यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एघारौँ अध्याय : ङय्ङापा झ्य (५५ झ्याले दरबार) को तेस्रो संस्करण
यस अध्यायमा ङय्ङापा झ्यः दरबारको निर्माणदेखि तेस्रो संस्करणको पुनः निर्माणको इतिहास पढ्न पाइन्छ । यो दरबार ङातापोल्हँ निर्माणको छ वर्षपछि भूपतीन्द्र मल्लले तीन वर्ष लगाएर बनाएका थिए । सो दरबार तीन वर्ष लगाएर बनाएको, इँट र काठको निर्माण सामग्री प्रयोग गरिएको थियो । ई.सं. २००२ को अवलोकनबाट जग सक्कली पुरानो तर चोक तीन पटक माथि उठाएको देखिएको थियो । यो दरबार तीन तला, अङ्ग्रेजी अक्षर ‘यु’ आकार, १ः१ः२ को अनुपात, ११ कवलको दलान भएको भवन हो । यसको दुई मुख्य विशेषताहरूमा दोस्रो तलाको ५५ झ्यालको लहर र भित्तेचित्र हुन् । वि.सं.१९९० को भूकम्पबाट दोस्रो तला र छाना खसेपछि राणाकालीन समयमा पुनर्निर्माण गरिएको थियो । तेस्रो संस्करण दस वर्षको छलफल र विवादपछि ई.सं.२००१ मा पहिलो प्रस्ताव तयार भएको थियो । विदेशीको विभिन्न आधुनिक निर्माण सामग्री र प्रविधिको विरुद्धमा नेपाली प्रविधि र नेपाली प्राविधिकले बनाउने निर्णय भएको उल्लेखनीय प्रसङ्ग रोचक छ ।
लेखक (सुदर्शनराज तिवारी), प्रेमनाथ मास्के, सहभागी हुनुभएको राष्ट्रिय कार्यशालामा ५५ झ्याले दरबारको संरक्षणको लागि ई.सं. २००० मा २०० भन्दा बढी सिपालु कामदार सहभागिता रहेको थियो । कार्य गर्दा बेलाको विस्तृत विवरण, पुरातात्विक अन्वेषण, संरचनागत जाँच, भित्तेचित्र संरक्षण, संरक्षण योजना र कार्य गर्दाको अनुभव यस अध्यायमा प्रस्तुत गरिएको छ । अन्तमा, माटो जोडाइमा र परम्परागत प्रविधि प्रयोग गरी ई.सं. २००८ मा तयार भएको दरबार ई.सं. २०१५ को भूकम्पमा सुरक्षित भएबाट यो प्रविधि पनि भूकम्प प्रतिरोधी प्रमाणित भएको तर्क पेस छ ।
पुस्तकका सकारात्मक पक्षहरू
प्रा. डा. तिवारी लामो समयदेखि वास्तुकार (आर्किटेक्ट), संस्कृतिका इतिहासमा काम गर्दै आउनुभएको कारण उहाँलाई स्थान नाम र अभिलेखहरूबारे विशेष ज्ञान रहेको छ । उहाँको विद्यावारिधीको विषयसमेत अभिलेखमा प्रयोग भएका स्थान नाम र शब्दहरूको विश्लेषण र चित्रण भएकोले यस पुस्तकमा भरपुर ज्ञान सिक्न सकिन्छ । यस पुस्तकमा भक्तपुरका अधिकांश लोककथा, स्थानीयरूपमा मानिआएको जात्राको विस्तृत कथा पढ्न पाइन्छ । साथै यस्ता अध्ययनबाट ऐतिहासिकताको अनुमान तथा वैज्ञानिक विश्लेषण गर्ने विभिन्न तरिका पनि सिक्न सकिन्छ । इतिहासका कति कुराहरू लिखितरूपमा नपाइँदा यसप्रकार अनुमान र विश्लेषण गर्दै गएको देखिन्छ । जसले भविष्यमा अन्य इतिहासमा चासो भएका शोधार्थीहरूलाई थप अध्ययन गर्ने आधार तयार हुन्छ । यसरी गरिएका अनुमानलाई प्रमाणित गर्न ताडपत्र, हस्तलिखित ग्रन्थ÷थ्यासफुहरू पनि विस्तृत अध्ययन गर्नुपर्ने हुन्छ । यी मौलिक (ओरिजिनल) इतिहासका स्रोत हुन् । यस पुस्तकमा यस्ता मौलिक स्रोतहरूमा उल्लेख भएको नाम, स्थान नाम, जग्गाको विवरणबाट इतिहासको जानकारी पाइन्छ । साथै ती विवरणका आधारमा भक्तपुर नगरमा विलुप्त भइसकेको त्रिपुर दरबारको खोजी गर्ने प्रयास गरिएको छ । त्यतिमात्र नभई उहाँले मयमत जस्ता ऐतिहासिक वास्तुग्रन्थ, वास्तुकलाको इतिहास र हाल भएका अवशेष, मान्यताबाट तुलनात्मक अध्ययनसमेत गर्नुभएको छ ।
अर्को महत्वपूर्ण कार्यमा उहाँले वंशावलीमा उल्लेख भएका जानकारीलाई स्थलगत निरीक्षणबाट जोड्ने प्रयास गर्नुभएको छ । उहाँले मूर्तिकलाको अध्ययन र मानिआएका इष्टदेवता, दशमहाविद्या, अष्टमातृ र दिगुद्योको आधारमा इतिहासको नवनिर्माण (सम्भावित) गर्ने प्रयास गर्नुभएको छ । यसै क्रममा ढुङ्गेधाराको प्रकृति हेरी लिच्छवि र मध्यकालीन छुट्याइएको छ । जसले नयाँ पिँढीले हजारौँ वर्षअगाडिको ऐतिहासिकतालाई एकै पटकमा छुट्याउन सिक्नेछन् । संस्कृतिमात्र नभई चलिआएका भाषाको अध्ययनमा भिन्न वर्गको पहिचान र अध्ययन यस पुस्तकको अर्को विशेषता हो । साथै विभिन्न जातजातिको भिन्न चालचलन र मान्यताबाट लुकेर बसेका इतिहासको पुनरुत्थान गर्ने प्रयासहरू पढ्न र सिक्न सकिने पाटो हो । वास्तुकारको पनि अध्ययन गर्नुभएकोले नक्साको थप कोणहरूबाट हेर्ने ऐतिहासिक वास्तुशास्त्रका आधारमा विभाजन गर्ने कार्य पनि नयाँ प्रयोग हो । नक्साकै माध्यमबाट बाटोको संरचना, मन्दिर तथा पीठको स्थानहरूबाट हराएको इतिहासको नवनिर्माण गर्ने विभिन्न तरिकाहरू यस पुस्तकबाट सिक्न सकिन्छ ।
केही टिप्पणीहरू
करिब सहस्राब्दी वा हजार वर्षको त्यो पनि हराइसकेको इतिहास जति नै प्रयास गरे पनि पुरातात्विक प्रमाण नभेटिएसम्म शत प्रतिशत प्रमाणित वा सही भन्ने आधार पाउन सकिँदैन । विभिन्न विद्वान्हरूबिच यसमा मतभिन्नता हुनु पनि स्वाभाविक हो । त्यसमाथि एक किसिमले मानसिकरूपमा तयार भइरहेको मान्यताभन्दा फरक बुझाइलाई अँगाल्नुपर्दा मनमा असामञ्जस्य पनि हुँदो हो । हुन त यस विषयमा पहिलेदेखि भक्तपुरकै इतिहासमा कलम चलाउँदै आउनुभएका विद्वान्हरूबिच सघन छलफल हुनुपर्ने हो । तर, यस समीक्षामा अन्य स्रोत र यस पुस्तकमा पाएका भिन्नतालाई प्रस्तुत गर्ने कोसिस गरिएको छ ।
-यस पुस्तकमा प्रयोग भएका वाक्य संरचना निकै लामो रहेकोले पढ्न निकै असहज र कठिन छ ।
-पहिलो अध्यायको पहिलो पृष्ठमै तौलाछेँ र तुलाछेँबिचको द्विविधा देखियो । त्यही कारण तुलाछेँमा भेटिएको अभिलेखमा प्रयोग भएको खृपुङ र असूर्यविध्वाद्याग्राम शब्दहरू तौलाछेँका निम्ति प्रयोग गरिएको पाइयो ।
-यसले गर्दा सूर्यमढीको निम्ति हुनसक्ने व्याख्याहरू (-) गलत हुन आएको देखिन्छ ।
-यहाँ सूर्यमढीलाई ख्वप्रिङ वा खृपुङ भनिने गलत देखिन आउँछ (बज्राचार्य, वि.सं.२०३०ः २५३) ।
ियस पुस्तकमा हालको भक्तपुरको पश्चिममा अवस्थित कुम्हाले टोल तालाक्व हुनुपर्ने तालाचो भइराखेको छ ।
-पुस्तकको शीर्षकमा भक्तपुर, मल्ल नेपाल मण्डलको राजधानी भनिएको तर छरिएको सूचना र धेरै लोककथाहरूको प्रयोगले मूल कुरा ओझेलमा परेकोले पाठक अल्मलिने अवस्था छ ।
-पृष्ठ १२ मा फोग (fog) लाई कुँ भन्नु गलत छ । यसलाई नेपाल भाषामा खसु भनिन्छ । कुँ भन्नाले धुवाँ र कु भन्नाले भारी भन्ने बुझाउछ ।
-पृष्ठ १२ मा यदि वाकुपति चाँगुनारायणलाई पूर्वी छेउ मान्ने भए, त्योभन्दा पूर्वतर्फ वाचुहिटीमा भेटिएको लिच्छवि अभिलेख, तुमचो (पृष्ठ १८ मा तमचो लेखिएको) क्षेत्रको तुलारानीको दरबारको लोककथालाई कसरी मान्ने ? भन्ने प्रश्नहरू पाठकमा जन्मिने सम्भावना रहन्छ ।
-पृष्ठ २० मा सङ्कोलाई हनुमानघाटको प्राचीन नाम भनिएको आधार के हो ? सोही पृष्ठमा ‘दो’ लाई दोभान मानिएको छ तर यो संस्कृत वा नेवा कुन भाषाको आधारमा भनिएको हो बुझ्न सकिएको छैन ।
-यस पुस्तकको पृष्ठ २०, २१ र ३१ मा गो.रा.वं.मा आनन्द देवले दुई देव स्थापना गरिएको भेलुखेलको भगवती स्थानको भैरवी र उमामहेश्वरको मूर्ति हो भनिएको छ । तर, बाङ्देल (इ.सं. १९९५ः २९९) को पुस्तकमा भगवती १७ औँ र उमामहेश्वर १५ औँ शताब्दीको भनिएको छ । साथै तिवारीले त्यहाँको हराएको मूर्ति नाट्येश्वर होला भन्नुभएको तर स्थानीयले गणेशको मूर्ति हराएको भनेको छ भने बाङडेल (सन् १९९५ः ३००) को पुस्तकमा पनि गणेश नै छ ।
-पृष्ठ २४ मा माखोदुलु जुन भक्तपुरको पश्चिमी भेग मानिन्छ, किन त्यसलाई पूर्व तर्फको हनुमानघाट विभाजनमा पारिएको ? न. नं. १.७ मा किन माख्वप्रिङलाई पश्चिम र माखोदुलुलाई, ख्वप्रिङ र चुप्रिङ को बिचमा राखिएको बुझिएन ।
-पृष्ठ २४ मा किँरात कालमा ख्वप्रिङको लागि ब्रह्मायणी घाट, माखोदुलुको लागि हनुमानघाट र माख्वप्रिङको लागि चुपिङ घाट भन्नुभएको तर श्रेष्ठ (वि.सं.२०६०ः १००) का अनुसार नवदुर्गाको नौ वटा घोट रहेको कुरा छ ।
-पृष्ठ २५ को नक्सा नं १.७ मा ख्वप्रिङ, माखोदुलु र माख्वप्रिङको घेरा पहिला गरिएका अध्ययन भन्दा फरक छ (राज, २०६१ः ७) ।
-पृष्ठ २६, ३० मा तौलाछेँ÷सूर्यमढीलाई ख्वप्रिङ र इनाचोलाई माखोदुलु भनेको उहाँले आधार लिनुभएको भन्दा फरक छ (बज्राचार्य, २०३०ः २५३) । तालाक्वलाई माखोदुलु, गोल्मढीलाई माख्वप्रिङ र तुलाछेँ टोललाई खृपुङ ग्राम (बज्राचार्य, २०३०ः २३१, २४९, २५३† राज, २०७७ः ५१–६०) भनी लिच्छवि कालका अभिलेख पाइएको आधारमा भनिएको हो ।
-पृष्ठ २६ मा भने इनाचोमा किन माखोदुलु इनाचो क्षेत्र मानिएको हो बुझ्न सकिएन ।
-पृष्ठ २७ मा खृपुङ र ख्वप्रिङलाई एउटै ठाउँ भनिएको छ, जबकि शिवदेव–अंशुवर्माको तुलाछेँ (अभिलेखमा खृपुङ भनिने) र गोल्मढी (अभिलेखमा माख्वप्रिङ भनिने) को दुई अभिलेख एकै समयमा राखिएको थियो । यदि ती एउटै स्थान भएको भए दुई अभिलेख जरुरी थिएन ।
-पृष्ठ २८ मा ‘मा’ लाई पश्चिम कुन आधारमा भन्नुभएको ? बुझिएको छैन ।
-पृष्ठ ३१ मा भक्तपुरको ‘राजकुलो’ लाई किन पाताल गङ्गा मानिएको ? आधार बुझिएन ।
-धौभडेलले (२०७४ः ४७–५१) विभिन्न आधार दिएर स्वंगलोहलाई सिमाना मानेर पूर्वको वान्दिमगल, पश्चिमतिर बाटोबाट उत्तर शिवगल र दक्षिणमा चन्दिगल मानेको तर यस पुस्तकको पृष्ठ ३० मा हनुमानघाटलाई शिवगल मानिएको छ । यी फरक तर्कलाई मिहीन रूपमा हेर्न जरुरी छ । पृष्ठ ३५ को न. नं २.४ मा सिमाना फरक छ, यहाँ स्वंग लोहको प्रमाणलाई बेवास्ता गरिएको देखिन्छ ।
-पृष्ठ ३६ मा तचपाललाई पहिले मूलाटोल भनिने लेखिएको तर अहिले पनि भोलाछेँबाट चोछेँ जाने बाटोलाई मुलाछेँ र नासमना सँगैको गणेशलाई मुलाखु गणेश भनिन्छ ।
-पृष्ठ ३७ मा क्वाछेँमा ‘ठ’ थपेर क्वाठछेँ किन बताउनुभएको होला ? जबकि क्वाछेँ भनेर धेरै उदाहरण भक्तपुरमा अहिले पनि पाइन्छ ।
-पृष्ठ ३८ मा क्वनेया बाराही–न्हेसत्व भनेर हालसम्म प्रचलित छ तर थनेया न्हेसत्व ब्रह्मायणी र दथुया न्हेसत्व चण्डेश्वरी हाल प्रचलन छैन भन्नुभएको छ । तर थनेया न्हेसत्व ब्रह्मायणी र दथुया न्हेसत्व चण्डेश्वरी भनेर स्थानीयबासी नै अनभिज्ञ देखिन्छ ।
-पृष्ठ ३८ मा बनेपा सात गाउँ आनन्द देवले स्थापना गरेको भनिएको तर बनेपा, नाला, पनौतीजस्ता स्थानहरूमा लिच्छविकालीन अभिलेख भेटिएको छ । यो भने एउटा अनुसन्धानकै विषय हुन जान्छ किनकि यो कुरा वंशावलीमा समेत उल्लेख भएको छ । तर, अन्वेषणबाट फरक नतिजा आउन सक्छ ।
-पृष्ठ ३६ र ३७ मा चण्डेश्वरी क्षेत्रलाई आनन्द देवपछिको नयाँ प्रशासन भनिएको छ । तर ३८ पृष्ठमा किराँती बस्ती विकासको आधार लिएकोमा चण्डेश्वरी क्षेत्रलाई दथु–त्वको रूपमा लिइएको छ । यदि यो आनन्द देवपछिको नयाँ प्रशासन भए चासुखेलमा १० औँ र १२ औँ शताब्दीका मूर्तिहरू (बाङडेल, इ.सं. १९९५ ः ३०४) लाई कुन रूपमा लिने होला ? किनकि यस पुस्तकको थुप्रै ठाउँमा मूर्तिको स्थानअनुसार सो वरपरको स्थानको प्राचीनतालाई तुलना गरिएको छ ।
-पृष्ठ ४४–४५ मा खौमामा भेटिएको जलद्रोणीको उल्लेख गर्दै पशुपतिबाट माख्वप्रिङमा आउने प्रसङ्ग बुझिँदैन । किनकि, जलद्रोणी त मृगस्थलीमा राखिएको थियो भनी अभिलेखमा स्पष्ट उल्लेख छ । सोही प्रसङ्ग पृष्ठ ४८ मा पनि दोहो¥याइएको छ ।
-पृष्ठ ५५ मा थाथुलाँलाई नै थन्थु लाँ भनिएको छ । वास्तवमा थाथुको अर्थ माथिल्लो वा अग्लो ठाउँमा जाने बाटो हो, तर थन्थुको अर्थ यसरी लाग्दैन ।
-श्रेष्ठ (वि.सं.२०६०ः २४) का अनुसार भुवन मल्लले वि.सं. १५७० तिर नवदुर्गा नाच प्रारम्भ भनिएको र यस पुस्तकमा प्राण मल्लको पालामा (पृ. ६३) नवदुर्गा नाच प्रारम्भ भनिएको तर पृष्ठ १२ मा १२ औँ शताब्दीमा सुरु गरिएको भनिएको छ । यस पुस्तक (पृ. ६३) को लोककथा श्रेष्ठ (२०६०ः २४–२७) को भन्दा फरक र अधुरो देखिन्छ ।
-पृष्ठ ६४ को बिस्काः सम्बन्धी लोककथा जनमानसमा प्रचलित छ तर कायष्ठ (वि.सं.२०७०) को आधारमा विश्वजात्रा र ऐतिहासिक घटनावलीको टिपोटहरूमा कुलुक्याट, विश्व जात्रा जस्ता शब्द प्रयोग भएबाट र हलिपट नाग नागिनी नभई विश्व ध्वजाको रूपमा देखिन आएको छ । यसबाट लोककथाहरूका भनाइहरू वैज्ञानिक रूपमा प्रमाणित भएपछि, अनुसन्धानकर्ताहरूले परिमार्जन गर्दै जानुपर्ने आवश्यक छ ।
-पृष्ठ ७०, ७१ मा समुन्द्र मन्थनसम्मको व्याख्या जरुरी थियो र ? भन्ने प्रश्न पाठकमा उठ्छ । किनकि माथि भनेजस्तै थुप्रै लोककथालाई पस्किँदा अनुसन्धात्मक खालको पुस्तकमा वास्तविकता नजिक नभएपछि धेरै प्रश्न उठ्ने गर्छ । भक्तपुर र काठमाडौँको इन्द्रजात्राका प्रसङ्गहरू छन् । यस पुस्तकमा प्रस्तुत लोककथा भने भक्तपुरमा प्रचलितभन्दा फरक पाइयो ।
-पृष्ठ ७४ मा छुमा गणेशको लोककथामा भक्तपुर राज्य छालिङबाट सञ्चालन गरेको भनियो, तर छालिङ नभई ङाबुबाट हो । सोही पृष्ठमा कासाङ खुसीलाई खासाङ खुसी भनिएको छ, त्यस स्थानको नाम समेत कासान भएकोले यसलाई सच्याउनुपर्ने देखिन्छ ।
-पृष्ठ ७५ मा इना गणेश सल्लाघारी लेखिएको छ, वास्तवमा सूर्यविनायकको गणेशलाई नेपालभाषामा इनरे गणेश, दूधपाटीको लागि इनागः गणेश र सल्लाघारीको गणेशलाई भने चोङा गणेश भनिन्छ ।
-पृष्ठ ७८ मा राजल्ल देवीले जयस्थिति मल्लसँग विवाह गरेको जो कर्णाट वंशी थिए र त्यसकारण मल्लहरूले कर्णाट वंशी र तलेजुसँग सम्बन्ध जोडिएको भनिएको, तर खासमा यो ठीक उल्टो हो । बरु जयस्थिति मल्लको पुर्खाको बारे इतिहास मौन छ र जयस्थिति मल्लले राजल्ल देवीसँग विवाह गर्नुको कारण कर्णाट वंशी र तलेजु सँग सम्बन्ध जोडिएको हो ।
-पृष्ठ ८२ मा तलेजु मन्दिर जयस्थिति मल्लको पालामा बनाइएको भनिएको छ । तर तलेजु मन्दिर कहिले निर्माण भएको ठ्याक्कै इतिहासमा पाइँदैन तर वैद्य र श्रेष्ठ (इ.सं.२००२ः ६५) का अनुसार जब देवलदेवीले भक्तपुरमा शासन गरेकी थिइन्, त्यतिबेलै तलेजु मन्दिर बनाइएको हुनुपर्छ भन्नुभएको छ ।
-पृष्ठ ३६ मा वाने लायकुको दरबार भनिएको फेरि पृष्ठ ८३ मा यो दरबार नभई खाली तलेजुको मन्दिर बनाउन उपयुक्त हो, होइन जाँच्न खाल्डो मात्र खनेको उल्लेख गरिएबाट पाठकमा धेरै अन्योल सिर्जना हुने देखिन्छ ।
-पृष्ठ ८३ मा खौमालाई मेगेजिन भनिएको बुझिदैन ।
-पृष्ठ ८४ पलिसाछेँलाई गो.रा.वं. को पत्र ४३ मा पसलछेँ भनिएकोले पलि (सापटी वा मुआब्जा) दिएको भन्न मिलेन ।
-पृष्ठ १०६ मा सुकुलढोकालाई ब्रह्मस्थान मान्नु भएको र नक्सा पनि सोहीबमोजिम बनाउनुभएको छ , तर एक वंशावली (श्री पीरमहन्ते, मिति नभएकोः ९२) मा श्री भैरवनाथलाई मध्य पारी भक्तपुर बनाएको भनी लेखिएको छ ।
-पृष्ठ १०८ मा खनिमा टोललाई तचपाल सँगै भनिएको, तर यो खौमाको पुरानो नाम (राज, २०६१ः ३) हो, जुन भक्तपुरको पश्चिममा पर्छ भने तचपाल भक्तपुरको पूर्वमा पर्छ ।
-पृष्ठ ११२ मा टिबुक्छेँलाई सुकुलढोकाको पूर्व भन्नुभएको तर उक्त स्थान दक्षिण पश्चिममा पर्छ ।
-पृष्ठ ११४ मा पञ्चपुर महालक्ष्मी र महाकालीको रुटमा हो भन्नुभएको छ । जबकि त्यो रुट पूर्व पश्चिम तन्किएको छ, खासमा त्रिपुरमा, पञ्चपुर उत्तर र दक्षिणमा थपिएको हो ।
-पृष्ठ ८५ मा वाने राजकुल भनेको दरबार नभई तलेजु राख्न मिल्ने कि नमिल्ले हेरेको ठाउँ भन्नुभएको तर पृष्ठ ११४, ११७ मा वाने लायकु पनि वन्दे राजकुल हो भन्नुभएको छ । यी प्रसङ्गहरू दोहोरिएका छन् ।
-पृष्ठ ११५ मा भोलाछेँ÷महालक्ष्मी क्षेत्रलाई थालाछेँ र याछेँ क्षेत्र भनिएको जुन अलि टाढा पर्न जान्छ र फरक टोलहरू हुन् ।
-पृष्ठ ११७ मा तिसिको अर्थ सुन भनिएको बुझिएन ।
-पृष्ठ ११८, ११९ ने.सं. ६६६ देखि ७९७ को ताडपत्रहरूको जग्गा किनबेचले तचपाल क्षेत्रको मात्र प्रमाण दिन्छ, त्यो पनि स्पष्ट त्रिपुर क्षेत्रकै भाग हुनसक्ने स्पष्ट प्रमाण छैन ।
-पृष्ठ ११२ मा फेरि पहिलो अध्यायको कुरा दोहोरिएको, असूर्यविध्वाद्यायग्राम जुन तुलाछेँको अभिलेखमा भएकोलाई तौलाछेँ लेख्नुभएको छ (धनबज्र, वि.सं.२०३०ः २५३) । सोही पृष्ठमा माखोदुलुलाई कुम्हाले टोल, जेँला लेख्नुभएको तर जेँला नभई तालाक्वको कुम्हाले टोलको अभिलेख हो ।
-पृष्ठ १२३ मा के ब्रह्मुङ भन्ने लिच्छविकालीन शब्द ब्राम्हणको लागि प्रयोग गर्न मिल्छ ?
-वर्णिमको अर्थ प्राचीन÷मौलिक जाति किन भन्नुभएको ? बुझिएन ।
-पृष्ठ १२८ मा बनमालाको नासद्यो नै असितांग भैरव हो भनी तस्बिर राखिएको तर नासद्यो त्यसको विपरीत दिशामा छ ।
-पृष्ठ १३३ ख्वप इ. कलेज हुनुपर्नेमा ख्वप कलेज अफ इ. भएको छ ।
-पृष्ठ १३४ मा बाला को अर्थ राम्रो (लष्अभ) भन्ने अथ्र्याउनुभएको छ । तर, खासमा बांलाको अर्थ राम्रो हुन्छ । बालाको अर्थ लामो फिटा हो ।
-पृष्ठ १४८ मा वार्ड ९ (हालको) हुनुपर्ने वार्ड ३ (साबिक) भएको छ ।
-पृष्ठ १४९ मा मूसा र बिरालोको लोककथा नै अलि असम्भव सुनिन्छ, यसैलाई शिवदेव र आनन्द देवको झगडामा जोड्नुभएको छ ।
-पृष्ठ १५० मा वि. सं. २०४५ को भूकम्प हुनुपर्नेमा वि.सं. २०७२ (ई.स. २०१५) भएको छ ।
अन्य पुस्तकसँग तुलनात्मक अध्ययन
गुत्सो र कोल्भर (इ.१९७५) को भक्तपुरसम्बन्धी एक पुस्तक ‘भक्तपुर, अर्डरड स्पेस कन्सेप्ट एन्ड फङ्कसन्स इन ए टाउन अफ नेपाल’ मा भक्तपुर सहर पहिले कसरी व्यवस्थित (ordered) गरिएको थियो होला भन्ने अध्ययन गरिएको छ । उक्त पुस्तक (भक्तपुर, अर्डरड स्पेस कन्सेप्ट एन्ड फङ्क्सन्स इन ए टाउन अफ नेपाल) मा यस पुस्तक (भक्तपुर, एक मल्ल नेपाल मण्डलको राजधानी) भन्दा भिन्न किसिमले अध्ययन गरिएको छ । हुन त उक्त पुस्तक भक्तपुरको मध्यकालीन राजधानी पत्ता लगाउने उद्देश्यको होइन । तापनि भक्तपुरकै विषयमा लेखिएको केही कुराहरू तुलना योग्य छन् । गुत्सो र कोल्भरको विचारमा “यस सहरको विकास र शोभा बढाउन आनन्द देवकै पालामा भएको हुनपर्छ ।” तिवारीको तुलनामा गुत्सो र कोल्भरले कम मात्र मिथक/कथाको प्रयोग गरेका छन् भने ज्यादा त्यतिबेलाको भक्तपुरको स्थलगत अध्ययन र नक्साहरूको प्रयोग गरेका छन् ।
दुवै पुस्तकको समानताका रूपमा नवदुर्गा नाचको ऐतिहासिकता र नाच देखाउने स्थानको प्रयोग ऐतिहासिक अनुमान÷पुनर्संरचना गर्न गरिएको छ । अर्को समानता भनेको अष्टमातृकाले नगरलाई घेरिएकोलाई पुस्तकमा विश्लेषण गर्न प्रयोग गर्नु पनि हो । गुत्सो र कोल्भरले टौमढीलाई भक्तपुरको मूल थलो मानी, त्यहाँबाट मसानघाटसम्मको रेखाले काट्दा एक किसिमको सामाजिक व्यवस्था पत्ता लगाएका छन् । त्यही परिणामबाट भक्तपुरभरि त्यसरी नै योजना बनाएको हुनसक्छ भनेका छन् । टौमढीनेर रहेको लक्ष्मीनरसिंह मन्दिर नगरको पुरानो सिमाना हुनसक्ने तर्क पनि प्रस्तुत गरेका छन् । उनीहरूले भक्तपुरलाई त्रिगणेश, अष्टमातृका, अष्ट गणेश, भैरवले घेरेको पनि एक प्रकारको योजना नै हो भनेका छन् । यसमध्ये त्रि–गणेश बालाखु, चलाखु र मुलाखु गणेशको त्रिकोणभित्र ब्राह्मणहरू बस्ने कुरा पनि जाँचेर हेरेका छन् । उनीहरूले टौमढीदेखि मसानघाटसम्मको लहरमा क्रमशः छ थरिया, पाँच थरिया, ज्यापु र पोडे रहेको भनेका छन् ।
उनीहरूले नवदुर्गाको नाच सुरु (सुवर्ण मल्लको पालामा) हुनु अगाडिको सहरलाई अहिले नाच देखाउने स्थानभित्र परेको भनी नाच नदेखाउने टोल त्यसपछिको विस्तारित सहर मानेका छन् । साथै गाईजात्राको सुरुवात हुँदा लिने प्रदक्षिणा मार्गले त्यो भन्दा अगाडि र पछाडि विस्तारित सहर हुनसक्ने समेत अनुमान गरेका छन् । यसको एउटा जाँच प्रजापति (२०७६) ले भार्वाचो टोल जुन जात्राको प्रदक्षिणा मार्ग भन्दा बाहिर सहरको पश्चिमतिर पर्छ, जाँचेका छन् । जसमा विभिन्न अभिलेख, स्थलगत अध्ययन र अन्य ऐतिहासिक सामग्री अध्ययनको आधारमा उत्तर मल्ल कालमा विस्तारित टोल हो भनी पुस्टि गरिएको छ । यसरी यी दुई पुस्तकहरूले भिन्नाभिन्नै तरिकाहरू प्रयोग गरी भक्तपुर सहरको मध्यकालीन समयको चित्रण गर्न खोजिएको पाइयो । दुवै पुस्तकको फरक तरिकाको अध्ययनबाट एउटा समान निष्कर्षको रूपमा १५ औँ शताब्दीको यक्ष मल्लभन्दा अगाडि दरबार पूर्वतर्फ नै केन्द्रित थियो भन्ने रहेको पाइयो ।
भक्तपुरको राजदरबार
त्यस्तै अर्को एक पुस्तक पुरुषोतम लोचन श्रेष्ठ र तुल्सि राम वैद्य
(इ.सं.२००२) को ‘भक्तपुरको राजदरबार’ मा पनि पूर्वमध्यकालदेखि, मल्लकालको अन्तिम अवस्थासम्मका दरबारहरू खोज्ने प्रयास गरिएको छ । पुस्तकका लेखकद्वय श्रेष्ठ र वैद्यले भक्तपुरका नवदुर्गामध्ये केन्द्रमा रहेको त्रिपुरसुन्दरीलाई केन्द्र मानी त्रि–गणेश, अष्टमातृकाहरू आनन्द देवले बनाएको बताएका छन् । त्यस्तै त्रिपुरसुन्दरी, त्रिपुर विद्यापीठ परिसर नै त्रिपुर राजदरबारको केन्द्र हुनुपर्ने अनुमान गरिएको छ । तिवारीका विपरीत त्रिपुर दरबारको सीमाङ्कनसमेत सुकुढोका, चासुखेल क्वाछेँ र विद्यापीठको घेराभित्र हुनसक्ने भनी नक्साङ्कन गरिएको छ ।
पुस्तकमा दरबारको बारेमा पाइएसम्मका लिखित सामग्रीका आधारमा व्याख्या गरिएको पाइन्छ । अन्तिम समयमा बनाइएको पचपन्न झ्याले दरबारसम्मको सम्पूर्ण ऐतिहासिक अभिलेखहरू तथा स्थानहरूको व्याख्या प्रस्तुत गरिएको छ । जनस्रुतिमा रहेको भक्तपुर दरबारको उनान्नसय चोकमध्ये सत्र चोकको जानकारी पनि प्रस्तुत गरिएको छ । दरबार वरपर विभिन्न कालखण्डमा मल्ल राजाहरूले स्थापना गरेका मन्दिर, पाटी, सत्तल, ढुङ्गेधाराहरूको जानकारी र त्यसमा भेटिएसम्मका अभिलेखसमेत पुस्तकमा पस्किएका छन् । यी दुई पुस्तकको तुलना गर्दा त्रिपुरदरबारसम्बन्धी अलग–अलग मत रहेको छ । फरक फरक प्रमाणहरू प्रस्तुत गरी लेखकहरूले आफ्ना धारणाहरू पस्किएका छन् । जुन पुरातात्विक अन्वेषण नगरिएसम्म यहीँ ठीक हो भन्न सकिने भरपर्दो आधार छैन ।
छलफल
भक्तपुर नेवाः संस्कृतिका अन्य प्रायः पुस्तकमा अहिले भौतिक रूपमा जे देखिन्छ त्यसकै आधारमा वा केही स्थानीय बासिन्दाले भनेको आधारमा लेखिएको हुन्थ्यो । यस पुस्तकका लेखकले पनि पुराना दन्त्य कथाहरू, जात्राका किंवदन्तीहरूलाई जोड्न खोज्नुभएको छ । तर, ती मिथकलाई तार्किक र विश्लेषणात्मक हिसाबले सत्यताको नजिक पु¥याउने कोसिसमा अलि कमी भएको पाठकले महसुस गर्ने सम्भावना छ । पुस्तकमा विभिन्न प्रसङ्गको सिलसिला एकपछि अर्को मिलेमा पाठकलाई पढ्नमा आनन्द आउँथ्यो । कहीँ एउटै प्रसङ्ग फरक पाठमा दोहोरिएको पाइन्छ । विभिन्न मिथक र किंवदन्ती स्थानीय रूपमा सुनेको भन्दा फरक भएकोले र उचित तर्क नपाउँदा पाठकका मनमा प्रश्नहरू जन्मिने सम्भावना रहन सक्छ । सुरुकै अध्यायमा तुलाछेँको अभिलेखसँग गाँसिएर तौलाछेँको व्याख्या पाइएकाले पाठकलाई द्विविधा उत्पन्न हुने सम्भावना छ ।
उहाँकै पुरानो पुस्तक ‘द ब्रिक एन्ड द बुल’, हाडीगाउँ (इ.सं. २००२) विषयक पुस्तकमा भन्दा यसमा पाठकलाई द्विविधा हुने सम्भावना बढी छ । हुन त हाँडीगाउँको पुस्तकमा पनि विवाद नभएको होइन । तर, त्यहाँ जुन हिसाबले प्रमाणहरू र किंवदन्तीहरूको तर्कले रोचक बनाएको थियो, यसमा आफूले सुनेका भन्दा फरक पाउँदा द्विविधा बढ्यो । त्यसको एउटा कारण जुन विषयको वा शीर्षकको किताब हो, त्यसमा केन्द्रिकृत अलि कम भएर हो कि ? शीर्षकको रूपमा ‘भक्तपुर, एक मल्ल नेपाल मण्डलको राजधानी’ भन्ने छ । तर, सोही विषय भन्दा सूचनाहरू छरिएर रहेका छन् । लेखक आर्किटेक्टसमेत हुनुभएकोले नक्साहरू विस्तारित र सूक्ष्म देखिएको भए सुनमा सुगन्ध हुने थियो ।
उहाँले यस पुस्तकमा गुणात्मक हिसाबले अध्ययन गर्नुभएको छ । हुन त यो शैलीमा गणित र विज्ञानमा जस्तै ठ्याक्कै परिणाम नआउन सक्छ । तैपनि जति सकिन्छ मौलिक र प्राथमिक स्रोतहरू प्रयोग गर्दा अनुसन्धानको विश्वसनियता बढ्ने हो । उहाँले पनि शिलालेख, ताडपत्रजस्ता मौलिक स्रोतहरू प्रयोग गर्नुभएको छ ।
निष्कर्ष
भक्तपुर नगरको प्राचीनकालदेखि मध्यकालीन समयसम्मका विभिन्न विश्लेषणहरू यसमा प्रस्तुत गरिएका छन् । हरेक किसिमले प्रमाणहरू पेस गर्ने सन्दर्भमा ताडपत्र, अभिलेख, वंशावली र किंवदन्तीहरू प्रस्तुत गरिएको पाइन्छ । यी सबैको माध्यमबाट मध्यकालीन भक्तपुरको राजधानीको चित्रण र त्यतिबेलाको ‘त्रिपुर दरबार’ को स्थानको गुणात्मक विश्लेषण र नक्सामार्फत प्रस्तुत गरिएको छ । यस क्रममा कतिपय किंवदन्तीलाई नै प्रमाणका रूपमा पेस गर्ने, हरेक प्रसङ्गलाई किंवदन्ती र कथामार्फत जोड्दा अतिशयोक्ति देखिएका छन् । तुलाछेँ र तौलाछेँको भेद नछुट्टिनाले एक स्थानमा पाइएको अभिलेखको आधारमा अर्को स्थानको व्याख्या गरिएको जस्ता कमी कमजोरी पनि छन् ।
कतै अभिलेखमा पाइएको वाक्यको आधारलाई हजारौँ वर्षको अन्तरलाई हालको परिस्थिति सँग तुलना गर्न खोजिएको पाइन्छ । अङ्ग्रेजी भाषाका लामो वाक्यले पनि पुस्तक अध्ययन गर्ने पाठकलाई केही सकस हुने सम्भावना छ । अन्तिम पाठ लेखक आफै संलग्न भई पुनःनिर्माणका थुप्रै अनुभवी कुरा पढ्न पाइयो । तर, पुस्तकको शीर्षकको आधारमा यो प्रसङ्ग यसमा असुहाउँदो पो हो कि ? तापनि पुस्तक समग्रमा गुणात्मक शैली प्रयोग गरी इतिहास पुनःसंरचना गर्ने विभिन्न आधारहरू सिक्न सकिने हुनाले सामाजिक विज्ञान, सहर निर्माण र इतिहासमा रुचि राख्ने सबैले पढ्नै पर्ने पुस्तक हो । तर, नयाँ विद्यार्थीले पढ्दा धेरै अल्मलिने र यसका केही त्रुटीलाई नै सही ठान्ने सम्भावना रहेकोले सच्याएर पुनः प्रकाशन गर्नुपर्ने देखिन्छ ।
सन्दर्भ सामग्री सूची
– कायष्ठ, बलराम. (वि.सं.२०७०). भक्तपुरको विश्वयात्रा (बिस्केट) को सामाजिक र सांस्कृतिक अध्ययन. अप्रकाशित विद्यावारिधि शोध. त्रि.वि., किर्तिपुर ।
– धौभडेल, ओम. (वि.सं.२०७४). स्वंग लोहँ (तीन ढुङ्गा) को इतिहास. खोपृङ सङ्ग्रह. १. भक्तपुर विकास सहयोग सङ्घ, काठमाडौँ ।
– प्रजापति, सृजना. (वि.सं. २०७६). भक्तपुर सहरको उत्तर मल्लकालमा विस्तारित स्थानहरू, भार्वाचो र इताछेँ बस्तीक्षेत्रको अध्ययन. अप्रकाशित स्नातक शोध. ख्वप इ. कलेज, भक्तपुर ।
बज्राचार्य, धनबज्र. (वि.सं.२०३०). लिच्छविकालका अभिलेख. नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रि.वि., कीर्तिपुर ।
– राज, योगेश. (वि.सं.२०७७). ख्वपया लिच्छवि अभिलेख. लुँध्वाखा. २७, १, ११८, कुतः पिकाक, नेपाल मण्डल ।
– श्री पिरमहन्ते क्षिप्रानाथ योगिराज गोरक्षराष्ट्र नेपाल सिद्धाचल मृगस्थली. (मिति नभएको). गोरक्ष ग्रन्थमालायामष्टा शीतिमि पुष्पम् ८८ (देवमाला वंशावली). श्री पिरमहन्ते क्षिप्रानाथ योगीराज गोरक्षराष्ट्र नेपाल सिद्धाचल मृगस्थली ।
– श्रेष्ठ, पुरुषोतम लोचन. (वि.सं.२०६०). भक्तपुरको नवदुर्गा गण. बबिता श्रेष्ठ, भक्तपुर ।
Bangdel, L. S. (1995). Inventory of stone sculptures of the kathmandu valley. Royal Nepal Academy, kathmandu.
Gutschow, N., & Kolver, B. (1975). Ordered space: Concepts and functions in a town of Nepal ; with 16 plates and 3 maps. Steiner [in Komm.].
Raj, Y. B.S. 2061. Sivagala, Chanigala and Vandimgala. Ancient Nepal. V.156, Puratatwa bibhag, Kathmandu.
Tiwari, S.R. (2001). The ancient settlements of the Kathmandu valley .Centre for Nepal and Asian studies, T.U., Kirtipur.
Tiwari, S. R. (2002). The brick and the bull: An account of Handigaun, the ancient capital of Nepal. Himal Books.
Vaidya, T. R., & Sresh?ha, P. L. 2002. Bhaktapur Rajdarbar. Centre for Nepal and Asian Studies, Tribhuvan University.
– समाप्त
(पेसाले आर्किटेक्ट प्रजापति हाल नेपाली इतिहास, संस्कृति, पुरातत्व विभाग, त्रिविमा पीएचडी गर्दै छिन् ।)
थप सुझाव र प्रतिक्रियाको लागि :
email: methodconsultancy 5@gmail.com
Leave a Reply