“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, ३ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को आयोजनामा सहकारी ऐन, २०७४, सम्पति शुद्धीकरणसम्बन्धी निर्देशन, २०७४ र स्थानीय तहले बनाउने सहकारी ऐन, विनियम सम्बन्धमा अन्तरक्रिया कार्यक्रम भयो । भक्तपुर नगरपालिकाभित्रका सहकारी संस्थाहरूका अध्यक्ष, सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधिहरूबीच भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्यक्ष रुपमा गर्न नमिल्ने काम अप्रत्यक्ष रुपमा पनि गर्न मिल्दैन र समुदायलाई ध्यानमा राखी ऐन, नियमहरू बनाउनुपर्नेमा जोड दिनुभयो ।
२००७ सालमा आएको प्रजातन्त्र जुम्लामा २००८ सालमा पुगेको समाचार प्रकाशित भएको उल्लेख गर्दै उहाँले कडा कानुन र दण्ड, सजायभन्दा पनि मानिसलाई सचेत बनाउनु आवश्यक छ र समयमै सूचनाको जानकारी दिन सहकारीहरू सक्षम हुनुपर्छ भन्नुभयो ।
सरकारले कानुन बनाउँदा अविकसित र दुर्गम स्थानलाई ध्यानमा राखी बनाउनुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले भक्तपुर नगपालिकाभित्र १५६ वटा सहकारी संस्थाहरू भएको र तीमध्ये कमजोर सहकारी संस्थालाई ध्यानमा राखी सहकारी ऐन, कानुनहरू निर्माण गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सहकारी संस्थालाई सहकारीको मूल्य–मान्यता र दृष्टिकोणले हेर्ने बताउँदै उहाँले सहकारीकर्मीहरू ऐन, कानुनको बारेमा सचेत हुनुपर्छ भन्नुभयो ।
सहकारीसम्बन्धी अनुसन्धान गर्नेलाई सहयोग पु¥याउन भक्तपुर नगरपालिकाले सञ्चालन गरेको जनज्योति पुस्तकालयमा सबै सहकारीहरूको प्रतिवेदन वा पत्रपत्रिकाहरू एक–एकप्रति राख्न सुझाव दिंदै उहाँले पाठयक्रममा सहकारीको बारेमा समावेश गरी भावी पुस्तालाई सहकारीबारेमा ज्ञान दिनु आवश्यक छ भन्नुभयो ।
उहाँले सहकारीले हस्तकला, पर्यटन, आदर निकेतन, सांस्कृतिक प्रशिक्षण, खेलकुदजस्ता कामहरू गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाभित्र एक सम्पदा एक विद्यालय गरी सरसफाइ अभियान चलाएजस्तै सहकारीले पनि एक सहकारी एक स्थानको सफाइ अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले ठूला–ठूला सपना बाँड्नुभन्दा गर्न सकिने काम कुरामात्र गरी व्यवहारमा उतार्नु बुद्धिमानी हुन्छ भन्नुभयो ।
चीन र नेपालमा एक वर्षको फरकमा प्रजातन्त्र आएको र चीन अहिले विश्वको सबैभन्दा आर्थिकस्त्तर माथि उठेको देश बनिसकेको छ । त्यही समयतिर जापान पनि विश्व युद्धमा ध्वस्त भएकोलाई राम्रो बनाइसकेको अवस्था छ तर नेपालको सरकारमा गएका दलहरूको काम गर्ने इच्छा शक्ति कम भएकोले नेपाल विकास हुन सकेको छैन, उहाँले थप्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णगोविन्द लाखाजूले सहकारी ऐन, २०७४ को बारेमा प्रस्तुतीकरण गर्दै ऐन पालन भएमा हुने फाइदा, पालना नभएमा हुने कसूरअनुसारको दण्ड–सजाय र ऐनमा स्पष्ट नभएका विषयहरूमा प्रस्ट पार्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सम्पति शुद्धीकरणसम्बन्धी निर्देशनबारेमा प्रस्तुतीकरण गर्दै सबै सहकारी संस्थाहरूले सम्पति शुद्धीकरण फारम भरी सम्बन्धित निकायमा प्रतिवेदन पेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण ध्वजूले सङ्घले गरिआएको बचत सङ्कलन, ऋण प्रवाह, तालिम, गोष्ठी, सूचनाप्रवाह र सङ्घको हालसम्मको सम्पति र दायित्वको बारेमा प्रस्तुतीकरण गर्नुभयो ।
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामसुन्दर सुजखूले संस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्ल र सचिव जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply