भर्खरै :

जाँ मेल्ये र उनको ‘इच्छापत्र’

  • असार २, २०८२
  • एक जिज्ञासु
  • विचार
जाँ मेल्ये र उनको ‘इच्छापत्र’

फ्रान्सेली राज्य क्रान्ति चरमचुलीमा थियो । सन् १७९३ मा ज्याकोबिन क्रान्तिकारी रोबेस्पियरको नेतृत्वमा प्रजातान्त्रिक संविधान बन्यो । क्रान्तिको झिलिमिलीबिच संविधान जारी गरेको अधिवेशनले नोभेम्बरमा एउटा आदेश दियो । झन्डै १३० वर्षअघि फ्रान्सको एक गाउँमा जन्मेर अज्ञात जिन्दगी बिताएका एक (धर्म गुरु पादरी) को स्मरणमा उनको पूर्ण कदको सालिक खडा हुने भयो । धर्मका दोषहरूबारे खुलासा गर्ने प्रथम साहसी र इमानदार पादरीको रूपमा उनको सम्मान हुँदै थियो । ती पादरी थिए, जाँ मेल्ये (Jean Meslier) ।
जाँ मेल्ये सन् १६६४ मा फ्रान्सको एउटा सानो गाउँमा जन्मेका थिए । उनको पुख्र्यौली गाउँ मजेघ्नी त्यसबेला फ्रान्सको मजाघिन मण्डलमा पथ्र्यो । उनका बुबा जुलाहा थिए । उनका बाबुआमा उनलाई पादरी बनाउन चाहन्थे । मेल्येले बाबुआमाको इच्छा पूरा गरिदिए । उनले मन लगाएर धर्मशास्त्रको अध्ययन गरे । गुरुकुलमा उनी अनुशासित विद्यार्थी थिए । त्यसैबेला उनले फ्रान्सेली दार्शनिक देकार्तका विचारहरूको गहिरो अध्ययन गरे । देकार्त भौतिक र आध्यात्मिक जगतको सञ्चालन ईश्वरले गर्छन् भन्थे । उनले प्रकृति र ईश्वर दुवैको अस्तित्वलाई अस्वीकार गरेनन् । यस्तो विचारलाई द्वैतवाद भनिन्छ । प्रतिभाशाली दार्शनिक भए पनि उनी धर्मसित जुध्न चाहँदैनथे । जन्मले उनी धनाढ्य कुलका थिए । उनको दर्शनले उनको धर्म र उनको वर्गको सेवा ग¥यो ।
सन् १६८८ मा २४ वर्षको उमेरमा मेल्ये पादरी बने । अर्को वर्ष उनी शाम्पेँ भेगमा आफ्नो जन्म गाउँ नजिकै पर्ने एत्रेपेँका पादरी बने । त्यसबेला त्यो धर्मक्षेत्रमा १६५ जना बासिन्दा थिए । आफ्नो सादा जीवनबाट उनले त्यस भेगका बासिन्दाहरूलाई प्रभावित पारे । उनी सदा काममा व्यस्त रहन्थे । बर्सेनि आउने आफ्नो तलब गरिब गुरुवाहरूबिच बाँड्थे । उनको चरित्र निष्कलङ्क थियो । बोलीचाली होस् वा महिलाहरूसँगको व्यवहार होस्, उनी अत्यन्त नम्र र संयमी थिए । उनी आफूले विश्वास नगर्ने कुराहरूबारे अरूलाई उपदेश दिन हिच्किचाउँथे । त्यसकारण, सामान्य जनतालाई हेला गर्ने अन्य कुरा एउटा र काम अर्कै गर्ने पाखण्डी पादरीहरूभन्दा उनी जनताका प्रिय भए । भा र बौत्जिकोर्त इलाकाका दुईजना धर्मगुरुसँग उनी इसाई परम्पराअनुसार प्रायश्चित गर्थे । उनले भेटिरहने धर्मगुरुहरू निश्चित थिए ।
मेल्ये न्यायका दृढ पक्षपाती थिए र कहिलेकाहीँ उनी न्यायको पक्षमा दृढतापूर्वक लाग्थे । उनको गाउँको मौजाको मालिकको नाम दि तुइली थियो । त्यस सामन्तले किसानहरूलाई दुव्र्यवहार गथ्र्यो । सामन्तको मृत्युपछि मेल्येले उसको पक्षमा ईश्वरसँग प्रार्थना गर्न अस्वीकार गरे । रेइमका आर्कबिशप वा बडागुरु दि माइलीसामु विवाद पुगेपछि उनले मेल्येलाई निन्दा गरे । तर, त्यसपछिको आइतबार मेल्ये चर्चको मञ्चमा चढे र धर्मगुरुको फैसलाबारे असहमति व्यक्त गरे । उनले भने, “बिचरा सबै गाउँले पादरीहरूको हाल यस्तै हुन्छ । बडागुरुहरू मालिक बन्छन् र अन्य पादरीहरूको अपमान गर्छन्, तिनीहरूका कुरा सुन्दैनन् । त्यसैले यो चर्चको मालिकको निम्ति प्रार्थना गरौँ । एन्तोइन दि तुइलीको निम्ति परमेश्वरसामु प्रार्थना गरौँ । उसलाई फेर्दिनुस् र गरिब गुरुवाहरूलाई दुव्र्यवहार नगर्ने र टुहुराटुहुरीलाई नठग्ने दयावान बनाइदिनुस् भनी आशिष मागौँ ।” मेल्येको मन कुँडिने सुझाव सुनेर बडागुरुले मेल्येलाई चर्चमा बोलाए । त्यहाँ मेल्येलाई बेस्सरी झपारियो, उनको बदनाम गरियो र एक महिना कैदमा राखियो । यो सन् १७८३ को घटना थियो । त्यसबेला उनी १९ वर्षका थिए ।
धर्मगुरुहरूसँग मेल्येको ठाकठुक परिरहन्थ्यो । आफ्नो मठमा कम उमेरका परिचारिकाहरू राखेको हुँदा उनको दुईचोटि निन्दा भयो । तिनताक ४० वर्ष पुगेका महिलालाई मात्र चर्चमा परिचारिका राख्ने चलन थियो । आफू ३२ वर्षको छँदा मेल्येले २३ वर्षकी एक परिचारिका राखेका थिए । परिचारिकालाई निकाल्नुपर्ने माथिल्ला धर्मगुरुहरूको आदेश उनले टेरेनन् किनभने ती परिचारिका उनकी भतिजी थिइन् । आफू ५५ वर्षका छँदा उनले १८ वर्षकी अर्की परिचारिका राखेका थिए । त्यस कसुरमा उनलाई रेइम चर्चमा एक महिनाको लागि कैद गरिएको थियो । यसैबेलादेखि उनले आफ्नो जीवनको सम्पूर्ण अनुभव र चिन्तन समावेश गरेर पुस्तक लेख्न थाले । सन् १६८५ मा फ्रान्सका सम्राट लुई १४ औँले क्याथोलिक धर्मलाई राजधर्म र एकमात्र वैध धर्मको मान्यता दिएका थिए । क्याथोलिक धर्म कट्टर धर्म थियो, फ्रान्समा बस्ने अन्य धर्मावलम्बीले आफ्नो धर्म फेर्नुपर्ने बाध्यता थियो । त्यसबेला क्याथोलिक संसारमा धर्मसँग जुध्नु एकदम खतरनाक मानिन्थ्यो । अन्य धर्म वा नास्तिकताबारे उच्चारणमात्र गर्ने पादरीलाई पनि राजबन्दीलाई जस्तो व्यवहार गरिन्थ्यो । १६ औँ शताब्दीको पूर्वाद्र्धमा जर्मनीबाट फैलेको सरल र नरम प्रोटेस्टेन्ट धर्मगुरु मार्टिन लुथरको धर्म सुधार आन्दोलनले गर्दा क्याथोलिक पादरीहरूलाई धर्मकर्ममा कडिकडाउ गरिएको थियो । क्याथोलिक धर्म र फ्रान्सेली राजतन्त्रको घाँटी जोडिएको थियो । मानिसहरूको धार्मिक आस्थाले नै राजमुकुट जोगाइरहेको विषयमा फ्रान्सेली राजदरबार, कुलीन र धर्मगुरुहरू सजग थिए । फेरि रेइमका बडागुरु दि माइली कट्टर क्याथोलिक थिए । त्यसैले मेल्येले भित्रभित्रै पुस्तकको काम गरिरहे र आफ्नो धार्मिक क्रियाकलापलाई चुपचाप जारी राखे । उनी अनावश्यकरूपमा सहिद बन्नुलाई बुद्धिमत्तापूर्ण मान्दैनथे ।
मेल्ये एत्रेपेँ चर्च छोडेर कहिल्यै अन्त गएनन् । बाहिरी दुनियाँमा जीवनभर उनी अज्ञात रहे । ४० वर्ष धर्मको सेवा गरेर सन् १७२९ जून महिनामा ६५ वर्षको उमेरमा उनको मृत्यु भयो । मर्ने बेला उनी बिरामी थिए । भनिन्छ, जीवनबाट वाक्क भइसकेका उनले आवश्यक औषधिमुलो गर्न अस्वीकार गरेका थिए । उनले खानालगायत केही पनि सेवन गर्न मानेनन्, एक गिलास वाइन पनि पिएनन् । आफ्नो इच्छापत्रमा उनले आफूसँग बचेको सानोतिनो जायजेथा आफ्ना धर्मक्षेत्रका गरिब बासिन्दाहरूलाई दान गरेका थिए । आफ्नो शव बगैँचामा गाडियोस् भन्ने उनको अन्तिम इच्छा थियो ।
मेल्येले आफूलाई गलत लागेको विचारबारे आजीवन गोप्य अध्ययन र मन्थन गरे ।
मेल्येको मृत्युपछि उनको घरमा केही पुस्तक र कागतपत्रहरू फेला परे । ईश्वरका विरुद्ध उनले अध्ययन गरेका पुस्तकहरू बाइबल र अन्य केही धर्मग्रन्थहरूमात्र थिए । ती धर्मग्रन्थ पढेर उनी घोत्लिन्थे । उनले धर्मग्रन्थहरूको आलोचनात्मक अध्ययन गरे र बाइबलभित्रका बाझिने सन्दर्भहरू पहिल्याए । मेल्येका कागतपत्रहरूको चाङमा काम्ब्राइका बडागुरु फेनेलोँका सूत्रहरूको एउटा संस्करण फेला प¥यो । ती सूत्रहरू ईश्वरको अस्तित्व र उसका गुणहरूको बारेमा थियो । त्यसैगरी, त्यस चाङमा जेसुइट पुरोहित तौमेमीँका ‘आलोचना’ पनि भेटियो । त्यो नास्तिकताबारे थियो । ती सूत्रहरूमा मेल्येले आफ्नै हातले पानाका छेउछाउमा टिप्पणीहरू लेखेका थिए । मेल्ये बिरामी छँदै बेलायतमा थोमस वुलस्टोन नामका एक पादरीले यशु क्राइस्टका चमत्कारहरू झूटा भएको प्रमाण दिँदै पुस्तक लेखेर लन्डनभरि त्यसका ६० हजार प्रतिहरू बेचेका थिए । तर, मेल्ये वुलस्टोनभन्दा एक पाइला अगाडि थिए । उनले यशुमात्र नभई सम्पूर्ण धर्मको वैचारिक विषयमाथि सबैभन्दा प्रभावशाली प्रहार गरे । त्यसो त गाउँले मेल्येलाई बाहिरी संसारबारे धेरै जानकारी थिएन ।
पुस्तकहरूको खातमा मेल्येले नै लेखेको पुस्तकका हस्तलिखित तीन प्रतिहरू फेला परे । तिनको नाम उनले ‘मेरो इच्छापत्र’ राखेका थिए । पुस्तकमा उनको धर्मक्षेत्रका बासिन्दाहरू र मेजिएघ्सको संसद्का प्रवक्ता लेघौक्सलाई सम्बोधन गरिएको थियो । ६३३ पृष्ठ लामो त्यस पुस्तकको एक प्रति अभिलेखालयमा राखियो । एक प्रति रेइमका बडागुरु आफैले राखे । तेस्रो प्रति मेल्येकै गिर्जाघरमा राखिएको थियो । मेल्येले आफ्नो छिमेकी धर्मक्षेत्रका पादरीहरूलाई ‘मेरो इच्छापत्र’ बारे जानकारी गराउन दुइटा चिठी लेखेका थिए । चिठीमा उनले ती पादरीलाई आफ्नो गिर्जाघर सेँ. मियोँलका मुख्य कर्मचारीसँग आफ्नो पुस्तकको एकप्रति छोड्ने जानकारी गराएका थिए । तर, गरिब जनतालाई सत्यबारे शिक्षित हुन नदिने दुष्ट परम्परा जोगाउन आफ्नो पुस्तकलाई दबाइने पो हो कि भन्ने उनलाई चिन्ता थियो । यसै चिन्ताले गर्दा उनले पुस्तकका तीन प्रति बनाएर राखेका थिए । मेल्येको घरमा एउटा खैरो खाम पनि भेटियो । त्यसमा धर्मक्षेत्रका बासिन्दाका निम्ति उनको सन्देश थियो । खामको पछिल्तिर यस्तो लेखिएको थियो, “मैले मान्छेहरूका कमीकमजोरी, दुव्र्यवहार, फोस्रोपन, मूर्खता र दुष्टताहरू देखेँ र पहिल्याएँ । मैले तिनलाई घृणा गरेँ र नीच मानेँ । तिनको विषयमा मैले आफ्नो जीवनकालमा बोल्ने आँट गरिनँ । तर, कम्तीमा मर्ने बेला वा मरेपछि म त्यसबारे बोल्नेछु । यी कुरा सबैलाई थाहा हुँदैन भन्ने हेतुले मैले यो संस्मरण लेखेँ किनभने यसलाई हेरेपछि र पढेपछि चाहनेहरूका निम्ति यो सत्यको प्रमाण बन्नेछ ।”
मेल्येको घरको खोजबिनपछि रुष्ट बनेका कट्टर पादरीहरूले उनको लाससँग बदला लिए । उनीहरूले इसाई विधि नपु¥याई उनको अन्त्येष्टि गरे । उनको अन्तिम इच्छाअनुसार उनलाई बगैँचामा गाडियो तर लासलाई शवपेटिकामा राखिएन । मेल्ये भौतिकवादी थिए । जीवित अवस्थामै उनले आफ्नो लासमाथि जे गरे पनि आफूलाई फरक नपर्ने जनाइसकेका थिए । उनले लेखेका थिए, “तिनीहरूले मेरो शरीरलाई जेसुकै गरून् । त्यसलाई च्यातचुत पारून्, काटकुट गरून्, पोलून् वा पकाऊन् अनि त्यसलाई खाऊन् । चाहेमा तिनीहरूले मनलाग्दो अचार वा चटनी दलेर खाऊन् । त्यसले मलाई कत्ति पनि फरक पर्दैन । म उनीहरूको पहुँचभन्दा पर हुनेछु । मलाई केहीले तर्साउन सक्नेछैन ।”
मेल्ये शान्तिपूर्वक मरे । सन् १८३५ मा अर्थात् उनको मृत्युको १०६ वर्षपछि उनको पुस्तकको एक प्रति प्रसिद्ध फ्रान्सेली दार्शनिक एवम् क्रान्तिकारी लेखक भोल्टेयरको हातमा पुग्यो । खासमा भोल्टेयरले धार्मिकहरूलाई नै ८ असर्फी घुस ख्वाएर त्यो पुस्तक हात पारेका थिए । लगत्तै उनले त्यसका सयौँ प्रतिहरू छपाएर १ असर्फी मूल्यमा आफ्ना साथीहरूमाझ वितरण गरे । यसरी फ्रान्सको पठित समाजमा मेल्येको पुस्तक पुग्यो । भोल्टेयर त्यस कृतिबाट अत्यन्त प्रभावित भएका थिए । उनले एक पत्रमा आफ्नी भतिजीलाई लेखे, “जाँ मेल्येलाई पढ्नू, बारम्बार पढ्नू ।” १७६२ मा भोल्टेयरले मेल्येको ‘मेरो इच्छापत्र’ बाट आवश्यक अंशहरूमा जोड दिँदै एउटा सङ्क्षिप्त संस्करण छपाए । त्यो पुस्तक पेरिसमा सयौँको सङ्ख्यामा हातहातै बिक्यो । लेखक एक पादरी हुनाले र धर्मबारे गहिरो विश्लेषण गरिएको हुनाले त्यस पुस्तकले फ्रान्सेली पाठकहरूमा गहिरो छाप छोड्यो । त्यस पुस्तकमा भोल्टेयरले ‘मेरो इच्छापत्र’ मा अभिव्यक्त विचारलाई आफ्नो अनुकूल प्रस्तुत गरेका थिए । भोल्टेयर द्वैतवादी थिए । उनी धर्ममाथि ठाडै प्रहार गर्दैनथे । उनी ‘प्राकृतिक ईश्वर’ को कुरा गर्थे र धर्मको नाममा हुने क्रूर व्यवहारको विरोध गर्थे । उनले मर्ने बेला मेल्येले ईश्वरको नाम लिएको झूटो प्रसङ्ग मेल्येको जीवनीमा घुसाएका थिए । यो भोल्टेयरको बौद्धिक धोका थियो । पुस्तकको सग्लो फ्रान्सेली संस्करणमा भने सन् १८६४ मा केही सयको सङ्ख्यामा हल्यान्डबाट प्रकाशित भयो । त्यसअघि नै यसका अनेक सङ्क्षिप्त संस्करणहरू फ्रान्समा लोकप्रिय भइसकेका थिए । फ्रान्सेली क्रान्तिताका ईश्वरको प्रतिनिधि ठानिने राजतन्त्रका विरुद्ध हतियारको रूपमा यस पुस्तकले काम ग¥यो ।
भोल्टेयर र बाबेफपन्थी माघेशलजस्ता फ्रान्सेली क्रान्तिको शङ्खघोष गर्ने क्रान्तिकारी लेखकहरू ‘मेरो इच्छापत्र’ बाट प्रभावित थिए ।
‘मेरो इच्छापत्र’ मा त्यस्तो के छ ?
१० वर्ष लगाएर लेखिएको “‘मेरो इच्छापत्र’ ९९ पाठमा समेटिएको छ । पुस्तकको सार यस्तो छ– ‘संसारका सम्पूर्ण धर्म र दिव्य कुरा भ्रामक छन्, झूटा र पाखण्डी छन्, बहुसङ्ख्यक जनसमूहलाई धनीमानी शासकहरूले थिचोमिचो गर्न तिनको आविष्कार भएको थियो । आस्था भनेको अन्धभक्ति हो र यसको जगमा अर्थ न बर्थका अन्तर्विरोधी कुराहरू हुन्छन् । यशु क्राइस्टलगायत पुरानो र नयाँ करारका भविष्य वक्ताहरू एक पागलका भ्रमहरू हुन् । इसाई धर्मले झूटो सिद्धान्त बताउँछ र यसको नैतिक शिक्षा सबै प्राकृतिक शिक्षासँग बाझिन्छ । यसले आमोदप्रमोदलाई गलत भन्छ, गरिबीलाई सदाचार भन्छ र एउटामा थप्पड खाँदा अर्को गाला थाप्नुलाई न्याय भन्छ । आत्मा अमर छैन बरु पदार्थकै रूप हो र व्यक्ति मरेपछि त्यो पनि मर्छ ।”
मेल्येले स्वर्गको मोह र नर्कको भयबारे लेखेका छन्, “एउटाको सौन्दर्य र भव्यता अनि अर्काको त्रासदी र कुरूपताबारे तिनीहरूले बताउने सबैथोक कथा मात्र हो । मृत्युपछि आशा गर्नुपर्ने राम्रो वा तर्सिनुपर्ने डरलाग्दो केही छैन ।”
‘मेरो इच्छापत्र’ मा ८ प्रमाणहरू छन् । पहिलो प्रमाण भन्छ – सबै धर्महरू एकअर्कासँग बाझिन्छ, एकले अर्काको निन्दा गर्छन्, त्यसकारण ती सबै सही हुनसक्दैनन् र तिनीहरू जम्मै सत्यको एउटै सिद्धान्त वा ईश्वरबाट जन्मेका हुँदैनन् । यसकारण, धर्महरू नितान्त मान्छेका आविष्कार हुन् । जसले ईश्वरको रचना गरे तिनले उसको नाम र अधिकारलाई आफूले चाहेको जस्तै ऐन कानुन स्थापित गर्न प्रयोग गरे । ईश्वरकै जालो बिछ्याएर उनीहरूले समाजमा प्रतिष्ठा पाए र अन्य मान्छेलाई अधीनमा राखे । प्रत्येक धर्मले आफ्नो कुरा सत्य हो भनी अरूलाई मनाउनुपर्ने हो । तर, तिनीहरूले एकअर्कासँग बाझाबाझ गरे तथा लडाइँहरू लडे । शत्रुलाई पोलेर तथा रगत बगाएर पनि तिनीहरूले एक अर्कालाई मनाउन सकेनन् ।
दोस्रो प्रमाण भन्छ – सबै धर्महरूको जग आस्था हो । आस्था ‘अन्धभक्ति’ हो । ‘तर्क र इन्द्रियबाट प्राप्त ज्ञानको प्रकाश’ सँग यसको शत्रुता छ । अन्धभक्तिलाई ईश्वरका चमत्कारहरूले मेटाउँछन् । सबै धर्ममा यस्ता चमत्कारहरू पाइन्छन् । कतिले अरू धर्मका चमत्कार चोरेका पनि छन् । यति धेरै चमत्कारहरू गर्ने यशु क्राइस्ट वास्तवमा ‘पूरै पागल थिए भन्ने देखापर्छ, त्यसकारण सुरुमा इसाई धर्म कट्टरतामात्र थियो ।’ ईश्वरका चमत्कारहरू उसको खोटरहित झिलिमिली, करुणा, विवेक र न्यायसँग मेल खाँदैनन् । त्यसकारण, ईश्वरीय चमत्कारहरू विश्वासयोग्य छैनन् ।
तेस्रो प्रमाण भन्छ – भविष्य वक्ताहरूका दृष्टि र दिव्य वचनहरू पागलहरूका प्रलाप हुन् । उदाहरणको लागि, तीमध्ये केहीले निर्दोष जीवजन्तुको क्रूर र बर्बर बलि दिनाले ईश्वर खुसी हुन्छन् भनेका छन् । ‘नतर्सिकन मैले कहिल्यै सोच्न सक्दिनँ, राजा सोलोमनले आफ्नो मन्दिरका लागि दिएको घिनलाग्दो नरबलि र निर्दोष पशुपक्षीको बलि कस्तो हुँदो हो ¤ उनले २२ हजार चौपाया र १ लाख २० हजार भेडा र बाख्राको घाँटी रेटेका थिए । कस्तो संहार हो ¤ कस्तो रगतको आहाल ¤ निर्दोष जीवजन्तुको कस्तो छाला कढाइ हो ¤ कति मासु पोलिएको र उसिनिएको होला ¤ ओज, भव्यता, करुणा र विवेकका अनन्त खानी मानिने परमेश्वरले आफ्नो लागि बलि दिने कसाही र जल्लादहरू किन (हत्याराहरू) रूचाएका होलान्, उनले आफ्ना मठमन्दिरलाई किन कुरूप वधशाला बनाउन चाहेका होलान् ? यसलाई कसरी सही मान्ने, कसरी यस्तो कल्पना गर्ने ?’
चौथो प्रमाण भन्छ – बाइबलका भविष्य वाणीहरू कहिल्यै पूरा भएनन् । यशु क्राइस्टका दुई ‘निरर्थक र बौलाहा’ भविष्यवाणीको बारेमा मेल्येले लेखेका छन् । यशुले आफ्ना अनुयायीहरूलाई तिनका पापहरूबाट मुक्त गर्ने बताए तर, “हामीले कुनै पनि मान्छेमा यसको सङ्केत पाउँदैनौँ किनभने उनीहरू सधैँ र अहिले पनि अरू धर्मावलम्बीजस्तै सबैखाले अनैतिकताका शिकार भइरहन्छन्, आफ्ना दुष्ट उत्तेजनाका दास भइरहन्छन् ।” यशुले स्वर्गको अधिराज्य नजिकै छ भनेका छन् । त्यस्तो हुन्थ्यो भने मेल्ये भन्छन्, “स्वर्गको राज्य धेरै पहिले आइसक्नुपर्ने थियो । किनभने उनले उपदेश र वचन दिएको २ हजार वर्ष बितिसकेको छ ।”
पाँचौँ प्रमाण भन्छ – इसाई नैतिकता खस्किनुमा तीन प्रमुख कारणहरू छन् । एक, यस धर्मले दुःखकष्ट झेल्नु नै महानतम् सदाचार हो भन्छ । यसको अर्थ हो दीनदुःखी हुन मन पराउनु नै महान् सद्गुण हो । यो एकदम अप्राकृतिक भनाइ हो । दुई, मांसल विचार, आकाङ्क्षा र प्रेमलाई यस धर्मले अनन्त सजायको भागी हुनुपर्ने अनैतिकता भनी निन्दा गर्छ । जुन मानव जातिको रक्षा र वृद्धिका लागि एकदम प्राकृतिक, उपयुक्त र आवश्यक छ । तीन, यस धर्मले दुष्टहरूको पक्ष लिने र असल र दुर्बललाई दबाउने विचारमा जोड दिन्छ । जस्तो, तिम्रा शत्रुलाई माया गर, तिमीलाई हानि गर्ने बैगुनीहरूलाई गुण गर, अनैतिक व्यक्तिको प्रतिकार नगर, चोटपटक र दुव्र्यवहारलाई चुपचाप सहिराख । यसले आजको स्थितिलाई नै मलजल गर्छ । आज जङ्गली कानुनको रजाइँ छ ।
छैटौँ प्रमाण भन्छ – इसाई धर्मले राजनीतिक निरङ्कुशताको मतियारले जस्तै काम गर्छ । पुस्तकको यस खण्डमा मेल्येले धर्मसम्बन्धी कम्युनिस्ट बुझाइहरू दिएका छन् । धर्मले प्रतिकार गर्नु वा विद्रोह गर्नुलाई ईश्वरविरुद्धको पापको रूपमा प्रस्तुत गर्छ । धर्मगुरुहरूको आध्यात्मिक शक्तिले राजामहाराजा र हुनेखानेहरूको सत्तासामु जनसमूहलाई झुकाउन वा सत्ताको दास तुल्याउन मद्दत गर्छ । धर्म सत्ताधारीहरूको जनता दबाउने साधन हो ।
सातौँ प्रमाण भन्छ – ईश्वरको अस्तित्व छैन । प्रकृतिमा पाइने सौन्दर्य, नियम र परिपूर्णता प्राकृतिक तवरले नै सिर्जना भएको हो । भौतिक पदार्थको निम्ति सृष्टिकर्ता चाहिँदैन किनभने पदार्थ र गति दिक र कालमा अनन्त फैलेको छ । अझ समाजमा विद्यमान धृष्टता, दरिद्रता, नैतिकता र अनैतिकताले कोही पनि सर्वशक्तिमान, सर्वगुणी र सर्वज्ञ छैन भन्ने देखाउँछ । हुन्थ्यो भने, उसले ती द्वेषहरूलाई रोकथाम गथ्र्यो वा तिनलाई निमिट्यान्न पाथ्र्यो । मेल्येले ईश्वरलाई कपोलकल्पित भनेका छन् । कोही व्यक्ति नैतिकवान् हुनका लागि ईश्वर चाहिँदैन ।
आठौँ प्रमाण भन्छ – आत्मा आध्यात्मिक र अजम्बरी हुँदैन । यो धर्मको नाममा गरेको झूटा प्रचार हो । पशुपक्षीमा होस् वा मानिसहरूमा, आत्मा पदार्थकै परिष्कृत रूप हो । प्राणी मरेपछि उसको आत्मा पनि मर्छ । पशुपक्षीहरू निर्जीव मेसिन हुन् भन्ने धार्मिक कथनप्रति मेल्ये आक्रोश पोख्छन् । यस्तो प्रवृत्तिले गर्दा जीवजन्तुहरूप्रतिको मानवीय दयामाया कमजोर हुने उनको विचार छ ।
इच्छापत्रको अन्तिम भाग सबैभन्दा शक्तिशाली र प्रसिद्ध छ । त्यसमा धर्मकर्म र त्यसको भरमा मोटाउने राजनीतिक र आर्थिक व्यवस्थालाई अन्त्य गर्न एउटा महान् क्रान्तिको सशक्त आह्वान गरिएको छ, नयाँ समाजको खाका कोरिएको छ ।
मेल्येको पुस्तक आकारका दृष्टिले निकै ठुलो छ । धर्मग्रन्थहरू र प्राचीन इतिहासका प्रचुर सन्दर्भहरू लिइएको छ । यसको भाषा जटिल छ । विचारहरू दोहोरिरहँदा पाठकलाई निरस लाग्ने हुनाले यसका सङ्क्षिप्त संस्करणहरू र यसबाट निकालिएका अंशहरू बढी प्रचलित छन् । फ्रान्सेली भाषामै पनि यसको सग्लो संस्करण झन्डै अढाइ सय वर्षपछि (सन् १९७०) मात्र ठुलो सङ्ख्यामा छापिएको थियो । यसको सग्लो अङ्ग्रेजी संस्करण निस्किन झन्डै ३०० वर्ष (सन् २००९) कुर्नुप¥यो । चिनियाँ, अरबी, रुसीलगायत संसारका प्रमुख भाषाहरूमा यसको अनुवाद भइसकेको छ ।
सोभियत सङ्घमा दोस्रो विश्वयुद्ध अगाडि नै मेल्येको पुस्तकका दुई संस्करण छापिएका थिए । २० औँ शताब्दीमा रुसी सग्लो संस्करण फ्रान्सेली र अङ्ग्रेजी भाषामा भन्दा पहिले (सन् १९३७) छापिएको थियो ¤ युद्धपछि पनि अनेक रुसी संस्करणहरू प्रकाशित भए । विश्व प्रसिद्ध सोभियत ‘दर्शनकोश’ मा मेल्येको पुस्तकबारे यस्तो लेखिएको छ – ‘मेरो इच्छापत्र’ समाज र यसको भविष्यबारे शिक्षा दिने प्रथम कृति हो । धर्म र चर्चको आफ्नो अनुभवले मेल्येलाई निरन्तर भौतिकवादी र नास्तिक निष्कर्षहरूतिर धकेल्यो । उनले सामाजिक अन्यायहरूको आलोचना गरे, साथै सामूहिक स्वामित्वमा आधारित समाजको निर्माण गर्नुपर्ने आह्वान गरे । उनको विचारमा परिश्रम गर्ने जनता एकजुट भएर आफ्ना शोषकहरूको विरुद्ध आफैले विद्रोह गर्नुपर्छ । यो नै एउटा नौलो समाजतर्फ लम्किने पहिलो पाइला हो । त्यो नौलो समाजमा कोही धनी गरिब हुनेछैन, कोही शोषक र शासित हुनेछैन, कोही बेकामे र कोही ढाड भाँचिने गरी काम गर्ने (श्रमिक) हुनेछैन ।
मेल्ये लामो समयसम्म इतिहासको खण्डहरमा रहे । “तिमीले भनेको कुरामा म सहमत छैन, तर तिम्रो बोल्न पाउने अधिकारको रक्षा गर्न मैले प्राण दिनेछु” भन्ने भोल्टेयरले समेत उनका विचारमा मनपरी काँटछाँट र थपथाप गरे । तर, भोल्टेयरकै स्वदेशी भाइ र समकालीन एवम् कार्ल माक्र्सका प्रिय लेखक दिदेरोले मेल्येको मर्मलाई परिष्कार गरे । मान्छेको आकाङ्क्षाबारे मेल्येले लेखे, “पृथ्वीका शासकहरू र सम्पूर्ण कुलीनहरूलाई गुरूपुरोहितहरूको साहसले झुन्ड्याउनुपर्छ, कुल्चिनुपर्छ ।” दिदेरोले भने, “संसारको अन्तिम पुरोहितको साहसले अन्तिम राजालाई नकुल्चिँदासम्म मान्छे मुक्त हुनेछैन ।”
मेल्ये दिदेरोका प्रथम पुरोहित थिए ।
सन्दर्भ स्रोतहरू :
१. भोल्टेयर, लाइफ अफ जाँ मेल्ये, सुपरस्टिसन इन अल एजेज ।
२. ब्रायन म्याक्लिन्टन, जाँ मेल्येज टेस्टामेन्ट ।
३. अलेक्सान्द्रा पोरादा, ले टेस्टामेन्ट बाइ जाँ मेल्ये ।
४. जाँ मेल्ये अर्कात्, माक्र्सिस्ट डट अर्ग ।
५. राहुल साङ्कृत्यायन, दर्शन दिग्दर्शन ।
६. आइ. फ्रोलोभ, डिक्सनरी अफ फिलोसफी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *