“सरकारले भ्रष्टाचारीहरूलाई कारबाही र निर्वाचनकेन्द्रित काममात्र गर्नुपर्छ”
- कार्तिक २२, २०८२

भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौँ नगर सभाको बैठक मङ्गलबार पनि चालु रह्यो । उक्त बैठकमा भक्तपुर नपाको आ.व. २०८२/८३ को बजेटमाथि छलफल भयो ।
बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८२/०८३ को बजेटमाथि भएको दफावार छलफलमा सभासद्हरूले भक्तपुर नगरपालिकाको प्रस्तावित बजेट स्वागतयोग्य र प्रशंसनीय भएको बताउनुभयो ।
बजेटमाथिको छलफलमा भाग लिँदै सभासद् मन्जुमैंया लाखाजुले भक्तपुर नपाबाट सञ्चालित विभिन्न तालिम प्राप्त प्रशिक्षार्थीहरू हाल कुन क्षेत्रमा रोजगारी गरिरहेका छन् सोको तथ्याङ्क सङ्कलन गर्नुपर्ने, भक्तपुरका सांस्कृतिक सम्पदाहरूमा मन्दिरको सङ्क्षिप्त जानकारीसहितको चिनारी र पदमार्ग चिह्न राख्नुपर्ने, देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् हेरा ख्याजूले हनुमानघाटस्थित सत्तल पुनःनिर्माण गर्नुपर्ने, कृषिमा यान्त्रीकरण गर्न बजेट विनियोजन गर्नुपर्ने र कौसी खेती तालिमलाई पुनःसञ्चालन गर्नुपर्ने विचार राख्नुभयो ।
सभासद् श्यामसुन्दर मातांले सहिद स्मृति खेलमैदान स्तरोन्नति कार्य यथाशक्य सञ्चालन गर्नुपर्ने, अस्थायी, करार, दैनिक ज्यालादारी र मासिक ज्यालादारीका कर्मचारीको नागरिक लगानी कोष र पोशाक भत्ताको विषयलाई पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।
सभासद् पुरुषोत्तम तमखुले नपाको आन्तरिक आय बढाउनेतर्फ पहल गर्नुपर्ने, इखालाछी पुनःनिर्माणको लागि बजेट अपुग रहेको र नपाभित्र गठित विभिन्न टोलसुधार समिति तथा विकास संस्थाहरूमा हुने आम्दानीलाई नपामा गाभिनुपर्ने बताउनुभयो ।
सभासद् नारायणप्रसाद त्वानाबासुले व्यवसाय कर र सफाइ कर वृद्धि गर्न घुम्ती टोली व्यवस्थापन गरी नगरवासीहरूलाई करको दायरामा ल्याउनुपर्ने, स्वयम्सेवक शिक्षकको पारिश्रमिक खर्चको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
सभासद् रामसुन्दर बासीले वडा वडामा विनियोजित बजेट वृद्धि गर्नुपर्ने, बजेटलाई सफल कार्यान्वयनतर्फ जोड दिनुपर्ने धारणा राख्नुभयो ।
सभाको विशेष समयमा सभासद्हरू कल्पना शिल्पकार, सुमित्रा बोहजू, सरिना द्योला, इन्द्रबहादुर प्याठ, हरिरत्न गोर्खाली, कृष्णलाल किसी, हेरा ख्याजू, कृष्णनारायण दुमरु, जितेन्द्र मुनंकर्मी, श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, कृष्णसुन्दर प्रजापति र गोविन्द दुवालले नगरको शिक्षा, स्वास्थ्य, सहकारी, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्या र अन्य समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरूमा आ–आफ्नो धारणा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि समितिका संयोजक तथा सदस्यहरूले सम्बन्धित विषयमा प्रस्ट पार्नुभयो ।
नगर सभाको अर्को बैठक असार १२ गते बिहीबार दिनको १ बजे बस्नेछ ।
Leave a Reply