवं ‘गाउँपालिकाहरू’ समेत भद्रगोल भइरहेको बेला ‘सरकारले संविधानले तोकेकै आधारमा सङ्घीय संरचना पुनःसंरचना अभ्यास सुरू’ गरेको छ । (राजधानी, ८ असार २०८३)
सरकारले नयाँ नयाँ नगर घोषणा गर्नुभन्दा पहिले सम्भावित नगरहरूको खानेपानीको बन्दोबस्त गर्न, रिजरभभ्वायर, फोहर व्यवस्थापनको निमित्त बस्तीदेखि कमसेकम २०–२५ किलोमिटर टाढा क्षेत्रलाई डम्पिङ साइट घोषणा गर्ने, बस पार्कहरू र ढल (उपचार पोखरी) एवं ‘उद्योग क्षेत्र’ घोषणा गर्ने क्षेत्रसमेत नगर घोषणा गर्नुभन्दा पहिले नै खाका वा योजना बनाउनु बुद्धिमानी हुनेछ ।
हरेक विषय हचुवाको आधारमा र कुनै अर्कै उद्दे्श्यलाई लुकाएर गाउँ, नगर, महानगरहरू घोषणा गर्नु बुद्धिमानी हुनेछैन भन्ने देशकै अनुभवले बताउँछ ।
xxx
नेकपा पनि महाधिवेशनमा केन्द्रित र नेपाली कम्युनिस्ट पार्टीमा आपसी हानथाप
२०८३ असार ८ कै ‘राजधानी’ ले लेख्यो – ‘गगनदेखि बाबुरामसम्म पुग्दा हर्कको बहिष्कार ।’
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्रीले संसद्मा ‘नेपालले पनि भारतको सीमा मिचेको’ अभिव्यक्तिमा माफी नमाग्दा श्रम संस्कृति पार्टी रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिन उपस्थित हुन नसकेको बताइयो । तर, अरू पुराना शासक दल र प्रधानमन्त्रीसमेत भएकाहरूले ‘रास्वपाको प्रथम महाधिवेशनमा उपस्थित भई’ शुभकामना दिनु ‘भालुलाई पुराण’ हुने जनतामा व्यापक चर्चा छ ।
‘नेकपा पनि महाधिवेशनमा केन्द्रित’ (नयाँ पत्रिका – ८ असार २०८३) । ‘अध्यक्षसहित पदाधिकारीले पनि पद छाड्नुपर्छ’, ‘ओलीलाई मात्र दोष थोपरेर उम्कन मिल्दैन’ जस्ता एमालेभित्र पनि भनाभन भइरहेको बताइएको छ । (नागरिक समाचार, ८ असार २०८३)
सुनिन्छ, २६ दलको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा पनि नेताहरू आपसमा हिलो छ्यापाछ्यापमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *