भर्खरै :

‘नेपाल र चीनबिच राजकीय र जनस्तरमा धार्मिक, सांस्कृतिक, राजनैतिक तथा व्यापारिक सम्बन्ध छ’

  • असार १२, २०८२
  • रवीन्द्र ज्याख्व, कार्यपालिका सदस्य, भनपा
  • विचार विशेष
‘नेपाल र चीनबिच राजकीय र जनस्तरमा धार्मिक, सांस्कृतिक, राजनैतिक तथा व्यापारिक सम्बन्ध छ’

नेपाल र जनवादी गणतन्त्र चीनका नगरपालिकाबिचको भगिनी सहर सम्बन्धले दुई देशबिचको कूटनीतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धलाई पनि सुदृढ गर्ने कार्य गर्छ । पूर्वाधार विकासको अतिरिक्त सांस्कृतिक तथा शैक्षिक सहकार्यमा पनि समान ध्यान दिनु आवश्यक छ भन्ने लाग्छ । दुई देशमा भाषाहरूको शिक्षण, साहित्यहरूको अनुवाद तथा हाम्रा ऐतिहासिक सम्बन्ध तथा आदानप्रदानहरूबारे शैक्षिक अनुसन्धानजस्ता पहलहरूले हाम्रा नगरपालिका र जनताबिचको समझदारीलाई अझ गहिरो बनाउने विश्वास छ ।
सर्वप्रथम नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा भगिनी सम्बन्ध स्थापना गरिएका नेपाल र जनवादी गणतन्त्र चीनको सि–चाङ स्वशासित क्षेत्र (तिब्बत) का नगरपालिकाहरूबिच Share. Build. Create Together भन्ने मूल नाराका साथ भइरहेको यस महत्वपूर्ण कार्यक्रममा भक्तपुर नगरपालिकालाई आमन्त्रण गरिएकोमा भक्तपुर नगरपालिका परिवारको तर्फबाट आयोजकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
नेपाल, तिब्बत र चीनबिच परापूर्वकालदेखि नै राजकीय र जनस्तरमा धार्मिक, सांस्कृतिक, राजनैतिक र व्यापारिक सम्बन्ध रहिआएको इतिहास छ । नेपालको काठमाडौँ उपत्यकाको उत्पति र सभ्यता विकासमा तिब्बतका महामञ्जुश्रीको योगदान, छैटौँ शताब्दीमा तिब्बती राजा स्रोङचङ गम्पोसँग नेपाली चेली भृकुटीको विवाह र त्यसपश्चात् तिब्बतमा उनको भव्य सम्मान, ते¥हौँ शताब्दीमा महान् नेपाली कलाकार अरनिको (आनिक) को नेतृत्वमा तिब्बत र चीन पुगेका ८० जना शिल्पकारहरूको टोलीले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिलगायतले दुई देशबिचको सम्बन्ध विस्तारको बहुआयाम प्रस्तुत गरेका छन् । चिनियाँ भूमि तिब्बतमा नेपालको महावाणिज्य दूतावास स्थापना भएको लामो इतिहासले पनि दुई देशबिचको व्यापार र सांस्कृतिक आदानप्रदान अहिले मात्र नभई प्राचीनकालदेखि नै भएको प्रस्ट हुन्छ ।
दुई छिमेकी मित्र देशहरूको सम्बन्ध इतिहास जत्तिकै पुरानो भए पनि सरकारी स्तरमा भने सन् १९५५ मा नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको हो । यस हिसाबले दुई देशबिचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । नेपाल र नेपाली जनता सुरुदेखि नै ‘एक चीन नीति’ लाई दृढतापूर्वक समर्थन गर्दै आएको स्मरण गराउन चाहन्छौँ ।
मित्र देश चीनले नेपालको सडक पूर्वाधार विकास, उद्योगधन्दा स्थापनालगायतका विकासमा सहयात्रा गरिरहेको छ । हजारौँको सङ्ख्यामा नेपाली विद्यार्थीहरू चिनियाँ विश्वविद्यालयहरूमा चिकित्सा शिक्षा, इन्जिनियरिङ, साहित्यजस्ता विषयहरूमा उच्च शिक्षा हासिल गर्ने अवसर पाइरहेका छन् । यसका लागि नेपाली जनताको तर्फबाट चिनियाँ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
नेपालकै सानो नगरमध्ये एक भक्तपुर नगरपालिका नेपालको राजधानी काठमाडौँबाट १३ किमि पूर्वमा अवस्थित छ । सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले यो अत्यन्त समृद्ध नगर हो । आठौँ शताब्दीमा स्थापित यो नगर १२ औँदेखि १५ औँ शताब्दीसम्म नेपाल राज्यको राजधानीको रूपमा रहेको र १८ औँ शताब्दीसम्म स्वतन्त्र राज्यको रूपमा रहेको थियो ।
प्रशासनिक दृष्टिले यो नगर १० वटा वडामा विभाजित छ । ९० प्रतिशतभन्दा बढी नेवार जाति रहेको यो नगरमा सन् २०२१ को जनगणनाअनुसार ७८,८५४ जना स्थायी बसोबास गर्ने जनसङ्ख्या रहेको तथ्याङ्क छ भने त्यतिकै सङ्ख्यामा अस्थायी बसोबास गर्ने जनता छन् । कृषि यहाँका मानिसहरूको मुख्य पेसा रहेको र घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, पर्यटन, हस्तकला आदि यहाँका नागरिकहरूका रोजगारीका क्षेत्रहरू हुन् ।
भक्तपुरको दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रहरू हुन् । दरबार क्षेत्रमा अवस्थित ५५ झ्याले दरबार र सुनढोका, टौमढी टोलमा रहेको नेपालकै अग्लो पाँचतले मन्दिर (ङातापोल्हँ) र दत्तात्रयमा अवस्थित विश्व प्रसिद्ध मयूरझ्याल वास्तुकलाको दृष्टिले अनुपम उदाहरणहरू हुन् । यस्ता मूर्त सम्पदाहरू तथा समय समयमा हुने जात्रा, पर्व, नाचगानजस्ता अमूर्त सम्पदाहरू संरक्षण भइरहेकै आधारमा सन् १९७९ मा युनेस्कोले भक्तपुर नगरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गरेको थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणपछिका दुवै स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा मेयर, उपमेयरसहित सम्पूर्ण वडाहरूमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भए । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादलाई विश्वास गर्ने कम्युनिस्ट पार्टी हो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको यो पार्टीले निर्वाचनलाई पनि जनताको हितमा उपयोग गर्दै आएको छ । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ ।
उहाँले आजभन्दा दुई दशकअगाडि भक्तपुरको भविष्यको कल्पना गर्दै ‘सय वर्षपछिको भक्तपुर’ नामको पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तक नै भक्तपुर नगरपालिकाको मार्गचित्र बनेको छ । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल, सांस्कृतिक नगर बनाउने हाम्रो उद्देश्य हो ।
सन् २०१५ को विनाशकारी भूकम्पले भक्तपुरका थुप्रै सम्पदाहरूमा क्षति पुगेको थियो । हामीले भक्तपुरवासी जनताको सहयोगमा आफ्नै स्रोत र जनश्रमदानले हालसम्म २०० वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरिसकेका छौँ । यस कार्यमा कुनै विदेशी सरकार र संस्थाको सहयोग लिएका छैनौँ । आत्मनिर्भरतालाई जोड दिएका छौँ ।
विनाशकारी भूकम्पबाट पीडित जनतालाई चिनियाँ सरकारले गरेको अमूल्य सहयोग हामी भुल्न सक्दैनौँ । त्यस्तै, कोभिड–१९ को महामारीबाट जोगिन चिनियाँ सरकारले नेपाली जनतालाई खोप तथा स्वास्थ्य सामग्रीहरू प्रदान गरेर सहयोग गरेकोमा नेपाली जनता चिनियाँ सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको नगर हो । यहाँ बर्सेनि लाखौँ विदेशी पर्यटकहरूले भ्रमण गर्ने गर्छन् । नेपाल आउने पर्यटकहरूमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्छन् । चिनियाँ पर्यटकहरू भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये सङ्ख्यामा दोस्रोमा पर्छ । सन् २०२४ को जनवरीदेखि २०२५ को अप्रिलसम्ममा चिनियाँ पर्यटकहरू ५४,७५३ जनाले भक्तपुरको अवलोकन भ्रमण गरेको तथ्याङ्क छ ।
भक्तपुर नगरमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्चपदस्थ पदाधिकारीहरूले बराबर भ्रमण गर्नुभएको यहाँ स्मरण गराउन चाहन्छौँ । जनवादी गणतन्त्र चीनका जनप्रतिनिधिसभाका उपाध्यक्ष सियाओ चिए, स्छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुई, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युन, सि–चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युङचङलगायतको नेतृत्वमा आएका चिनियाँ प्रतिनिधिमण्डलले यस नगरपालिकाको भ्रमण गरेको थियो । त्यस क्रममा भएको भेटघाटमा दुई नगरपालिकाबिच सम्बन्ध विस्तार र आपसी अनुभव आदानप्रदान गरी अगाडि बढ्नेबारे सकारात्मक छलफल भएको थियो ।
भक्तपुर नगरपालिकाको दरबार क्षेत्रमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम सन् २०२५ जनवरी १८ मा गर्न पाउनु हाम्रो निम्ति गौरवको विषय बनेको यहाँ अवगत गराउँदछौँ । यस उत्सवले भक्तपुरमा चिनिया पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दछौँ ।
भक्तपुर नगरपालिका र सि–चाङ (तिब्बत) स्वशासित क्षेत्रको शान–नान नगरबिच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको थियो । दुई पालिकाबिच सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटनलगायत विषयमा सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य थियो । सहमतिपछि दुई नगरपालिकाबिच भ्रमणको आदानप्रदान पनि हुँदै आएको छ । सङ्कटको बेलामा सहयोग पनि प्राप्त भएका छन् । पछिल्लो समय शान–नान नगरका कार्यकारी उपप्रमुख मु योङवानको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले सन् २०२४ जुलाई २२ देखि २५ सम्म भक्तपुरको भ्रमण गरी दुई पालिकाबिचको सम्बन्धलाई थप आत्मीय बनाएको यहाँ अवगत गराउँदछौँ ।
नेपाल र जनवादी गणतन्त्र चीनका नगरपालिकाबिचको भगिनी सहर सम्बन्धले दुई देशबिचको कूटनीतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धलाई पनि सुदृढ गर्ने कार्य गर्छ । पूर्वाधार विकासको अतिरिक्त सांस्कृतिक तथा शैक्षिक सहकार्यमा पनि समान ध्यान दिनु आवश्यक छ भन्ने लाग्छ । दुई देशमा भाषाहरूको शिक्षण, साहित्यहरूको अनुवाद तथा हाम्रा ऐतिहासिक सम्बन्ध तथा आदानप्रदानहरूबारे शैक्षिक अनुसन्धानजस्ता पहलहरूले हाम्रा नगरपालिका र जनताबिचको समझदारीलाई अझ गहिरो बनाउने विश्वास छ ।
यस्ता प्रयासहरूले आपसी विश्वास, सम्मान र बुझाइलाई प्रस्ट पार्दै नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नेछन् र नेपाल चीनबिचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेछ भन्ने कुरामा हामी विश्वास गर्दछौँ ।
अन्त्यमा, यस महत्वपूर्ण समन्वय बैठकबाट सि–चाङ (तिब्बत) स्वशासित क्षेत्र र विभिन्न नगरपालिकाले गरेका असल अभ्यास, जानकारी, सूचना र नवीनतम प्रयासहरू एकआपासमा आदानप्रदान गरी जनताको सेवामार्फत सम्मुनत नगर र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिएको छु ।
धन्यवाद ! नमस्कार ! स्येस्ये !
(नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूको बैठक असार १० (जून २४, २०२५) गते तिब्बतको ल्हासा सहरमा सम्पन्न भयो । उक्त बैठकमा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले व्यक्त गर्नुभएको मन्तव्य)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *