जारशाही संसद्मा बोल्शेभिक सांसद–४
- कार्तिक २२, २०८२

नेवाः संस्कृति एक धनी र जीवित प्राचिन संस्कृति हो । तर, आजकल पश्चिमा संस्कृतिको प्रभाव÷दबाबका कारण ओझेलमा पर्दै छ । कति संस्कृति आफ्नै आँखा अगाडि नष्ट हुने सङ्घारमा छ । नेवाः भाषा/नेपालभाषा, प्रचलित, रञ्जना, भुजिगोल लिपिका कति थ्यासफू विदेशी पुस्तकालयमा छन् । कति समयकालमा नष्ट भए, कति जलाइए । नेपालकै राष्ट्रिय अभिलेखालयमा अझै कति सङ्ग्रहित छन् । तर, आजको व्यावसायिक जमानामा त्यसको महत्व/मूल्य बुझ्ने कसले ? ज्ञान आर्जन गरेर पनि पुँजी बनाउन सकिन्छ भन्नेमा धेरैको ध्यान छैन । किनकि, यो निकै लामो प्रक्रिया हुनसक्छ । जसरी प्राकृतिक चिकित्सा प्रणाली तथा आयुर्वेदले अहिलेको एलोपेथी औषधिभन्दा बढी समय लिन्छ तर पूर्ण निको पार्छ ।
नेवाः संस्कृतिकै विभिन्न कु
रा गर्दै गर्दा थ्यासफूका कुरा किन आए भन्नुहोला । आजको वैज्ञानिक युगमा सबैलाई हरेक कुराको कारण चाहिएको छ । जुन हाम्रो पुर्खामा केही शताब्दी ग्यापको कारण बिर्सिसकेका छन् । जसले गर्दा ज्ञानका कुराहरू परम्परा र संस्कृतिमात्रै जस्तो देखिन आएको छ । अलि गहिरिएर हेर्ने हो भने नेवाः संस्कृतिमा इतिहास र विज्ञानका कुरालाई नै परम्पराको रूपमा प्रस्तुत गरिएको छ । त्यही बानीले जीवनशैली बन्छ र स्वास्थ्य पनि आफैँ ठीक रहन्छ । चाडवर्षको नाममा सिजनल खाद्य (मौसमअनुसार)
खानु । यसमा जाडो सुरु हुनुअघि पञ्चदान पर्व र गाईजात्रामा क्वाति, त्यसपछि योमरी र मध्य जाडोमा घ्यू र चाकुजस्ता गरम खाद्य खाने परम्परा/गर्मी र वर्षा मौसम (सिथिःनखा) मा बारा खानु आदि ।
आजकल अनुसन्धान कार्यमा विविध विषयको सम्मिश्रण (Multi-disciplinary) को चलन आएको छ । यसले गर्दा एउटै अनुसन्धानलाई विविध दृष्टिकोणबाट नियाल्ने र विश्लेषण गर्न मद्दत गर्छ । उदाहरणको रूपमा एक साथीको केही समय अगाडि हात र खुट्टाको समस्याले ग्रस्त भए । एलोपेथिक अनेक औषधि, फिजियोथेरापी, विभिन्न जाँच (MRIआदि) गर्दा पनि न रोग पत्ता लाग्यो न त समाधान नै ।
नसा रोग विशेषज्ञ भनेर भक्तपुर, काठमाडौँ र पाटनको अस्पताल र क्लिनिक धाए । त्यसपछि फिजियोथेरापि पनि महिनौँ धाएँ, तर उपचार भएन । अन्ततः अकुपञ्चरको उपचारले हल्का राहत भयो । साथसाथै एउटै स्थिति (Position) मा लामो समय नबस्ने गरी बेलाबेलामा हिँडडुल गर्नुपर्छ भन्ने सल्लाह पाइन् । दैनिक घाममा तेल लगाएर बस्ने सल्लाह पनि पाइन् । कुराकानीकै शिलशिलामा अन्य देशमा त एउटै बिरामीको प्रकृति हेरी कुन उपचार ठीक हुन्छ भन्ने प्रतिनिधि डाक्टरहरूबिच छलफल नै हुन्छ भन्ने कुरा उठ्यो । जस्तो कि हात खुट्टा भाँचेकोलाई तत्काल आधुनिक उपचार गराउनुपर्ला, पुरानो दीर्घ रोगमा आयुर्वेदिक चिकित्साले काम गर्ला वा कति रोगहरू सही खानपानले पनि ठीक पार्ला ।
यी कुराहरू सुनेपछि नेवाः संस्कृति/संस्कारमै कत्ति अकुपञ्चर र अकुप्रेसरका कुराहरू जोडिएको पाएँ । जुन अहिले विस्तारै हराउन थालेको छ । चीन, जापान र कोरियाली देशहरूमा उच्चतम विकासमा पुगेको अकुपञ्चर, अकुप्रेसर र रिफ्लेक्सोलोजीले बिनासाइड इफेक्ट धेरै रोग निको पार्छ । यसको उपचारका बिन्दुहरू हात, खुट्टा, कान र पुरै शरिरका नसाहरूमा हुन्छन् । अकुपञ्चर र अकुप्रेसरमा जहाँ समास्या परेको हो त्यहीँ उपचार गरिन्छ भने रिफ्लेक्सोलोजीमा त्यसकै प्रतिनिधि बिन्दुहरू हात वा खुट्टामा पत्ता लगाई उपचार गरिन्छ । यसको अनुसन्धान सोही विषय विज्ञले गर्न जरुरी छ ।
हाम्रो सुकुलमा बस्ने संस्कृति हो ।
नेवाः संस्कृतिमा परालका विभिन्न किसिमका सुकुलहरू बुन्थे । घरको चोटामा ठुलो सुकुल, अहिले कार्पेट र गलैँचाले विस्थापन गरिसके । ‘चाकला सुकु’ (गोलाकार सुकुल) एकजना बस्नलाई प्रयोग गरिन्थ्यो । दैनिक खाना खान र भोजको लागि लामो तर कम चौडाइको सुकुल प्रयोग हुन्थ्यो । आजकल व्यावसायिकरूपमा कुर्सीका रूपमा पनि यस्ता परालकै बुन्ने चलन आएको छ । तर, त्यति चलनचल्तिमा देखिँदैन । पहिले घर–घरमा दैनिक ओछ्याइने सुकुल अहिले भोजको बेलामा समेत ओछ्याइएको पाइँदैन ।
अर्को संस्कृति निधारमा टीका लगाउने हो । नेवाः संस्कृतिमा केटीहरूले दुई आँखीभौको बिचमा टीका लगाइन्छ । जुन टाउको दुखाइ निको पार्ने अकुप्रेसर बिन्दुमा पर्छ । यो बिन्दु शरीरको सात चक्रहरूमध्ये एक पर्छ । आजकल नयाँ पिँढीकाहरूले टीका लगाउनुलाई धार्मिक अन्धपन भन्ठान्छन् र लगाउन मान्दैनन् । कसैले कारण सोधेमा पुरानो पिँढीले बताउन जान्दैनन् । त्यसैले, परम्परागत संस्कृतिका कति पक्षलाई धेरै ढङ्गबाट हेरेर स्वीकार्नुपर्छ भने कति कु–परम्परालाई परिमार्जन पनि गर्दै लग्नुपर्छ ।
त्यसैगरी, कानमा प्वाल पार्ने संस्कृतिमा पनि अकुपञ्चर प्रविधि जोडिएको छ । हाम्रो संस्कृतिमा कान छेडाउने संस्कार नै छ । भूकम्पपछिका अकुपञ्चरको क्याम्पहरूमा कानका धेरै बिन्दुहरूमा अकुपञ्चरको सियोले घोचेर मानसिक तनाव घटाउने प्रयास गरिएको थियो । त्यसैले कानका कुन बिन्दुमा प्वाल पार्नेसम्बन्धी विज्ञहरूसँग छलफल गर्न सकिन्छ ।
अर्को एक हराउँदै गएको स्वास्थ्यसँग सम्बन्धित संस्कृति तेल मालिस गर्ने संस्कृति हो । अकुप्रेसर पद्दतिमा जीउको थकान र तनाव मेटाउन तथा उपचारको क्रममा नसामा रगत प्रवाह गर्न विभिन्न मालिस गर्ने प्रक्रिया पनि हुँदोरहेछ । आजकल तेल मालिसको कुरा गर्दा नकारात्मकरूपमा लिने चलन छ । तर, यहाँ संस्कृतिका रूपमा प्रयोग गरिने कुरा मात्र चर्चा गर्न खोजिएको छ । त्यसमा विशेषगरी घ्यु–चाकु सङ्क्रान्तिको दिनमा गरिने तथा बच्चा जन्मिँदा आमा र नवजात शिशुलाई तेल लगाउने चलन पर्छ । घ्यु–चाकु सङ्क्रान्ति माघ महिनाको सङ्क्रान्ति भएकोले जाडो याममा शरीरलाई स्फूर्ति दिने काम गर्छ । साथै घाममा बसेर तेल लगाउनाले भिटामिन ‘डि’ पनि प्राप्त भई हड्डी पनि बलियो हुन्छ ।
आजकल बच्चा जन्मेपछि आमा र शिशुलाई घाममा र राति आगो बालेर तेल मालिस गराउने चलन हराउँदै छ । छाला कालो
होला भन्ने पिरले घाममा बस्दैनन् । तोरीको तेल लगाउनुको सट्टा विदेशी बेबी ओइल लगाइदिन्छन् । यी दुवै कारणले सानै उमेरमा हड्डीको समस्या बढ्दै जाने हुन्छ । अर्कोतिर महँगो तेलको प्रयोगले जीवनशैली खर्चिलो बन्दै जान्छ । नवजात शिशुलाई तेल लगाउँदा विशेषगरी टाउकोको माथिल्लो बिचको भागमा लगाउनु महत्वपूर्ण छ । यो पनि अकुप्रेसरको एक बिन्दु र शरीरको सात चक्रमध्ये एक हो । धेरै तनावको अवस्थामा यो बिन्दुमा हल्का थिच्नाले तत्काल राहत महसुस हुन्छ ।
यी विभिन्न लाभ हुने संस्कृतिका चलनलाई पश्चिमी प्रभावले छोपिँदै लगेर हराउँदै गएको देखिन्छ । पहिले पहिले अन्जानमै पाइरहेका फाइदा आफ्नो संस्कृति र चलनसँगै बिर्सिँदा रोगले च्यापिसकेको हुन्छ । नसाहरूमा रक्त सञ्चार सही तरिकाले नभएपछि ठुला रोग निम्तिने नै हो । त्यसकारण, डा. अरुणा उप्रेतीले स्वास्थ्य र जनजीवनलाई जोडेर बोल्ने र लेख्ने गर्नुभएझैँ अन्य विविध क्षेत्रका डाक्टर (आयुर्वेद, अक्युपञ्चर, अक्युप्रेसर, एलोपेथी, होमियोपेथी, फिजियोथेरापी तथा अन्य) हरूले पनि संस्कृति र स्वास्थ्य जोडिएका विविध पक्षहरूबारे उजागर गर्दै जानुपर्छ ।
(पेसाले आर्किटेक्ट प्रजापति हाल नेपाली इतिहास, संस्कृति, पुरातत्व विभाग, त्रिविमा पीएचडी गर्दै छिन् ।)
Leave a Reply