नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
उच्च रक्तचापबारे बुझ्नैपर्ने कुरा
शरीरको रक्तचाप सामान्य भन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ । रक्तचाप माथिल्लो सिस्टोलिक र तल्लो डायस्टोलिक गरी दुई प्रकारको हुने गर्छ ।
माथिल्लो रक्तचाप ११० देखि १३० हुनुलाई सामान्य मानिन्छ, भने तल्लो रक्तचाप ७० देखि ८० भएको अवस्थालाई सामान्य मानिन्छ ।
हालको नयाँ निर्देशिकाअनुसार भने १३० देखि १४० को बिचलाई सामान्य उच्च रक्तचाप भन्ने बुझिन्छ । अर्थात् ८० र ९० बिचलाई पनि सामान्य उच्च रक्तचाप भन्ने बुझिन्छ ।
त्यस्तै दोस्रो ग्रेडमा १४० र १६० को बिचलाई उच्च रक्तचाप भनेर परिभाषित गरिएको छ । यदि माथिल्लो रक्तचाप १४० भन्दा माथि र तल्लो ९० भन्दा माथि रहेको अवस्थामा सामान्यतया चिकित्सकहरूले उच्च रक्तचापको औषधि सेवनका लागि सिफारिस गर्छन् ।
नेपालमा उच्च रक्तचाप
नेपालमा उच्च रक्तचाप भएका व्यक्तिहरूबारेको यकिन सर्वेक्षण भएको छैन । त्यसकारण, उच्च रक्तचाप भएका व्यक्तिहरू कति छन् भनी निश्चित रूपमा भन्न सक्ने अवस्था छैन ।
यद्यपि विभिन्न अध्ययन अनुसन्धानले पत्ता लगाएअनुसार नेपालमा १०–१५ प्रतिशत मानिसहरूमा कुनै न कुनै रूपमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ । यो केही संस्थाहरूले संस्थागत रूपमा पत्ता लगाएको तथ्याङ्क हो ।
उच्च रक्तचापका लक्षणहरू
कतिपय अवस्थामा कुनै लक्षणबिना नै मानिसमा रक्तचापको समस्या आउने गर्छ । यद्यपि टाउको दुख्ने, रिङ्गटा लाग्ने,छाती दुख्ने तथा भारी हुने,मुटु ढुकढुक हुनेलगायतका लक्षणहरू देखिन सक्छन् ।
यदि उच्च रक्तचापका कारण अन्य अङ्गहरूमा समेत असर परेको अवस्थामा दृष्टिमा समेत समस्या ल्याउन सक्छ । उच्च रक्तचापका कारणका मृगौलाले सही रूपमा काम नगर्न सक्छ । लामो समय उच्च रक्तचापको समस्यापश्चात् स्ट्रोकको समस्या देखा पर्न सक्छ ।
कुन अवस्थामा बिरामीलाई औषधि सिफारिस गरिन्छ ?
उच्च रक्तचापमा बिरामी उमेर हेरेर चिकित्सकहरूले औषधि सेवनका लागि सिफारिस गर्छन् ।
सामान्यतया सिस्टोलिक रक्तचाप १४० भन्दा माथि तथा डायस्टोलिक रक्तचाप ९५ माथि भएको अवस्थामा औषधि सिफारिस गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार औषधि सेवन गरिसकेका मानिसहरूमा १ वर्षसम्म निरन्तर रूपमा रक्तचाप कम भएको अवस्थामा औषधि छोड्न मिल्छ । त्योबाहेक यदि कसैलाई न्यूनतम डोजको औषधि दिइएको छ, त्यो अवस्थामा बिरामीले जीवनशैली परिवर्तन गरेमा पनि औषधि सेवन छोड्न मिल्ने पनि हुनसक्छ ।
यद्यपि, एक पटक उच्च रक्तचापको औषधि सेवन गरिसकेका अधिकांश मानिसमा औषधि छुट्याउन मिल्ने सम्भावना एकदमै कम हुन्छ ।
उच्च रक्तचापका कारण हुने जोखिम
उच्च रक्तचाप भएका मानिसहरूले लामो समयसम्म पनि औषधिको सेवन नगरेमा मुटुको मांशपेशीहरू बाक्लो हुँदै जाने सम्भावना रहन्छ । लामो समयपछि त्यसले मुटुको च्याम्बर सानो हुँदै जान्छ । यस्तो अवस्थामा सामान्य हिडाइँमा पनि स्वाँस्वाँ हुने गर्छ ।
समयमा उपचार नगरेमा उच्च रक्तचापका कारण कोलेस्ट्रोरेल उच्च हुने, हृदयाघात हुने, पक्षघात हुने, मिर्गाैला फेल हुने, आँखाको ज्योति गुम्ने, मुटुबाट निस्केको ठुलो नशा वा एओर्टा फुट्नेसम्मका जोखिम हुनसक्छ । जसले मान्छेको ज्यान जाने सम्मको खतरा हुनसक्छ ।
त्यसकारण, उच्च रक्तचापलाई साइलेन्ट किलर अर्थात् ‘सुषुप्त हत्यारा’ पनि भन्ने गरिन्छ । उच्च रक्तचापलाई बेवास्ता गरी नियमित रूपमा औषधि सेवन नगरेमा यसले मानिसको ज्यान लिन्छ ।
विश्वका ३० प्रतिशत मानिसहरूमा कार्डियो भास्कुलर रोग रहेको अनुमान गर्न सकिन्छ । संसारमा हुने कुल मृत्युमध्ये ३० प्रतिशत मृत्यु यसका कारण हुने गरेको छ । जसमा हृदयाघात, मस्तिष्कघातलगायत सम्पूर्ण रोगहरू पर्छन् ।
उच्च रक्तचाप हुनबाट कसरी बच्ने ?
– परिवारका अग्रजमा उच्च रक्तचापको समस्या भएका व्यक्तिले ३५ वर्ष पूरा भएपछि नियमित रूपमा रक्तचापको परीक्षण गर्ने ।
– अल्कोहल तथा बढी मात्रामा माछामासुको सेवन नगर्ने ।
– नियमित रूपमा शारीरिक व्यायाम गर्ने ।
– शरीरमा कोलेस्ट्रोरेल र सुगरको मात्रालाई नियन्त्रण गर्ने ।
– नुनको सेवन कम गर्ने ।
– कफीको सेवन कम गर्ने ।
Leave a Reply