भर्खरै :

दैलेख बारमा अध्यक्ष पाँच मतले विजयी

दैलेख बारमा अध्यक्ष पाँच मतले विजयी

दैलेख, ७ असार । दैलेख जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिको निर्वाचन असार ६ गते शुक्रबार सम्पन्न भयो । निर्वाचन अधिकृत ललितबहादुर मल्लले बार कार्यसमितिको अध्यक्ष पदका लागि भएको निर्वाचन अभिवक्ता प्रेमबहादुर थापा ५ मत प्राप्त गरी विजयी भएको घोषणा गर्नुभयो ।
कानुन अध्ययन समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता शिवराज दाहालले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको थियो ।
अध्यक्ष पदका प्रत्यासी अधिवक्ता यमराज थापाले ३ मत प्राप्त गर्नुभएको थियो । अर्का उम्मेदवार अधिवक्ता सर्वराज जोशीले १ मत प्राप्त गर्नुभएको थियो ।
दैलेख जिल्ला बारमा कुल २६ मतदाता रहेकोमा जम्मा १० जनाले मात्रै मतदान प्रक्रियामा भाग लिएको र अध्यक्षबाहेक अन्य पदहरू आपसी सहमतिमा तय गरी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । जसअनुसार अध्यक्ष प्रत्यासी उम्मेदवारहरूलाई कार्यसमिति सदस्यमा राखिएको अधिवक्ता शिवराज दाहालले बताउनुभयो ।

भक्तपुर र काठमाडौँमा पनि निर्वाचन
भक्तपुर जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । तालिकाअनुसार साउन १० गते हुने निर्वाचनको लागि मतदाता नामावली प्रकाशन, दाबी विरोध, अन्तिम मतदाता नामावली, उम्मेदवारी दर्खास्त दर्ता र उम्मेदवारहरूको नामावली प्रकाशनसम्मको कार्यक्रम एकै दिन साउन २ गते बिहान ११ बजेदेखि दिनको ३ः३० बजेसम्म राखिएको व्यवहारिक नभएको भन्दै आपत्ति जनाइएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि २० हजार, अन्य पदाधिकारीका लागि १५ हजार र सदस्य पदका लागि १० हजार उम्मेदवारी शुल्क तोक्नु निकै चर्को भएकोमा विरोध गरिएको छ ।
त्यसैगरी काठमाडौँ जिल्ला अदालत बार एशोसिएसनको कार्यसमितिका लागि असार २८ गते हुने निर्वाचनका लागि पनि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको छ । काठमाडौँ जिल्ला बारका लागि अध्यक्ष पदका लागि ३५ हजार, अन्य पदका लागि २५ हजार र सदस्य पदका लागि २० हजार उम्मेदवारी शुल्क तोकिएको छ ।
चर्को उम्मेदवारी शुल्कबाट बार कार्यसमितिले न्यायका भोका गरिब निमुखाको न्याय, समानता र मानव अधिकारको लागि निःस्वार्थ सेवा नगर्ने बरु आफ्नो खर्च र लगानी उठाउन न्यायाधीशहरूसँग उठबस गर्ने, बिचौलिया बन्न तयार बन्ने गरेको यथार्थ भएको व्यापक चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *