अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– एस्. डी. राजचल
गत साता सञ्चारमाध्यमहरूमा कैलाली जिल्लाको नाम अंकित एउटा समाचारले प्रमुखता पायो । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा भिडियोसहित उक्त समाचार पोष्ट भएपछि यो आम जनताबीच छलफल र चासोको विषय बनेको हो । एउटा उपमहानगरपालिका, ६ वटा नगरपालिका र ६ वटा गाउँपालिका भएको कैलाली जिल्लामध्ये घोडाघोडी नगरपालिकाको उक्त समाचार गरिबी र अशिक्षाको पर्याय बनेर मुलुकभर छायो ।
विकास र समृद्धिको चुनावी नारा लगाई निर्वाचन जित्दै आएका राजनैतिक दलहरूका लागि चुनौतीको विषयको रुपमा उपस्थित भएको मात्र होइन तराईका विभिन्न क्षेत्रका निर्वाचनमा जितेर निरन्तर सरकार गठनको प्रक्रियामा आफूलाई सामेल गर्दै आएका र हुन तयार नेताहरूलाई यतिखेर उक्त समाचारले गिज्याइरहेको हुनुपर्दछ । आफ्नो निर्वाचन क्षेत्रमा घटेको यस किसिमका घटनाहरूले राजनैतिक दल र त्यसका नेताहरूको चुनावी गतिविधि र निर्वाचित भइसकेपछि चालेका कदमप्रति ठूलो व्यङ्ग गरिरहेको छ भन्दा अत्युक्ति नहोला । जनतालाई मीठो सपना बाँडी राजनैतिक दबुमा होमिएका र लाभको पदधारण गरी आएका नेताहरू जो हाल काठमाडांै उपत्यका र सदरमुकामहरूमा आलिशान महल बनाई बसिरहेका छन्, यो भाइरल बनेर उठेको भिडियोले प्रतिष्ठामा धक्का भएको महसुस गर्नुपर्ने हो ।
तर यो देशको विडम्बना यही हुँदै आएको छ कि गरीब र अशिक्षित जनतालाई मीठो आश्वासन दिई चुनाव जित्ने दलका नेताहरूको निर्वाचन क्षेत्रहरूमा पटकपटक यस्ता घटनाहरू घट्ने गर्छन् । गरिबीको परिणाम जन्मिएको अशिक्षा र अशिक्षाको परिणाम समाजमा व्याप्त अन्धविश्वासले विकराल रुप लिंदै आइरहेको छ । यही अन्धविश्वासले कैयौं नरनारीले मानसिक एवम् शारीरिक यातना भोग्न बाध्य भइरहेका छन्, कैयौंको ज्यान गएको छ भने कैयौं महिला पुरुष विदेश जान वाध्य पारिरहेको छ । यस्ता समस्यामा न त सरकार केही बोल्छ न त निर्वाचित जनप्रतिनिधिहरू नै ।
१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस गत फागुन २५ गते शुक्रबार संसारभरीका श्रमजीवी जनताले विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । नेपालमा पनि श्रमिक नारीहरूले यो दिवस मनाए । सम्भ्रान्त वर्गका महिलाहरूले ठूला ठूला होटेल र रेष्टुरेण्टहरूमा डिनर आयोजना गरी मनाइएका समाचारहरू अघिल्ला वर्षहरूमा झैं यस वर्षले पनि निरन्तरता पाए । महलमा बसेर, ऐशको जीवन बिताउने नारीहरूले झुपडीमा बस्ने नारीहरूका कथा व्यथा थाहा पाओस पनि कसरी ? तैपनि एनजीओ र आइएनजीओको बजेट सिध्याउन अनेक उपाय गरे । महिलाहरूको हक र अधिकारबारे घाँटी सुक्ने गरी भाषण गर्ने विगतको परम्परालाई यस वर्ष पनि निरन्तरता दिए कथित महिला अधिकारकर्मीहरूले । यसरी महिला हक र अधिकारका बारे कुरा गर्नेहरूले सोही दिन घोडाघोडी नगरपालिकाकी एउटी महिलाको चोकमा घटेको घटनाका बारेमा बेखबर हुनुले महिलाबीच पनि वर्ग हुन्छ अर्थात् वर्गीय समाजमा महिला पनि वर्गमा विभाजित रहेका हुन्छन् भने यथार्थलाई पुनः एकपटक पुष्टि गरेको छ ।
सधैंझैं आफ्नै घरमा घरायसी काममा व्यस्त राधा चौधरीमाथिको हमलाले तराईका अधिकांश भागमा व्याप्त अन्धविश्वास, कुरीति र कुसंस्कारलाई उजागर गरेको छ । एक्काइसौं शताब्दीको वर्तमान युगलाई विज्ञान र प्रविधिको युग भनिरहँदा नेपालका विभिन्न ठाउँमा अझैं पनि बोक्सीप्रथाका कारण नारीहरूले भोग्नुपरेका पीडा निःसन्देह स्वाभाविक लाग्दैन । एउटी नारीलाई बोक्सीको आरोपमा निरन्तर ६ घण्टासम्म शारीरिक र मानसिक यातना दिइरहनु कुनै पनि हिसाबले अन्यायपूर्ण मात्र होइन अमानवीय पनि छ । बोक्सी बकाउन उनीमाथि निर्मम यातना दिइरहेको भिडियो हेर्ने जो कोहीको निम्ति पनि घटना निन्दनीय लाग्छ, अमानवीय लाग्छ । कथित ‘भोले बाबा’ को आवरणमा रामबहादुर चौधरी र उनका सहयोगी देखिएका अर्की एक नारी स्मारिका चौधरीले निज राधा चौधरीविरुद्ध निरन्तर शारीरिक यातना दिइरह्यो । यसरी यातना दिइरहँदा पनि चारैतिर उभिएर विना प्रतिक्रिया रमिते बनिरहेका मानिसहरूको झुण्डप्रति पनि मानिसको आक्रोस स्वाभाविक देखिन्छ । चटकेले चटक देखाउँदा चटक नियालिरहेका मानिसहरूझैं देखिने ती संवेदनाहीन मानिसहरूमा अलिकति पनि दया, माया नपलाउनु र दर्दनाक दृश्य हेरिरहने क्षमता अर्को अस्वाभाविक घटना हो । त्यही चटकजस्तो देखिने वास्तविक घटनाकै कारण आज भोलेबाबा अर्थात् रामबहादुर चौधरी र स्मारिका चौधरी प्रहरी हिरासतमा बस्न बाध्य भएका छन् । घोडाघोडी नगरपालिकाका प्रमुख स्वयंले घटनालाई मिलापत्रको आधारमा सामसुम पार्न उनीमाथि गोली चल्यो । उनी हाल अस्पतालमा भर्ना भइरहेका छन् । आरोपित राधा चौधरीको उपचार खर्च स्वय यातना दिने चौधरीद्वयसँग भराइ लिनुपर्नेमा सरकारले खर्च व्यहोर्ने घोषणाले पनि तराइको अन्धविश्वासमा मलजल पुगेको महसुस सचेत जनताले गर्दैछन् ।
कैलालीको घोडाघोडी नगरपालिकाको बीच बजारमा घटेको उक्त घटना सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकै कारण यसबारे धेरैले बुझ्न वा हेर्न पाएका छन् तर पोष्ट नगरिएका थुप्रै यस्ता आपराधिक घटनाहरू दिनहुँ घट्ने गरेका छन् । कतिपय यस्ता निन्दनीय घटनाहरू गुपचुप राख्ने गरेको पाइन्छ । घटना सार्वजनिक भएमा समाजमा अपमानित हुने र इज्जत प्रतिष्ठामा आँच आउने कारणले पनि कतिपय घटना त्यसै त्यसै सेलाएर जान्छन्, बाहिर ल्याउने हिम्मत नै गर्दैनन् ।
गोरखा जिल्लाको सहिद लखन गाउँपालिका बस्ने पार्वती श्रेष्ठ आफै एक महिला स्वास्थ्य कार्यकर्ता हुन् । उनले कैयौं पटक स्वास्थ्य शिक्षासम्बन्धी तालिमहरू लिएकी छिन् । बोक्सी प्रथाजस्तो अन्धविश्वास र यसले समाज र परिवारमा पार्ने नकारात्मक प्रभावका बारेमा कैयौं पटक प्रशिक्षण लिएकी छिन् । महिला अधिकार, महिला शिक्षा, लैगिक विभेद, अन्धविश्वासजस्ता थुप्रै शीर्षकमा थुप्रै पटक तालिम लिइसकेकी छिन् । तर विडम्बना उही पार्वती श्रेष्ठले बोक्सीको आरोपमा आफ्नै १५ वर्षीय छोरी जानुका श्रेष्ठलाई एक घण्टासम्म निर्घात कुटेको घटना पनि हालैको घटना हो । यसरी कहीं महिलाविरुद्ध महिला त कही महिलाविरुद्ध पुरुष अनि कहीं पुरुषविरुद्ध महिलाले दिएका यातना, शारीरिक र मानसिक पीडाहरू अन्धविश्वासकै कारण सिर्जित समस्याहरू हुन् भन्दा फरक नपर्ला । यस्ता घटनाहरू हाम्रो समाजमा व्याप्त रहेबाट अझै पनि नेपाली समाज पछौटेपनको सिकार भैरहेको यथार्थलाई कसैले छोपेर छोप्न सकिंदैन, कसैले बिर्सन खोजेर बिर्सन सकिंदैन । दिनानुदिन घटिरहने यस्ता घटनाहरूले आलो घाउलाई थप दुखाउनुमात्र भइरहेको छ । यीबाहेक पनि दाइजो प्रथा, बालविवाह, छाउपडी प्रथालगायत दर्जनौं समस्या झेलेर तराईका गरीब, किसान जनताले दिन र रात काट्न बाध्य भइरहेका छन् ।
नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्य शीर्षकको सम्मानपूर्वक बाँच्न पाउने हकमा ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ।’ भनी उल्लेख छ । त्यसैगरी समानताको हक शीार्षकमा ‘सबै नागरिक कानुनी दृष्टिमा समान हुनेछ’ भनी व्यहोरा उल्लेख छ भने महिलाको हक शीर्षकमा ‘प्रत्येक महिलालाई लैगिक भेदभावविना समान वंशीयहक हुने’ उल्लेख छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भनी उल्लेख गरिएको पाइन्छ ।
यसरी संविधानले महिला र पुरुषलाई समान हक दिएको भएता पनि व्यवहारमा कमजोर आर्थिक अवस्था भएका विपन्न वर्ग र अशिक्षित महिला र पुरुष पीडित हुँदै आएको वास्तविकता हो ।
जहाँ ‘कुचो पुगेको हुँदैन, त्यहाँ धूलोको कसिङ्गर बाँकी हुन्छ’ भनेझंै यतिखेर तराईका अधिकांश भाग वा क्षेत्रमा अन्धविश्वासले नराम्ररी गाँजेको छ । अन्धविश्वासको नराम्रो शिकार राधा चौधरी जस्ता विपन्न महिलाहरू भइरहेका छन् । अशिक्षा र गरिबी जस्ता कुसंस्कार व्याप्त यस क्षेत्रमा प्रकाशको माध्यमबाट उज्यालो बनाउने र कुचोको रुपमा कसिङ्गर फाल्ने काममा तराईकै शिक्षित समुदायले भूमिका निभाउनु अनिवार्य भइसकेको छ । ‘चोरको लागि अँध्यारो नै प्यारो हुन्छ’ भनेझैं तर्राइका वर्तमान नेताहरूका लागि अन्धविश्वास नै सही होला कारण तिनीहरूको लागि निर्वाचनको जितको प्रमुख आधार नै त्यही भएको छ ।
साथै व्याप्त अशिक्षा र गरिबी नै नेताहरूको आम्दानीको प्रमुख स्रोत भइरहेको छ । यस्ता अन्धविश्वासलाई कोसौं टाढा धकेल्न अर्थात् अन्धविश्वासरुपी सामाजिक जरालाई फाल्नको लागि शिक्षाको बढ्दो प्रचार गरी रोजगारीको सृजना गर्नु अति आवश्यक भैसकेको छ । त्यसको लागि युवापुस्तामा परिवर्तनको चाहना र इच्छा हुनु पनि त्यति नै अनिवार्य छ । महिला अधिकारवादी सङ्घसंस्थाहरू धेरै खुलेको भएता पनि आशातीत सफलता पाउन सकिरहेका छैनन् । विभिन्न एनजिओ र आइएनजीओ मागी खाने भाँडोमा मात्र रुपान्तरण भइरहेको यथार्थबारे पनि नयाँ पुस्ता सचेत हुनु अनिवार्य छ ।
Leave a Reply