भर्खरै :

समाजवादी समाज क्रान्तिकारी विचारधारामा आधारित

समाजवाद सामन्तवाद र पुँजीवादभन्दा आधारभूत रूपले भिन्न प्रकारको नयाँ सामाजिक व्यवस्था हो । समाजवादको अजय शक्तिको स्रोत जनताको समर्थन र विश्वास हो । व्यापक जनताको हित नचाहने साम्राज्यवादी, सामन्तवादी र पुँजीवादीहरू जहिल्यै समाजवादलाई उठ्न दिँदैनन् । समाजवादी समाजले बहुमत जनताको हित हुने काम गर्छ । काम नगरी चुप लागेर बसी खाइरहने शोषकवर्गले श्रमजीवी जनताको हित हेर्दैन । समाजवादले श्रमिकवर्गको आकाङ्क्षा र माग प्रतिबिम्बित गर्छ । प्रजग कोरियामा साम्राज्यवादविरोधी राष्ट्रिय मुक्ति क्रान्ति, सामन्तवादविरोधी जनतान्त्रिक क्रान्ति र समाजवादी क्रान्ति भएको थियो ।
पुँजीवादी समाज व्यक्तिवादबाट शासित हुन्छ । व्यक्तिवादी समाजमा सामाजिक असमानता बढ्छ† गरिब र धनीबिचको दूरी बढ्छ । समाजवादी गणतन्त्रमा सच्चा प्रजातन्त्र हुन्छ । समाजवादलाई प्रजातन्त्रबाट अलग्ग गर्न सकिँदैन । यसकारण, समाजवादमा प्रजातन्त्र हुँदैन भन्ने कुरा भ्रम हो । पुँजीवादी प्रजातन्त्र जनविरोधी प्रजातन्त्र हो । यसले श्रमिक जनतामाथि अधिनायकत्व प्रयोग गर्छ । साम्राज्यवादी, प्रतिक्रियावादी, पुँजीवादी र सामन्तवादीहरू पुँजीवादी संसदीय व्यवस्था या पुँजीवादी बहुदलीय व्यवस्थालाई ‘प्रजातन्त्र’ भनी प्रचार गर्छन् । उनीहरू पुँजीवादी प्रजातन्त्रलाई जीवन्तता दिने दाबी गर्छन् । देशको अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । यो पुँजीवादी व्यवस्थालाई मल, जल गर्ने काम कम्युनिस्ट भनिने दलहरूले गरिरहेका छन् । यही व्यवस्थामा रहेर समाज अगाडि बढाउने उनीहरूको दाबी हो । पुँजीवादी व्यवस्थालाई निरन्तरता दिने, मलजल हालेर कम्युनिस्ट आन्दोलनलाई पछि पार्ने दलहरू नाम जे भए पनि कम्युनिस्ट हुनसक्दैनन् । प्रजग कोरियामा रोजगारी, खाने, लाउने, बस्ने अधिकारदेखि शिक्षा र स्वास्थ्य उपचारको सबै सुनिश्चित गरिएको छ । तर, नेपालमा यस्तो कुनै सुनिश्चितता छैन । पुँजीवादीहरू आफूलाई ‘मानव अधिकारको हिमायती’ भन्दै समाजवादको निन्दा गर्छन् या कम्युनिस्ट पार्टीको विरोध गर्छन् । समाजवादी समाजमा राज्यले प्रत्येक व्यक्तिको जीवनको लागि उत्तरदायित्व बोकेको हुन्छ । राज्यले समाजका सबै सदस्यहरूको हेरचाह गर्ने उत्तरदायित्व बोकेको हुन्छ ।
शोषण र दमनबाट मुक्त हुने चाहना व्यापक जनताको हुन्छ । त्यो चाहना समाजवादी गणतन्त्रात्मक सरकारले गर्छ । समाजवादी समाजले श्रमिक जनतालाई श्रमको पूर्ण अधिकार प्रदान गरेको हुन्छ । जनतालाई न्यायपूर्ण तथा समृद्ध भौतिक जीवन प्रदान गर्नु समाजवादी आर्थिक जीवनको प्रमुख आवश्यकता हो । समाजवादी व्यवस्थाले उत्पादक शक्तिहरूको विकासको लागि व्यापक मार्ग प्रशस्त गर्छ । पैसा कमाउने उद्देश्य लिएको बजार अर्थतन्त्र र विदेशी एकाधिकार पुँजीपतिहरूलाई धनी तुल्याउने आश्रित अर्थतन्त्र लाद्न, ‘आर्थिक सहयोग’ , ‘सहायता’ को लोभ देखाएर उपनिवेश बनाउने, आफ्नो मातहतमा राख्ने या परनिर्भर बनाइरहेको बेलामा समाजवादी मुलुकहरूले समाजवादी अर्थतन्त्रलाई सुदृढ पार्न पहल गर्नुपर्ने हुन्छ । समाजवादी समाज क्रान्तिकारी विचारधारामा आधारित हुन्छ ।
साम्राज्यवादी र एकाधिकार पुँजीपतिहरूले पुँजीवादी विचारधारा लागु गर्न अघि सर्नु स्वाभाविक हो । नेका पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । पुँजीपतिवर्गको प्रतिनिधित्व गरिरहेको दलसँगै एमालेको साँठगाँठ छ । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलको काँधमा चढेर एमालेले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा कसरी लागु गर्छ ? पुँजीपतिहरूले पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि सञ्चारमाध्यमहरू आफ्नो हातमा लिएका हुन्छन् र आफ्नो विचार प्रचार गर्छन् । आफूलाई कम्युनिस्ट भनिने एमाले र माओवादी दलका नेताहरू साँच्चै कम्युनिस्ट हुन् भने कम्युनिस्ट पार्टीको प्रचार गर्नुपर्छ† समाजवादी आन्दोलनलाई अघि बढाउने पुस्तकहरू प्रकाशन गर्नुपर्छ† पत्रिका निकाल्नुपर्छ† लेखहरू छाप्नुपर्छ† नेता तथा कार्यकर्ताको हरेक भेला, सभा, अन्तरक्रियामा कम्युनिस्ट विचार र सिद्धान्तबारे सुसूचित पार्नुपर्छ ।
क्रान्ति गर्न क्रान्तिकारी पार्टी जरुरी हुन्छ । क्रान्तिकारी पार्टीको क्रान्तिकारी विचार हुन्छ । क्रान्तिकारी पार्टीको मूल उद्देश्य आमूल परिवर्तन हो । आमूल परिवर्तन एकाबाजि नहुने हुँदा कम्युनिस्ट पार्टीले परिवर्तनको निम्ति राजनीतिक कक्षा सञ्चालन गरिरहेको हुन्छ । राजनीतिक कक्षा जनतालाई सुसूचित र सङ्गठित गर्ने माध्यम हो । नेमकिपाले समाजवादी प्रचार अभियान रोकेको छैन । देशमा पुँजीवादी व्यवस्थाको बदनाम हुँदै छ; पुँजीवादी पार्टीका नेताहरूको बदनाम हुँदै छ । पुँजीवादी व्यवस्थाको मनपरीतन्त्रकै कारण जनता असन्तुष्ट छन् । यसले जनता सचेत बनाउँछ । यसले समाजवादी व्यवस्थाको निम्ति आधार तयार गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *