भर्खरै :

उफ ! यो ढाड दुखाइ

उफ ! यो ढाड दुखाइ

युवाहरूमा समेत अहिले ढाड दुखाइको समस्या बढ्न थालेको छ । दुखाइको पृष्ठभूमि पहिले नै तयार भइरहेको हुन्छ । आधुनिक युगमा उपलब्ध सहरी सुविधाका कारण धेरैजसो कम्प्युटरमा लामो समय काम गर्छौँ । बसेर लगातार टीभी हेर्ने गर्छौँ ।
मोटरसाइकल, ल्यापटप वा मोबाइल धेरै चलाउने व्यक्तिको घाँटी अगाडि तन्किन्छ । यस्तो अवस्थामा दुखाइ बढ्न सक्छ । घाँटीलाई सिधा राख्नुपर्ने हुन्छ । ढाडलाई पछाडि राख्नुपर्ने हुन्छ । कहिलेकाहीँ एउटै स्थितिमा रहँदा–बस्दा पनि ढाड दुखेजस्तो हुन्छ । तर, केही छिनमा ठीक भएपछि वास्ता गर्न छाडिन्छ ।
यसरी हलचल नगरेर बस्दा ढाडका मांसपेशी बिस्तारै कमजोर भएर शक्ति क्षीण बन्दै जान्छन् । यसरी शक्ति क्षीण भएका बेला कुनै झट्का लाग्यो, केही उचाल्यो भने बेस्सरी दुख्छ । कहिलेकाहीँ पिसाब थैली, नली वा मिर्गौलाको सङ्क्रमण हुँदा पनि ढाड दुख्ने समस्या हुन्छ । तर, पिसाबमा सङ्क्रमण भएमा ढाड मात्र दुख्दैन, ज्वरो आउने, पिसाब पोल्ने, वाकवाकी लाग्ने पनि हुन्छ । कसैलाई मानसिक तनाव परेको बेलामा पनि ढाड दुख्न सक्छ । विज्ञको भनाइअनुसार ८० प्रतिशत ढाड दुखाइको समस्या त्यति जटिल हुँदैन ।
विज्ञहरूका अनुसार नेपालमा ढाड दुख्ने समस्या भएका व्यक्तिको सङ्ख्या बढेको छ । डाक्टरकहाँ आउने बिरामीमध्ये ९० प्रतिशतलाई कुनै शल्यक्रियाको जरुरत पर्दैन, आराम र औषधिले ठीक हुन्छ । केबल १० प्रतिशतलाई मात्र शल्यक्रियाको जरुरत पर्न सक्छ ।
ढाड दुख्ने मुख्य कारणमा नराम्रो तरिकाको बसाइँ, बढी मोटोपन र अहिलेको व्यस्त जीवन, कसरतको अभाव मुख्य हुन् । ढाड दुख्नुको मतलब ढाडका मांसपेशीका तन्तु कमजोर हुनु हो । महत्वपूर्ण त ती तन्तुलाई आराम दिनुपर्छ । तर, पूर्णरूपमा सुतिरहनु पर्दैन । ढाड दुख्नेबित्तिकै एक्सरे गरिहाल्नु पर्दैन ।
केही दिन आराम गरेर औषधि खाँदा पनि दुखाइ कम भएन भने मात्र एक्सरे र अन्य जाँच गर्नुपर्ने अवस्था आउँछ । पच्चीस वर्षको उमेरभन्दा पहिले नै ढाडसँगै पिँडुला दुख्यो भने, पिसाब फेर्न कठिनाइ प¥यो भने, लगातार सुत्दाखेरि दुखाइ झन् बढ्यो भने विज्ञहरूको सल्लाह तुरुन्त लिइहाल्नुपर्छ ।
नेपालमा अहिले सहरका महिलालाई मोटोपनका कारण ढाड र घुँडा दुख्ने समस्या बढेको हुनसक्छ । पछिल्लो तथ्याङ्कअनुसार ३५ प्रतिशत नेपाली महिला मोटा छन् । स्वस्थ भोजन, जीवनशैली, हिँडाइले तौल ठीक राख्न र मानसिक तनाव कम गर्न मद्दत गर्छ । तौल घटाउँदा र ढाडमा समस्या नपरोस् भनेर योगका केही आसन गर्दा समस्या न्यूनीकरण गर्न सक्छ । मांसपेशीलाई लचिलो बनाई रक्त सञ्चालन राम्रो बनाएपछि ढाडका मांसपेशी चाँडै थाक्दैनन् । त्यसैले हरेक दिन २०–३० मिनेट हिँड्ने र ८–१० घण्टा मेचमा बसेर काम गर्नेले हरेक एक–दुई घण्टामा मेचबाट उठेर हिँडडुल गर्नुपर्छ । यसले गर्दा ढाडको मांसपेशीको रक्त सञ्चालनमा अवरोध भएर मांसपेशी थाक्ने प्रक्रिया कम हुन्छ ।
मैले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा कम्प्युटरमा लगातार २–३ घण्टा टाँसिएर नबस्नु भन्ने सिकेकाले त्यसलाई प्रयोग गरेकी छु ।
ढाड दुखेपछि पहिले आराम गर्नुपर्छ । तर, लगातार सुतिरहनु पर्दैन । ढाडको दुखाइ गम्भीर प्रकृतिको छैन भने आराम गर्नाले दुखाइ आफैँ कम हुन्छ । विज्ञहरूले ढाड दुखेको ठाउँमा पहिलो २४ घण्टा चिसोले र पछि तातो पानीले सेक्ने सल्लाह दिन्छन् ।
मार्जरी आसन, ताडासन, बालाआसन, उत्तनापाद आसन, हस्त पादासन र सूर्य नमस्कारलाई आफूमा दैनिक लागु गर्नुपर्छ । साथै तौल ठीक राखियो भने पनि ढाड दुखाइका समस्या कम हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *