भर्खरै :

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध विस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

अस्ट्रेलिया बलियो वैश्विक व्यापारिक सम्बन्ध विस्तार गर्न इच्छुक, अमेरिकी नयाँ कर नीतिको विरोध

सिड्नी, २५ जेठ (एएफपी) । अस्ट्रेलियाका व्यापारमन्त्री डन फारेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्यायपूर्ण’ करको निन्दा गर्दै संयुक्त राज्य अमेरिकामाथिको निर्भरता कम गर्न अस्ट्रेलियाले अन्य देशसँग स्वतन्त्र व्यापार सम्झौता विस्तार गर्न दबाब दिने बताउनुभएको छ ।
अस्ट्रेलिया अमेरिकाको नजिकको सहयोगी देश हो तर ट्रम्पको विश्वव्यापी करको हिस्साको रूपमा संयुक्त राज्य अमेरिकामा निर्यात हुने सामानहरूमा १० प्रतिशत, स्टिल र आल्मुनियममा ५० प्रतिशतसम्म कर लगाइएको छ ।
“म आशावादी छु, विश्वका ती देशहरू जसले स्वतन्त्र र निष्पक्ष व्यापारमा विश्वास गर्छन्, उनीहरू विश्वभरि स्वतन्त्र व्यापार सम्झौताहरू विस्तार गर्न सम्झौतामा पुग्न सक्दछन्, ताकि अमेरिकीहरूले जे सुकै गर्न चाहे पनि हामीसँग व्यापारिक साझेदारहरूको अधिक विविधता छ,” फारेलले स्काई न्यूजसँग भन्नुभयो ।
गत हप्ता पेरिसमा विश्व व्यापार सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसिडी) र अन्य देशहरूसँगको वार्तापछि उहाँले अस्ट्रेलिया ‘संरक्षणवाद’ रोक्न र स्वतन्त्र र निष्पक्ष व्यापारलाई प्रोत्साहित गर्न केन्द्रित रहेको बताउनुभएको थियो ।
फेरेलले भन्नुभयो, “अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबिचको व्यापार वार्षिक अनुमानित १०० अर्ब अस्ट्रेलियाली डलर (झन्डै ६५ अर्ब अमेरिकी डलर) बराबरको छ । अस्ट्रेलियाले संयुक्त राज्य अमेरिकालाई बेचेको सामानभन्दा बढी किनेको छ ।”
उहाँले गत साता आफ्ना अमेरिकी समकक्षी जेमिसन ग्रीरसँग अस्ट्रेलियाबाट हुने निर्यातका सामानमा लगाइएको शुल्कको विरोध गरेको बताउनुभएको थियो ।
“मैले जेमिसन ग्रीरलाई राखेको अडान के हो भने अमेरिकाले अस्ट्रेलियामाथि लगाएको कर अनुचित छ,” फेरेलले भन्नुभयो ।
“हामी तीमध्ये केही मात्र होइन सबै करहरू हटाउन चाहन्छौँ,” उहाँले थप्नुभयो ।
युरोपेली सङ्घ (ईयू) ले गत महिना युक्रेन युद्ध र अन्य विश्वव्यापी सङ्कटका लागि संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया सिर्जना गर्न अस्ट्रेलियासँग रक्षा साझेदारीको प्रयास गरिरहेको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *