भर्खरै :

“देशभक्त र असल मान्छे राजनीतिमा नआए खराब मानिसको हातमा राजनीति पुग्नेछ”

“देशभक्त र असल मान्छे राजनीतिमा नआए खराब मानिसको हातमा राजनीति पुग्नेछ”

भक्तपुर, ३१ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर, थिमि नगर समितिको तेस्रो नगर सम्मेलनको उद्घाटन कार्यक्रम शनिबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको छ– ‘युवाको अर्थ उमेरसँगसँगै विचार पनि हो; प्रतिक्रियावादी विचार त्यागेर क्रान्तिकारी विचारमा सहमत हुनेहरू उमेरमा ज्येष्ठ भए पनि विचारमा युवा नै हो । पुँजीवादी विचार बोक्नेहरू उमेरले युवा भए पनि विचारमा युवा होइनन् ।’ यो यथार्थलाई नेपाल क्रान्तिकारी युवा सङ्घले सधैँ अगाडि बढाउनु जरूरी छ ।”
“अध्यक्ष बिजुक्छेँले अर्को पनि भन्नुभएको छ– ‘राजनीति देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्ने क्षेत्र हो । देशभक्त र असल मान्छे राजनीतिमा नआए खराब मानिसको हातमा राजनीति पुग्नेछ । यसो हुनु देश र जनतालाई दुःख हुनु हो ।’ यो भनाइलाई आत्मसात गरी नेक्रायुसङ्घले देशभरिका युवाहरूलाई सचेत र सङ्गठित गर्नु जरूरी छ । मानिस सामाजिक सँगसँगै राजनीतिक प्राणी पनि हो । राजनीति सबै नीतिको प्रमुख नीति हो । कामदार वर्ग राजनीतिमा अगाडि नबढे शोषक वर्गको अन्याय–अत्याचार बढ्दै आउनेछ छ ।”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “अध्यक्ष बिजुक्छेँले नेपालको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी बाटोमा अघि बढाउन नेमकिपा स्थापना गर्नुभएको हो । देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने हाम्रो पार्टीको नीतिलाई मन नपराउने प्रतिक्रियावादीहरूले हाम्रो पार्टी र अध्यक्ष बिजुक्छेँविरूद्ध झूठा ज्यान मुद्दा लगाई समाप्त पार्ने दुष्प्रयास गरे । त्यो षड्यन्त्रमा परेर प्रतिक्रियावादीहरू नै समाप्त भए । हाम्रो पार्टीभित्र जनताका शत्रुहरू घुस्नेतर्फ सबै कार्यकर्ताहरू सचेत हुने जरूरी छ ।”
आर्थिक र विदेश मामिला एकै भएका नेका, एमाले, माओवादी (केन्द्र), एस, राप्रपा, रास्वपा, राजमो समेतको अलग अस्तित्व जरूरी नभएको स्पष्ट पार्दै सचिव सुवालले आफूलाई कम्युनिस्ट दाबी गरेका पार्टीहरू सरकारमा गएर निजीकरणको पक्ष लिनु देश र जनतालाई धोका दिनु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्र र भारी संरचना थेग्न नसक्ने जमिन भएको ठाउँ हो । सरकारले काठमाडौँ उपत्यकाका वासिन्दालाई एक चिहान हुन नदिन बसाइसराई जिल्लाभित्र मात्र हुन पाउने कानुनी व्यवस्था गरी देशको सन्तुलित विकास गर्नु जरूरी छ ।”
“सरकारले युवालाई स्वदेशमा शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्नेमा करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारीसमेत भारतबाट किन्नुपर्ने अवस्थामा पु¥याएको हुँदा शासक पार्टीहरू देशघाती भएको प्रमाणित हुने उहाँले बताउनुभयो ।
सचिव सुवालले थप्नुभयो, “भिजिट भिसामा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने र देशलाई सार्वजनिक ऋणमा डुबाउने सरकारहरू पनि देशघाती नै हुन् ।”
उहाँले भन्नुभयो, “प्यालेस्टिनमा नरसंहार र भूमि कब्जा गर्न बमबारी गरेको इजरायलले इरानमा पनि आक्रमण चालू राख्यो । आणविक हतियार थुपारेको निहुँमा अमेरिकाले इराकमाथि आक्रमण गरेको थियो । अहिले अमेरिकी सहयोगमा इजरायलले प्यालेस्टिन र इरानमा आक्रमण चालु राखेको छ । संसारकै न्यायप्रेमी जनताले हतियार उत्पादन र युद्धको विरोध गर्दै आएका छन् ।”
“भक्तपुरको एउटा सांस्कृतिक र प्राकृतिक सम्पदा निलबाराही क्षेत्र संरक्षणको लागि आवश्यक बजेटको लागि संसद्मा आवाज राखेको र गएको वैशाख १६ गते सहरी विकास मन्त्रालयलाई चालू आवको निमित्त रू. ३ करोड बजेट विनियोजन गर्न अनुरोध गरेको हो । सरकारले बजेट आफ्ना कार्यकर्तालाई पोस्ने गरी बनाउनु अर्को देशघात हो ।” सचिव सुवालले बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले युवाहरू अध्ययनशील, अनुशासित र उद्यमशील रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा योगदान पु¥याउन सक्ने सक्षम, सीपले युक्त र व्यक्तिगत हितभन्दा समाजको हित हेर्ने निडर, निःस्वार्थी व्यक्ति नै वास्तविक युवा हो ।”
क्युवाली क्रान्तिका नायक चे ग्वेभारा अर्जेन्टिनामा जन्मेका, बोलिभियाली क्रान्तिमा योगदान गर्ने जुझारू क्रान्तिकारी भएको उल्लेख गर्दै उहाँले सन् १९२८ को जून १४ मा जन्मेका र १९६७ मा हत्या गरिएका जम्मा ३९ वर्ष बाँचेका चे युवाहरूको आदर्श व्यक्ति हुन सफल भएको बताउनुभयो ।
“नेपालजस्तै भौगोलिक हिसाबले सानो देश भएर पनि समाजवादी देश क्युवाको आत्मनिर्भरताको उदाहरण संसारको लागि अनुकरणीय छ”, उहाँले भन्नुभयो ।
माक्र्सवादी विचार बोकेका क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोसितको भेटबाट चे ग्वे भारा क्रान्तिमा होमिएको उल्लेख गर्दै जिल्ला अध्यक्ष गोसाईले असल नेतृत्व पाएको खण्डमा समाजको आमूल परिवर्तन सम्भव भएको चे र फिडेल क्यास्ट्रोको मिलनले पुष्टि गर्छ भन्नुभयो ।
राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे युवाहरू जानकार हुनुको साथै शासक पार्टीहरूको गलत काम जनताबिच उदङ्ग्याउनु जरूरी भएको उहाँले बताउनुभयो ।
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले शुद्ध मन मष्तिस्कले मात्रै समाजको आमूल परिवर्तनको लागि लड्न सक्ने धारणा राख्दै बहुदलपछि लोकतन्त्र हुँदै पुँजीवादी गणतन्त्रमा पुग्दा समेत जनताले सधैँ अभाव झेल्नुपरेको हुनाले समाजवादी क्रान्तिको अपरिहार्य रहेको बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले शासक दलहरूले देशको सन्तुलित विकासमा ध्यान नदिँदा नेपालका गाउँ–गाउँमा १ लाख ११ हजार कि.मि. बाटो बनिसक्दा पनि युवाविहीन हुँदै गएको बताउनुभयो ।
देशको हरेक क्षेत्रमा समानुपातिक विकास नहुँदा र सेवा, सुविधा, अवसर उपत्यका तथा प्रदेश राजधानीमा केन्द्रित हुँदा युवाहरू सहरकेन्द्रित भएको उहाँले बताउनुभयो ।
“देशको विकासको लागि गाउँमा शिक्षा, स्वास्थ्य र अवसरको सृजना गर्नु जरूरी छ”, उहाँले भन्नुभयो ।
नेक्रायुसङ्घ मध्यपुर तेस्रो सम्मेलन तयारी समिति संयोजक सुरेन्द्र था श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रायुसङ्घ १३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समिति संयोजक जगतराम धुख्वा, नेक्राशिसङ्घ मध्यपुर नगर समिति प्रतिनिधि शिवहरि प्रजापति, नेक्रायुसङ्घ चाँगु नगर समिति अध्यक्ष एल.एन. लिगल, नेक्रायुसङ्घ सूर्यविनायक नगर समिति अध्यक्ष आर. मचामसी, नेक्रायुसङ्घ भनस प्रतिनिधि श्याम बासुकला लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेक्रायुसङ्घ मध्यपुर नगर समितिका वीरकृष्ण प्रजापति, सुरोज प्रजापति लगायतले बोल्नुभएको थियो ।
उद्घाटन सत्र लगतै सुरू भएको बन्द सेसनमा नेपाल प्राध्यापक समाजका केन्द्रीय उपाध्यक्ष प्रकाश श्रेष्ठले ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलन’बारे, इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठले ‘इजरायल प्यालेस्टिन द्वन्द्व’बारे, नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले ‘वर्तमान अवस्थामा माक्र्सवादको सान्दर्भिकता’बारे र नेमकिपा मध्यपुर थिमि नगर समिति अध्यक्ष रमेश वैद्यले जनताको प्रजातन्त्रबारे प्रस्तुति दिनुभएको थियो । बन्द सत्रमा नेक्रायुसङ्घ मध्यपुरका रूकेश कर्माचार्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *