भर्खरै :

चाँगुनारायण नपामा नेमकिपाद्वारा ध्यानाकर्षण

चाँगुनारायण नपामा नेमकिपाद्वारा ध्यानाकर्षण

भक्तपुर, ९ असार । प्रतिनिधिसभा र प्रदेशसभामा आर्थिक वर्ष २०८२/०८३ को सरकारी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएसँगै स्थानीय तहमा पनि गाउँपालिका र नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै छन् । यसैबिच नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समिति भक्तपुरले चाँगुनारायण नगरपालिकाको कार्यालयमा आ.व.०८२/०८३ को नीति तथा कार्यक्रममा चाँगुका जनता र देशको पक्षमा विभिन्न विषय समेट्न आग्रह गर्दै ध्यानाकर्षण गरेको छ ।
चाँगुनारायण नगरवासीहरूको चाहना, आवश्यकता, अपेक्षा र प्राथमिकतालाई ध्यानमा राखी आवश्यक बजेटको व्यवस्थापन गर्न नेमकिपा चाँगुनारायण नगर समिति भक्तपुरका अध्यक्ष न्हुछेभक्त फोजुले सो ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा एक घर एक रोजगारको व्यवस्था गर्न, प्रत्येक वडामा घरदैलो नर्सिङ सेवाको व्यवस्था गर्न, कृषिमा आत्मनिर्भर बनाउन कृषकहरूलाई आवश्यक मलखाद्, बीउबिजन, कीटनाशक औषधि, कृषि औजारहरू उपलब्ध गराउन, ५८ वर्ष उमेर पुगेका किसानहरूलाई परिचय वितरणका साथै निवृत्तिभरणको व्यवस्था गर्न, प्राङ्गारिक मल उत्पादन गरी किसानहरूलाई सस्तो र सुलभ तवरबाट वितरण गर्नुपर्ने उल्लेख छ ।
ज्येष्ठ नागरिकहरूको सम्मानको लागि प्रत्येक वडामा आदर निकेतनको व्यवस्था गर्न, प्रत्येक वडामा शिशुशाला र बाल उद्यानको व्यवस्था गर्न, आधारभूत विद्यालय र माध्यमिक विद्यालयमा कम्प्युटर सहायकको दरबन्दीको व्यवस्था गर्न, ५० वर्ष उमेर पुगेका सम्बन्ध विच्छेद भएका महिलालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
रु. १ करोडसम्मको विकास बजेट उपभोक्ता समितिमार्फत गराउने व्यवस्था मिलाउन, अवैधरूपमा सञ्चालित प्लटिङ कार्य बन्द गरी नगरपालिकाबाट आवश्यकताअनुसारको नगर विकास योजना सञ्चालन गर्न, प्रत्येक विद्यालयमा खेलकुद, गीत, सङ्गीत तथा चित्रकला शिक्षकको व्यवस्था गर्न, भूमाफिया तथा अन्यको कब्जामा रहेको सार्वजनिक जग्गा, सार्वजनिक पोखरी, पाटी पौवा, मठ मन्दिर फिर्ता गरी संरक्षण गर्नुपर्ने विषयमा पनि नगर समितिल चाँगु नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।
त्यस्तै स्वास्थ्य बीमा निःशुल्क गर्न, चानपा ५ को रातो पाटी, चानपा ३ र २ को खासाङखुसुङ खोला, चानपा ३ को महादेव खोला, चानपा ७, ८ र ९ को घट्टेखोला र चानपा ९ को तव्याखुसीलगायत अन्य खहरे खोलामा व्यवस्थित कोरिडोर निर्माण कार्य थालनी गर्न, चारित्रिक प्रमाणपत्र धितो लिई उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई न्यून प्रतिशत ब्याजमा रु.५ लाखसम्म शैक्षिक ऋण प्रदान गर्न, नेपाल इन्जिनियरिङ कलेज चाँगु नगरपालिकाद्वारा सञ्चालन गर्न, प्रत्येक वडाका खुला क्षेत्रमा खुला व्यायामशाला स्थापना गर्न र स्वास्थ्य चौकीलाई स्तरोन्नीति गरी नगरपालिकाको पूर्वी क्षेत्रमा नगर अस्पतालको शाखा विस्तार गर्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *