भर्खरै :

इराकपछि इरान इतिहासले फेरि प्रश्न उठायो

इराकपछि इरान इतिहासले फेरि प्रश्न उठायो

इराक युद्ध धेरैले अझै बिर्सेका छैनन् होला । अमेरिकालगायत पश्चिमी मुलुकले रासायनिक हतियारको नाउँमा सद्दाम हुसेनलाई सत्ताबाट हटाए, लाखौँ निर्दोष मारे, तर अन्त्यमा त्यो सब झूटको कथा भएको प्रमाणित भयो । सन् २००३ मा अमेरिका र केही पश्चिमा देशहरूले इराकमाथि आक्रमण गर्नुको मुख्य कारण त्यहाँ रासायनिक हतियार (chemical weapons) रहेको दाबी गरेका थिए । त्यतिबेला पनि पश्चिमी मुलुकले सद्दाम हुसेनको सरकारले विश्व शान्तिका लागि खतरा निम्त्याइरहेको भनेका थिए । तर, आक्रमणपछि गरिएको व्यापक खोज अनुसन्धानमा त्यस्तो कुनै पनि विनाशकारी हतियार फेला परेनन् । आक्रमणको आधार बनाइएको आरोप झूटो रहेको प्रमाणित भयो । यो घटनाले अन्तर्राष्ट्रिय नियम र विश्व जनमतको अवमूल्यन भएको स्पष्ट देखायो । यसले विश्व समुदायमा अमेरिका र पश्चिमा शक्तिहरूप्रति विश्वासको सङ्कट पनि ल्याएको र यस्तो कदम भविष्यमा पुनः नदोहोरियोस् भन्ने पाठ दिएको थियो तर फेरि यस्तै नकल्ली आरोप इरानमाथि दोहोरिएको छ ।
इरानको आणविक कार्यक्रमबारे वार्ता नजिकिँदै जाँदा इजरायलले इरानमाथि हमला ग¥यो । यसले इजरायलले वार्ता भाँड्ने नियतले नै आक्रमण अघि बढाएको प्रस्ट पार्छ । इरानले आफूले बनाइरहेको आणविक केन्द्र शुद्ध रूपमा ऊर्जा उत्पादनका लागि रहेको पटक–पटक दाबी गर्दै आएको छ । आफ्नो कार्यक्रम अन्तर्राष्ट्रिय नियमअनुसार र शान्तिपूर्ण प्रयोजनका लागि सञ्चालन भइरहेको इरानले स्पष्ट पारेको छ । तर, इजरायल र पश्चिमी राष्ट्रहरू भने इरानको आणविक कार्यक्रम मध्यपूर्वका लागि मात्र होइन, सम्पूर्ण युरोपका लागि पनि खतरनाक रहेको भनाइ लगातार दोहो¥याइरहेका छन् । पश्चिमीहरू इरानमाथि शङ्का गर्दै इरानको ज्ञान प्रविधि उपयोग हिंसात्मक उद्देश्यका लागि हुने डर व्यक्त गर्छन् । यस्तो आरोप दोहोरिने शैली हेर्दा लाग्छ, यो रणनीतिक दबाब सिर्जना गर्ने एक तरिकामात्र हो ।
युद्धको कारण केवल आणविक कार्यक्रम होइन, सत्ता, प्रभुत्व र क्षेत्रीय बर्चस्वका लागि भइरहेको प्रतिस्पर्धा हो । इजरायल चाहन्छ कि मध्यपूर्वमा उसैको बर्चस्व कायम होस् र इरानजस्ता राष्ट्रहरू सधैँ कमजोर र पछाडि रहून् । पश्चिमी मुलुकहरूको सैन्य उद्योग, पेट्रोलियम नीतिलाई फाइदा पुग्ने हुँदा पश्चिमी मुलुकहरू पनि यही समीकरणलाई समर्थन गर्छन् ।
इजरायल र इरानबिचको तनाव युद्धमा परिणत भइसकेको छ । अहिलेको सबैभन्दा ठुलो प्रश्न भनेको अब अमेरिकाले के कदम चाल्छ ? अहिलेको संसार अमेरिकी हस्तक्षेप कहिले र कसरी हुने हो भन्ने प्रतीक्षामा छ । ट्रम्पले ‘इरानीहरूलाई’ तेहरान छाड्न चेतावनी दिएको र पेन्टागनले मध्यपूर्वमा थप ‘रक्षात्मक हतियार’ पठाएको पुष्टि गर्नु गम्भीर सङ्केत हो । यसले तनाव युद्धतर्फ उन्मुख हुँदै गएको देखाउँछ । यस्तै संवेदनशील घडीमा ट्रम्पले जी–७ बैठक छाडेर जानु अझै चिन्ताजनक छ, जसले कूटनीतिक प्रयासभन्दा युद्धको सङ्केत बलियो बनाउँछ ।
इजरायलले स्पष्ट रूपमा इरानमा सत्ता परिवर्तन (regime change) को कुरा गर्दै आएको छ । यहाँसम्म कि इजरायली नेताहरूले इरानी सर्वोच्च नेता अयातोल्ला खामेनीलाई मार्ने योजना रहेको पनि सङ्केत दिएका छन् । यता अमेरिकाले भने सार्वजनिकरूपमा यस्तो योजना अस्वीकार गरिरहेको छ, तर यो सब रणनीतिकरूपमा हो कि साँच्चिकै अस्वीकार ¤ त्यो प्रस्ट छैन । यो शङ्का यसकारण पनि बढ्छ कि अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिकी नीति प्रायः दोहोरो मान्यतामा आधारित देखिन्छ — सार्वजनिक रूपमा एउटा कुरा, व्यवहारमा अर्कै ।
इजरायलमाथि इरानले हालसालै गरेको मिसाइल आक्रमण कुनै सानो घटना होइन । इरानमाथिको आक्रमण सशक्त थियो भन्ने कुरा तेलअभिबको तस्वीरले देखाइरहेको छ । तर यहाँ प्रश्न उठ्छ — इरान कति समयसम्म अमेरिका र इजरायलको गठबन्धनसँग एक्लै जुध्न सक्छ ? कुनै बेला साहसमात्र काफी हुँदैन, बल, कूटनीति, मित्रता र अन्तर्राष्ट्रिय समर्थन पनि आवश्यक हुन्छ ।
आजको अवस्था हेर्दा विश्वमा नेताहरू नेतन्याहुको तलब खाएर बसेजस्तो व्यवहार गरिरहेका छन् । इजरायली नीतिका विपक्षमा बोल्न मानव अधिकारबारे ठूलो आवाज निकाल्ने पश्चिमेली मुलुक कोही तयार छैनन् । यसले अन्तर्राष्ट्रिय नियमन, मानव अधिकार र कूटनीतिक मर्यादालाई नै चुनौती दिएको छ । इजरायल खुला रूपमा एक स्वतन्त्र मुलुकको सरकार फेर्ने घोषणा गर्छ, तैपनि विश्व चुप हुन्छ । के यही हो विश्व व्यवस्था ? के यसले उत्तर कोरियाको आणविक कार्यक्रमलाई सही साबित गरिरहेको छैन ? यो घटनाक्रमले उत्तर कोरियाको आणविक रणनीति सही छ भन्ने तर्कलाई बल दिन्छ । उत्तर कोरियाले वर्षौं अगाडि नै भनिसकेको थियो — “हामीले आफ्नो अस्तित्व सुरक्षित गर्न आणविक हतियार बनाएका हौँ ।” इराक, लिविया, अब इरानमाथि पश्चिमी देशहरू प्रहार गर्दा कमजोर राष्ट्रहरू आणविक बाटोमा लाग्नु अनिवार्य हुन्छ । जब शक्तिशाली देशहरू नियम मिच्छन्, तब कमजोर देशहरू आफ्नो अस्तित्व सुरक्षित गर्न आणविक हतियारतर्फ आकर्षित हुन्छन् ।
इरानले जुन साहस देखायो, त्यसको प्रशंसा कुनै शब्दले गर्न सकिँदैन । इजरायलजस्तो ‘विश्वको सबैभन्दा शक्तिशाली सैन्य शक्ति’ भएको अमेरिकी मुलुकको छद्म मुलुकसँग बिनाडर जुध्नु सामान्य कुरा होइन । इरानले इजरायललाई उसको हैसियत सम्झायो । इजरायल आफैंमा शक्तिशाली देखिए पनि साँचो कुरा के हो भने अमेरिकाको सहयोगबिना इजरायल दुई दिन पनि युद्धमा टिक्न सक्दैन ।
आजको घटनाक्रम इरान र इजरायलको द्वन्द्व मात्र होइन, शक्ति–केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थाको असफलताको प्रतीक हो । शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुन तोडेर कमजोरीको फाइदा उठाउँछन् भने ‘न्याय’, ‘सम्प्रभुता’, ‘मानवाधिकार’ जस्ता शब्दहरू खोक्रा नारामा सीमित रहन्छन् ।
शान्ति र स्थायित्वको लागि अहिले समयमै आवाज उठाउनु जरुरी छ । यदि इरानमाथिको अन्यायको विरोध आज नगर्ने हो भने भोलिका दिनमा यही नीति अरू देशमा पनि लागु हुनेछ । त्यसैले अब संसारले सोध्नुपर्छ — युद्धको समाधान शक्ति हो कि न्याय ?
त्यसैले आज विश्व जनमत होसियार बन्नु आवश्यक छ । युद्धको समर्थन गर्नु कति पनि विवेकपूर्ण हुँदैन । शान्ति, संवाद र अन्तर्राष्ट्रिय नियमहरूको सम्मान नै दीर्घकालीन समाधान हो । यदि आज विश्व इरानको पक्षमा न्यायको आवाज उठाउन नसक्ने हो भने भोलि यही अन्याय अरू राष्ट्रमाथि पनि आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *