भर्खरै :

ग्यास वितरणको लागि पूर्वाधार तयार गर्नु आवश्यक

नेपाल जलस्रोतमा धनी छ । नेपालको जलस्रोतलाई राम्ररी उपयोग गरे देशभरि बिजुली पु¥याउन सकिन्छ । देशभरि बिजुली पुगेपछि विदेशमा निर्यात गर्न सकिन्छ । तर, सरकारको विद्युत् उत्पादन बढाउने र देशभरि बिजुली पु¥याउनेतर्फ ध्यान गएको देखिँदैन । पर्याप्त बिजुली निकालिएको भए विद्युत्बाटै रासायनिक मल कारखाना खोल्न सकिन्छ† विद्युत्बाटै खानेकुरा पकाउन सकिन्छ । जलस्रोतको केन्द्र रहेको नेपाल जडीबुटीको स्रोत भएको देश पनि हो । नेपालका जडीबुटीलाई पनि प्रशोधन गरेर नेपालको बस्ती बस्तीमा मात्र होइन विदेशमा पनि निर्यात गरेर आम्दानीको स्रोत बढाउन सकिन्छ । वन जङ्गल रहेको यो देशमा काठ बिक्री गरेर पनि आम्दानीको स्रोत बढाउन सकिन्छ । यसबाहेक नेपालका विभिन्न भागमा खनिज तत्वहरू रहेको अनुसन्धानबाट थाहा हुन्छ ।
अध्ययन र अनुसन्धानकै क्रममा पूर्वी नवलपरासीको हुप्सेकोटस्थित धौवाडीमा फलाम खानी भएको जानकारी प्रकाशमा आयो । २०७३ सालमा खानी तथा भूगर्भ विभागद्वारा हुप्सेकोट गाउँपालिका वडा नं. ५ अन्तर्गतका विभिन्न स्थानमा गरिएको अध्ययनले करिब ९ करोड ९० लाख टन उत्पादन क्षमताको फलाम रहेको देखायो । असार १२ गते प्रकाशित ‘नेपाल समाचारपत्र’ मा ‘स्वदेशमै छ ३७ वर्षलाई पुग्ने फलाम’ शीर्षकको समाचार छापियो । यसअघि ‘५० वर्षलाई पुग्ने मिचेन ग्यास दैलेखमा’, ‘दैलेखको खानीमा आशाको दियोः दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पुष्टि’, ‘दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि’ जस्ता विभिन्न खबरहरू सञ्चारमाध्यममा आए । चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको थियो ।
सर्भेको प्रारम्भिक अध्ययनअनुसार नेपाललाई ५० देखि ६० वर्षसम्म प्राकृतिक ग्यास पुग्छ । चीन सरकारको अनुदानमा दुई अर्ब १७ करोड रुपैयाँको लागतमा ६ वर्ष लगाएर सो कार्य गरिएको थियो । यसलाई शीघ्रातिशीघ्र उत्पादन परीक्षण गरेर वितरणको प्रक्रिया अघि बढाइएमा देशको ठुलो रकम बच्नेछ र आम्दानी पनि हुनेछ । अहिले देशमा ५५ अर्ब रुपैयाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको छ । बस्ती र सहर विकाससँगै या जनसङ्ख्या वृद्धिसँगै प्रत्येक वर्ष त्यो रकम बढ्दै जानेछ । अध्ययनअनुसार सो ग्यास वितरण भएमा देशको एउटा अर्को महत्वपूर्ण आयस्रोत हुनेछ । आफ्नो लगानीमा ग्यासको अध्ययन अनुसन्धान गर्ने चिनियाँ टोली र चिनियाँ सरकारको प्रयास सराहनीय छ । यसलाई कार्यान्वयन गर्नेतर्फ सरकार अघि बढ्नु आवश्यक छ । पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीको पनि थप अध्ययन अनुसन्धान गरेर उत्पादन गरिएको खण्डमा विभिन्न औजार र अन्य सामान बनाउन ठुलो सहयोग हुनेछ । यो अर्को महत्वपूर्ण आम्दानीको स्रोत हुनेछ र बिदेसिने ठुलो रकम बच्नेछ । यसले देशको विकासमा राम्रो टेवा पु¥याउनेछ । यसरी नै अन्य खनिज तत्वहरूको अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।
ग्यास उत्पादनको परीक्षणलगत्तै वितरण गर्न सरकारले भैरवी गाउँपालिकामा आवश्यक भौतिक संरचना या भवन निर्माण गर्न, बाटोघाटोको बन्दोबस्त गर्न, खानेपानी, बिजुलीको व्यवस्थाजस्ता अन्य आवश्यक पूर्वाधारको तयार गर्नुपर्ने देखिन्छ । साँच्चै अध्ययन र अनुमानअनुसार ग्यास उत्पादन र उत्पादनअनुसार वितरण भए यो देशकै निम्ति एउटा नयाँ आयाम हुनेछ, नयाँ उपलब्धि हुनेछ । यस कार्यमा सरकार पछि पर्नु हुँदैन । यो देशको एक प्रगति सूचक पनि हुनेछ ।
हिमालबाट बग्ने पानीलाई पनि आम्दानीको आधार बनाउन सकिन्छ । नदी किनाराको ठाउँ ठाउँमा भौतिक संरचना निर्माण गरेर देश विदेशमा स्वच्छ खानेपानी वितरण गरेर यथष्ठ आम्दानी गर्न सकिन्छ । हिमाल पानीको मुख्य स्रोत भएकोले यो नियमित आम्दानीको स्रोत बन्ने छ । पर्याप्त उत्पादन गर्न सके विदेशमा पनि निर्यात गर्न सकिन्छ । यसले नेपालको मुहार फेर्न सहयोग गर्नेछ ।
देशलाई हरेक दृष्टिकोणबाट आत्मनिर्भर बनाउन सरकारले अध्ययन अनुसन्धानमा पनि बजेट छुट्याउनुपर्छ । अध्ययन र अनुसन्धान नगरी नयाँ नयाँ आविष्कार र नयाँ नयाँ उत्पादन कसरी हुन्छ ? अध्ययन र अनुसन्धान गरेर देश विकास गर्नेतर्फ सरकारको ध्यान नगएको हुँदा देशले सियो पनि बनाउन सकेन । तरकारी, फलफूल, चामल, गहुँ, दाल पनि विदेशीको भरमा बस्न बाध्य छ । अध्ययन र अनुसन्धानमा पर्याप्त बजेट नहुँदा, अध्ययन र अनुसन्धानतर्फ नलाग्दा एकातिर सरकारले नयाँ नयाँ वैज्ञानिकहरू तयार गर्न सकेन भने अर्कोतिर भएका वैज्ञानिकहरूलाई पनि अध्ययन, अनुसन्धानमा उपयोग गर्न सकिएन । यसको कारण नेपाल विज्ञान र प्रविधिको क्षेत्रमा पछि प¥यो । विकासमा पछि प¥यो । विज्ञान र प्रविधिमा पछि परेपछि देशले कसरी विकासमा काँचुली फेर्न सक्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *