कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, १८ जेठ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा एकान्त कुमारी सांस्कृतिक खलः टिबुक्छेँ चासुखेल भक्तपुरको २९ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
उपप्रमुख जोशीले युवाहरूको बढ्दो उत्साहजनक सांस्कृतिक कार्यमा सहभागिता भएकोमा खुसी व्यक्त गर्दै संस्कृतिलाई जीवन्तता दिनुका साथै आफूमा भएका सीप र कला एक आपसमा आदानप्रदान गर्न एउटा मार्गदर्शकको रूपमा खलःलाई लिनसक्नुपर्ने बताउनुभयो । उहाँले रोजगारको लागि युवाहरू विदेश जाने कार्यलाई निरुत्साहित गर्दै आफ्नै देशमा श्रम र अवसरलाई सदुपयोग गर्न आफू सक्षम भएमा रोजगार आफ्नै स्वदेशमै प्रशस्त रहेको औँल्याउँदै सांस्कृतिक रूपबाट पनि रोजगार प्राप्त गर्न सकिने बताउनुभयो ।
नाचगानको राजधानी भक्तपुर, कला र संस्कृतिको जीवन्त सहर भक्तपुर, नमुना नगर भक्तपुर एउटा विश्वविद्यालयको रूपमा अध्ययन र अनुसन्धानको लागि मार्गदर्शनको रूपमा लिन सकिने जानकारी दिँदै उहाँले भक्तपुर नगरपालिकाले कला, संस्कृति, इतिहास, भूगोल, भाषा र राजनीति अध्ययनका लागि छात्रवृत्ति, शैक्षिक अध्ययनका लागि सहुलियतमा शैक्षिक ऋण, स्वास्थ्य उपचारको लागि ख्वप अस्पताल, खेलकुदका विभिन्न विधामा प्रशिक्षण सञ्चालनलगायत स्वस्थ रहनको लागि वडा–वडामा व्यायामशालाको स्थापना तथा धेरै पुराना ऐतिहासिक मठ मन्दिर, पोखरीहरूको पुनर्निर्माण तथा जीर्णोद्धार स्थानीय जनताको सहभागितामा अनुमानित बजेटभन्दा कम रकममा सम्पन्न गर्न सफल भएको जानकारी दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै आएका कार्यहरूको अध्ययन र अवलोकन गर्न नेपालका नगरपालिकाहरूको अध्ययन अवलोकनले पनि यसलाई सार्थक साबित गरेको बताउनुभयो ।
उहाँले खलःले सांस्कृतिक क्षेत्रलाई मात्र नभई व्यवहारिक तथा समय र परिस्थितिअनुसार सदस्यहरूलाई चलायमान बनाउन थप अन्य विषयमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै गाजा क्षेत्रमा इजरायलले प्यालेस्टिनीमाथि गरेको अमानवीय हिंसात्मक आक्रमणको भत्र्सना गर्दै सबैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा धूमपान तथा मद्यपानबाट युवाहरू टाढा रहन सकेमात्र संस्कृतिको पहिचान सही तरिकाबाट प्रस्तुत गर्न सकिने बताउँदै उहाँले यसबाट सजग रहन सुझाव दिनुभयो ।
कार्यक्रममा कुटुम्ब ब्यान्डका प्रतिनिधि राजु महर्जनले कलाकारहरू अनुशासनमा बस्न र संयमित रहन आवश्यक भएको बताउँदै नेपाली आधुनिक गीतलाई सङ्गीतको माध्यमबाट सबैमाझ लोकप्रिय बन्न सफल भएको बताउनुभयो ।
खलःका सल्लाहकार चिनियालाल माकले आफूले हासिल गरेको सीप प्रस्तुत गर्न, खलःप्रति आस्था र आफूमा भएको ज्ञान एक आपसमा आदानप्रदान गर्न अनुरोध गर्नुभयो ।
खलःका अध्यक्ष श्याम माकको सभापतित्वमा भएको उक्त कार्यक्रममा चण्डेश्वरी दाफा भजनका आशाकाजी खाइजु, चण्डेश्वरी टोल सुुधार समितिका अष्टमान सिन्ताकल, चण्डेश्वरी अजिमा साकोसका अध्यक्ष पूर्णगोपाल राजचल, चण्डेश्वरी धिमे पुचःका उपाध्यक्ष विष्णुप्रसाद त्वानावासु र चण्डेश्वरी मचा खलःका अध्यक्ष एवं अधिवक्ता विजयराम माकले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा खलःका सचिव राजेश माक र कोषाध्यक्ष श्रीभक्त माकले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनमाथि आवश्यक सल्लाह र सुझावका साथ सर्वसम्मतले पारित गरेको थियो । उक्त कार्यक्रममा खलःका अध्यक्षले प्रमुख अतिथि तथा विशेष अतिथिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष न्हुछेँराम माकले स्वागत गर्नुभएको थियो भने सदस्य विष्णुप्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply