भर्खरै :

हस्तकला, कृषि उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड

हस्तकला, कृषि उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड

भक्तपुर, ८ असार । वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैँजूले स्थानीय हस्तकला, कृषि उत्पादन कुनै पनि जिल्लाको आर्थिक जग भएकोले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना एवं उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा सञ्चालन भएको स्थानीय सीप तथा उत्पादन व्यापार मेला एवं खाना महोत्सव २०८२ को आइतबार उद्घाटन गर्दै प्रदेशसभा सदस्य सैँजूले स्थानीय मौलिक उत्पादनहरू एवं स्थानीय स्रोत तथा साधनबाट निर्मित हस्तकलाका सामग्रीहरू प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
युवाहरूको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले देशमै स्वरोजगार सिर्जना गर्नका लागि सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले हरेक १ मिनेटमा तीनजना युवा विदेश गइरहेको भन्दै युवाहरूको बढ्दो विदेश पलायन रोक्न सरकारले कुनै प्रयास नगरेको बताउनुभयो ।
मौलिक संस्कृतिबारे युवा पुस्तालाई जानकार गराउँदै उहाँले मौलिक सीप हस्तान्तरण गर्न सकिएमा स्वरोजगारमा वृद्धि हुने उल्लेख गर्नुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष रोशनीमैया धौबन्जाले प्रतिस्पर्धी व्यवसायिक कृषि, दिगो पर्यटन तथा निर्यातमुखी हस्तकला एवं जिल्लाका अन्य उद्योग व्यवसायहरूको समेत प्रवद्र्धन तथा विकास गर्ने सङ्घको दृष्टिकोणलाई मध्यनजर गर्दै जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट निर्मित हस्तकलाका सामानहरू, औद्योगिक उत्पानहरूको प्रवद्र्धन तथा नवीन सम्भावनाहरूको पहिचान र सदुपयोग गरी जिल्लाको आर्थिक उत्थानमा टेवा पु¥याउन व्यापार मेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मेला आयोजनाबाट भक्तपुर जिल्लाको आर्थिक, सामाजिक एवं सांस्कृतिक गतिविधिहरू वृद्धि भई विकासमा नयाँ आयाम कोरिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, राष्ट्रि«य उपभोक्ता मञ्च जिल्ला शाखा भक्तपुरका अध्यक्ष मनोज थापा, भक्तपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महासचिव नवीन प्रजापतिले आआफ्नो धारणा राख्नुभएको थियो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा जिल्लामा शुक्रबारदेखि सञ्चालित भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला एवं खाना महोत्सव सम्पन्न भएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा मेला सञ्चालन गरिएको हो । शुक्रबार र शनिबार भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला २०८२ र आइतबार स्थानीय सीप तथा उत्पादन व्यापार मेला एवं खाना महोत्सव २०८२ आयोजना गरिएको हो । भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेलाको वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नुभएको थियो ।
सङ्घका अनुसार मेलामा करिब १० हजार जनाले अवलोकन गरेका छन् भने ५० लाख हाराहारीमा कारोबार भएको छ । मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरू, चित्रकला, मूर्तिकला, मकुन्डो, भादगाउँले कालो टोपी, भोजपुरे खुकुरीलगायतका प्रदर्शनी स्टल, औद्योगिक उत्पादनका व्यापारिक स्टल, स्थानीय खानाका स्टल गरी ४३ वटा स्टल रहेका थिए । मेलामा बालबालिकाहरूलाई मनोरञ्जनको लागि बाल उद्यान राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *