भर्खरै :

मानवीय मूल्यहरूको गरिमालाई समाजमा स्थापित गर्ने उपन्यास ‘अग्निदीक्षा’

  • असार १२, २०८२
  • नारायण गिरी
  • विचार
मानवीय मूल्यहरूको गरिमालाई समाजमा स्थापित गर्ने उपन्यास ‘अग्निदीक्षा’

(अग्निदीक्षा (हाउ द स्टील वाज टेम्पर्ड) उपन्यास निकोलाई ओस्त्रोभ्स्कीको अमर कृति हो । ओस्त्रोभ्स्कीको जन्म २९ सेप्टेम्बर १९०४ मा युक्रेनको भिलिया नामक गाउँमा गरीब श्रमिक परिवारमा भएको थियो । उनले ११ वर्षको उमेरमा बाल मजदूरको रूपमा काम गर्न सुरू गरेका थिए । उनी सन् १९१९ मा ‘कम्युनिस्ट युथ लीग’ मा सामेल भए र गृहयुद्धमा भाग लिए । सन् १९२३ देखि १९२४ सम्म उनले युक्रेनी सीमा क्षेत्रमा ‘कम्युनिस्ट युथ लीग’ को नेताको रूपमा काम गरे र सन् १९२४ मा कम्युनिस्ट पार्टीमा सामेल भए ।
लामो समयसम्म कठिन सङ्घर्षमा सहभागी भएकाले ओस्त्रोभ्स्कीको स्वास्थ्य गम्भीर थियो । सन् १९२७ सम्ममा उनको स्वास्थ्य नराम्ररी बिग्रियो तर उनले हार मानेनन् र दृढतापूर्वक रोगसँग लडिरहे । उनलाई सुरूमा रूमेटिक ज्वरो र पछि मेरूदण्डको पक्षघात भएको थियो ।
उनले कोटोभ्स्कीको विभाजनको बारेमा एक ऐतिहासिक वीरगाथा (द्ययचल या तजभ क्तचयm) लेख्न सुरू गरेका थिए । तर, यसको समीक्षाको लागि साथीहरूकोमा पठाउँदा एउटा पाण्डुलिपि हरायो । यसले पनि उनको दृढ इच्छाशक्तिमा निराशा पैदा गरेन । बरू उनलाई रोग विरूद्धमा अझ बढी दृढतापूर्वक लड्नको लागि प्रेरित ग¥यो । सन् १९२९ मा उनलाई ‘प्यारालाइसिस’ भयो र दुवै आँखा बन्द भए ।
सन् १९३० मा उनले स्वयं आफ्नो युद्ध अनुभवलाई सामग्रीको रूपमा प्रयोग गरे र दृढ इच्छाशक्तिसँगै ‘हाउ द स्टील वाज टेम्पर्ड’ (अग्निदीक्षा) उपन्यास लेख्न सुरू गरे । यो उपन्यास उनको एक धेरै ठूलो सफलता थियो र यसलाई उनका समकालीनहरूले उत्साहपूर्ण प्रशंसा गरे । सन् १९३४ मा ओस्त्रोभ्स्कीलाई लेखक संघको सदस्यको रूपमा सामेल गरियो । सन् १९३५ को अन्त्यमा सोभियत सरकारले उनका रचनात्मक कार्य र साहित्यमा उत्कृष्ट योगदानको लागि उनलाई ‘अर्डर अफ लेनिन’ ले सम्मानित गरियो । २२ डिसेम्बर १९३६ मा मेरूदण्डको पक्षघात पुनरावृत्तिका कारण मस्कोमा ओस्त्रोभ्स्कीको मृत्यु भयो ।
अग्निदीक्षा उपन्यास एक नयाँ मानव जन्मको कथा हो । यो समाजवादी युगमा क्रान्तिको गर्भबाट पैदा भयो । यसले मानवीय जीवनको उदात् नैसर्गिक सौन्दर्य र सबै मानवीय मूल्यहरूको गरिमालाई समाजमा स्थापित गर्न आफ्नो सर्वस्व समर्पण ग¥यो । यस कृतिले सोभियत रूसका युवा र श्रमिकहरूको बिचबाट कम्युनिस्टहरूको एक पंक्ति पैदा गर्नमा र समाजवादी व्यवस्था निर्माणको महान् कार्यमा आफ्नो सम्पूर्ण शक्ति लगाउने चेतना पैदा गर्नमा धेरै ठूलो भूमिका निभायो । अग्निदीक्षा वास्तवमा निकोलाई ओस्त्रोभ्स्कीको आफ्नो जीवनको कहानी हो, तर यो आत्मकथा नभएर एक उपन्यास हो । आफ्नो जीवनको चरित्रलाई उनले यसरी नयाँ साँचोमा ढालेका छन्, जुन उनको समग्र पुस्ताको जीवनचरित्र बनेको छ ।
अग्निदीक्षा उपन्यास ओस्त्रोभ्स्सकीले सबभन्दा पहिले हातले लेखेका थिए, तर बिरामी भएपछि अक्षर यताउता भएकाले केही पनि पत्ता लाउन असम्भव भयो । पछि अर्का सहयोगी राख्ने सल्लाह दिइयो । उनले पछि यो पुस्तक लेख्नमा आफ्नी पत्नी, बहिनी र आत्मीय मित्रहरूको सहयोग लिएका थिए । उनले यो पुस्तक सन् १९३३ मा पूरा गरेका थिए । यो उपन्यासमा दुई भाग छन् र तिनीहरूमध्ये प्रत्येकमा नौ अध्याय छन् । यिनीहरूलाई बाल्यकाल, किशोरावस्था, युवावस्था, परिवक्व वर्ष र बिरामी गरी विभिन्न उपशीर्षकहरूमा विभाजन गरिएको छ । यो उपन्यासलगायत ओस्त्रोभ्स्कीका सम्पूर्ण साहित्यिक रचनामा बोल्शेभिक क्रान्तिका सहासिक गाथा उल्लेख गरिएको छ ।)
उपन्यासको पूरा कथा
अग्निदीक्षा यसको नायक पाभेल कोर्चागिनको बाल्यकालको एक तस्वीरबाट सुरु हुन्छ । कोर्चागिन शत्रुताले भरिएको परिवेशविरूद्ध सङ्घर्ष गर्दछ, जसबाट उसको विचार परिपक्व हुन्छ र उसले बुझ्छ कि आखिर मेरो आवश्यकता के हो ? म किन यो धर्तिमा छु त्यसपछि उसले परिवेश र सम्पूर्ण समाज–व्यवस्थालाई नयाँ सिराबाट निर्माण गर्दछ । समाजवादका लागि जनताको सङ्घर्षबाट सामाजिक जीवनको आर्थिक स्थितिलाई बदलेर एक नयाँ समाजवादी चेतनालाई जन्म दिन्छ र सामाजिक तथा वैयक्तिक आचरणको एक नयाँ मापदण्ड स्थापना गर्दछ, जुन वास्तवमा एक मानवीय आचरणको आधार हो ।
युक्रेनको शेपेतोभका नामक सानो शहरको भाँडा माझ्ने गरीव आमाको छोरो पाभेलले धर्मविरोधी प्रश्नहरूबाट चिढिएर पादरीको आटामा तमाखु मिलाउँदछ, त्यसपछि उसलाई स्कूलबाट निकालिन्छ । त्यसपछि ऊ रेलवे स्टेनशनको एउटा सानो रेस्टुरेन्टको भान्सामा काम गर्न लाग्छ । त्यहाँ समाजको थेगरमा परेका आफूजस्ता अभिसप्त मानिसहरूको जीवनमा व्याप्त दुःख, निर्मम अमानवीयता, उत्पीडन र निराशाको विरूद्धमा उसको किशोर हृदय भित्रभित्रै जल्न लाग्छ । एउटा बदमास वेटरले कोर्चागिनलाई पिटेपछि रेलवे डिपोमा काम गर्ने उसको भाइ आतेमले उसलाई धेरै नराम्रो व्यवहार गर्छ । यो घटनापछि पाभेल बिजुलीघरमा फायरमेनको सहयोगीको काम गर्न लाग्छ । यही बिचमा रूसमा सन् १९१७ को फेब्रुअरी क्रान्ति हुन्छ । स्वतन्त्रता र बन्धुत्वको नाराले शेपेतोभ्काको त्यो सानो शहरमा पनि हलचल पैदा गर्दछ र छिट्टै जीवनस्तर खराब हुन लाग्छ । त्यसपछि अक्टुबर क्रान्तिको क्रममा शहरका मानिस एउटा नयाँ शब्द ‘बोल्शेभिक’ सँग परिचित हुन्छन्, जसको लडाइँ उनीहरूको गन्तव्यमा पुग्ने क्रममा सहरको स्टेशनमा मेन्शेभिक र अन्य प्रतिक्रान्तिकारी सरकारी फौजसँग हुन्छ । सन् १९१८ को वसन्तमा पहिलो पटक लड्दै बोल्शेभिकहरू त्यो सहरमा प्रवेश गर्दछन्, तर छिट्टै उनीहरूले त्यहाँबाट पछाडि हट्नुपर्दछ र जर्मनीका सेना शहरमा प्रवेश गर्दछन् ।
पाभेलभित्र उसको नोकरीको क्रममा एउटा विद्रोही मजदूरको चरित्रको निर्माण त सुरुदेखि नै भइसकेको थियो† भयानक वर्गयुद्धका यी उथलपुथलकारी घटनाहरूप्रति पनि ऊ र उसका साथीहरू एक किशोरसुलभ उत्सुकतासँगै सजग रहन्थे । यस क्रममा बोल्शेभिकहरूले बाँडेका राइफलहरूमध्ये पाभेलले एउटा पाउँछ । त्यसपछि छिमेकमा रहेको धनी लेशचिन्स्की परिवारमा अड्डा जमाएर बसेको जर्मन सेनापतिको रिभल्भर चोर्ने जस्ता रोचक र साहसिक घटनाहरू पनि घट्छन् । यही क्रममा उसले टोनिया नामकी एक मध्यमवर्गीय केटीसँग सम्बन्ध बनाउँछ, जुन छिट्टै नै निश्चल पवित्र प्रेममा बदलिन्छ । यही बिचमा उसको परिचय एक कम्युनिस्ट मजदुर जुखराईसँग हुन्छ । जर्मनहरूको विरूद्ध हडतालको क्रममा जबर्जस्ती ट्रेन चलाउनको लागि विवश बनाएपछि एउटा जर्मनको हत्या गरी आतेम आफ्ना दुई साथीहरूसहित भाग्छ । त्यसपछि पाभेलमाथि यो घटनाको प्रभाव पर्दछ । जुखराईका क्रान्तिकारी काम तथा लक्ष्यको बारेमा उसले केही बुझ्न थाल्छ ।
युक्रेन यसबेला निर्मम र भयङ्कर वर्गसङ्घर्षको शिकार भएको हुन्छ । शहरमा जर्मनहरू हटेपछि पेटल्यूराका प्रतिक्रान्तिकारी गिरोहको एउटा ऐटमन गोलुबको कब्जा हुन्छ । जुखराई अचानक शत्रुबाट पक्राउ खान्छ, तर पाभेलले अत्यन्तै बहादुरीपूर्वक बाटामा एउटा पेटल्यूरा सैनिकमाथि आक्रमण गरेर उसलाई छुटाउँछ । जूखराई बचेर पुनः भूमिगत हुन्छ । पछि फेरि पावेल पक्राउ पर्छ । संयोगवश उसले सबैलाई छक्क्याएर त्यहाँबाट भाग्छ र टोनियाको घरमा गएर लुक्छ । आर्तेम पनि त्यतिखेरसम्म फर्किन्छ । त्यसपछि आर्तेम र टोनियासँग बिदा लिएर पाभेलले शहर छोडिदिन्छ ।
यो छोटो समयले उसलाई जिन्दगी र जारी लडाइँमा न्यायको पक्षको बारेमा धेरै कुरा सिकाउँदछ र उसको व्यक्तिगत विद्रोहले एक सामाजिक स्वरूप लिन लाग्छ । यहाँबाट पाभेल कोर्चागिनको जीवनले एक नयाँ मोड लिन्छ । ऊ अब युवा कम्युनिस्ट लीगको एक सदस्य र लालसेनाको एक बहादुर घोडसवार सेना हुन्छ । आफ्नो वर्गको सत्ताको लागि जीवन–मरणको सङ्घर्ष गरिरहेका मजदूरहरूको फौजसँगै ऊ क्रान्तिविरोधी ध्रुवको विरूद्धमा लडाइँमा जमेर भाग लिन्छ । बिचमा ऊ टाइफाइड ज्वरोले ग्रस्त हुन्छ र एकपटक घाइते पनि हुन्छ । तर छिट्टै फेरि फौजको पङ्क्तिमा सामेल हुन्छ । यस क्रममा उसको मातृभूमि शेपेतभकामा पनि घटनाहरू तीव्र रूपमा घट्छन् । त्यहाँ बोल्शेभिकहरूको आधारक्षेत्र बनिसकेको हुन्छ र उसका सम्पूर्ण सँगैका र अन्य साथीहरू युवा कम्युनिस्ट लीग (कोमसोमोल) मा सक्रिय भइसकेका हुन्छन् । लोभोभको लडाइँमा नराम्रोसँग घाइते भएपछि पाभेल लामो समयसम्म अस्पतालमा भर्ना हुन्छ । त्यहाँ ऊ बाँचे पनि आफ्नो दाहिने आँखो गुमाउँदछ । ठीक भएपछि ऊ आफ्नो प्रेमिका टोनियालाई भेट्न जान्छ, तर जीवनको बारेमा टोनियाको मध्यमवर्गीय दृष्टिकोणले उनीहरूको बिचमा एउटा नभरिने खाल्डो पैदा गरिदिएपछि ऊ अत्यन्तै दुःखी हुन्छ । र, उसको यो पहिलो प्रेम दुःखद रूपले स्वाभाविक नियतिमा समाप्त हुन्छ ।
पोल्याण्डको क्रान्ति–विरोधी युद्धको क्रममा नै जीटोमीर शहरलाई कब्जा गरेपछि पाभेलको टुकडीले कैदीहरूलाई मुक्ति गरिरहेको थियो, त्यही बेला उसको भेट शेपोतोभकाको एक प्रेस कम्पोजिटरसँग भयो । जसबाट उसलाई आफ्नो शहरमा क्रान्तिविरोधी ध्रुवबाट गरिएका विनाशलीला र आफ्ना धेरै वीर साथीहरूको बहादुरीपूर्ण सङ्घर्ष र सहादतको जानकारी प्राप्त भयो । घाइते भएपछि पाभेल चेकामा काम गरिरहेको थियो, त्यसपछि अचानक उसको भेट आफ्नो प्यारो साथी सेर्गेईसँग भयो, जो त्यसपछि लगत्तै युद्धमा मारियो । यी सम्पूर्ण घटनाका झट्काहरूले पाभेलभित्र पैदा भएको दृढता, शत्रुप्रति कठोर, लक्ष्यप्रति समर्पित र प्रेमपूर्ण नयाँ मानिसलाई अझ प्रौढ बनाइदियो । क्रान्ति–विरोधी पोल्याण्डको युद्धको समाप्तिपछि उसले एक आँघीसँग खेलेर शेपेतोभकामा आफ्नी आमा र भाइलाई भेट्यो र केही दिन त्यहाँ बसेपछि फेरि फर्कियो । त्यसपछि समाजवादी समाजको निर्माण कार्यमा सामेल भयो । उपन्यासको पहिलो खण्ड यहीँ समाप्त हुन्छ ।
उपन्यासको दोस्रो खण्डको कथा इतिहासको त्यो कालखण्डमा केन्द्रित छ, जहाँ रूसको गृहयुद्ध समाप्त भइसकेपछि जोशजाँगर, आत्मोत्सर्ग र आत्मानुशासनको भावनाले पाभेल कोर्चागिन देशभर बोल्शेभिकहरूका नयाँ र पुराना पुस्ताहरूसँग समाजवादी निर्माणको कार्यमा सर्वहारा राज्यका नयाँ आधारहरूको निर्माण कार्यमा जुट्छ । सुदखोर, सट्टाबाज र छिटपुट तोडफोडका षड्यन्त्रहरूको विरूद्ध पार्टीका कारबाहीहरूमा लगातार सहभागी हुँदै पाभेल कोर्चागिन आफूजस्तै सम्पूर्ण उत्कृष्ट युवाहरूसँगै कर्मठ कोमसोमोल कार्यकर्ता बन्छ र साम्यवादका सिद्धान्तहरूको पनि अध्ययन गर्दछ । सुरुमा उसले आफ्नो कर्तव्यलाई जुन रूपमा बुझेको थियो, त्यसमा आफ्नो व्यक्तिगत जिन्दगीको लागि कुनै स्थान थिएन† यहाँसम्म कि यौवनको नैसर्गिक गुण प्रेमको लागि पनि उसमा कुनै ठाउँ थिएन । यही कारणले गर्दा पाभेल कोर्चागिनले रिता उस्तिनोभिचप्रति आफ्नो प्रेमलाई तिलाञ्जली दिन्छ र रिताबाट अलग हुन्छ । केही वर्षपछि उसलाई गल्तीको महसुस हुन्छ, जसको चर्चा पछि उसले मस्कोमा रितासँग गर्दछ तर त्यतिखेरसम्म अबेर भइसकेको हुन्छ । किनकि रिता त्यसबेलासम्म कसैकी पत्नी भइसकेकी हुन्छिन् । तर पाभेलले जीवनको यो भयङ्कर व्यक्तिगत क्षतिलाई आन्तरिक शक्तिमा परिणत गर्छ जुन उसलाई जनतासँग समाजवादी समाजको लागि मर्दै–बाँच्दै गर्दा हासिल हुन्छ । यति मात्र होइन, अति उत्साहको शिकार भएर आफ्नो इच्छाशक्तिको कडाभन्दा कडा परीक्षा लिने र आफ्नो स्वास्थ्यप्रति लापर्वाहीको अराजक व्यक्तिवादी दृष्टिकोणको पनि उसलाई महसुस हुन्छ र उसले तिनीहरूलाई छोडिदिन्छ ।
किएभमा पाभेल कोमसोमोलको एक स्थानको सङ्गठनको प्रमुख भएर काम गर्दछ । यी अत्यन्त कठिन अभावका दिनहरूमा कोमसोमोल–युवाहरूलाई इन्धनको अति समस्यालाई हल गर्नको लागि जाडो आउनुभन्दा पहिले तीन महिनाभित्र दुर्गम जङ्गली इलाकामा पाँच माइल लामो रेलको लिग बिच्छ्याउने जिम्मा दिइन्छ । पाभेल आफ्ना कर्मठ युवा मजदुर साथीहरूसँगै अत्यन्तै अभावग्रस्त स्थितिमा कम कपडा र फाटेका जुत्ता लाएर बरफमा रेलको लिग बिच्छ्याउँदछ । वर्षात् एवं भीषण चीसोसँगै उनीहरूले ओर्लिकका प्रतिक्रान्तिकारी डाकू गिरोहका आक्रमणको पनि सामना गर्नुपर्दछ । आफ्नो दुर्भाग्यपूर्ण आत्मिक शक्तिको दममा जिन्दगीलाई बदलिदिनको लागि आफूलाई होमिदिने युवाहरूले कठिन टाइफाइड ज्वरोको पनि सामना गर्नुपर्दछ । त्यसपछि बेहोस अवस्थामा रहेको कोर्चागिनलाई त्यहाँबाट शेपेतोभका पठाइन्छ ।
गलत प्रचारको कारणले कोर्चागिनको मृत्युको समाचार हरेक ठाउँमा फैलिन्छ र रिताकोमा पनि पुग्छ । यता जीवनको चौथो पटक मृत्युको निकट पुगेर पाभेल जिन्दगीमा फर्किन्छ र आफ्ना साथीहरूलाई आश्चर्यचकित बनाउँदै पुनः काममा जुट्छ । केही दिनसम्म इलेक्ट्रिक फिटरको रूपमा काम गर्दै पाभेलले कोमसोमोलको जिल्ला कमिटीको प्रमुखको दायित्व निभाउँदछ । जाडो सुरु हुनुभन्दा पहिले उसले बरफजस्तो चीसो पानीबाट बाढी बग्ने काठका टुक्रा निकाल्छ र फेरि बिरामी पर्छ । बाथ रोगले ऊ नराम्रोसँग ग्रसित हुन्छ । तर केही ठीक हुनेबित्तिकै ऊ पुनः जीवनको आँधीमय लडाइँमा फर्किन्छ । केही दिनसम्म उसले पोल्याण्डको सीमामा पनि काम गर्नुपर्दछ । त्यहाँको कोमसोमोल जिल्ला कमिटीबाट छिट्टै कोर्चागिनलाई सूबा कमिटीमा बोलाइन्छ र उसलाई पार्टी सदस्य बनाउने सिफारिस गरिन्छ । यही बिचमा सोभियत सङ्घका महान् नेता लेनिनको मृत्यु हुन्छ । सम्पूर्ण सोभियत रूस शोकको लहरमा पर्दछ, तर यसको साथै सम्पूर्ण देशमा लेनिनको नेतृत्वमा जारी कार्यहरूलाई पूरा गर्ने सङ्कल्पसँगै लाखौँ मजदुर बोल्शेभिक पार्टीमा सामेल हुन्छन्, जसमा पाभेलको साथी शहीद भालिया र सेर्गेईको बुढो पिता जखार तथा पाभेलको भाई आर्तेमजस्ता मानिस पनि हुन्छन् ।
एकातिर पाभेल चिन्ताजनक काममा निरन्तर डुबेको हुन्छ भने अर्कोतिर सानै उमेरमा उसको शरीरले तीव्र रूपमा साथ छोड्न सुरु गर्दछ । जसको चरम परिणाम के हुन्छ भने उसको लाख विरोधको बाबजुद उसलाई छुट्टी दिएर युक्रेन पार्टी केन्द्रीय समितिको सेनेटोरियममा पठाइन्छ । २४ वर्षको कम उमेरमा उसको जीवनको उदास र डरलाग्दो प्रक्रिया अब कमजोर हुँदै जान्छ । धेरै शल्यक्रिया र उपचारपछि के कुरा तय हुन्छ भने पाभेलको शरीरले अब धेरै दिन उसको साथ दिँदैन । यही बिचमा ऊ समुद्रतटको किनाराको एउटा सानो शहरमा आफ्नी आमाको साथी अलबिना क्युत्समसँग भेट्न जान्छ । त्यहाँ एक पिछडिएको पिताको तानाशाहीमा बाँचिरहेका उनका छोरीहरू लोला र तायासँग उसको परिचय हुन्छ । एकपटक फेरि फर्किएर उसले काम गर्ने प्रयास गर्दछ, तर शरीरले एकदम साथ दिंदैन ।
कामबाट छुट्टी र पेन्सन लिएर पाभेल पुनः क्युत्सम परिवारलाई भेट्न जान्छ । त्यहाँ आफ्ना मातापिता र आवारा भाइबाट अलग भइसकेकी ताया बिस्तारै उसको निकट हुन्छिन् । र, दुवैले विवाह गर्छन् । यो अन्तिम क्षणमा पाभेलले जिन्दगीलाई असफलता बिना नै प्रेमसँग जोडेको हुन्छ । उसले तायालाई एक कम्युनिस्ट बनाउनुको साथै युवाहरूको अध्ययन सर्कलमा पनि लैजान लाग्छ । यसबेलासम्म उसको शरीर ‘प्यारालाइसिस’ को कारणले गर्दा अपाङ्ग भइसकेको हुन्छ, दोस्रो आँखाको ज्योति पनि गुमिसकेको हुन्छ । तर जीवनको लडाइँबाट अवकास नलिन सङ्कल्पबद्ध पाभेलले पुनः एउटा मार्ग निकाल्दछ । उसले आफ्नो जीवनको गृहयुद्धका दिनका अनुभवहरूलाई लिएर स्वयं एक उपन्यास लेख्न सुरु गर्दछ । पछि साथीहरूलाई लेखाउन लाउँछ र यसरी उसले ‘आँधीको छोरा’ नामक उपन्यास अत्यन्त कठिन परिस्थितिमा रचना गर्छ । प्रादेशिक कमिटीबाट उपन्यासको प्रकाशनको स्वीकृतिको खबर पाउनेबित्तिकै उसलाई के लाग्छ भने ऊ एकपटक फेरि जिन्दगीको मैदानमा युद्धको पंक्तिमा फर्किएको छ । यसरी उपन्यास यहीँ आएर समाप्त हुन्छ ।
यो उपन्यासमा घटनाहरूको अत्यन्तै रोचक र गतिशील प्रवाहको क्रममा नायक पाभेल कोर्चागिनको जीवनको केन्द्रीय गाथासँग जोडिएका उसका धेरै बहादुर साथी र पुराना बोल्शेभिक पात्र पनि आउँछन् र यसले सँगै चलिरहेका अन्य घटना–प्रसङ्गहरूको माध्यमबाट उदात्त भावहरूबाट ओतप्रोत तिनीहरूको वास्तविक श्रमिक जीवनलाई चिहाइरहन्छ । कोर्चागिनले आफ्नो जीवन–स्थितिको विरूद्ध सहजै प्रतिवाद गर्दछ, उसले त्यसलाई वर्गसङ्घर्षभित्र तानेर लान्छ र त्यही मार्गबाट अगाडि बढ्दै उसभित्र एक समाजवादी चेतनाको उदय हुन्छ । गृहयुद्ध र समाज निर्माणको क्रममा गुज्रिदै उसमा आत्मोत्सर्गको भावना र पुनः आत्मानुशासनले जन्म लिन्छ । असक्तता र बिरामीको बावजुद पनि नव–जीवनको सङ्घर्षमा लागिरहने उसको सङ्घर्ष जनताको लागि एक उदाहरण बन्छ । यो उपन्यासले पाठकलाई जीवनको आन्तरिक सौन्दर्यसँग, क्रान्तिको सङ्घर्षमा निहित अदम्य प्राणशक्तिसँग, समष्टिको अपार क्षमता र सृजनशीलतासँग र नयाँ समाजसँग परिचित गराउनेछ । वास्तवमा यो उपन्यासले सङ्घर्ष गर्ने प्रेरणा र शक्ति प्रदान गर्नेछ र यथास्थितिसँग विद्रोह गरी जिउने तरिका सिकाउँछ ।
– साहित्यपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *