स्थानीय स्काउटको शुभकामना आदानप्रदान
- कार्तिक ६, २०८२
भक्तपुर, ९ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ वागीश्वरी मा.वि. च्याह्मासिंहको आयोजनामा ‘स्व. शिक्षिका शोभा प्रधानको तेस्रो स्मृति सभा’ आइतबार विद्यालयको सभा कक्षमा सम्पन्न भयो ।
नेमकिपाका तर्फबाट वाग्मती प्रदेश सभासद् एवं नेक्रामसङ्घ भक्तपुरका अध्यक्ष सृर्जना सैंजुको आतिथ्यमा भएको उक्त सभामा उहाँले शिक्षिका शोभा प्रधानले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र नभई धेरै सहकर्मी साथीहरूलाई समेत जीवन पढाउनुभएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “पाठ्यपुस्तक पढाउने केवल शिक्षक हुन्छ भने जीवन पढाउने गुरू हुन्छ । त्यसैले शोभा भाउजू शिक्षिका नभई गुरूआमा हुनुहुन्थ्यो किनभने उहाँले हामीलाई जीवन के हो ? कसरी जिउनुपर्छ भन्ने सिकाएर जानुभयो ।”
२०४५ सालको भक्तपुर काण्डजस्तो अत्यन्त असहज परिस्थितिमा समेत धैर्यका साथ शत्रुको सामना गरेको चर्चा गर्दै प्रदेश सांसद संैजुले उहाँको त्यही दृढताले नेपाल क्रान्तिकारी महिला सङ्घले थप जीवन पाएको र भक्तपुर काण्डको षड्यन्त्र उजागर भएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अन्ततः राज्यस्तरबाट रचिएको षड्यन्त्र असफलमात्र भएन† पञ्चायती व्यवस्था नै भङ्ग भयो ।”
उहाँको जीवनको अर्को कठिन अवस्था स्तन क्यान्सरको बेला देखिएको थियो तर उहाँले त्यसलाई आत्मविश्वासका साथ देशमै उपचार गरेर निको पार्नुभयो भन्दै सांसद सैंजुले त्यसपछि महिलाहरूमाझ स्वास्थ्य चेतना जगाउन उहाँकै अगुवाइमा टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन भएको स्मरण गर्नुभयो ।
उक्त स्वास्थ्य शिविरहरूले भक्तपुरका महिलाहरूमा क्यान्सरबारे धेरै जनचेतना जागेको उल्लेख गर्दैै उहाँले भन्नुभयो, “२० वर्षपछि उहाँलाई पाठेघरको क्यान्सर भयो । सरकारी सहयोगविना यही उपचार गर्नेमा उहाँ अडिग हुनुहुन्थ्यो । अन्तिम अवस्थामा पनि म क्यान्सरलाई जितेरै छाड्छु भन्ने उच्च मनोबलमा हुनुहुन्थ्यो तर उहाँलाई क्यान्सरले हराएरै छाड्यो । उहाँको मौलिक शरीर हाम्रोमाझ नभए पनि हामी उहाँलाई हाम्रा प्रकाशनहरूका सधैँ भेटिरहनेछौँ ।”
सभामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले शोभा प्रधानप्रति श्रद्धाञ्जली शब्दमा भन्दा पनि उहाँको जीवनशैली अङ्गालेर व्यक्त गर्नुपर्ने बताउनुभयो ।
शोभा मिसको सरलता, मृदुभाषी बोली व्यवहार मात्र नभई शत्रुसमक्ष रतिभर नझुक्ने दृढता सिक्नुपर्ने चर्चा गर्दै अध्यक्ष प्रजापतिले २०६० सालमा भएको शिक्षक आन्दोलनमा भोटाहिटीबाट पक्रेर हलचोकस्थित सशस्त्र प्रहरी क्याम्पमा थुनिँदा क्याम्पभित्रै पनि आन्दोलनको गतिविधि गरे गराएबाट उहाँको सङ्घर्षशीलता प्रस्ट हुन्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष रामलक्ष्मी कोजुको सभापतित्वमा भएको उक्त सभामा स्त्रीरोग विशेषज्ञ डा. कृष्णप्यारी दुगुजुले महिलाहरू सचेत भए पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सकिने बताउनुभयो ।
टोलटोलमा स्वास्थ्य शिविरलाई पुनः निरन्तरता दिनुपर्नेमा जोड दिँदै डा. दुगुजुले चिकित्सकसामु रोगलाई नलुकाई भन्न आग्रह गर्दै गोप्य अङ्ग सुक्खा र सफा राख्न सुझाव दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यका साथै प्रा.डा. सिद्धिवीर कर्माचार्य, शिक्षिका सीता कार्की र कविता प्रजापतिले पनि शोभा प्रधानको स्मरणमा आ–आफ्नो विचार राख्नुभएको थियो ।
शोभा प्रधानले वागीश्वरी माविमा २०४० सालदेखि २०७६ सालसम्म शिक्षण गर्नुभएको थियो । अवकाशपछि भएको बिदाइ कार्यक्रममा शिक्षिका शोभा प्रधानले विद्यालयका शिक्षक/कर्मचारीको स्वास्थ्योपचारको निमित्त रू. दुई लाखको अक्षय कोषको स्थापना गर्नुभएको थियो । सो कोषमा विद्यालय तथा विभिन्न शिक्षकहरूले रकम थपिँदा हाल रू. २१ लाखभन्दा बढी पुगेको बताइएको छ ।
सोही स्मृतिसभामा प्रा.डा. सिद्धिवीर कर्माचार्यले रू. एक लाख चार हजार चार सय चवालीस रूपैयाँ थप्न चेक हस्तान्तरण गर्नुभयो । गत वर्ष पनि प्रा.डा. कर्माचार्यले त्यति नै रकम कोषमा जम्मा गर्नुभएको थियो ।
Leave a Reply