भर्खरै :

एनजीओ र आईएनजीओको नकामबारे सचेत हुन जरुरी

  • असार ४, २०८२
  • श्रीराम श्रेष्ठ
  • विचार
एनजीओ र आईएनजीओको नकामबारे सचेत हुन जरुरी

समाज परिवर्तनशील छ । समाजमा विवेकशील प्राणी मानिसको बसोबास हुने भएकोले तथ्यमा आधारित वैज्ञानिक र उपयुक्त विषयलाई मान्यता दिइएको हुन्छ । समाज विकासको प्रारम्भिक चरण अदृश्य शक्तिमा विश्वास गरिन्थ्यो । आज मानिसको विवेक र चेतनाको कारण यो विषयमा परिवर्तन आएको छ । अहिले अदृश्य शक्तिलाई विश्वास नगरेर तथ्य र वास्तविक अनुसन्धानमा मानिसहरूको ध्यान केन्द्रित छ । नयाँ नयाँ प्रविधिको विकास अनुसन्धान, प्रयोग, प्रक्षेपण तथा नियन्त्रण आजको समाजको आवश्यकता हो ।
समाजमा शोषकवर्गले शोषितवर्गलाई गर्ने शोषण, दमन, अत्याचारलगायतका अमानवीय व्यवहारले समाजमाथि गलत क्रियाकलाप गरिरहेको थाहा हुन्छ । पुँजीवादी व्यवस्थाका विकृतिहरू हत्या, हिंसा, बलात्कार, चोरी, दमन, शोषण, अत्याचार, भ्रष्टाचार आदि व्यापक रूपमा बढ्दै जानु यो समाजको लागि घातक हो ।
पुँजीवादी व्यवस्थाविरुद्ध मानिसहरूले आन्दोलन गरिरहेका छन् । रामेछापका मानिसहरूबिच भ्रम फैलाएर पुँजीवादीको वकालत गर्दै व्यक्ति व्यक्तिलाई समाजमा अशान्ति र विकृति फैलाउने NGO र INGO को काम गलत छ । यस्ता गलत काम गर्ने NGO र INGO लाई समाजमा रोक लगाउनुपर्छ । यस्ता NGO र INGO को गलत कामबाट रोक्न जनतालाई सचेत पार्नु आवश्यक छ । यस्ता NGO र INGO ले समाजलाई मानव अधिकारवादी, महिला अधिकारवादी, जनजाति, बालबालिका दलितको हकको लागि र वातावरण संरक्षण, सम्पदा संरक्षण, कला संस्कृतिको संरक्षणको लागि काम गर्ने भन्दै जनतामाझ भ्रम छरिरहेका छन् ।
सम्पदा पुनर्निर्माण गर्ने भन्दै नेपाल सरकार र जर्मन सरकारबिच भएको १ अर्ब २० करोड सहयोगको सम्झौता भक्तपुर नगरपालिकाले नमान्नु पनि सम्पदा संरक्षणको लागि हो । जर्मन सरकारले उक्त रकम सम्पदा संरक्षणको लागि नभई सम्पदाको संरक्षणको नाममा सम्पदालाई नास गर्न उक्त सम्झौता ल्याएको प्रस्ट हुन्छ ।
भक्तपुर नगरपालिकाले यहाँका पुरानै शैलीमा जनताको सहभागितामा असङ्ख्य सम्पदा संरक्षण र पुनर्निर्माण सम्पन्न गरिसकेको छ ।
यस विषयबाट रामेछापवासीले के सिक्नुपर्छ भने NGO र INGO सहयोग होइन, सहयोगको नाममा विष खुवाइरहेको छ । रामेछापवासीहरूलाई पूर्णरूपमा परनिर्भर हुन बाध्य पारिरहेको छ ।
आफ्नो खुट्टामा उभिन हरेक क्षेत्रमा सक्षम हुनुपर्छ । समाजमा विकृति, विसङ्गति, हत्या, हिंसा, चोरी, बलात्कार, दमन, शोषण, अत्याचार, असमानता र भ्रष्टाचारलगायतका विषयलाई पोषण गर्ने यस्ता NGO र INGO समाजबाट समयमै रोक लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *