देशको रक्षा गर्न र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधैँ सचेत रहनुपर्ने
- कार्तिक २३, २०८२

भक्तपुर, १२ असार । विद्यार्थी निकेतन माध्यमिक विद्यालय, साकोठा भक्तपुरको ६७ आँै स्थापना दिवसको अवसरमा कक्षा ११ र १२ अध्ययन विषय क्षेत्र, सम्भाव्यता र चुनौती विषयमा बिहीबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा इतिहासविद् प्रा. डा. पुरूषोतमलोचन श्रेष्ठले सांस्कृतिक सहरको मुटुमा स्थापित विद्यालयले ललितकलाका विषयलाई समेटी अध्ययन अध्यापनको सुरुआत गर्न सके कला संस्कृतिले जीवन्तता पाउनुका साथै विद्यार्थीहरूले स्थानीय रूपमै आत्मनिर्भरताको बाटो अँगाल्न सक्ने विचार व्यक्त गर्नुभयो । उहाँले पुरातात्विक नमुना उत्खनन गर्दै ऐतिहासिक ज्ञानलाई अभिवृद्धि गर्न विद्यार्थी निकेतनले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा पनि जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा ५ वडाका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कुनै पनि विद्यालयले भौतिक पूर्वाधार र सङ्ख्याभन्दा गुणस्तर र स्फ्टपावरलाई बढी जोड दिई शिक्षण सिकाइ क्रियाकलापलाई बढी व्यवहारमुखी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । सभापतिको आसनबाट बोल्दै उहाँले शिक्षकहरू आफ्नो कार्यमा दत्तचित्त भएर लागेमा विद्यार्थीहरू आत्मनिर्भर र स्वाभिमानी हुने विचार राख्नुभयो ।
गणेश मावि, भार्वाचोका प्रधानाध्यापक गणेशराम थुसाले सामुदायिक विद्यालयहरूले स्थानीय समुदायसँग सजीव सम्बन्ध बनाई एक विद्यालय : एक विषयगत विशिष्टीकरण बनाई अगाडि बढ्नुपर्ने विचार राख्दै ब्रिजकोर्सको नाममा विद्यार्थीलाई महँगा कलेजको प्रलोभनमा फसाउने कार्यप्रति विद्यार्थी अभिभावक सजग हुनुपर्ने कुरा राख्नुभयो ।
समाजसेवी विश्वराम कवांले भक्तपुरले शिक्षामा गरेको अथक प्रयास र मेहनतले भक्तपुर ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास हुँदै गएकोमा खुसी व्यक्त गर्दै विदेशमा गएर सिकेको ज्ञान र सीप प्रयोग गरी देशमा अरुलाई रोजगारीको अवसर प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
समाजसेवी मिलन कायष्ठले विद्यार्र्थीलाई देशभित्रै सेवा गर्ने भावनाबाट प्रेरित गर्न सानै कक्षादेखि सुुसूचित गर्नुपर्नेमा जोड दिँदै पढ्दै सिक्दैको अवधारणालाई आत्मसात गर्नसके देशको आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास गर्नुभयो ।
आदर्श आजाद माविका प्रअ चक्रबहादुर चाकतुले विद्यालयले आफ्नो लागि भन्दा जनसमुदायको हितलाई प्राथमिकता दिएर काम गर्ने सेवक र अधिवक्ता तयार गर्ने शिक्षा नीतिमा प्राथमिकता दिनुपर्ने कुरा प्रस्ट्याउँदै सरकारको अदूरदर्शी शिक्षा नीतिको कारण शिक्षाशास्त्रमा उच्च जनशक्ति घट्दै गइरहेको गुनासो पोख्नुभयो ।
जेसिस माविका प्रअ जयराम गोर्खालीले विद्यालयले निरन्तर प्रगति गर्दै जाने क्रममा सुविधासम्पन्न पूर्वाधारको व्यवस्था गर्दै विद्यालय स्वयंले संस्थागत समीक्षा मिहीन ढङ्गले गर्नुपर्ने आवश्यक रहेको विचार राख्नुभयो ।
प्यारागन माविका प्रअ पुण्यराम कवांले अभिभावक एवं विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श दिनसकेमा विद्यालयले गुणस्तर कायम गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
समाजसेवी एवं खेलाडी विनोद प्रजापतिले विद्यालयले खेलकुदलाई पनि सङ्कायको रूपमा विकास गर्न सके विद्यार्थीमा निरन्तर लगन, त्याग, तपस्या गर्ने भावनाको विकास हुने विचार राख्नुभयो ।
देवी माविका प्रअ चन्द्रबहादुर थुयाजुले विद्यार्थीले विषयगत परामर्श कार्यक्रमले विद्यार्थीमा उच्च शिक्षासम्बन्धी अन्योल हट्न मद्दत पुग्ने विचार राख्नुभयो ।
गणेश मावि छालिङका प्रअ इन्द्रबहादुर फोंजुले विद्यालय नर्स परिचालन गरी समुदायका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नसके विद्यालयप्रति समुदायको सरकारात्मक भावना विकास हुने कुरा स्पष्ट पार्नुभयो ।
दोलागिरी माविका प्रअ शिवबहादुर खुलिमुलीले अन्तर विद्यालयस्तरीय प्रतिस्पर्धाहरूले आपसी सम्बन्ध सुमधर भई उच्च शिक्षा सहकार्य सहज हुने विचार राख्नुभयो ।
ख्वप कलेज अफ लका प्राध्यापक राजेन्द्र चवालले विद्यालयले गुणस्तरीय नतिजाको लागि विषयकेन्द्रित कार्यक्रम गर्नुका साथै लक्षित समूह केन्द्रित कार्यक्रममा जोड दिनुपर्ने कुरा स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भुवनेश्वरी माविका प्रअ शुभद्रा लघुले सम्पूर्ण विषयको बराबर महत्व भएको हुँदा विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गरी निश्चित क्षेत्रको नेतृत्वकर्ता भएर तयार हुन प्रेरित हुनुपर्ने कुरा प्रस्ट्याउनुभयो ।
नेक्राविसङ्घका सुजी हेंग्वजुले शैक्षिक वातावरण आकर्षक भए विद्यार्थीहरू पनि आकषर््िात हुने हुँदा विद्यालयले दिने शिक्षामा जीवनोपयोगी सीपमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले स्वागत गरी सुरु भएको सो कार्यक्रममा मनोरमा माविका प्रअ महेश गुमान्जु, सन्तति आविका प्रअ दीपक माक, मेधा माविका श्याम हाडा, तारा माविका प्रअ प्रेमलक्ष्मी त्वायना, शिक्षक उद्धवप्रसाद दाहालले विषयमाथि आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply