भर्खरै :

सातदिने वाक्कला प्रशिक्षण तालिम सम्पन्न

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ कलेजमा कार्यरत कर्मचारीहरूका लागि आयोजित सातदिने वाक्कला प्रशिक्षण तालिम बुधबार सम्पन्न भयो ।
२०८२ असार ४ गतेदेखि सुरु भएको उक्त तालिमले सहभागीहरूलाई प्रभावकारी ढङ्गले विचार प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने, व्यवहारिक प्रस्तुतीकरण र सार्वजनिक भाषणको कौशलमा विकास गर्न मद्दत पु¥याएको थियो ।
समापन समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समिति अध्यक्ष सुनिल प्रजापतिले वक्ताको विचार र व्यवहारमा एकरूपता आवश्यक रहेको कुरामा जोड दिँदै भन्नुभयो, “वक्ताले विचारअनुसार आचरण पनि गर्नुपर्छ । नैतिकता र इमानदारिता वक्ताको अनिवार्य गुण हो ।”
उहाँले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा नेताहरूमा नैतिकताको खडेरी रहेको टिप्पणी गर्दै विगतमा संविधानसभा सदस्य, सभापति, प्रधानमन्त्री भइसकेका व्यक्तिहरू हाल भ्रष्टाचारको आरोप लागिरहेको उदाहरण प्रस्तुत गर्नुभयो । विदेशमा मन्त्री तथा प्रधानमन्त्रीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने परिपाटी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो गृहमन्त्रीको राजीनामा माग्ने सांसद, आज आफैँ गृहमन्त्री हुँदा उस्तै घटनामा किन पदमा टाँसिरहेछन् ?”
प्रमुख अतिथि प्रजापतिले उत्कृष्ट वक्ता बन्ने चाहना हुने व्यक्तिहरूले निरन्तर अभ्यास, आलोचना र सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले क्युवाली नेता फिडेल क्यास्ट्रोको उदाहरण दिँदै ५०० पटकभन्दा बढी हत्या प्रयासका बाबजुद उहाँको भाषण अमेरिकीहरूले समेत चासोका साथ सुन्ने गरेको प्रसङ्ग सुनाउँदै भन्नुभयो, “वक्ताले स्रोताको ध्यान खिच्न जान्नुपर्छ । कि पढेर जानिन्छ कि परेर जानिन्छ ।”
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले भन्नुभयो, “वक्ताले स्पष्ट बोल्न जान्नु मात्र पर्याप्त हुँदैन, उसले समाज र राष्ट्रमा के कस्तो प्रभाव पार्दछ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ ।” उहाँले हिटलर र मुसोलिनीजस्ता इतिहासका प्रखर वक्ताहरूको चर्चा गर्दै ती व्यक्तिहरूले समाजलाई गलत दिशातर्फ मोडेको स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो, “वक्ताले समाजलाई सकारात्मक दिशामा डो¥याउन सकेमात्र ऊ असल वक्ता हुन्छ ।”
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले आफ्ना विचार खुलस्तरूपमा अभिव्यक्त गर्न सक्षम वक्ता बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निरन्तर अभ्यास र अध्ययनले व्यक्तित्वमा निखारता ल्याउँछ । असल वक्ता बन्न असल स्रोता पनि बन्न सक्नुपर्छ ।”
वाक्कला प्रशिक्षक शरद राईले वाक्कलाको ऐतिहासिक विकासक्रम र व्यवहारिक पक्षहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो ।
प्रशिक्षार्थी ई. सुरेश त्यात र कमलकेशरी थुयाजुले सात दिनको तालिमबाट प्राप्त अनुभव र सिकाइबारे धारणा राख्दै तालिमले आफूहरूमा नयाँ सोच र प्रस्तुतिको विकास भएको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने प्रशिक्षक शरद राईलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *