सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

भक्तपुर, २ असार । भक्तपुर नगरपालिका, नगर शिक्षा शाखाद्वारा आयोजित नवप्रवेशी शिक्षकहरूको निम्ति चारदिने सेवा प्रवेश तालिम सोमबार सम्पन्न भयो ।
तालिम समापन समारोहमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षण पेसाको गौरवलाई कायम गर्दै नवप्रवेशी शिक्षकहरूबाट भक्तपुरको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
देश र जनताको इमानपूर्वक सेवा गर्नु नै भक्तपुरको राजनीति हो; नेमकिपाको राजनीति हो भन्दै उहाँले त्यसैको परिणामस्वरूप आज भक्तपुर देशकै शैक्षिक गन्तव्यमा परिणत भइरहेको प्रस्ट पार्नुभयो ।
विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गरे पनि मूलतः नयाँ पुस्तालाई स्वदेशको सेवामा समर्पित हुन शिक्षकहरूबाटै उत्प्रेरित गर्नुपर्ने सुझाव दिँदै उहाँले यसलाई शिक्षकहरूले दायित्वकै रूपमा लिन आग्रह गर्नुभयो ।
भक्तपुरका वास्तुकला संसारकै निम्ति उत्कृष्ट भएको, नेपालको पहिचान नेपालीले नजोगाए अरू कसले जोगाउँछ भन्दै उहाँले सामूहिक भावनाले काम गर्ने संस्कारलाई संवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कोरोना सङ्कट कालमा सामूहिक प्रयासबाटै भक्तपुरमा अक्सिजन प्लान सञ्चालन गरिएको हुँदा आज भक्तपुरवासीले निःशुल्क अक्सिजन पाइरहेको उदाहरण दिँदै उहाँले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा परिकल्पना गरिएको ‘सय वर्षपछिको भक्तपुर’ लाई साकार पार्न भक्तपुर नगरपालिका लागिपरेको बताउनुभयो ।
समाजवादी अवधारणाअनुसार भक्तपुर नगरपालिकाले गर्भदेखि चिहानसम्मको जिम्मेवारी बोध गरी वडा वडामा शिशु स्याहार केन्द्र, स्कूल, कलेज हुँदै ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन र अन्तमा सुधारिएको शवदाहसम्मको व्यवस्था गरेको चर्चा गर्दै उपप्रमुख जोशीले युवाहरूको बढ्दो विदेश पलायन रोक्न योग्य र दक्ष जनशक्ति उत्पादन गर्न ख्वप विश्वविद्यालय सञ्चालन गर्न आवश्यक सम्पूर्ण पूर्वाधार तयार गर्दा पनि सरकारले स्वीकृति नदिनु विडम्बनापूर्ण छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा गठित अनुगमन तथा प्राविधिक सहयोग समितिका सदस्य ज्ञानसागर प्रजापतिले तालिममा सिकेका सिप शिक्षकहरूले कक्षा कोठामा उतार्ने विश्वास व्यक्त गर्दै अनुगमनलाई सहयोगको रूपमा ग्रहण गर्न अनुरोध गर्नुभयो ।
समितिका संयोजक एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तालिमको क्रममा एबीसी मोडलको पाठ योजना निर्माण, बाल विकास र मनोविज्ञान, शैक्षिक सामग्रीको निर्माण, सूचना प्रविधि, अटिजम र स्थानीय पाठ्यक्रम, शिक्षक आचारसंहितालगायतका विषयमा विज्ञहरूबाट तालिम दिइएको थियो ।
Leave a Reply