भर्खरै :

हरित क्रान्तिमा तेह्रथुमका किसान

  • जेष्ठ २६, २०८२
  • बबिता राई
  • विचार
हरित क्रान्तिमा तेह्रथुमका किसान

फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उहाँमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यहीबेला कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रम सुरू भयो ।
केशरबहादुर पनि त्यो कार्यक्रममा जोडिए । उक्त कार्यक्रममा आफू जोडिनु ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान चरितार्थ भएको अनुभूति भएको उहाँ सुनाउनुहुन्छ । “प्रक्रिया पु¥याएर कागजात पेस गरेको थिएँ, एक लाख रुपैयाँ अनुदान प्राप्त भयो, त्यहीँ अनुदानबापत प्राप्त भएको नगद लगानी गरेर काठ र फलफूलका बिरूवा रोपेको छु”, घिसिङले भन्नुभयो ।
अनुदान आएपछि रोपेका काठ र फलफूल घिसिङको बगानमा धमाधम हुर्किंदैछन् । उहाँले ४५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा अलैँचीसँगै ओखर, हलुवावेद जर्मन नास्पाती र खुर्पानीलगायत बिरूवा रोप्नुभएको छ । उहाँको बगानमा यतिबेला ती बिरूवा धमाधम हुर्किइरहेका छन् । “प्रदेश वन विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७९/८० मा प्राप्त एक लाख रुपैयाँ अनुदान सहयोगमा रोपेका बिरूवाले बगान हरियाली भएको छ”, घिसिङले थप्नुभयो ।
फेदाप गाउँपालिका–६ इसिबु घर भएका ६६ वर्षीय घिसिङ प्रायः आफूले रोपेका काठ, फलफूल र अलैँचीका बिरूवा गोडमेल गर्न व्यस्त भेटिनुहुन्छ । उहाँको नाममा दर्ता भएको कृषि फार्ममा उन्नत जातका सुन्तला, बोधिचित्त, ओखरजस्ता फलफूलका बेर्ना उत्पादन हुन्छन् । ती बेर्ना ते¥हथुम र धनकुटाका विभिन्न स्थानबाट आएका किसानले किनेर लैजान्छन् ।
उहाँले ५० वटा बोयर जातका बाख्रासमेत पाल्नुभएको छ । अलैँचीखेती, बेर्ना उत्पादन र बाख्रापालनबाट वार्षिक १० लाख रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको उहाँ सुनाउनुहुन्छ । “सात जनाको परिवार यहीँ आम्दानीले धानेको छ, उत्तिसका गोलिया हुर्केपछि बिक्री गर्दा एकमुष्ट आम्दानी हुन्छ, त्यो पैसा कृषि उद्यममै लगानी गर्ने योजना छ”, उहाँले भन्नुभयो ।
पुस्तौँदेखि कृषिकर्म गर्दै आउनुभएका उहाँले कोसी प्रदेश सरकार मातहतको डिजिजन वन कार्यालयबाट बिरूवा रोप्न पहिलोपटक अनुदान पाउनु भएको हो । “उजाड हुन लागेका कान्ला भित्तामा बिरूवा रोप्ने अनुदान पाइयो, धमाधम हरियाली फर्कंदैछ, पाखुरा बजार्नेहरूलाई पनि प्रदेश सरकारले हेर्दोरहेछ”, उहाँले भन्नुभयो ।
केशरबहादुर जस्तै तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका ऋषिबहादुर थापाले पनि ४० रोपनी क्षेत्रफलमा अलैँची र उत्तिसका विरूवा रोप्नुभएको छ । पाँच वर्षअघि पाँच लाख रुपैयाँको उत्तिसको गोलिया बेच्नुभएका उहाँले प्रदेश सरकारको कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रममार्फत एक लाख रुपैयाँ अनुदान पाएपछि पुनःउत्तिसका बिरूवा रोप्नुभएको हो । “दुई वर्षअघि रोपेको उत्तिस बगान मज्जाले हुर्कंदै छ, चार–पाँच वर्षपछि बगान हुर्कन्छ, अनि फेरि गोलिया बेच्ने हो”, उहाँले भन्नुभयो ।
जङ्गलमा उत्तिस रोप्दा धेरै मेहनत लाग्दैन, चाँडै हुर्किन्छन्, अरू बालीलाई जस्तो मलजल र स्याहार गरिरहनु पर्दैन र बिक्री गर्दा एकमुष्ट आम्दानी हुन्छ । प्रदेश सरकारको अनुदान आफ्ना लागि कोशेढुङ्गा सावित भएको थापा सुनाउनुहुन्छ । घिसिङ र थापाजस्तै प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गतको कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रमबाट अनुदान पाएपछि तेह्रथुमका किसानले बाँझिएका र उजाड पाखामा काठ, फलफूल र नगदेबाली लगाएका छन् ।
वन क्षेत्रको विस्तारगरी वातावरणलाई हरियाली बनाउनसँगै कृषकलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० देखि जिल्लामा यो कार्यक्रम लागू गरेको हो । डिभिजन वन कार्यालय ते¥हथुमका अनुसार कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रम जिल्लामा आर्थिक वर्ष २०७८/७९ देखि सुरू भएको हो । पहिलो वर्षमा जिल्लाका ६ जना कृषकलाई अनुदान दिइएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा यो कार्यक्रमबाट जिल्लाका थप १० किसानलाई अनुदान दिइएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि सात लाभग्राही कृषक छनोट भएका छन् । निजी काष्ठ एवम् गैरकाष्ठ वनपैदावर प्रवद्र्धन गर्दै कृषकलाई कृषि वनबाट आयआर्जन मुखी क्रियाकलापमा जोड्न यो कार्यक्रम महत्वपूर्ण रहेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साह बताउनुहुन्छ । यस कार्यक्रममार्फत् प्रत्येक कृषकले एक लाख रुपैयाँ अनुदान पाउँदै आएका छन् ।
म्याङलुङ नगरपालिका १० साब्लाका विनोद सुवेदी डिभिजन वन कार्यालयबाट पाएको प्रदेश सरकारको अनुदानले ठूलो राहत भएको बताउनुहुन्छ । उहाँले आव २०७८/७९ मा एक लाख रुपैयाँ अनुदान प्राप्त गर्नुभएको थियो । यस वर्षका लागि लाभग्राही कृषकका रूपमा छनोट हुनुभएकी फेदाप गाउँपालिका–५ की प्रेमा लिम्बूले आफ्नो निजी वनमा लकडी (गोलिया) का रूपमा प्रयोग हुने उत्तिस र तत्काल बिक्री हुने फलफूल रोप्ने योजना सुनाउनुभयो ।
आफ्नै लगानीमा गर्नुपर्ने कामका लागि सरकारले अनुदान दिँदा उत्साहित भएको लाभग्राही कृषककै रूपमा छनोट हुनुभएका म्याङ्लुङ नपा–२ का कुलबहादुर तुम्बाहाङ्फे सुनाउनुहुन्छ । चालु आवमा कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रमको अनुदानका लागि सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गरेर आवेदन आह्वान गरिएको थियो । यसमा जिल्लाभरिबाट डिभिजन वन कार्यालयमा २० वटा निवेदन आएको कार्यक्रम अधिकृत सुमन खड्काले बताउनुभयो । तीमध्ये सात लाभग्राही कृषक छनोट गरिएको हो ।
कार्यक्रम अधिकृत खड्काका अनुसार लाभग्राही कृषक छनोट प्रक्रियामा सवडिभिजन वन कार्यालयको र स्थानीय तहको सिफारिस, मालपोत कार्यालयको जग्गा रोक्का नभएको सिफारिस, नागरिकता वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्मको हकमा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, ब्लु प्रिन्ट नक्सा तथा जग्गा खुल्ने प्रमाणित नक्सा माग्ने गरिन्छ । चालिस रोपनीभन्दा बढी जग्गा भएका किसानले मूल्याङ्कनमा दश अङ्क धेरै पाउँछन् । त्यस्तै ३० रोपनीभन्दा माथि र ४० रोपनीसम्म भएमा त्यस्ता आवेदकले आठ अङ्क पाउँछन् ।
यीसहित १० वटा मापदण्डका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने आवेदक अनुदानका लागि छनोट गरिन्छ । लाभग्राही कृषक छनोट समितिमा डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घका प्रतिनिधि रहने व्यवस्था रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्निकुमार झा बताउनुहुन्छ ।
कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रमबाट मात्र जिल्लामा हालसम्ममा ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा उत्तिस, अन्य गैरकाष्ठ तथा फलफूलका बिरूवा रोपिएको छ । यस वर्ष थप क्षेत्रफलमा पनि रोपिँदै छ । आव २०८०/८१ मा अनुदान प्राप्त गरेका म्याङलुङका डम्बरबहादुर लिम्बूले म्याङ्लुङ–४ पिप्लेमा उत्तिससँगै फलफूलमा कागती र लिची रोपेको बताउनुभयो । एम्बुलेन्स चलाउने पेसा अगाल्नुभएका उहाँले पाँच वर्षअघि साथीहरूसँग मिलेर खरिद गरेको जग्गामा अनुदानबाट प्राप्त रकमले ती बिरूवा रोपेको सुनाउनुभयो । लिम्बूसहित साथीहरूको समूहले टेके एग्रो फर्म दर्तागरी व्यावसायिक लिचीखेती गर्दै आएका छन् ।
किसानलाई प्रोत्साहन, भूक्षय रोक्न सहयोगी
जिल्लाको म्याङ्लुङ नपा–५ जिरिखिम्तीका रवीन्द्र सोदेम्बा र चन्द्रकुमार सोदेम्बाले गत वर्ष निजी वनबाट सात–सात लाख रुपैयाँको गोलिया बेच्नुभयो । रूख काटेर खालि रहेको ३५ रोपनी क्षेत्रफलमा कोसी प्रदेश सरकारको कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रमको अनुदान सहयोगबाट गएको वर्षायाममा उत्तिस र अलैँचीको बिरूवा लगाउनुभएको हो ।
कृषकलाई यस्ता अनुदानका कार्यक्रमले बिरूवा लगाउन प्रोत्साहित गरेको उहाँहरूको भनाइ छ । खेती गर्ने जग्गामा पहिरो जान थालेपछि खेतबारीको छेउछाउमा उत्तिसलगायत बिरूवा रोप्दा त्यसले पहिरो रोक्न मद्दत पुगेको उहाँहरूले सुनाउनुभयो । यो कार्यक्रमबाट प्राप्त अनुदान रकमबाट कृषकले पहिरो जाने स्थानमा उत्तिसलगायत बिरूवा रोपण गरेपछि त्यसले भूक्षय हुनबाट रोकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ ते¥हथुमका अध्यक्ष बुद्धिमान खुलाल बताउनुहुन्छ । यद्यपि, कम कृषकले मात्र अनुदान पाएको भन्दै आगामी दिनमा प्रदेश सरकारले यसको दायरा केही बढाउन आवश्यक रहेको उहाँको सुझाव छ ।
उत्तिसः अलैँचीका लागि छहारीसँगै मल पनि
अलैँची बारीमा उत्तिसको बिरूवा रोप्दा अलैँचीलाई छहारीसँगै मल पनि हुने कृषकको भनाइ छ । कृषि वन प्रणाली प्रवद्र्धनकार्यक्रममार्फत अनुदान पाई अलैँची बारीमा उत्तिसका बिरूवा रोपेका फेदाप गाउँपालिका–६ का अगुवा कृषक केशरबहादुर घिसिङका अनुसार अलैँचीलाई रूख बिरूवाको छहारीले राम्रो गर्छ । उत्तिसको बिरूवा रोपी दिएपछि त्यो छहारी पनि हुने र त्यसका पातपतिङ्गर झरेर कुहिन गई अलैँचीलाई मल पनि हुन्छ ।
उत्तिसको बिरूवा अलैँचीका बोटका लागि निकै उपयोगी हुने अर्का लाभग्राही कृषक, मेन्छ्यायेम गापा–६ मोराहाङका ऋषिबहादुर थापाको अनुभव छ । उहाँले पनि अनुदान रकमबाट अलैँचीबारीमै उत्तिसका बिरूवा लगाउनुभएको छ । अलैँचीले चिस्यान ठाउँ बढी नै मन पराउँछ । उत्तिसका बिरूवाले जमिनलाई चिस्याइलो बनाइराख्न पनि मद्दत पुग्ने भएकाले अलैँची बगानमा उत्तिसको बिरूवा रोप्दा निकै उपयोगी हुने कृषि प्राविधिकहरू बताउँछन् ।
राजस्व सङ्कलनको मुख्य आधार
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी राजस्व रूखको गोलिया निर्यातबाट हुने गरेको छ । चालु आर्थिक वर्षको हालसम्ममा मात्र जिल्लामा गोलिया निर्यातबाट रु. चार करोड बढी राजस्व सङ्कलन भएको छ ।
गत आव २०८०/८१ मा ते¥हथुमबाट ५३ करोड रुपैयाँको गोलिया काठ निर्यात भएको थियो । सो वापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर सङ्कलन भएको थियो भने ७८ लाख ८५ हजार तीन सय रुपैयाँ प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षको १२ महिनामा ते¥हथुमका निजी वनबाट २६ लाख ४१ हजार १ ८६ क्युफिट गोलिया काठ जिल्ला बाहिर निर्यात भएको थियो ।
जिल्लामा ३२ वटा निजी वन दर्ता भएका छन् । तीनको क्षेत्रफल २६ दशमलव १० हेक्टर छ । यस्तै कबुलियती वन समूह १२३ वटा छन् भने तिनीहरूको क्षेत्रफल ३४० दशमलव ६३ हेक्टर रहेको डिभिजन वन कार्यालय ते¥हथुमको तथ्याङ्क छ । त्यस्तै सामुदायिक वनको सङ्ख्या ३३९ र क्षेत्रफल १९ हजार १२४ दशमलव ७६५ हेक्टर रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *