भर्खरै :

देशको विकास गर्न युवाहरूलाई प्रेरित गर्नुपर्ने

देशको विकास गर्न युवाहरूलाई प्रेरित गर्नुपर्ने

भक्तपुर, २७ जेठ । भक्तपुर नगरपालिकाले आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि मङ्गलबार प्राध्यापक, युवा र विद्यार्थीहरूको भेला कार्यक्रम गरी राय सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र नीति तथा कार्यक्रम पारित गरी बजेट पेस गर्नुपर्ने प्रावधान रहेको बताउँदै बजेट निर्माणको क्रममा नगरपालिकाले विभिन्न भेला, छलफल र अनलाइन माध्यमबाट राय–सुझाव सङ्कलन गरिरहेको बताउनुभयो ।
युवाहरूलाई आत्मनिर्भर बनाउन नपाले युवा र महिला लक्षित सीपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै उहाँले आफ्नो देशको विकास गर्न युवाहरूलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।
नगरवासीहरूको रचनात्मक सल्लाह र सुझावले नै भक्तपुरको विकास अगाडि बढिरहेको बताउँदै भक्तपुर नपाले सबै क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकालाई रचनात्मक सुझाव दिएकोमा धन्यवादज्ञापन गर्नुभयो भने प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नपाले जनसहभागितामा नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि राय–सुझाव विभिन्न माध्यमबाट सङ्कलन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित प्राध्यापक, युवा र विद्यार्थी प्रतिनिधिहरूले राममन्दिरको जाम हटाउन जनसेवा विद्यालयबाट जाने झोलुङ्गे पुल निर्माण गर्नुपर्ने, नगरभित्र सवारीसाधन क्रमशः निषेधित गर्दै जानुपर्ने भएकोले नगरपालिकाको पहलमा हल्का ईभी साधन सञ्चालन गर्नुपर्ने, नगरभित्रका सामुदायिक भवनहरू अध्ययन अनुसन्धानको कार्यमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँहरूले सामुदायिक विद्यालयमा अनुदान शिक्षकको व्यवस्था गर्नुपर्ने, ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर पहल गर्नुपर्ने, दरबार क्षेत्रस्थित लापां देगः लाई पुनःजीवन दिनुपर्ने, प्लास्टिकजन्य वस्तुहरूको प्रयोगलाई निषेध गर्दै लानुपर्ने, दाफाभजन संरक्षण गर्नुपर्ने, सामुदायिक आधारभूत विद्यालयको स्तर माथि उकास्न बजेट छुट्याउनुपर्ने, नगरका परम्परागत ध्वाका (ढोका) हरू मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने, शिक्षामा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने, शिक्षक सरुवा निर्देशिका निर्माण गरी लागु गर्नुपर्ने, स्वीमिङ पुल निर्माण गर्नुपर्ने, अग्रज किसानहरूलाई सम्मान गर्ने कार्यक्रम आवश्यक भएको, खौमाको उमामहेश्वर पुनःनिर्माण गर्नुपर्ने, सम्पदामैत्री बत्तीहरू जडान गर्नुपर्ने, प्रत्येक वडामा एकवटा पुस्तकालय र शिशुस्याहार निर्माण गर्नुपर्ने, मेलम्चीको पानी चुहावट रोक्नुपर्ने, अपराधजन्य गतिविधि नियन्त्रण गर्नुपर्ने, नगरकोट सडकखण्डको बाटो स्तरोन्नति तथा पेटी निर्माण गर्नुपर्ने, कक्षा ९ र १० मा ऐच्छिक विषयको रूपमा कानुन विषय अध्ययन अध्यापनमा जोड दिनुपर्नेलगायतका सुझावहरू दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *